नेपालमा अग्नि नियन्त्रणमा फायर एक्स्टीङ्गगुईसर प्रयोग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपालमा अग्नि नियन्त्रणमा फायर एक्स्टीङ्गगुईसर प्रयोग


१९ फाल्गुन २०७६, सोमबार


आगो र मानिस बिचको सम्बन्ध आदिम काल देखी नै रही आएको छ । आगो बिना मानिसको जीवन कल्पना गर्न पनि सकिँदैन । मानव सभ्यताको अभिन्न अङ्गको रूपमा रहेको आगोको बारेमा हामी कमैलाई जानकारी छ । इतिहासका अनुसार आगो आज भन्दा चार लाख वर्ष पहिले सुरु भएको हो भनिन्छ । होमो ईरेक्टसले सबै भन्दा पहिले आगो पत्ता लगाएका हुने भन्ने गरिन्छ ।

आगोको सन्दर्भमा अन्तर्राष्ट्रिय रूपमा प्रचलित एउटा भनाई छ गुड सर्भेन्ट ब्याड मास्टर अर्थात् असल नोकर खराब मालिक । व्यावहारिक रूपमा आगोलाई हामीले दुई रूपमा चिन्नु पर्दछ । मित्र आगो र शत्रु आगो । हाम्रो दैनिक जीवन यापनको लागी आवश्यक खाना पकाउने,पानी तताउने तथा मानिसलाई तातो न्यानोको लागी बालिने आगो जुन हाम्रो नियन्त्रणमा रहन्छ यस्तो आगोलाई मित्र आगो भन्न सकिन्छ । मानवीय इच्छा चाहाना विपरीत मानवीय नियन्त्रण बाहिर गई घरबार बन जङ्गल बस्तीमा लाग्ने आगो जसले ठुलो मात्रामा जनधनको क्षति गर्दछ । भने त्यस्तो आगोलाई शत्रु आगो भन्न सकिन्छ । यस्तो आगोले मानिसको ज्यान लिन सक्छ । आगोमा बेलैमा सावधानी अपनाएमा यसबाट बच्न सकिन्छ ।

आगलागी मानव सृजित बिपद हो । हाम्रो समाजमा आगलागी सम्बन्धी जनचेतनाको अभाव छ । सामान्य गल्ती वा हेलचेक्रयाईले आगलागी भई ठुलो मात्रामा जनधनको क्षति भइरहेको छ । आगलागीबाट बच्न र क्षति न्यूनीकरण गर्न जनचेतना जगाउने किसिमको प्रचार सामाग्रीहरू रेडियो टिभी तथा सामाजिक सञ्जालहरूमा अत्यन्त न्यून मात्रामा देखिन्छ । आगलागी हुने कारण सम्भावना तथा भई हालेमा सुरुवाती अवस्थामा नै कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समाज तथा सङ्गठित सङ्घ संस्था हरूलाई नियमित रूपमा तालिम दिने व्यवस्था छैन ।

आगलागीको बारेमा सामान्य जानकारी राख्यौ र पूर्व तयारी ग–यौ भने आगलागीबाट बच्न सकिन्छ । आगलागी भई हालेमा यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । आगो के हो आगो कसरी लाग्छ कसरी निभ्छ । आगलागी भएमा सुरुवाती अवस्थामा कसरी कुन साधनको प्रयोग गरी निभाउन सकिन्छ । आगो कति किसिमका हुन्छन् कुन आगो कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा आम मानिसमा सामान्य जानकारीको अभावमा हामीले बर्सेनि ठुलो मात्रामा आगलागीको कारण ठुलो मात्रामा क्षति ब्यहोरी रहेका छौ ।

आगो एक पटक मानवीय नियन्त्रण भन्दा बाहिर गयो भने यसले कस्तो रूप लिन्छ कति क्षति पुराउँछ भनेर अनुमान पनि गर्न सकिँदैन । यसको पछिल्लो उदाहरण हालैको दिनमा अस्ट्रेलियाको साउथवेल्समा भएको जङ्गल आगलागीलाई लिन सकिन्छ । आगोको रूप ठुलो भए पछि यसलाई नियन्त्रण गर्न दक्ष जनशक्ति साधन श्रोतको आवश्यकता पर्दछ । कतिपय अवस्थामा साधन श्रोत तालिम प्राप्त जनशक्तिको बाबजुद पनि हामी आगलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिन सकिँदैन ।

अत्याधुनिक औजार उपकरण सहितको दमकल, विशेष किसिमको फायर फाईटिङ्ग तालिम तथा सङ्गठित दमकल सेवा भएको अस्ट्रेलियाको जङ्गलमा महिनौँ सम्म आगो नियन्त्रण हुन सकेन । सरकारले आगलागीको कारण सात दिन सङ्कटकाल घोषणा ग–यो स्कुल कलेजहरू बन्द गरिए । आगलागीकै कारण अस्ट्रेलियाको तापक्रममा वृद्धि भएको छ । विद्युत् सेवा अवरुद्ध भए ।

आगलागीको कारण कयौँ मानिस मरे । हजारौँ मानिस बेघरवार भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको अनुसार आगलागीको कारण त्यहाँ पचासौँ करोड पशु पन्छी तथा जङ्गली जनावरहरू मरेको कारण वातावरणीय असन्तुलन तथा पर्यावरणमा समेत ठुलो मात्रामा असर परेको समाचारहरू सम्प्रेषण भई रहेका छन् ।

आगलागी विपद् कुनै स्थान विशेष र देश विशेषको पेवा हुँदैन । यो कुनै पनि बेला कहीँ पनि घट्न सक्छ । हामी सँग पनि अपार बन जङ्गल छ । अस्ट्रेलियाको जस्तो आगलागी नेपालमा भयो भने हामीले यसलाई नियन्त्रण गर्न सकौला । यसको लागी हामी सँग पूर्व तयारीको अवस्था कस्तो छ । बेलैमा सोचेर सावधानी अपनाउन जरुरी छ । विपद् पछि त पछुताउने समय पनि नमिल्न सक्छ ।

यो लेख नेपालमा आगलागीको सुरुवाती अवस्थामा प्रयोग गरिने पोर्टेबल फायर एक्स्टीङ्गगुईसर (अग्नि समन यन्त्र)को अवस्था,प्रयोग प्रकार,आम मानिसमा यसको जानकारीको बारेमा केन्द्रित छ । आगो पानीले निभाउनु पर्दछ भन्ने आम धारणा रहेको छ । तर सबै आगो पानीले निभ्दैन र सबै आगो एकै किसिमको हुँदैन भन्ने कमैलाई मात्र जानकारी छ । अग्नि विज्ञानले आगो उत्पन्न हुने श्रोतको आधारमा आगोलाई वर्गीकरण गरेको छ । आगो सामान्यतया पाँच किसिमको हुन्छन् । यो पनि देश अनुसार वर्गीकरणमा एकरूपता पाइँदैन केही फरक छ ।

अमेरिकी स्टाण्डर्ड अनुसार ‘ए, बी, सी, डी र के’ हुन्छ । बेलायती स्टाण्डर्ड अनुसार ‘ए, बी, सी, डी, ई र एफ’ हुन्छ । आगलागीको सुरुवाती अवस्थामा आगोलाई नियन्त्रण गर्ने यन्त्र जसलाई अग्रेजीमा फायर एक्सटीङ्गगूईसर भनिन्छ । यो एक प्रकारको मेकानिकल यन्त्र हो । नेशनल फायर प्रोटेक्शन एसोशिएशन (एनएफपीए) को अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यसको तौल १८ केजी भन्दा बढी हुनु हुँदैन । आगोको प्रकार भए जस्तै फायर एक्सटीङ्गगूईसर पनि फरक फरक प्रकारका हुन्छन् । सबै आगो एउटै फायर एक्सटीङ्गगूईसर निभ्दैनन् । भिन्न प्रकारको आगो निभाउन भिन्न प्रकारको फायर एक्सटीङ्गगूईसरको आवश्यकता पर्दछ । फायर एक्सटीङ्गगूईसर छ प्रकारका हुन्छन् । यसको पहिचानको लागि अङ्ग्रेजी अक्षरमा लेखिएको हुन्छ । अझ सबैले सजिलै बुझुन भन्ने उद्देश्यले यसको प्रकारको अनुसार सिलिन्डर मा छुट्टा छुट्टै कलर कोड दिएको हुन्छ ।

– वाटर टाइप्स फायर एक्सटीङ्गगूईसर : सिलिण्डरमा पानीलाई हावाले प्रेसराईज्ड गरिएको हुन्छ । यसले बलेर खरानी हुने प्रकारको अर्थात् ‘ए’ टाइप्सको को आगो निभाउनको लागि प्रयोग गरिन्छ । यसको कलर कोड रातो पृष्ठभुभीमा सेतो अक्षर हुन्छ ।

– फोम टाइप एक्सटीङ्गगूईसर : यसको प्रयोग पेट्रोलजन्य तथा ग्यासको आगलागीमा प्रयोग हुन्छ । सिलिन्डर मा ‘ए एफ एफ एफ’ फोमलाई स्टोर प्रेसर गरिएको हुन्छ । यसको कलर कोड क्रिम कलरको हुन्छ ।

–पाउडर टाइप फायर एक्सटीङ्गगूईसर : यसले ‘ए,बी,सी’ तिनै प्रकारको आगोलाई नियन्त्रण गर्न सक्छ । यसलाई डीसीपी पाउडर वा ए बी सी पाउडर पनि भनिनछ । यस सिलिन्डरमा मोनोएमोनियम फस्फेट पाउडरलाई नाइट्रोजन ग्यासले स्टोर्ड प्रेसर गरिएको हुन्छ । यसको कलर कोड निलो हो ।

– सी ओ टु फायर एक्सटीङ्गगूईसर : यो कार्वनडाईअक्साईड ग्यास हो । यो चिसो र हाई प्रेसर ग्यास हो । यसले आगो निभाउँदा साईड ईफेक्ट हुँदैन । अर्थात् फोम तथा पाउडरले आगो निभाउँदा आगो निभ्छ तर नबलेको सामानहरूलाई असर गर्छ । ‘सी ओ टु’ ग्यास भएको हुँदा यसले आगो निभाउँछ तर आगलागी भएको वस्तुमा कुनै असर गर्दैन । यो इलेक्ट्रिक, सफ्टवेयर र कम्प्युटर आगलागी नियन्त्रणको लागी उपयोगी र प्रभावकारी हुन्छ । यसको प्रयोगमा केही सावधानी अपनाउन पर्दछ । यसको प्रयोग गर्दा सिलिन्डरमा नाङ्गो हातले छुनु हुँदैन यो चिसो ग्यास भएकोले हातमा आइस बर्न हुन सक्छ । बन्द कोठामा प्रयोग गरे पनि तुरुन्तै बाहिर निस्कनु पर्दछ । यसको कलर कोड कालो हो ।

– वेट केमिकल फायर एक्सटीङ्गगूईसर : यो किचेनमा प्रयोग हुने तेलजन्य पदार्थको आगलागी नियन्त्रणको लागी उपयोगी हुन्छ । यसमा पोटासियम सीटरेट लाई स्टोर्ड प्रेसर गरिएको हुन्छ । यसको कलर कोड पहेँलो हुन्छ ।

–ह्यालोन /  होलोट्रोन फायर एक्सटीङ्गगूईसर : ह्यालोन ग्यास विमान आगलागीमा प्रयोग गरिन्थ्यो । यस ग्यासले ओजोन तहलाई असर गर्ने प्रमाणित भए पछि हाल ह्या लोन ग्यास प्रयोगमा प्रतिबन्ध छ । यसको सट्टामा होलोट्रोन फायर एक्सटीङ्गगूईसरको प्रयोग गर्ने गरिन्छ । यसको कलर कोड हरियो हुन्छ । यसमा आर्गोन ग्यासलाई स्टोर्ड प्रेसर गरिएको हुन्छ । यो ‘ए, बी, सी’ तिनै प्रकारको आगलागीको लागि उपयोगी हुन्छ । यो अन्य फायर एक्सटीङ्गगूईसर भन्दा महँगो हुन्छ यो ल्किन एजेण्ट क्लिन एजेन्ट हो । यसको कलर कोड हरियो हुन्छ ।

यी बाहेक हाल थ्रो टाईपको फायर बल र लिक्वीड टाईपको बोटल थ्रो फायर एक्सटीङ्गगूईसर पनि बजारमा पाइन्छ । यी फायर एक्सटीङ्गगूईसरले आगो निभाउन यसलाई आगोमा नै फयाक्नु पर्ने हुन्छ । त्यसको लागी आगो पुर्णरुपमा बलेको हुनु पर्दछ । भर्खर बल्न सुरु गरेको आगोमा यसको प्रभावकारिता हुँदैन । पूर्ण रूपमा बलेको आगोमा यसलाई फ्याँक्दा निसाना सही ठाउँमा परेन भने आगो निभ्दैन त्यसैले यी अन्य फायर एक्सटीङ्गगूईसरको तुलनामा त्यति भरपर्दो मानिँदैन ।

फायर एक्सटीङ्गगूईसर स्टोर्ड प्रेसर र कार्टेज टाईप दुई किसिमबाट चल्ने गर्दछ । नेपालमा फायर एक्सटीङ्गगूईसरको बजार सानो छ । यसमा सर्बसाधारणको पहुँच कम छ । नेपालमा हाल औलामा गन्न सकिने सङ्ख्यामा अन्तर्राष्ट्रिय ब्रान्डको फायर एक्सटीङ्गगूईसरका बिक्रेताहरू छन् । जसलाई ब्राण्डेड भनिन्छ । अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्ड नभएको छिमेकी देशबाट ल्याइएका सादा सिलिन्डर मा आफू खुसी नाम राखी बजारमा बिक्री गरिने फायर एक्सटीङ्गगूईसरलाई नन ब्राण्डेड भनिन्छ । ब्राण्डेड फायर एक्सटीङ्गगूईसर, नन ब्राण्डेडको तुलनामा महँगो हुन्छ । जनतामा यसको बारेमा प्रयाप्त जानकारी नहुँदा झोले व्यापारीहरूले नन ब्रान्डको फायर एक्सटीङ्गगूईसर बिक्री वितरण गरिरहेका छन् । वास्तवमा नन ब्रान्डको फायर एक्सटीङ्गगूईसरको कुनै वारेन्टी हुँदैन । मूल्य सस्तो भए पनि ब्राण्डेडले जस्तो नन ब्रह्माण्ड आगो निभाउने क्षमता हुँदैन । खरिद गर्दा सस्तो भए पनि काममा नन ब्राण्डेड झन् महँगो पर्न आउँछ ।

नेपालमा कुन भवन संरचनामा कुन क्वालिटीको कुन क्षमताको कुन प्रकारको फायर एक्सटीङ्गगूईसर राख्नु पर्दछ भन्ने निश्चित मापदण्ड तोकीएको छैन । जसका कारण बजारमा यसको क्वालिटी कन्ट्रोल हुन सकेको छैन । फायर एक्सटीङ्गगूईसर सुरुवाती आगलागी नियन्त्रण गर्ने सामान्य यन्त्र हो । हाम्रो समाजमा यसलाई बिलासी र महँगो सामाग्रीको रूपमा हेरिन्छ । बजारमा यसको मूल्यमा एकरूपता छैन। यो सर्वसाधारणको पहुँच भन्दा बाहिर छ । नेपाली बजारमा फायर एक्सटीङ्गगूईसरको बिक्रेताहरू नै यस प्रति जिम्मेवार छैनन् । अन्तर्राष्ट्रिय ब्रान्डको आधिकारीक बिक्रेताहरू पनि यसको बजार प्रवर्द्धन तथा चेतना अभिवृद्धि तर्फ लागेको पाइँदैन । बजारमा मूल्यमा अप्राकृतिक प्रतिस्पर्धा गर्नको लागी कतिपय बा्ण्डको आधिकारिक बिक्रेताहरू नै नन बा्रण्डको फायर एक्सटीङ्गगूईसर बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

फायर एक्सटीङ्गगूईसरको क्वालिटी कन्ट्रोलको लागी सरकारले मापदण्ड तोकेर कुन कुन भवन संरचना र उद्योग धन्दा कल कारखानामा कुन कुन क्षमतामा कस्तो किसिमको फायर एक्सटीङ्गगूईसर जडान गर्नु पर्ने हो । यसको तालिम चेक जाँच मर्मत सम्भारको बारेमा बाध्यात्मक मापदण्ड तोकी यसको नियमित अनुगमन गर्ने संयन्त्रको विकास गर्नु पर्दछ । फायर एक्सटीङ्गगूईसरको जडान,प्रयोग रेखदेखको विधि हुन्छ । यो सबै विधिको बारेमा बिक्रेताले ग्राहकलाई पुर्णरुपमा जानकारी गराउनु पर्दछ । ताकी परेको बेलामा यसले प्रभावकारी रूपमा काम गर्न सकोस् । हामी कहाँ यसको बिक्रेताहरू पूर्ण व्यावसायिक तथा जिम्मेवार देखिदैनन । नन ब्राण्डेड फायर एक्सटीङ्गगूईसरका बिक्रेताहरू यसको बारेमा सामान्य जानकारीको भरमा नै बिक्री गर्दै गरेको पाइन्छ ।

नेपाली बजारमा सबै खाले फायर एक्सटीङ्गगूईसरको सहज उपलब्धता छैन । ह्यालोट्रोन/सी ओ टु वेट केमिकल फायर एक्सटीङ्गगूईसर अन्य भन्दा महँगो हुन्छ । नेपालमा यसको माग नगण्य छ । ‘बी’ टाइपको आगो निभाउन प्रयोग गरिने कार्टेज टाइपको फायर एक्सटीङ्गगूईसर जसमा सोडियम बाइ कार्बोनेटलाई स्टोर्ड प्रेसर गरिएको हुन्छ । यसको प्रयोग सर्वसाधारणको लागी गाह्रो छ । यो त्यति धेरै प्रभावकारी पनि छैन । विदेशमा यो विस्थापित भई सकेका छन् तर यो अन्य फायर एक्सटीङ्गगूईसरको तुलनामा अलिक सस्तो पर्ने हुँदा नेपाल अझ पनि अधिकांश पेट्रोल पम्पमा यही सिलिन्डर प्रयोगमा देखिन्छ । आम मानिस करिब दश वर्ष देखी माथिका उमेर समूहका व्यक्तिहरूले सामान्य तालिम लिएर सजिलै अग्नि नियन्त्रण गर्न सक्ने भनेको ‘ए, बी, सी’ फायर एक्सटीङ्गगूईसर नै हो । नेपाली बजारमा सबै भन्दा बढी प्रयोग र बिक्री हुने पनि यही ‘ए,बी,सी’ फायर एक्सटीङ्गगूईसर नै हो ।

लेखक काठमाडौँ दमकलका पूर्व प्रमुख हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस