एकसरो लुगा ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एकसरो लुगा !


१३ असार २०७७, शनिबार


लुगा किनिदिने भन्दै ठूलाठूला सपिङ मलहरू भएको ठाउँमा लगेर दिनभरि लुगाभन्दा मूल्य छान्दै अन्तिममा रन्थनिएर कुनै फुटपाथमा राखिएका लुगाहरू किनिदिने सोच बनाएर हिँडेको उसलाई आफ्नो गोजी मोटो बनाई त्यही ठूलाठूला सपिङ मल (किनमेल भवन)हरूमा गएर कपडा किनी हिँड्न रहर नभाको त थिएन होला सायद, तर कहिल्यै सकेन।त्यहाँ सक्यो त केवल हामी नेपालीहरूको महान् चाड दशैँमा भित्री लुगा सम्म किन्न।

एक समय हामीहरू लुगा किन्न बजार निस्कियौँ। सार्वजनिक गाडी गुडिरहेसँगै त्यहाँका स्थिर चीजहरू पछाडि धकेलिँदै थिए। ठूलाठूला सपिङ मलहरू ठाँउठाँउमा प्रस्ट देखिन्थे। लाग्थ्यो त्यो कुनै ठुलो सपिङ सेन्टर जस्तो र थियो पनि। त्यसको गेटनजिक पुग्ने ठाउँमा सार्वजनिक गाडीले रोक्यो। उसले हामीहरूको गाडी भाडा तिर्‍यो अनि ल झरौँ भन्यो। हामीहरू झर्‍यौँ अनि त्यो सपिङ सेन्टरतिर लाग्यौँ। लुगा/कपडाहरू भएको ठाउँ कुन फ्लोरमा छ भनी त्यहाँको गैटमा सुट बुटले सजिएको चिटिक्क परी बसेको कर्मचारीलाई सोध्यो उसले। तेस्रो तल्ला रे जवाफ सहजै प्राप्त भयो।भित्र पस्यौँ हामीहरू। ग्राउन्ड फ्लोर हुँदै गर्दा त्यहाँ सिँढीजस्तो देखिने हिँडिरहनु नपर्ने सिँढी रहेछ र हामीहरू त्यहीँ सिँढी भएर तेस्रो तल्ला पुग्यौँ। भित्र पस्दा खासै अन्य पसलहरूमा पस्दाजस्तो पसले त्यहाँ कोही देखिएन। उसले हामीलाई चाहिने लुगाहरूतिर डोर्‍यायो। थुप्रै लुगाहरू थिए। मैले मन पर्ने लुगा उसले मन पर्ने लुगा छान्नुभन्दा पनि हामीहरू मूल्य छान्नतिर लाग्यौँ। किनकि लुगाको मूल्य मध्यम वर्गको हामी जस्तोले सजिलैसँग बहन गर्न सक्ने जस्तो थिएन। बढी नै थियो। निकै बेरको खोजी जुन लुगाभन्दा कम मूल्य भएको लुगा भेट्टाउनतिर लागेका हामीहरू त्यस्तो खालको लुगा भेट्टाउन नसकेपछि हामीहरू त्यहाँबाट निस्क्यौ बाहिर। पुनः अर्को सार्वजनिक गाडी चढ्यौँ। त्यो गाडीले हामीलाई अर्को ठाउँ पुर्‍यायो। त्यहाँ त जस्तापाताहरूले नै बनेका र छानो पनि जस्तापाताकै भएका टहरा जस्तो देखिने थुप्रै पसलहरू सँगसँगै थिए। हामी त्यहाँ पस्यौ, अघिको जस्तो यहाँका पसलहरूको ढोकामा कुनै सुट बुट लगाएर सजिएको कर्मचारी देखिएन। हामी सिधै भित्र पस्यौँ। भित्र अघि हामीले जस्तो कुनै पसले नभएको पनि थिएन। त्यहाँका प्रत्येक पसलमा पसले देखिए। जुन पसलको नजिक पुग्दा पनि उठेर हामीहरूको नजिक आइहाल्ने र सबै पसलेले सुगा रटाएको जसरी सोध्ने एउटै प्रश्न सुनियो, ‘के चाहियो होला हजुर आउनुस्, हेर्नुस्’ यो प्रश्न हामी भित्र पसेर पार गरेको सबै पसलेको थियो। हामी एउटा कुनातिर एउटा लुगा पसलमा आइपुग्यौँ। त्यहाँको पसलेले पनि त्यहीँ अघिको प्रश्न दोहोर्‍यायो। त्यसको उत्तर नदिईकनै हामीहरूले हामीहरूलाई चाहिने लुगाको बारेमा सरसरती भन्यौँ। अघिको पसलेविनाको पसलको लुगाभन्दा मूल्य खोज्नुपर्ने अवस्था त्यहाँ सृजना भएन किनकि हामीहरू भित्र पस्दा प्रत्येक पसलेले आफै के चाहिन्छ हजुर आउनुस् भन्दै आफै अगाडि आएको देखिएको दृश्य निकै स्वागतयोग्य थियो। हामीहरू हामीलाई चाहिने लुगाहरू खोज्दै गयौँ जुन हाम्रो काँधले थेग्न सकोस्। भेट्टायो पनि र हामीले किन्यौँ अनि फर्कियौँ। केही दिनपछि मलाई थाहा भयो हामीले लुगा किनी फर्केकोलाई त फुटपाथ पो भन्दा रहेछन्।

उ पहिले कुनै स्कुलमा पढाउँथ्यो। पेशाले मास्टर थियो उ। आफ्नो पेसाप्रति गर्व गर्थ्यो। दिनभरि स्कुलमा भएगरेका क्रियाकलापहरू उसले साँझ घरमा आएर सुनाउँदा बडो रमाइलोसँगै थकाइ मेटिएको अनुभव हुन्थ्यो। तर हाम्रो जीवनयापन भने त्यहीँ अघिको जस्तै सामान्य किसिमको। सुख नभए पनि खुसी थियौँ हामीहरू। समय बित्दै गयो। एक पटक फेसबुक (मुहार पुस्तिका) चलाउँदै गर्दा एउटा ‘शिक्षा’ नामक फेसबुक पेजमा लेखिएको थियो, आफूले कुट्दा कुट्दा पनि 10 कक्षा पास गर्न नसकेको विद्यार्थी 4/5 वर्ष विदेश काम गरेर फर्कन्छ।मोटरसाइकल घ्याच्च रोकेर सर नमस्ते गर्दै भन्छ, “ सरको ज्याकेट कति खपेको ! म उता जानुभन्दा अगाडीको होइन र यो ? ” उ केही बोल्न सकेन, मात्र सक्यो त केवल दुई हात जोडेर नमस्कार फर्काउन । कठै! बिचरा, कस्तो दया लाग्दो जिन्दगी।

माथि उल्लेखित हरफले उसलाई निकै सोच्न बाध्य बनायो। यस पटक उसले पनि निकै नयाँ सोच्यो। सोच बनायो सुकिला मुकिला लुगा लगाएको जागिरेको। उसले सुकिला मुकिला लुगा लगाएको जागिर निकै ठुलो अनि महान् देख्यो। उसले सोचेको जागिरे अनि लुगा थियो नेपालको निजामती कर्मचारीको पोशाक। त्यो निजामती कर्मचारीहरूको निलो कोट, पाइन्ट अनि सेतो सर्टले उसलाई शिक्षण पेसाबाट त्यसतर्फ आकर्षित गर्‍यो, अनि मास्टरको जागिर भन्दा त्यता पो राम्रो होला भनेर उ निजामती कर्मचारीको जागिर खाने सोच बनायो र बन्यो एक निजामती कर्मचारी। समय बित्दै गयो निजामती सेवाको जागिर खाएको पनि कैयौँ वर्ष बितेछन् उसका। दर्जनौँ हाकिम फेर्‍यो उसले तर राम्रोसँग फेर्न सकेन त केवल आफूले लगाउने लुगा। लगाइरह्यो त केवल त्यही पोसाकको निलो कोट, पाइन्ट अनि सेतो सर्ट। समय फेरियो, उसको जागिर फेरियो, हामीहरू बस्ने ठाउँ फेरियो तर फेरिएन हाम्रो जीवनयापन।आजकल पनि हामीहरूलाई उसले त्यहीँ पहिला लुगा किनिदिने भन्दै ठूलाठूला सपिङ मलहरू भएको ठाउँमा दिनभरि लुगाभन्दा मूल्य छान्दै अन्तिममा रन्थनिएर कुनै फुटपाथमा राखिएका लुगाहरू किनिदिने वृत्तान्त जस्ताको तस्तै छ।

एकपल्ट उ साथीहरूमाझ टी सर्ट लगाएर गफ गर्दै बसेको समयमा प्रसँगबस् कुनै साथीले ठट्टा गर्दै पातलो अनि घाँटीको हाडहरू देखिने उसको दुब्लो ज्यान भएको उसलाई ‘लुरे’ भनेपछि रिस लागेर होला त्यो दिनदेखि उ आफूलाई सबैले दुब्लो भन्छन् कि भनेर आजकल आफ्नो टी-सर्ट लगाउँदा टी-सर्ट लगाएपछि प्रस्ट देखिने घाँटीका दुवैतिरका हाडहरूलाई ब्युटी बोनको संज्ञा दिँदै भन्छ, ‘ब्युटी बोन पो देखिएको हो। यो सबैको कहाँ देखिन्छ र’। यस्तै कुराहरूले उ आफू मोटो साबित गराउन प्रयत्न गर्छ।

गाउँघरतिरको भोज भतेर जाँदा पनि प्राय: उ आफ्नो निजामती ड्रेसकै निलो कोट लगाएर जान्छ। सर्ट र पाइन्ट चाहिँ यसपालि निजामतीको भन्दा फरक रङ्गको लगाएको थियो, सायद पोसाक भत्ता प्राप्त गरेर होला। नत्र उसको अफिस बाहेकको लगाउने लुगा भनेकै त्यही पुरानो ज्याकेट, ६० डिग्रीको कोणमा ढल्किएको शरीर, च्यातिएको ठाउँमा अलिअलि टालटुल पारेको कपडा र अनि छेउतिर अलिअलि च्यातिएको पूर्वेली ढाका टोपी, साथमा निराश अनि थकित अनुहार उसको।

उसले एक पल्ट सुनाएको कथा थियो ‘हामी कर्मचारीको सरुवा, बढुवा त नियमित प्रक्रिया नै हो। अफिसमा सधैँ जसो बुढा-पाका हाकिम साब मात्र आएको अनुभव पाएको उसले एकपल्ट एक जना नयाँ हाकिम साब उसको कार्यालय प्रमुख भएर आएछन्, निकै फूर्तिला, अनि निकै तन्नेरी पनि। ती हाकिम साब कार्यालयमा पनि नियमित अनि समयमै आउने, जाँदा पनि समयमै। तर एकपल्ट ती हाकिमले उसलाई आज अलि बढी समय बस्नुपर्ने भो के छ सकिन्छ बस्न ? भन्दा उसले भन्यो सर म अफिसको कामपछि घर पुगेर अर्को काममा जान्छु राती। ऐ होर उसो भए हुन्छ जानुस् भन्यो उसको हाकिम साबले। मन्द पारामा भनेकोले रिसाएर हो वा त्यत्तिकै थाहा पाएन उसले, उ गयो। निकै महिना बित्यो त्यो कुरा भएको। केही महिनापछि फेरी कार्यालय समय सकिन लाग्दा आफ्नो हाकिम साबको घर जाने सुरसार नदेखेपछि उसले सोध्यो सर अफिस समय सकियो म जाँउ हजुर ? यस पटक त हाकिम साबले उत्तर नदिई झन् नयाँ प्रश्न पो तेर्स्याएछन्, तपाई कहाँ हो काम गर्ने ? मैले जवाफ दिए, यही नजिकै हो सर फलानो ठाउँ अनि फलानो अपार्टमेन्टमा सेक्युरिटीको। मैले म काम गर्ने उक्त ठाउँ भन्दा त हाकिमले भन्यो तपाई जानुस्, म पनि जान्छु किनकि मलाई पनि काममा जानु छ यहाँबाट गएपछि। उसले हाकिमलाई कहाँ, के, कुन्नि लगायतका प्रश्न सोध्ने हिम्मत गरेन। तर यस पटक उसको हाकिम साबले लगत्तै भन्यो तपाईँ जहाँ काम गर्नुहुन्छ नि त्यसै नजिकको मुख्य चोकमा म पनि मकै पोलेर बेच्छु, अझ थप्यो, भरे राति भोक लाग्यो भने मकै खान आउनुस् है चोकमा।यस पटक दुवै जना हाँसे एकैसाथ अनि निस्के अफिसबाट। उसले पत्याएको थिएन हाकिम साबको मकै पोलेर बेच्ने कुरा। किनकि, आफू काम गर्ने ठाउँको नजिकैको मुख्य चोकमा मकै पोल्ने गरेको सम्म थाहा थियो उसलाई। तर कसले हो, उसले ख्यालै गरेको रहेनछ आजका दिनसम्म। आज साँझ उसले विचार गर्‍यो, सम्झ्यो अघि हाकिम साबले भनेको कुरा। नभन्दै आज पनि त्यो मुख्य चोकतिर कुनै मान्छे मकै पोलिरहेको देख्यो। झट्ट अघिको कुरा सम्झ्यो।एकछिन त्यता गएर हेर्‍यो त साच्चिकै त्यही उसको अफिसको हाकिम साब पो रहेछन् मकै पोलिरहेका। दुवै जना मुसुक्क हाँसे। तर केही बोल्न सकेन उसले। किनकि उसको अफिसको हाकिम साबहरुले पनि यसरी नै यस्तै वा अन्य अफिसको समय पछि काम गरेर नै आफ्नो घर परिवारको आवश्यकता पुरा गर्दा रहेछन् भन्ने कुरा उसले आज आएर आफ्नै आँखाले लाइभ देख्यो र पत्यायो पनि।

नेपालका प्राय: सबैजसो निकाय चाहे त्यो शिक्षण, सुरक्षा निकाय, निजामती, सार्वजनिक निकाय या अन्य निकायमा कार्यरत कर्मचारीहरूलाई राज्यले प्रदान गर्ने र गर्दै आएको तलबले अनि बढ्दो मुद्रास्फीतिको कारणले माथिकै दृश्य देखाउनेमा कुनै शङ्का देखिँदैन। मनमा साह्रै नराम्रो महसुस भइरहन्छ यस्तो घरपरिवारको सामान्य आधारभूत आवश्यकता समेत परिपूर्ति गर्न नसक्ने किसिमको आर्थिक अवस्थामा पनि कुनै स्वार्थ नराखी नितान्त राष्ट्रसेवामा समर्पित कर्मचारीहरू देख्दा। किनकि, मैले यी दृश्यहरू एकदम नजिकबाट नियालिरहेको छु आजका दिनसम्म।

अफिस जाँदा आउँदा अनि अफिसमा दिनभर सेवाग्राहीसँगको एकनास मन्द मुस्कानसाथ सेवा प्रवाह, अनि अफिसको समयपछिको यस्तो निकै मार्मिक कथाजस्तो प्रसङ्ग रहेछ यो एउटा कर्मचारीले भोगेको। यस्ता आधारभूत आवश्यकता लगायतका विषयहरूतर्फ राज्य सरकारको उपस्थिति जनताहरूमाझ बोध गराउने निजामती संयन्त्र (स्थायी सरकार) का प्रतिनिधि पात्रको अवस्था रहेकोमा उसको आफ्नो एक परिवार धान्ने क्षमता हुने गरी अर्थात् उसले आफू र आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा हुने गरी पारिश्रमिकको व्यवस्था पाएको भए यस्ता कथाहरू सायद कम हुन्थे कि ? अनि राज्यले उक्त कर्मचारीबाट अपेक्षित उपलब्धी प्राप्त गर्न सक्थ्यो कि ?

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस