कोरोना समुदायमा फैलनबाट कसरी रोक्ने ? « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कोरोना समुदायमा फैलनबाट कसरी रोक्ने ?


१० असार २०७७, बुधबार


नेपालमा डेढ महिना पहिलेसम्म फाट्टफुट्ट देखिने कोरोनाको सङ्क्रमण अहिले विगत एक हप्ता देखि दैनिक करिब ५०० जना भन्दा बढी नयाँ सङ्क्रमित थपिएर दश हजार भन्दा बढी पुगेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण को उच्च जोखिम युरोपेली मुलुक हुँदै अहिले आएर अमेरिकी राष्ट्रहरू पश्चात् भारत, पाकिस्तान, बङ्गलादेश लगायतका दक्षिण एसियाली मुलुकहरूमा उच्च दरमा सङ्क्रमण बढ्दै गइरहेको छ ।

नेपालमा देखिएको सङ्क्रमण मध्ये अधिकांश विदेशबाट विशेष गरी भारतबाट आउने व्यक्तिहरूमा भएको आयातित अवस्था हो । विदेशबाट आएका व्यक्ति बाहेक अन्य व्यक्तिमा खासै सङ्क्रमण सरेको अवस्था नभएकोले हालसम्म नेपाललाई विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमणको सुरुकै फाट्टफुट्ट चरणमा राखेको छ । विदेशबाट आउने व्यक्तिहरूको उमेर समूह विशेष गरी ६० वर्ष भन्दा कमका वयश्क भएकोले यो रोग लागेतापनि प्राय: लक्षण विहीन वा सामान्य लक्षण देखिएको छ भने यसबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितहरू हुने दर अत्यन्त न्यून ०.२% मात्र रहेको छ जुन अमेरिकी मुलुकहरूमा हुने ५% वा युरोपेली मुलुक इटालीमा भएको करिब १४% भन्दा धेरै गुणा कम हो ।

नेपालमा सङ्क्रमण दैनिक रूपमा बाहिरबाट आएकामा बढेपनि स्थानीय सङ्क्रमण अत्यन्त कमी हुनुको प्रमुख श्रेय हरेक स्थानीय तहको सक्रियतालाई दिनुपर्छ । बाहिरबाट आउने सबै व्यक्तिलाई स्थानीय स्तरमा उपलब्ध भवनमा साधन श्रोतको परिचालन गरेर समुदायका अन्य सदस्यहरूसँग घुलमिल हुन नदिईकन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिनु अत्यन्त राम्रो पक्ष हो ।

स्थानीय तहले हाल करिब एक लाख विदेशबाट आउने व्यक्तिहरूलाई सफलतापूर्वक क्वारेन्टिनमा राखेको छ र यो क्रम अझै केही महिनासम्म जारी रहने छ ।

१४ दिनको प्रभावकारी क्वारेन्टिन बसाई पश्चात् लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका कोरोना सङ्क्रमितमा कोरोना भाइरस पूर्ण रूपमा पर्छ वा निष्क्रिय हुन्छ र अन्य व्यक्तिलाई सर्न नसक्ने तथ्य समेटिएको अध्ययन विभिन्न जर्नलहरूमा प्रकाशित भएका छन् । यसै तथ्यलाई आधारमानी नेपालको कोरोना सम्बन्धी निर्देशिका अनुसार कुनै लक्षण नदेखिएका क्वारेनटिन पुरा गरेका व्यक्तिहरूलाई पिसिआर परीक्षण बिनानै घर पठाउँदा पनि समुदायमा नसारेको हो । पिसिआरबाट सबै क्वारेन्टिनमा रहने व्यक्तिको परीक्षण गर्न सकियो भने त अति राम्रो हो तर हजारौँ व्यक्तिहरू एकै पटक बाहिरबाट आउँदा सबै लक्षण विहीनहरूको परीक्षण गर्न सम्भव हुँदैन तथा त्यसो गर्नु राज्यको श्रोतको समुचित तथा वैज्ञानिक प्रयोग पनि हुँदैन । तथापि क्वारेन्टिनमा रहेका कुनै व्यक्तिलाई सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्यकर्मी वा अस्पतालको निगरानीमा रहनेगरी छुट्टै राख्ने तथा फरक समयमा, फरक स्थानबाट आउने व्यक्तिहरूलाई छुट्टाछुट्टै क्वारेन्टिनको कोठामा राख्न सकियो भने सङ्क्रमण फैलन पाउँदैन ।

कोरोनाको बिरामी फाट्टफुट्ट देखिने बित्तिकै बन्दाबन्दिको नीति लिएको सरकारले अहिले सङ्क्रमण बढेपनि नागरिकहरूको दैनिक जीवनयापनमा सहजताका लागि खुकुलो गरेको छ । मानिसहरूमा यो रोगले केहिपनि हुँदैन भनी हेलचेक्राई गर्ने, व्यक्तिगत सुरक्षाको उपायमा ध्यान नदिईकन व्यापार व्यवसाय तथा निजी सवारी चल्दा बजारमा भिडभाड बढ्न गई समुदायमा सङ्क्रमण फैलिने सम्भावना झनै बढेको छ । समुदायस्तरमा यो सङ्क्रमण फैलियो भने यसले जटिलता ल्याउन सक्ने व्यक्तिहरु बृद्दबृद्दा, दीर्घरोगीहरुमा समेत सङ्क्रमण बढ्न गई मृत्यु हुने दर बढ्न जान्छ ।

कोरोना रोगको नियन्त्रणका लागि सबै व्यक्ति तथा समुदाय पनि जिम्मेवार हुनु पर्छ । कोरोना भाइरस रोगी व्यक्तिले खोक्दा ह्याछ्यु गर्दा निस्कने थुक, सिँगानको छिटा निरोगी व्यक्तिको मुख, नाक सम्म पुग्यो वा उक्त छिटा रहेको स्थानमा निरोगीले छुँदा भाइरस निरोगी व्यक्तिको नाक, मुख वा आँखासम्म पुगेमा यो रोग सर्न सक्ने भएकोले बाहिर निस्कनुपर्दा मानिसहरू बिच कम्तीमा एक मिटरको दुरी कायम गर्ने, उपलब्ध जुनसुकै कपडाको मास्क वा कपडाले मुख छोपेर बाहिर निस्कियौ भने यो रोग सर्ने सम्भावना अत्यन्त कम हुने कुरा अध्ययनहरूले देखाएको छ । तसर्थ, अहिले सरकारले बन्दाबन्दी खुकुलो बनाएपनि भिडभाड नगर्ने, बाहिर जाँदा जुनसुकै मास्क वा कपडाले नाक, मुख छोपेर हिँड्ने, अन्य व्यक्तिहरूसँग कम्तीमा एक मिटरको दुरी कायम गर्ने, साबुन पानीले हात धुने गरेमा यो रोग नियन्त्रणमा सघाउ हुन्छ ।

केही महिनासम्म विदेशबाट आउने व्यक्तिहरूको क्रम चलिनै रहने हुनाले उनीहरूलाई व्यक्ति तथा स्थानीय तहको साझेदारीमा होटेल वा संस्थागत क्वारेन्टिन मा नै राखेमा समुदायमा सम्भावित सङ्क्रमितलाई अलग गर्न सकिन्छ । यसको लागि स्थानीय तह, जनप्रतिनिधिहरूको सक्रियता अत्यन्त महत्त्वपूर्ण हुन्छ । समुदायमा फाट्टफुट्ट रूपमा सङ्क्रमित व्यक्ति देखिएमा तुरुन्तै सङ्क्रमितको नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको खोज तथा पहिचान गरी तिनीहरूलाई पनि क्वारेन्टिनमा राख्ने तथा परीक्षण गर्ने गर्नुपर्छ । यी कार्यहरू प्रभावकारी तवरबाट गर्न स्थानीय तहलाई प्रदेश तथा सङ्घीय सरकारबाट समन्वय तथा सहयोग हुनु अपरिहार्य छ ।

नेपालमा बाहिरबाट आउने व्यक्तिहरूलाई घरको बनावट, शौचालयको छुट्टै प्रयोग गर्नुपर्ने कारणले परिवारको अन्य सदस्यहरूसँग दुरी कायम गर्न तथा छुट्टै एकान्तबासमा बस्न त्यति उपयुक्त नहुन पनि सक्छ । सङ्क्रमणलाई परिवारका सदस्य तथा समुदायमा सर्न नदिन हाल संस्थागत क्वारेन्टिन नै उपयुक्त देखिएको छ । क्वारेन्टिनमा रहने व्यक्तिहरू बिच कम्तीमा एक मिटरको दुरी राख्ने, खाना र बस्ने उचित व्यवस्थापन गर्न सकियो भने आयातित सङ्क्रमणबाट स्थानीय सङ्क्रमणलाई न्यून गर्न सकिन्छ । यस प्रबन्धको लागि स्थानीय तहको क्षमता वृद्धि गर्ने तथा साधन श्रोतको विनियोजन गर्न सक्यौ भने यो रोगलाई प्रारम्भिक चरणबाट नै रोक्न सकिन्छ । विदेशबाट आउने मानिसहरूको तुरुन्त आर.डी.टी. वा पिसिआर परीक्षण गरेर क्वारेन्टिनमा नराखी घर पठाउँदा गलत रिपोर्टका कारण झन् जोखिम बढ्न सक्छ ।

नेपालमा कोरोना रोग भन्दा पहिलेका दीर्घ रोग, निमोनिया, कुपोषण तथा प्रजनन समस्याहरू पनि यथावत् रहेकाले सबै आधारभूत तथा उपचारात्मक स्वास्थ्य सेवा पुर्णरुपमा सुचारु गर्न तथा स्वास्थ्यकर्मीहरूलाई निर्धक्क स्वास्थ्य सेवा दिन पर्याप्त मात्रामा समुचित प्रयोगका लागि व्यक्तिगत सुरक्षाका सामाग्रीहरूको आपूर्ति हुनुपर्छ । सबै तहका सरकारहरूले क्वारेन्टिन, कोरोनाको परीक्षण तथा सम्भावित जटिल अवस्थाको सङ्क्रमणलाई व्यवस्थापन गर्न आवश्यक बजेटको विनियोजन तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस