म पर्खिँदै छु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

म पर्खिँदै छु


३ जेष्ठ २०७७, शनिबार


परी सरी धर्तीमै खुलेकी राराको स्नेही काखमा सुस्ताउनु थियो,
मुक्ति क्षेत्रमा स्वर्गीय अनुभूति गर्दै जोमसोमे स्याउको कोसेली बोकी फर्किनु थियो,

बहकिनु थियो कन्यामको चिया बगान अनि भेडेटारको चिसो सिरेटोसँगै,
नियाल्नु थियो नजिकबाटै काला पहाड र लिपुलेकहरूलाई,
खोज्नु थियो आफ्नै सीमाभित्र लिम्पियाधुरा र सुस्ताहरूलाई,

संसारकै छानो सगरमाथाको बेस क्याप र कालापथ्थरहरुसगँ साक्षात्कार गर्नु थियो,
लौरीबिनामा लौरी साट्दै त्यो अदितिय गोसाइकुन्डमा फेरी पनि डुबुल्की मार्नु थियो,

तीनजूरे, मिल्के र कालिन्चोकका अनेकथरी गुराँसका रङसँग रङगिदै उकालो चढ्नु थियो,
कर्णालीको चिसो पानीले प्यास मेट्दै स्वर्गद्वारी र खप्तडको सेरोफेरो घुम्नु थियो,
चराहरूको चिरबिरे सङ्गीतको तालमा कोशिटप्पुतिर झुम्नु थियो,

पहाडका टाकुरा र थुम्काहरूमा थकान मेट्दै पर-पर सम्म नयन बिछ्याउनु थियो,
लटरम्म अन्न झुलेका तराइ मधेसका सम्मा फाँटहरूलाई सुमसुम्याउनु थियो ।
तर,

तर यी अनगिन्ती रहरहरू आफैभित्रै गुम्स्याएर जिउन विवश छु आज म,
चरीजस्तै खुला आकाशमा उड्न खोज्ने मेरो स्वतन्त्रता दैलोभित्रै थुन्न विवश छु आज म,

पर्खिँदै छु, मडारिएको यो कालो बादल फारेर आकाश खुल्नेछ एक दिन,
हजार यी सपनाहरू साकार पार्न सुनौला किरण लिएर नयाँ बिहानी झुल्किनेछ एक दिन ।

 

प्रतिक्रिया दिनुहोस