टेलिकमको भ्वाइस सेवा : सस्तोदेखि निःशुल्क कलसम्म « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेलिकमको भ्वाइस सेवा : सस्तोदेखि निःशुल्क कलसम्म


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७५, बिहिबार


नेपाल टेलिकम

करिब २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एक जना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुस्किल पर्ला ।

नेपाल टेलिकमले २०५६ साल वैशाखमा मुलुकमा नै पहिलो पटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यस वेला मोबाइल सेवाको मूल्य तुलनात्मक रूपमा महँगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरू पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए ।

हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मूल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रूपमा पनि यो सेवा आमउपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने सहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको व्यापक विस्तार गर्नुका साथै सेवाको मूल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरूको सङ्ख्या पनि ब्यापकरुपमा वृद्धि भएको छ ।

२०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिब २ करोड १३ लाख पुगेका छन् । यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।

२०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रूपमा आएको थियो, जब कि त्यस वेला युरोप अमेरिकालगायतका विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रूपमा प्रयोग हुन थालिसकेको थियो । सुरुमा मोबाइल फोन लिनका लागि ५१ हजार रुपियाँ (मोबाइल सेटको रु.२० हजारसहित) भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

प्रविधिको विकाससँगै मोबाइल सेवाको मूल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपियाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोस्ट पेड मोबाइल लिन सकिन्छ भने ५० रुपियाँ बराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपियाँमा नै लिन सकिन्छ ।

सुरुमा पोष्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भाद्र देखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापकरुपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाख महिना देखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पु¥याएको थियो ।

प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ ज्येष्ठ देखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्री जी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्रीजी मोवाइल सेवा दक्षिण एशियामा नै पहिलो पटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । २०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पु¥याइएको थियो । यसका साथै मुलुकमा पहिलो पटक फोर जी सेवा भित्र्याउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ । २०७३ पौष १७ गते देखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल फोर जी(एलटीइ)सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अव एक वर्षभित्रमा मुलुकभर फोर जी(एलटीइ) मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौताहरू भइसकेका छन् ।

नेपाल टेलिकमले उपभोक्ताहरूका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा आप्mना सेवाहरू उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरूका लागि विभिन्न दरका प्याकेजहरू पनि उपलब्ध छन् ।

कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रूपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसै गरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।

अल टाइम भ्वाइस प्याक
यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरू १० रुपैयाँ देखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अन लिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिन्छ ।

सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरूका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरूले एक अर्कामा असीमित कल गर्न सकिन्छ ।

यस अन्तर्गत जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसै गरी जीएसएम÷सीडीएमए पोष्टपेड÷प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरूले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ ।

डे प्याक
डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ ।

एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात् सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । व्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । त्यसै गरी कर्पोरेट तर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् ।

सीडीएमए प्रिपेड स्काईबाट मासिक २० रुपैयाँ
सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करबाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्नका लागि सिडिएिमए प्रिपेड सेवाका ग्राहकहरूले मोबाइलको मेसेज बक्स मा नाइट टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नु पर्छ । कम्पनीको वेबसाइट डब्लु डब्लु डब्लु डट एनटिसि डट एनइटी डट एनपी मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस