जेष्ठ ९ गते, २०७६

प्रतिविष भएर लड्नुपर्छ

कविता

आफ्नै कचौराको खाल्डोभरि फैलिएर भए पनि
आफ्नै छालहरूको विस्तारसम्म
विषको विरुद्ध प्रतिविष भएर लड्नुपर्छ अब
किन कि तिमी विषहरूको पनि विष हौ
तिमी आफ्नो बिर्सिएको शक्तिको याद गर
तिमी धर्तीमा ईश्वरको प्रतिरूप हौ
तिम्रो जन्म ईश्वरले त्यही सर्वोच्च विषकै रूपमा गरेको हो ।

जसले नाङलोमा ज्ञान राखेर चिच्याउदै सडकपेटीमा बेचेर खाएको छ
जसले अक्षरहरूमा विभेद ल्याएको छ
जसले फुलहरूको निधारको ज्वरो बेचेर खाएको छ
तराजुमा तिम्रो जिन्दगीसँग पैसा तौलेर मोल मोलाई गरेको छ
बोटहरूको दाना फलाउने अधिकार गल हत्याएको छ
र यहाँ खाइने अन्नका दानाहरूबिच मतभेद ल्याएको छ
मान्छेको प्रत्येक श्वासमा विष मिसिएको छ
जहाँ जहाँसम्म तिम्रा हातहरू फैलन सक्छन्
त्यहाँ त्यहाँसम्म शक्तिशाली एन्टिवायोटिक भएर लड्नुपर्छ अव ।

मान्छेको रोग, भोक, र शोकसँग लड्ने तिमी हौ
तिमीले सबैको अनुहारमा जूनको उज्ज्यालो एकनास पोख्नुपर्छ
लालुपातेको राताम्यता छोरीहरूको ओठमा बरोबर पोत्नुपर्छ
हिमालको झल्झलाहट सेताम्यता उचालेर घरछेउमै राख्नुपर्छ ।

तिम्रा अधिकारभरि पर्ने नदी, ताल, कुण्डहरू जहाँ जहाँ विष झरेको छ
त्यहाँ त्यहाँ गहिराइभरि जमेर प्रतिविष भएर बस्नुपर्छ
आफ्नो फैलावटभरि फिजिएर बस्नुपर्छ
किन कि तिमी विषहरूको पनि विष हौ
भगवानले नै तिम्रो जन्म गराएको हो यो धर्तीमा ।

जीवनको प्रत्येक अङ्ग अंगमा विष परेको छ
छहारी दिने रुखका जरा, डाँठ, हाँगा र पात पातहरूमा विष लतपतिएको छ
निडर भएर स्वतन्त्र पूर्वक हिँडडुल गर्ने स्वतन्त्रतामाथि विष खसेको छ
विष परेरै यहाँ असमानता जन्मियो
विष परेरै यहाँ वर्ग जन्मियो ।

स्वयं तिमीभित्र पनि विष परेको छ
र विष झार्ने प्रतिविष पनि स्वयं तिमीभित्रै छ
तिमी आफ्नो बिर्सिएको शक्तिको याद गर
तिमी धर्तीमा ईश्वरको प्रतिरूप हौ
किन कि तिम्रो जन्म ईश्वरले सर्वोच्च विषको रूपमा गरेको हो ।

लेखापाल, को ले नि का, डडेलधुरा

बैशाख १४ गते, २०७६ - २२ः२८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg