अन्ततः रहिनन् स्वास्थ्यकर्मी जोशी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्ततः रहिनन् स्वास्थ्यकर्मी जोशी


प्रशासन विशेष ब्युरो

२ जेष्ठ २०७६, बिहिबार


काठमाडौँ । गाउँमा फैलिएको महामारी नियन्त्रणमा खटिँदा आफै ‘अनौठो रोग’बाट सङ्क्रमित अनमी विष्ना जोशीको निधन भएको छ । झन्डै आठ वर्ष अघि बझाङमा फैलिएको महामारीमा उपचार खटिएकी जोशीको गत वैशाख २५ गते निधन भएको हो ।

निकै धेरै समयसम्म पनि नेपालमा रोग पत्ता नै लगाउन नसकेपछि भारत रिफर गरिएकी जोशीको चिकित्सकको लामो रिसर्चपछि ‘हाइपो कम्प्लिमेन्टिक आर्टिकेरियल भास्कुलाइटिस्’ भएको पत्ता लागेको थियो । जुन करोडौँमा एक जनालाई हुने चिकित्सकले बताएका थिए ।

सामान्य परिवारमा जन्मेकी जोशीले आफू बिरामी हुँदासमेत नियमित सेवामा रही काम गर्दै आएकी थिइन् । वहुमुखि प्रतिभाकी धनि ४० वर्षिया अविवाहित जोशीलाई पछिल्लो समय आर्थिक समस्या देखिएपछि उनको उपचारमासमेत कठिनाइ भएको थियो । औषधि निकै महँगो पर्ने र इन्जेक्सन लगाउन ६-६ महिनामा दिल्ली जानुपर्ने कारण उपचार खर्चको अभावमा डिप्रेसन नै भएको बताउँदै आएकी थिइन्।

सम्बन्धित समाचार : राज्यबाट उपचारका लागि पर्याप्त सहयोग पाइनँ

उनले सरकारबाट पाउने सुविधाका लागि समेत निकै धेरै समय सिंहदरवार धाउनु परेको थियो भने सम्बन्धित स्वास्थ्य मन्त्रालयबाटसमेत हुनुपर्ने सहयोग तथा समन्वय नहुन सक्दा पछिल्लो समय कष्टकर पूर्ण जीवन जिउँदै आएकी थिइन् ।

यति हुँदा पनि उनले केही वर्ष यता राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गर्दै आएकी थिइन् ।

सम्बन्धित समाचार : सात वर्षदेखि रोगसँग लड्दै अनमी

उपचार खर्च जुटाउन हजारौँ पटक सिंहदरवार धाएकी उनले कैयौँ व्यक्तिहरूसम्म सहयोगका लागि अपिल गरेको उनलाई नजिकबाट चिन्ने तथा अनमी हुँदा प्रशिक्षकसमेत रहेका मोहनचन्द्र जोशी बताउँछन् ।

‘निकै धेरै दौडधुपपछि मन्त्रिपरिषद्बाट सहयोग रकम जुटेको भए पनि पुस ७ गते भएको आगलागीबाट उनका आफ्नै भाईबुहारी इन्जिनियर दम्पतीको दुःखद निधनसँगै उपचारका लागि भारत गएकी उनी उपचार नगरी नेपाल फर्केकी थिइन् ‘ जोशीले भने, ‘अन्ततः यति धेरै दौडधुप गरेर जुटाएको सहयोगसमेत लिन नपाई यो संसारबाट बिदा लिइन् ।’

एक दिन रोग निको हुने र पुनः जनताको सेवा गर्ने सपना बोकेकी विष्नाको सपना उनको निधनसँगै सदाका लागि अन्त्य भएको छ । सरकारले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्ने क्रममा आफ्नै ज्यानको बाजी लगाएकी उनको जस्तो अवस्था अरू कर्मचारीले कहिल्यै भोग्न नपरोस् ।

अनेकन् अभाव र चुनौतीका बिच दुरदराजका जनताको सेवामा खटिने कर्मचारीले आफै उपचार खर्चका लागि भौँतारिँदा भौँतारिँदै जीवनलिला नै समाप्त हुनुपर्ने अवस्था अब पुनः नदोहोरियोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस