मृत्यु नै दिए पनि ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मृत्यु नै दिए पनि !


१६ बैशाख २०७७, मंगलबार


तल भुईं नजिकै उडे पनि
या त धेरै माथि आकाशमा उडे पनि
तिमी बादलै हौ कालो या सेतो भए पनि ।
भञ्ज्याङ्गका पौवाहरूमा पुगे पनि
या त खोलीको तरेली बने पनि
तिमी वर्षाद नै हौ पानी झारे या नझारे पनि ।
अग्ला अग्ला हिमाल छोपे पनि
या त होंचा खोंचहरूमा रुमल्लिए पनि
तिमी कुहिरो नै हौ पानी पारे या नपारे पनि ।
वृत्तचित्रको केन्द्रविन्दूमा बसे पनि
या त किनारै किनारसम्म घुमे पनि
तिमी पिता नै हौ सिंहदरबार बसे या धार्चुला बसे पनि ।
खडेरीका पत्कर भएर आए पनि
या त वर्षादका हरिया पाखा बने पनि
तिमी मौसम नै हौ पालुवा फेरे या नफेरे पनि ।
बटुवाका पाइला बने पनि
या त लाठीका चोट भई बज्रिए पनि
तिमी कदम नै हौ बाटो हिंडे या नहिंडे पनि ।
भोको पेटका रोटो बने पनि
या त श्रमिकका मूल्य बने पनि
तिमी पालक नै हौ भोजन दिए या नदिए पनि ।
मायामा लुट्पुट्याई काखमा राखे पनि
या त घृणाले टाढैबाट तर्किए पनि
आखिर तिमी आमा नै हौ दूध पिलाए या नपिलाए पनि ।

त्यसैले,
छटपटिमा बाँचेका हर आत्मालाई हेर
जीवन, मरणको दोसाँधमा रहेकालाई हेर
आखिर तिमी सर्वस्व हौ जीवन दिए या मृत्यु दिए पनि ।।

Tags :
प्रतिक्रिया दिनुहोस