कोरोना महामारीले नेपालमा ब्युँताएको कृषिको अपरिहार्यता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना महामारीले नेपालमा ब्युँताएको कृषिको अपरिहार्यता


९ बैशाख २०७७, मंगलबार


चिनको वुहान सहरबाट सन २०१९ को अन्त्यसँगै सुरु भएको कोरोना भाइरस (कोभिड-१९) हाल विश्वभरि डरलाग्दो महामारीका रूपमा फैलिँदै गएको र यसबाट विश्वभरमा डेढ लाख भन्दा बढी मानिसको मृत्यु (गैह आवासीय नेपाली सङ्घका अनुसार कोरोनाले विश्वभरमा २८ जना नेपालीको मृत्यु भएको) समेत भैसकेको छ । नेपालमा पनि केही दिन अघि मात्रै देखा परेको कोरोना भाइरसको संक्रमित दर दिनप्रति दिन बढ्दै गईरहेको छ । यसबाट सुरक्षित हुने एक मात्र उचित उपाय बन्दाबन्दी नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेबाट कार्यान्वयन गरी यसलाई वैशाख १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

हाम्रो देश विकासका दृष्टीले कतिपय मुलुकको तुलनामा अझै पछाडि रहेको, वैदेशिक सहयोगकै भर पर्नुपर्ने र गाँस, बास र कपासको परिपूर्ति आयातकै भरमा चलिरहेको परिवेशका बिच देखिएको कोरोना भाइरसको उपयुक्त चेक जाँचका लागि हामीसँग विद्यमान यन्त्र उपकरण, प्रविधि, जनशक्ति तथा श्रोत साधनको उपलब्धताले हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा कोरोना भाइरस लागे नलागेको यथार्थ जानकारी पत्ता लगाउन कति सम्भव र सजिलो छ/छैन ? भन्ने कुराको आकलन सहजै गर्न सकिन्छ।

कोरोनाले विश्वका सम्पन्न तथा शक्तिशाली मुलुकहरू (अमेरिका समेत) लाइ चुनौती दिइरहेको यस परिस्थितिमा हाम्रो जस्तो अल्पविकसित, असुरक्षित गरिब मुलुकका हामी नागरिकले यस रोगसँग आ-आफ्नै बलबुता र विवेकले मुकाबिला गरी सुरक्षित रहनुको अरू विकल्प छैन । यद्यपि अरू विकसित मुलुकको तुलनामा आजसम्म हामी नेपालीलाइ यसले खासै असर नपारेको (कोरोना भाइरसले नेपालमा हाल सम्म कसैको मृत्यु नभएको) र नेपाल सरकार यसप्रति पूर्णरुपमा सचेत रही यसबाट बच्नका लागि विभिन्न सुरक्षात्मक नीति नियम कार्यान्वयन गर्नु गराउनु हाम्रा लागि खुसीको कुरा हो र हामी नेपाली हुनुको गर्व पनि ।

नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र/भन्सार विभागको तथ्याङ्क अनुसार आ.ब.२०७५/०७६ मा रु. १५ अर्व १३ करोड बराबरको वार्षिक तरकारी आयात भएको । २०७६ श्रावण देखि मङ्सिर सम्म (५ महिनामा) रु २० अर्व २१ करोड ७६ लाख १७ हजार बराबरको खाद्यान्न, रु. १० अर्व ८८ करोड ६४ लाख ८८ हजार बराबरको मलखाद, रु. ९ अर्व ९४ करोड ६९ लाख ६१ हजार बराबरको पालम आयल, रु. ६ अर्व ६१ करोड ६२ लाख ७६ हजार बराबरको भटमासको तेल, रु. ३ अर्व ४३ करोड २५ लाख १० हजार बराबरको प्रशोधित कपास, रु १ अर्व ९० करोड ४४ लाख २५ हजार बराबरको भेडाको (प्रशोधित) उन आयात भएको देखिन्छ ।

यसरी आयातको वर्तमान अवस्थालाइ विश्लेषण गर्दा हाम्रो देशमा वढि देखि कम पैठारी कारोबारमा संलग्न देशहरू क्रमशः भारत, चीन, इन्डोनेसिया, यूयई, संयुक्त राज्य अमेरिका, क्यानडा, स्वीजरलैण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुखरुपमा रहेका छन् । विश्वभरि सन्त्रास छाएको कोरोना महामारी कै कारण हामी र हाम्रो गाँस बास र कपासमा प्रत्यक्ष दोहोरो सरोकार रहने दुइ ठुला मूलक चिन र भारत पनि यति वेला यस रोगबाट अझ बढी विक्षिप्त भएका छन् ।

सुरक्षाको बाध्यात्मक कारणले दोहोरो देशबिचका कतिपय ठुला व्यापारिक नाका अनिश्चित समयका लागि बन्दाबन्दी नै छन् । यसरी लक डाउन अघि सम्म नियमितरुपमा आयात भराइरहेका खाद्यवस्तु (तरकारी समेत) कोरोना रोगको नाकाबन्दीले रोकिएका छन् । भने यो अवस्था अनिश्चितकाल सम्म लम्बिन सक्ने हुँदा खाद्यवस्तुको अभाव हुने निश्चित छ । यही अवस्थाले गर्दा हामीले हाम्रो बजारबाट किनेर नै जीविकोपार्जन गर्ने बानी र दैनिकीको विकल्प तत्काल खोज्नु पर्ने अपरिहार्यता भएको छ । अन्यथा हामीसँग नगद पैसा हुँदा हुँदै पनि किनेर खान पाउने अवस्था समेत नरहन सक्छ। कोरोनाकै कारण हाम्रो देश समेत पूर्णरुपमा लकडाउनमा रहेको र त्यसबाट बच्ने एक मात्र उपयुक्त उपाय (नेपालको परिवेशमा अझ बढी उपयुक्त र उचित विकल्प) (बन्दाबन्दी) नै हुने भएकाले लकडाउनको समय अनिश्चितकालीन हुनसक्छ ।

यसरी लामो समयको बन्दाबन्दीमा सुरक्षाको बाध्यात्मक कारणले मानिसले घरभित्रै बस्नु पर्ने हुँदा मानिसमा बेचैन आउने, दिक्दारी महसुस हुने, आफ्नो जीवनदेखि आफैलाइ वितृष्णा लाग्ने, विभिन्न प्रकारका मानसिक असन्तुलन, डिप्रेसन तथा मनोत्रास जस्ता थुप्रै स्वास्थ्यगत समस्याहरू आउन सक्छन् । यी र यस्ता समस्याहरूबाट समेत बच्न आफूले आफैलाई केही न केही काममा व्यस्त राख्नु पर्ने हुन्छ । यसको उपयुक्त उपाय र विकल्प कृषि पेसा नै हो ।

भनिन्छ, अनिकालमा बिउ जोगाउनु र सङ्कटमा जीउ जोगाउनु । बाँच्न पाउनु प्रत्येक मानवको आधारभूत अधिकार पनि हो । जो कोही मान्छेले सरल र सहज किसिमबाट बाँच्न पाउनु पर्छ । यसका लागि भोक लागेको बेला खाना खानु नै प्रमुख अनिवार्य आवश्यकता हो । जुन खाने कुरा कृषिबाटै प्राप्त गर्न सकिन्छ । अर्थात् मानिस जातीको बाँच्ने आधार नै कृषि हो । देशको कुल जनसङ्ख्याको ७० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषि मै आश्रित भएको अवस्था, हिमाल देखि तराईसम्म फैलिएको भौगोलिक संरचनामा विविध किसिमको हावापानी, माटो, जमिन, पर्यावरण विद्यमान अवस्था कृषिका विविध क्षेत्र खाद्यान्न, फलफूल,पशुपालनका लागि वरदान साबित हुन सक्छ । यसरी आफ्नै स्वदेशमा उपलब्ध यस्तो बरदानलाई मध्यनजर गरी स्वाभिमानी देशका हामी स्वाभिमानी नागरिक भएर बाँच्ने र बचाउने प्रमुख पेसा/श्रोतमा कृषि नै उचित विकल्प हो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कका अनुसार नेपालको कुल क्षेत्रफल मध्ये बन जङ्गलले (झाडी १५६० हे सहित) ५८ लाख २८ हजार हेक्टर, चरन खर्कले १७ लाख ६६ हजार हेक्टर, पानीले ३ लाख ८३ हजार हेक्टर र अन्य क्षेत्रले २६ लाख २० हजार हेक्टर ओगटेकोमा ३० लाख ९१ हजार हेक्टर खेती गरिएको जमिन र १० लाख ३० हजार हेक्टर खेती नगरिएको खेती योग्य जमिन रहको पाइन्छ। परापूर्वकाल (सत्य युगको उत्तरार्धतिर विश्वामित्र ऋषिको पालादेखि) काल देखि नै कृषि कार्यको सुरुवात भएको शास्त्रीय प्रमाणका आधारमा समेत प्राणी जन्य जीवनलाई बचाउने मूल आधार नै कृषि रहेको र मानवले आफ्नो उत्पतीकाल देखि नै केही न केही खाद्यवस्तु खाएरै आफुलाई बचाएको पाइन्छ ।

हामीले हाम्रो देश कृषि प्रधान मुलुक भन्दै आइरहेको र पछिल्लो अवस्थामा राज्यले समेत कृषिलाई उच्च प्राथमिकतामा राखेको सन्दर्भमा नेपालको कृषि प्रणाली क्रमशः परम्परागत, निर्वाहमुखी तथा मनसुनमा आधारित कृषि प्रणाली, कृषि क्षेत्रमा अदृश्य बेरोजगारी, दुइ तिहाई भन्दा बढी जनसङ्ख्या कृषि मै आश्रित, कृषि क्षेत्रमा वैज्ञानिक पद्धति र आधुनिकीकरणको कमी र उन्नत विउविजनको प्रयोगमा कमी जस्ता विशेषताहरुलाई तीन तहकै सरकारले मध्यनजर गरी सोही अनुरूप सुधारात्मक किसान लक्षित कार्यक्रम तत्काल ल्याउनु पर्ने अवस्थाको सृजना भएको । आफू र आफूसँगै जोडिएको जीवन बचाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई हामी सबैले स्वीकार गरी आफूले आफ्ना लागि आफूसँग उपलब्ध भएको जमिन, ठाउँ कतै खाली नराखी कृषि उत्पादन गर्नु पर्ने अपरिहार्यताको सन्देश कोरोनाले दिई रहेको छ । यसरी बढ्दै गराइरहेको शहरीकरणलाई समेत ध्यान दिँदै देशभित्र रहेका सम्पूर्ण जनसंख्यालाई दैनिक पेट भर्नका लागि आवश्यक पर्ने खाद्यवस्तु उपलब्धताका लागी आयातमा भर नपरी देश भित्रै उत्पादन गर्न गराउन भूगोल, क्षेत्र वातावरण सुहाउँदा कृषि पेसा सञ्चालन गर्न/गराउन अत्यन्तै जरुरीको समय आई सक्यो ।

कृषि पेसाका माध्यमले प्रशस्त आर्थिक आम्दानीका लागि स्वदेश नै उच्च सम्भावना हुँदा,हुँदै पछिल्लो समयको उच्च आधुनिकीकरण, सहरीकरण, शैक्षिक बेरोजगार, कृषिसँग सम्बन्धित नीति, नियम, कार्यक्रमहरूको अभाव, कमी, पारिवारिक पछौटेपन, गरिबी र अधिकतम व्यक्तिमा कृषि प्रतिको हे दृष्टिकोण जस्ता कारणले अधिकांश उत्पादनशील उमेरका जनशक्तिहरू दिनानुदिन विदेश पलायन भराइरहेका र विषम कठिनाईका बाबजुद छोटो समयमै प्रशस्त पैसा (आर्थिक आम्दानी) गरी स्वदेश फर्किने र सोही कमाएको पैसाले चाहिएको खाद्यवस्तु बजारबाट किनेर पारिवारिक दैनिकी चलाउने र पैसा सकेपछि फेरी विदेश नै पलायन हुने एक खालको अनियमित चक्रमा प्रायः नेपालीहरूको जीवन चलिरहेको परिवेशमा कोरोनाको विश्वव्यापी सन्त्रासका कारण विदेशमा काम गरिरहेका नेपालीहरू यति वेला स्वदेशमै फर्किन बाध्य भएका र अतः आफ्नै देशमा केही न केही गरेर बाँच्ने र यसका लागि कृषि नै पहिलो प्राथमिकता हो भन्ने कुरा महसुस गरेको यथार्थता हाम्रा सामु छलंङ्ग भइसकेको छ ।

हामीलाई दैनिक आवश्यक पर्ने खाद्यवस्तुको बजार कोरोनाकै कारणले गर्दा लामो समयका लागि बन्द भएको छ । विदेशी आयात पूर्णरुपमा रोकिएको छ । बाँच्नका लागि खाना खानु आवश्यक छ । खानाका लागि कृषि उत्पादन गर्न जरुरी छ । कृषि उत्पादनका लागि हामीसँग प्रचुर मात्रमा सम्भावना भएको भूगोल छ । यसर्थ यस सङ्कटको घडीमा विश्व एक गाउँको अवधारणाबाट टाढा रही स्वदेश एक गाउँको अवधारणामा हामी नेपालीहरू एकजुट भै सम्भावनायुक्त क्षेत्रमा सोही अनुरूपका कृषि पकेट कार्यक्रमहरू सञ्चालन गरौँ/गराऔँ ।

हामीसँग उपलब्ध भएका जमिनलाई अधिकतम सदुपयोग गरौँ । आँगनको करेसाबारी देखि घरको छत, कौसी समेत बाँझो नराखी आजैबाट आफैबाट कृषि उत्पादनमा जुटौँ/जुटाऔँ भन्ने अपरिहार्यता कोरोनाले नेपालमा ब्युँताएको छ । कोरोनाबाट बच्ने सुरक्षात्मक नियम पालन गरी आफुलाई सधैँ व्यस्त र स्वस्थ राखौँ । आफू पनि बाँचौँ सँगसँगै अरुलाई पनि बचाऔँ।

Tags :
प्रतिक्रिया दिनुहोस