कोरोना रोकथाम र कर्मचारी परिचालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना रोकथाम र कर्मचारी परिचालन


१९ चैत्र २०७६, बुधबार


संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) का कारण अहिले विश्व जगत नै त्रसित र आतंकित बनेको छ l लगभग विश्वका सबैजसो मुलुकमा अहिले कोरोना भाइरस फैलिसकेको छ l यसको चपेटाबाट कुनै पनि मुलुक बच्न सकिरहेका छैनन् l दिन दुगुना रात चौगुनाको हिसाबमा सारा विश्व यसको लपेटामा परिरहेको छ l विश्वमा मै हुँ भन्ने शक्ति राष्ट्र पनि कोरोनासँगको युद्धमा हार खाइरहेका छन् l के धनी, के गरिब, के विकसित के अविकसित सबै राष्ट्र यसबाट आक्रान्त बन्न पुगेका छन् l राजा देखि रंक सम्म, धनी देखि गरिब सम्म सबै व्यक्ति यसको सिकार भइरहेका छन् l स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसकै कारण मृत्यु भैसकेको छ भने ब्रिटेनका राजकुमार देखि प्रधानमन्त्री सम्म र अन्य कैयौँ मुलुकका मन्त्री, सेनापति लगायत उच्च अधिकारीहरूलाई पनि यसले छोडेको छैन l

हाम्रो देश नेपालमा पनि यो घातक र मानव विनाशकारी कोरोना भाइरस(कोभिड-१९) भित्रिसकेको छ l संसारका शक्ति, साधन र श्रोत सम्पन्न, अत्यन्त विकसित राष्ट्रहरूमा समेत चुनौती बनेको छ l कोरोना भाइरस नियन्त्रण र रोकथाममा उनीहरूको समेत जोड नचलेको वर्तमान अवस्थामा हाम्रो जस्तो अविकसित र साधन, स्रोत सम्पन्न र सचेतना नभएको मुलुकमा यस महामारीबाट पार पाउन अत्यन्त ठुलो चुनौती हाम्रा सामु खडा भएको छ l उपचार र अनुसन्धान त परको कुरा परीक्षण गर्ने प्रयोगशाला र उपकरण सम्म नभएको हाम्रो जस्तो मुलुकमा कोरोना भाइरसबाट पार पाउन र बच्न सोचे भन्दा पनि भयावह स्थिति आउने सम्भावना हाम्रा सामु सन्निकट रहेको छ l

देशभरमा एउटा मात्र प्रयोगशाला “शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु”मा रहेको छ l जसमा हाल सम्म करिब सात सयको हाराहारीमा मात्र कोरोना भाइरस संकास्पद बिरामीको परीक्षण हुन सकेको छ l जस मध्य यो लेख तयार पार्दा सम्म ५ जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेको छ l टेकु बाहेक देशका अन्य कुनै पनि स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशाला नभएको हुँदा अहिले कोरोना भाइरसको परीक्षणमा समेत कठिनाइ उत्पन्न भएको छ l मानिसहरूलाई यहाँसम्म आउन एकदमै कठिन छ l आम मानिसको पहुँचमा छैन यो l फेरी अहिले मुलुकमा लक डाउनको स्थिति पनि छ l भर्खरै सरकारले सबै प्रदेशमा यस प्रकारको आधुनिक प्रयोगशाला स्थापना गर्ने त भनेको छ l तर त्यही घोषणा र प्रतिबद्धता अनुसार काम कारबाही भने अघि बढ्न सकेको छैन l

जब परीक्षण नै हुन सक्दैन भने उपचारको के कुरा l परीक्षणबाट निर्क्योल भएपछि न उपचारको कुरा अघि बढ्ने हो l अहिले न परीक्षण, न संक्रमण र न उपचारको जस्तो स्थिति देखिएको छ l अमेरिकी राष्ट्रपति ट्रम्पले “अमेरिकामा धेरैलाई परीक्षण गरियो, त्यस कारण संक्रमित पनि धेरै देखियो” भन्ने दाबी गरे जस्तो नेपालमा थोरैलाई मात्र परीक्षण गरिएका कारण मात्र थोरै संक्रमित देखिएको त होइन भन्ने शङ्का र संशय जनमानसमा देखिन्छ l सरकारले हवाई माध्यमबाट पनि संकाश्पद बिरामीको स्वाब सङ्कलन गरी काठमान्डौ ल्याउने भनेको छ l यो कति सम्भव र पर्याप्त छ ?l समय, साधन, श्रोत, पहुँच र प्रभावकारिता सबै दृष्टिकोणबाट यो भरपर्दो र विश्वसनीय देखिँदैन l देखाउनको लागि त होला तर उद्देश्यमा कामयाबी हुन भने सक्दैन l यस क्रममा भेरी अञ्चल अस्पताल, नेपालगन्जमा संकलित बिरामीको स्वाव लिन चैत्र १५ गते काठमाडौँबाट नेपालगन्ज तर्फ उडेको नेपाल वायुसेवा निगमको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना समेत हुन पुग्यो l चालक दल र चिकित्सकको टोली रहेको उक्त विमान दुर्घटनामा भने मानवीय क्षति हुन पाएन l संकलित नमुना काठमाडौँ जान सकेन l तसर्थ यसको एउटा मात्र विकल्प भनेको तत्काल सात वटै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना गरी सञ्चालन गर्ने र त्यही गतिमा अन्य अस्पताल र स्थानहरूमा विस्तार गर्दै जाने हो l कम्तीमा कोरोना भाइरसको बेलैमा पहिचान हुन सकोस् l

यो त भयो परीक्षण र रोकथामको प्राथमिक कुरा l मूल कुरा भनेको कोरोना भाइरसको संक्रमण हुनै नदिने तर्फ के – के गर्न सकिन्छ र क – कसको के – के भूमिका र योगदान हुन सक्छ भन्ने हो l किनभने आजको मितिसम्म कोरोना भाइरस विरुद्धको कुनै पनि खोप वा औषधि संसारको कुनै पनि कुनामा बन्न सकेको छैन र तत्काल बनिहाल्ने सम्भावना पनि देखिँदैन l यस्तो अवस्थामा यसबाट बच्ने एक मात्र उपाय भनेको “लक डाउन” र त्यसको पूर्ण पालना नै हो l सरकारले लक डाउन त गर्‍यो तर त्यो पनि केही ढिलो भैसकेको आभास अहिले भइरहेको छ l अहिलेसम्म नेपालमा जति कोरोना भाइरस संक्रमित व्यक्तिहरू भेटिएका छन् ती सबै विदेशबाट हालै नेपाल भित्रिएकाहरू मात्रै रहेका छन् l नेपालमै रहेका व्यक्तिहरूमा अहिलेसम्म यो देखिएको छैन l यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि यो ज्यानमारा भाइरस नेपाल बाहिरबाट भित्रिएको हो र अझै कडाइ नगरे यो भित्रिरहने छ l

सरकारले अन्तिम समयमा आएर २०७६ चैत्र ९ गते मध्यरात देखि मात्र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गर्‍यो l जबकि नेपालमा पहिलो कोरोना संक्रमित भएको पुष्टि २०७६ माघ २३ गते नै भैसकेको थियो l चीनबाट काठमान्डौ आएर नेपालगन्ज गएका ती व्यक्तिमा पहिलो पटक कोरोना भाइरस भएको पुष्टि भएको थियो l कम्तीमा सरकारले त्यति बेलै चीन र त्यस्तै कोरोनाको उच्च संक्रमण रहेका देशबाट हुने उडान बन्द गरेको भए नेपाल धेरै हदसम्म जोगिने सम्भावना रहन्थ्यो l त्यो समय अब हाम्रो हातबाट उम्किसकेको छ l

यो सँगै पहिलो संक्रमित व्यक्तिले अर्को अनौठो रहस्य पनि खोलेका छन् l नेपालको अस्पतालको व्यवहार र त्यहाँको वातावरण देखेर अस्पतालबाटै भागेर आफै उपचार गरी रोग माथि विजय प्राप्त गर्न सकेको ती व्यक्तिको भनाइले नेपालमा अस्पतालले यस्ता रोगी माथि गर्ने व्यवहारलाई पनि उदाङ्गो पारिदिएको छ l त्यो घटना मात्र होइन त्यसपछि पनि कोरोनाको लक्षण देखिएका बिरामीहरूलाई अस्पताले हेर्न र भर्ना गर्न नमानेका खबरहरू पनि बारम्बार आइनै रहेका छन् l कतिपय अस्पतालहरूलाई त सरकारले स्पष्टीकरण सोध्नु पर्ने अवस्था समेत आइपुग्यो l यस्तो अवस्था चाहिँ आउनु हुँदैन l यो विडम्बनापूर्ण अवस्था हो l नागरिकको स्वास्थ्य माथि यस प्रकारको गम्भीर खेलबाड गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्दछ l कोरोना भाइरसको परीक्षण र उपचारमा अब कुनै पनि किसिमको ढिलाइ, हेलचेक्र्याइँ र बाहनाबाजी क्षम्य हुँदैन l

फेरि पनि कोरोना रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण कुरा भनेको “लक डाउन” र त्यसको प्रभावकारी कार्यान्वयन नै हो l ढिलै भए पनि सरकारले सिङ्गो मुलुकलाई नै लक डाउन गरेको छ l अब यसको पालना गर्ने र गराउने दायित्व हामी सबैको काँध माथि आइपुगेको छ l हाम्रो जस्तो आधुनिक स्वास्थ्य सेवाको अभाव रहेको मुलुकमा कोरोना भाइरसबाट बच्ने एउटा मात्रै उपाय भनेको व्यक्तिगत सरसफाइ र सामाजिक दुरी वा एकान्त बास नै हो l यसको प्रभावकारी कार्यान्वयनका लागी स्वयंसेवी का रूपमा खटिन नेपालका सबै राष्ट्रसेवक कर्मचारीहरू तयार रहनु पर्दछ l जनताको कर माथि निर्भर राष्ट्रसेवकहरू राष्ट्र माथि आइपरेको विपत्तिमा टुलुटुलु हेरेर बस्ने स्थिति हुँदैन l मुलुकमा कर्मचारीका नाममा थुप्रै सङ्घ सङ्गठनहरू गठन भएका छन् l ती सङ्घ संगठनहरुले जनताको हितमा काम गर्न सकेनन् भन्ने आरोप पनि हामीले सुन्दै आइरहेका छौँ l यसलाई चिर्न र आफूलाई राष्ट्र र जनताप्रति समर्पित गर्ने यो एउटा महत्त्वपूर्ण समय पनि हो l

नेपाल निजामती कर्मचारी सङ्गठनले “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ भने ७७ जिल्ला, सबै मन्त्रालय, आयोग र विभागहरूमा रहेको यस सङ्गठनका सबै कार्यसमितिहरूलाई आ-आफ्नो तर्फबाट थप रकम उक्त कोषमा जम्मा गर्न आह्वान समेत गरिसकेको छ l २०७२ सालको महाभूकम्प पछिको राहत एवं उद्धारका साथै पुनर्निर्माणको महाअभियानमा पनि यस सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो l अहिले पनि सरकारले आवश्यक साधन, श्रोत र सुरक्षित स्वास्थ्य सामग्री सहित कोरोना विरुद्धको अभियानमा खटाएमा सरिक हुन तत्पर रहेको आफ्नो विज्ञप्ति मार्फत पनि सार्वजनिक गरिसकेको छ l
अन्तमा, आवश्यक परेको खण्डमा सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालन गर्न पनि पछि पर्नु हुँदैन र त्यसको लागि सम्पूर्ण कर्मचारीहरू पनि तयार रहनु पर्दछ l स्वास्थ्य सुरक्षा र सामग्रीको भरपर्दो बन्दोबस्त भने सरकारले गर्नुपर्छ l आम नागरिकहरूले पनि यस राष्ट्रिय विपत्तिलाई आत्मसात् गर्दै सरकारद्वारा जारी आदेश र निर्देशनको परिपालना गर्नु एकदमै जरुरी छ l सबैको हातेमालो र साझा पहल एवं प्रयत्नबाट मात्र यो विपत्तिबाट मुलुकलाई पार लगाउन सकिन्छ l कोरोना भाइरसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ l

Tags :
प्रतिक्रिया दिनुहोस