वडा भवन निर्माणमा जुट्यो कामपा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडा भवन निर्माणमा जुट्यो कामपा


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । काठमाडौँ महानगरपालिकाले हाल निर्माण गर्नुपर्ने सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण भइरहेका छन् । यसरी वडा भवन निर्माणमा महानगरपालिका जुटिरहे पनि केन्द्रीय भवन कहाँ र कहिले निर्माण गर्ने भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।

महानगरपालिकामा ३२ वडा छन् । त्यसमा धेरैको वडा कार्यलय भवन निर्माणाधीन अवस्थामा छ । निर्माणको अवस्थामा रहेका सबैको नमूना एकै प्रकारको रहने महानगरले जनाएको छ ।

केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएका र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो ।

नयाँ निर्माण गरिएका र गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोहीअनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने महानगरपालिकाले जनाएको हो ।

धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ । भवन नहुँदा काम गर्न कठिन हुनुका साथै सेवाग्राहीलाई सहजरूपमा सुविधा दिन नसकिरहेकाले सबै वडा भवन एकरुपताका साथ निर्माण गर्न लागिएको नगर प्रमुख विद्यासुन्दर शाक्य बताउछन् ।

केन्द्रीय भवन निर्माणको विषयबारे छलफल भइरहेको प्रमुख शाक्यले जानकारी दिए । वडा नं ३, ४, ९, १४ र २६ का भवन आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गरिसकिने छ भने वडा नं २, २९ र २२ मा बोलपत्र आह्वानको प्रक्रियामा छन् । यी सबै भवन निर्माणको डिजाइन इञ्जिनीयर प्रेम श्रष्ठले गरेका छन् ।

सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

चालू आवभित्रै सम्पन्न गर्ने गरी महानगरपालिकाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा आफ्ना भवन भएका र भूकम्पका कारण सामान्य क्षति भएका केही वडाका तला थप गर्ने काम पनि अघि बढाइएको छ । आफ्नै भवन नहुँदा काम गर्न समस्या भएपछि वडाले पहिचान गरेको खाली जग्गामा भवन निर्माण गर्न लागिएको छ ।

केन्द्रको काम सात स्थानबाट

महानगरपालिका वडा कार्यलय भवन निर्माणमा जुटिरहँदा केन्द्रीय कार्यालय कहिले निर्माण गर्ने भन्ने विषय अझै निर्णयमा पुगेको छैन । महानगरको केन्द्रीय कार्यालय भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ । यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । हाल महानगरपालिकामा १३ विभाग छन् ।

भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको महानगरले भूकम्प गएलगत्तै राष्ट्रियसभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रियसभागृहमा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् ।

त्यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेका छन् । यसरी विभाग सरेकोबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नुका साथै समयको बर्बादी पनि भइरहेको छ । महानगर उपप्रमुख खड्गी यी सबै समस्या भूकम्पका कारण भएको बताउछन् ।

महानगरको केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि हरिभवन भत्काउने चर्चा चलेपछि सर्वोच्च अदालतले नभत्काउन आदेश दिँदा उक्त काम पनि पछि परेको छ । महानगरपालिका कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल मासिक लाखौँ रकम खर्चिनुपरेको छ ।

‘नागरिकलाई सास्ती दिने उद्देश्य नभई कार्यालयका लागि भाडाका भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ त्यहीँ लिइएको हो, महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो’, महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने । टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि धेरै विभाग भने भूकम्पपछि मात्र सुन्धाराबाट अन्यत्र सरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस