बन्दाबन्दीले नेपालको कृषि क्षेत्रमा पर्ने असर र यसको रोकथाममा स्थानीय सरकारको भूमिका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बन्दाबन्दीले नेपालको कृषि क्षेत्रमा पर्ने असर र यसको रोकथाममा स्थानीय सरकारको भूमिका


२५ बैशाख २०७७, बिहिबार


सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी नेपाली जनताको जीवन रक्षार्थ देशव्यापी रूपमा लागु गरेको बन्दाबन्दी (लकडाउन) को अवधि डेढ महिना पुरा हुन लागिसक्यो । तर पनि देशमा दिनानुदिन कोरोना सङ्क्रमण दर बढिरहेको छ । पूर्णरुपमा कोरोना रोकथाम र नियन्त्रण हुने कुनै सङ्केत छैन । सङ्क्रमणबाट बच्न बन्दाबन्दी नै उत्तम विकल्प र बाध्यता हो । यही विकल्प र बाध्यताका कारणले लकडाउन अझै कति दिन लम्बिन्छ टुङ्गो छैन ।

मानिसलाई बाँच्नका लागि खानु पर्ने हुन्छ । खाने कुराको उत्पादन कृषि क्षेत्रबाट हुन्छ । कृषि क्षेत्रबाट उत्पादन लिन उपयुक्त समयमा उपयुक्त कार्य (समयमै खन जोत गर्ने, मलखादको जोहो गर्ने, बिउ,बेर्ना राख्ने, उपयुक्त समयमा रोप्ने, आवश्यक वेलामा सिंचाई गर्ने, गोडमेल गर्ने, समयमै रोग किराको व्यवस्थापन गर्नु, नियमित रूपमा खेतबारीको अवलोकन, हरेक दिन खेतबारीको हेरचाह गर्ने, उपयुक्त समयमा बाली टिप्नु, बाली भित्र्याउनु, उत्पादनलाई सुरक्षित ठाउँमा भण्डार गर्ने आदि) गर्नु नितान्त जरुरी हुन्छ ।

कृषि पेसा, क्षेत्र अन्य पेसा क्षेत्र भन्दा फरक र विशिष्ट खालको हो । एकै घण्टा, एकै दिन, एकै हप्ताको फरकको कारण बाली उम्रिने-नउम्रिने, फल्ने-नफल्ने हुन सक्छ । पाकेको उत्पादन समयमै लिन नसक्दा क्षणभरमा उत्पादन गुमाउनु पर्ने हुन्छ । उपयुक्त वेलामा बजार पुर्‍याउन नसक्दा लागत मूल्य नै गुमाउनु पर्ने हुन्छ । मलजल लगायत उत्पादनका लागि अत्यावश्यक पर्ने कृषि वस्तुको समयमै उपलब्धता नहुँदा उचित उत्पादन लिन नसकेर अनावश्यक लागत खर्च ब्यर्होनु पर्ने अवस्था आउँछ । यसर्थ कृषि क्षेत्रमा हामीले समय, अवस्था र क्रियाकलापको तालमेल मिलाउन सकिएन भने उत्पादनमा निकै ठुलो ह्रास आउँछ।

यो बेला र मौसम खेती गरिने क्षेत्रफल तथा उत्पादन परिमाणको स्थितिका आधारमा हामीले मुख्य बालीका रूपमा लिईने धान खेतीका लागि बिउ, बेर्नाको तयारी गर्ने, दोस्रो बालीको स्थानमा रहेको बाली मकै खेतबारीमा छर्ने, र तेस्रो बाली गहुँ र दलहन लगायतका धेरै बालीको उत्पादन लिने र नयाँ बाली उत्पादनका लागि तयारी गर्ने उपयुक्त समय हो । नेपाल र नेपाली कृषि परिवेशमा कृषि कार्यका लागि सबैभन्दा व्यस्त र खटिने समय भनेको पनि यही वेला हो । अझै भन्दा कृषि क्षेत्रमा मानो छरेर मुरी उत्पादन गर्ने चरणको सुरुवाती घडी हो । यो समयलाई मनन गरेर सोही अनुसारका कृषि गतिविधि सञ्चालन गर्न/गराउन राज्यले बन्दा बन्दीको उपयुक्त विकल्प कृषि क्षेत्रमा तत्काल कार्यान्वयन गर्नु पर्दछ । अन्यथा यही अवस्था रहिरह्यो, लम्बिरहयो भने कृषि कर्म/गतिविधि रोकिन्छन् । कृषि गतिविधि रोकिदा कृषि उपज उत्पादन हुँदैन। कृषि उपज उत्पादन नहुँदा खाद्यवस्तुको कमी हुन्छ ।

खाद्यवस्तुको कमी हुँदा बजारमा खाद्य सङ्कट पर्छ खाद्य सङ्कट हुँदा मानिसले सहज किसिमले खाद्यान्न उपलब्धता गर्न पाउदैनन। खाद्य उपलब्धता नहुँदा मानिसले खाद्यवस्तु खान पाउँदैन खाद्यवस्तु खान नपाउँदा मानिसको शरीरमा खाद्य तत्त्वको कमी हुन्छ र शरीर कमजोर हुन्छ शरीर कमजोर हुँदा रोगसँग लड्ने क्षमता पनि कमजोर हुन्छ अनि सानातिना रोगब्याधीले मानिसको शरीरमा सहजै आक्रमण गर्न सक्छन् र मानिस रोगको सङ्क्रमणको चपेटामा पर्छ अन्ततः मृत्युको सँघारमा पुग्छ । अतः आजको यस घडीमा कृषि क्षेत्रमा सहज किसिमले काम गर्ने वातावरणको विकल्प खोजिएन भने भोलि नेपालमा खाद्य सङ्कट निश्चित छ र देश भरी कोरोनाको महामारी भन्दा भोकमरीको महामारीले भयावह रूप लिनेछ ।

कोरोनाको बन्दा बन्दीका कारण देश भरी आयात, निर्यात कार्य ठप्पै छ । एकातिर किसानहरूले उत्पादन गरेका कृषि वस्तुहरुलाई बजार सम्म लान सकिरहेका छैनन् भने अर्कातिर उपभोक्ताले सहजरुपमा दैनिक आवश्यकताका खाद्यान्न किनेर खान पाएका छैनन् । कतिपय ठाउँमा दूधले बजार नपाई सडकमै पोख्नु पर्ने वाध्यात्मक अवस्था छ । पशु तथा कुखुरा पालनका लागि दैनिक अत्यावश्यक दाना, पराल, आहार विहारको व्यवस्थापनमा समस्या आएको छ। गाउँघर, सहर बजारमा सञ्चालित तथा सञ्चालन हुने अवस्थाका कतिपय कृषि फार्म, कृषि व्यवसाय अस्तव्यस्त भएका छन् । जेनतेन उत्पादन भएका दूध, फुल, माछा मासुले बजार पाएको छैन ।

विषम परिस्थितिका बाबजुद उत्पादन भएका कतिपय कृषि वस्तु/उपजको लागत लगानी नै नउठ्ने गरी चोर बजारमा विक्री गर्न उत्पादक बाध्य छन् । नयाँ उत्पादनका लागि अत्यावश्यक वस्तु, विउमल, उत्पादनका सामग्रीको बजार अभाव चुलिँदै गएको छ । कृषकले कृषि कार्यका लागि ढुक्कले खेतबारीमा निस्कने वातावरण पाएका छैनन्। कृषि, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाको बन्दाबन्दीले व्यापार बिजनेस ठप्छ छन् । चालु बन्दा बन्दीको अवधिमा करिब १ अर्व २० करोड मूल्य बराबरका ताजा तरकारी र यो भन्दा धेरै बढी दुग्ध उत्पादन बजार जान नपाएर खेर गएको कुरा धेरै जसो पत्रपत्रिका र समाचारमा आएको छ ।

भविष्यको सुन्दर सपना बोकी ठुलो लगानी सहित कृषि व्यवसायमा लागेका युवाहरूमा कोरोनाको बन्दाबन्दीले मन्दामन्दी छाएको छ । विदेशबाट स्वदेश फर्केका युवाले देशमा थप बेरोजगारीको चाप बढेको छ । दैनिक पारिवारिक खाद्य खपत बढेको हुनाले खाद्य असुरक्षा बढ्दै गएको छ । मानिसका नियमित आम्दानीका श्रोतहरू बन्द भएका छन् । जोकोहीको सञ्चित बचत दिनप्रतिदिन घट्दै गईरहेको छ । यसले गर्दा देशमा थप गरिबी, बेरोजगारी, खाद्य सङ्कट एकसाथ बढ्ने खतरा छ । हाल देशको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान दिईरहेको कृषि क्षेत्र कोरोनाको बन्दा बन्दीकै कारण खुम्चिने अवस्था निश्चित छ। जसका कारण देशको अर्थतन्त्र समेत धराशायी हुनेछ।

राज्यको पहिलो कर्तव्य आफ्ना जनतालाई बचाउनु हो । र जनताले बाँच्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । हालको विषम परिस्थितिमा ज्यान बचाउन बन्दा बन्दी र जीवन बचाउन खेतीपातीको विकल्प हामीसँग छैन । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड-१९ र देशव्यापी बन्दा बन्दीका कारण देशमा भोलि आउन सक्ने खाद्य संकटलाई मध्यनजर गरी सबैले कृषि क्षेत्रमा कृषिका कार्यहरू सुचारु गर्न, गराउन भनी सार्वजनिक सूचना समेत जारी भएको छ । यसर्थ उत्पादनको क्षेत्रमा उपयुक्त र असाध्यै महत्त्वपूर्ण मुख्य कृषि मौसमको यो घडीमा सबै स्थानीय तहका सरकारले कृषि क्षेत्रमा बन्दा बन्दीको उपयुक्त विकल्पको खोजी गरी कृषक, उत्पादक, व्यवसायी तथा कृषि उत्पादन सँग सम्बन्धित निकायलाई निश्चित मापदण्डका आधारमा कृषि क्षेत्रमा कामकाज गर्न/गराउने उचित वातावरण बनाउनु पर्दछ ।

यसका लागि स्थानीय स्तरमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका अत्यावश्यक हुन्छ । जसमाः हाल कृषि उत्पादनका लागि प्रयोगमा आइरहेको र आउन सक्ने योग्य जमिनको पहिचान गर्ने र उक्त क्षेत्रलाई कृषि उत्पादन क्षेत्र घोषणा गर्ने, कृषि क्षेत्र वरिपरिको सीमाको आवश्यक सुरक्षालाई भरपर्दो बनाउने, कृषि उत्पादनमा संलग्न कृषक, व्यवसायी, उद्यमीको वास्तविक सङ्ख्या, विद्यमान अवस्थाको विवरणको सङ्कलन गर्ने । भौगोलिक अवस्था, स्थान, उपकरणको उपलब्धता आदीको विचार गरी कृषि उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति (ज्यामी,कामदार) को मापदण्ड निर्धारण गर्ने । कृषि क्षेत्र सीमाभित्र उपयुक्त निर्मलीकरण, शुद्धीकरणका उपायहरू अवलम्बन गर्ने । आवश्यक स्थानमा सेनिटाईजरको व्यवस्था गर्ने ।

कृषि उत्पादनका लागि तत्काल अत्यावश्यक पर्ने वस्तुहरू बिउ, मलखाद, विषादी, प्लास्टिक टनेल, दाना चोकर आदी ५० प्रतिशत राहतका रूपमा सहज किसिमले उपलब्ध गराउने, कृषि औजार उपकरण लाई उत्पादन क्षेत्र र परिमाणको आधारमा ५० प्रतिशत अनुदानमा उपलब्धताको ग्यारेन्टी गर्ने । कृषि कार्यका लागि आवश्यक कामदार/मजदुरहरूको निश्चित सङ्ख्या निर्धारण गर्ने, उनीहरुलाई विशेष परिचयपत्रको व्यवस्था गरी आफ्नो कार्य क्षेत्रमा आउन जान पाउने निर्बाध वातावरणको व्यवस्था गर्ने। कृषि कार्यमा संलग्नहरूको दैनिक निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने । कृषि क्षेत्रमा काम गर्दा पन्चा, बुट, एप्रोन, मास्क, चस्मा आदीको निःशुल्क उपलब्ध गराउने ।

हाल विश्वभरि फैलिरहेको कोरोना र नेपालमा नेपाली जनताको जीवन रक्षार्थ राज्यले देशव्यापी रूपमा लागु गरेको बन्दा बन्दीको यो अवस्थामा देशको कृषि क्षेत्रमा भोलि आउन सक्ने सङ्कट र भोकमरी प्रति हामी सबैले समयमै सचेत हुन जरुरी छ ।

कोरोना भाईरसबाट बच्ने सुरक्षित उपायहरूका बारेमा उपयुक्त जानकारीको संचारलाई निरन्तरता दिने । सङ्क्रमित स्थानको पहिचान गरी उक्त स्थानलाई पूर्णरुपमा सिलबन्दी गर्ने र बाँकी क्षेत्रमा सामाजिक दुरी कायम गरी कृषिमा गतिविधिलाई निर्बाध सञ्चालन गर्ने/गराउने वातावरणको सृजना गर्ने, भौगोलिक अवस्था अनुरूप उत्पादन हुने बाली, स्थानीय रैथाने बाली, तरकारी बाली, फलफूल, पशुपालनलाई महत्वलाई निर्धारण गरी सोही अनुसारका कृषि कार्यक्रमहरूको तर्जुमा गर्ने । कोरोनाको प्रकोपका कारण विदेशबाट स्वदेश फर्किएकाहरूको रेकर्ड सङ्कलन गर्ने, र उनीहरुलाई कृषि क्षेत्रमा संलग्न गराउन सहुलियत ऋणको व्यवस्था तुरुन्तै गर्ने ।

हरेक स्थानीय तहमा हाल सञ्चालित कृषि उद्योग, व्यवसायको तथ्याङ्क सङ्कलन गर्ने र सुरक्षित तवरले व्यवसाय, उद्योग सञ्चालन गर्न/गराउन विशेष प्रकारका योजना तय गर्ने । ठुला कृषि फार्म हरूको सम्भाव्यता अध्ययन,माटो गुणस्तर परीक्षण गरी राज्यले लिएको अवधारणा अनुसार कुनै जमिन बाँझो नराखी चक्लाबन्दी खेतीको अवधारणामा सामूहिक तथा संस्थागत खेती प्रणाली अवलम्बन गर्न/गराउन सहयोग गर्ने । बाँझो जमिनलाई इच्छुक जोकोहीले निःशुल्क रूपमा कृषि उत्पादनका लागि उपयोग गर्ने पाउने नीतिगत व्यवस्था गर्ने।अर्ग्यानिक बस्तुको उत्पादनमा जोड दिई उपयुक्त क्षेत्रलाई विषादी रहित उत्पादन क्षेत्र घोषणा गर्ने। अर्ग्यानिक कृषि प्रविधि तथा पर्यटकीय कृषिका लागि इच्छुक ब्यवसायीलाई व्यवसाय नै धितोका आधारमा अनुदान दिने जस्ता आकर्षक कार्यक्रमहरू तय गर्ने । अनुमति प्राप्त कृषि उपज सङ्कलन टोली बनाउने उक्त टोली मार्फत नै सबै ठाउँको उत्पादित वस्तु (उचित मूल्यका आधारमा) उत्पादकबाट उत्पादित क्षेत्रबाटै सङ्कलन गरी पूर्व निर्धारित निश्चित समयमा (बिहान,बेलुका दिनमा २ पटक) उपभोक्ताकै घरआगनमै सहज किसिमले उपलब्ध हुने गरी बजारीकरणको व्यवस्था गर्ने । र तोकिएको कृषि बजार सम्म ढुवानी गर्न विशेष गाडीहरूको व्यवस्था गर्ने । यसका लागि कृषि बजार एम्बुलेन्सको अवधारणा (घुम्ती बजार) उपयुक्त हुने ।

लगानी अनुसारको वचतलाई सुनिश्चित गर्न, कृषि बजारमा बिचौलियाको बदमासी रोक्न उत्पादक, कृषक, व्यवसायी तथा कृषि/पशु शाखाको प्राविधिकको प्रत्यक्ष संलग्नता हुने गरी हरेक स्थानीय तहमा एउटा अत्याधुनिक कृषि बजार एग्रोभेट पसल/सङ्कलन घर/शित भण्डार सहितको केन्द्र निर्माण गर्ने । पालिकाको सीमा प्रवेशद्वार तथा अन्य नाकामा आवश्यकता अनुसार चेक जाँच सहितको क्वारेन्टाइनको स्थापना गर्ने । कृषि, पशु तथा खाद्य सम्बन्धी क्वारेन्टाइन सुविधा एकै थलोबाट गरिने व्यवस्था मिलाउने, उत्पादक र कृषि क्षेत्रको सहज पहुँचको विकास गरी मोबाइल, म्यासेज, टेलिफोन, र टोल फ्रि नंको अधिकतम प्रयोगका माध्यमले सामाजिक सञ्जालको मार्फत कृषि व्यापार ब्यवसायलाई निरन्तरता दिने व्यवस्था मिलाउने । सामाजिक दुरीलाई ख्याल राखी विद्युतीय माध्यमबाट कृषकलाई कृषिका विषयमा आवश्यक तालिम, प्राविधिक सेवा टेवा उपलब्ध हुने व्यवस्था मिलाउने । उत्पादन भएका कुराको विक्री वितरण पश्चात् उपभोगमा ल्याउने सकिने बाँकी उपजहरूको सङ्कलन, प्रशोधन तथा बजारीकरणका लागि पालिकाबाटै उपयुक्त पहल हुनु पर्ने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मिति २०७६।१२।२५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहका नाममा जारी भएको “संरक्षित कृषि सुनिश्चित भविष्य” भन्ने नारा सहित ल्याएको ५ वटा (1.उत्पादनमा पाउने अनुदानः 2. सस्तो र सुलभ कृषि ऋणः 3. सबै किसानलाई प्राविधिक सेवा टेवाः 4. सबै बाली बस्तुको बीमाः ५. न्यूनतम बचतको ग्यारेन्टी) नीतिगत अवधारणामा रही सोही अनुसारका कार्यक्रमहरू तत्काल सबै स्थानीय सरकारले तय गर्नु पर्दछ ।

भन्सार विभाग तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/७७ को ८ महिना (श्रावण देखि फागुन सम्म) मा ७६ अर्व ५५ करोड १४ लाख बराबरको कृषिजन्य वस्तु आयात भइसकेको । यो अवधिमा १२ अर्व ३४ करोड रुपैयाँ बराबरको २ लाख २ हजार मेट्रिक टन फलफूल, ११ अर्व ९८ करोड रुपैयाँ बराबरको २ लाख ३८ हजार मेट्रिक टन दलहन गेडागुडी, ४० अर्व ८२ करोड बराबरको १० लाख ४३ हजार मेट्रिक टन खाद्यान्न (धान, गहुँ, मकै, चामल, पिठो, जौ, लगायत) र ११ अर्व ३८ करोड रुपैयाँ बराबरको ४ लाख २३ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको तथ्याङ्क छ । तर हिजो आज बन्दाबन्दीकै कारण आयात निर्यातको अवस्था बन्द भएको र सदा बन्द हुने समेत सम्भावना रहेकोले हामीलाई आवश्यक पर्ने खाद्यवस्तु एकातिर भित्रिन नपाउने अर्कातिर स्वदेशमा नै प्रशस्त कृषि उत्पादन गर्न/गराउन राज्यबाट यति वेला (कृषिका लागि उपयुक्त, महत्त्वपूर्ण समयमा) कृषि कार्य सञ्चालन हुने गरी कृषि क्षेत्रको बन्दाबन्दीलाई व्यवस्थापन नगर्ने हो भने भोलि खाद्य सङ्कट हुने निश्चित छ। र सबै नेपालीले भोकमरीको महामारी सहर्ष स्विकार्न गर्नु पर्ने बाध्यात्मक अवस्था नआउला भन्न सकिन्न ।

हाम्रो देश भन्दा विकास र प्रविधिले कयौँ गुणा अब्बल ठहरिने र हामीले आशा भरोसा गर्ने कतिपय सम्पन्न मुलुकको हालत पनि कोरोनाको कारण झन् खराब छ । कोरोनाकै कारण अबको विश्व अर्थतन्त्र खस्किने, र दोस्रो विश्वयुद्धपछिको सबै भन्दा ठुलो आर्थिक मन्दी अबका दिनमा आउन सक्ने कुराको पूर्व आकलन धेरै अर्थ शास्त्रीले गरिसकेका छन् । यस्तो अवस्थामा देशभित्रै हामी हाम्रा लागि आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन गरी आफू आफैमा आत्मनिर्भर हुनुको अरू विकल्प छैन ।

कृषि वस्तुको उपलब्धता विना कसैको भान्सा चल्दैन र कसैको पेट समेत भरिँदैन । मानव जीवन धान्ने आधार भनेकै कृषि हो । अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेको पनि कृषि नै हो । परापूर्व कालदेखि नै कृषि प्रधान मुलुक हो भनेर विश्वसामु चिनिएको हाम्रो देश नेपालमा हालको अवस्थामा समेत ७० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमै आश्रित छन् । हाल विश्वभरि फैलिरहेको कोरोना र नेपालमा नेपाली जनताको जीवन रक्षार्थ राज्यले देशव्यापी रूपमा लागु गरेको बन्दा बन्दीको यो अवस्थामा देशको कृषि क्षेत्रमा भोलि आउन सक्ने सङ्कट र भोकमरी प्रति हामी सबैले समयमै सचेत हुन जरुरी छ । आजको यस समयमा मानव जीवन धान्ने कृषि क्षेत्रको मर्मलाई सबैले महसुस गरी सोही अनुसारको कृषि कर्ममा जुटौँ/जुटाऔँ ।

Tags :
प्रतिक्रिया दिनुहोस