कर्मचारी डायरीः तमासा « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

कर्मचारी डायरीः तमासा


१८ फाल्गुन २०७५, शनिबार


वास्तविक मिति : भइरहेको थियो, छ र हुनेछ ।

स्टेस (भेन्यु) : अजय नास्ता पसल । “चलो लोटा पाटी मे सामेल हो कर आवो ”

ल्यापटपको ‘स्पेस की’ मा बुढी औँलाले दबाए ।

सर कति काममा व्यस्त हो ? जाऊँ नास्ता खाना ?

कहाँ काम हुनु यार, सर फिल्म हेर्दै छु ।

कुन फिल्म हो यार यस्तो ?

ट्वाइलेट एक प्रेम कहानी हिन्दी फिल्म अक्षयकुमारको ।

अरे आँखाको साइज अलि बढाउँछन् , इन्जिनियर सा’ब ।

तपाईँ अरू बेला त खुब राष्ट्रियताको कुरा गर्नुहुन्छ यार सर । हेर्ने चाहिँ फेरि हिन्दी फिल्म ?

अरे यार ! वा सर । क्या वात सरको राष्ट्रियता ।

अरे यार इन्जिनियर साव उ त सब कहने के लिए है ना, करने के लिए तो चल रहा है । अक्षय कुमारका स्टाइल, दिएँ मैले ।

फेरि उनको पालो ठिक हे चलो लोटा पाटी मे हा हा हा….।

सायद उनले पनि यो फिल्म हेरेका रहेछन् ।

मेरो अफिसमा पाँच बजेपछि सम्म बस्नुको बाध्यता छ ।
बाध्यता नं. १ म आफूलाई अरू कर्मचारी भन्दा इमान्दार र नियमित भएको देखाउन चाहन्छु । त्यसैले कहिले सर्टको कलरमा सेतो नदेखिने हुँदा पनि म अफिसको युनिफर्म नै लगाएर जान्छु । मलाई चिटिक्क परेको अरू कपडा लगाउनु भन्दा पनि मैलो भएर काँठ परेको भए पनि युनिफर्म नै लगाएर गएकोमा गर्व गर्छु । बडो गज्जब छ यो देखाउने गर्वमा ।

बाध्यता नं. २ अफिसमा नयाँ आइटी इन्जिनियर आएका छन् । उनी भर्खरै नियुक्त भएकोले खरानी अलि धेरै घसेको आभास गरेका छन् अन्य स्टाफले । दश देखि पाँच बजेसम्म सोसल साइट बन्द गरेका छन् । सरकारी वेबसाइट र इमेल बाहेक सब चल्न बन्द गरिदिएका छन् । सोसल साइट चलाउनका लागि पनि पाँच बजेपछि बस्नु मेरो बाध्यता छ ।

मलाइ खाजा खाने अफर गर्ने इन्जिनियर चाहिँ यिनी नभएर तिन वर्ष अगाडि लोक सेवा आयोगमा एक नम्बरमा सिफारिस भएका सिभिल इन्जिनियर साब हुन् ।

पक्का जाने हो सर ?

के छ यार त्यस्तो व्यवस्था, डोनर को हो यार ?

सर पनि यार जहिले अर्काको खाएर कहाँ हुन्छ ? आज म खुवाउँछु ।

इन्जिनियर साबको हाजिरी हुने बेला मेरो हाकिम साब खोइ कहाँ गएका थिए । उनले मलाई निमित्त हाकिमको जिम्मेवारी दिएका थिए । यो गजबको शब्द लाग्छ मलाई (निमित्त) म यसलाई हेर्छु कहिले यो निमित्त शब्दको अर्थ लगाउँछु । यो निमित्त भन्दा पनि नमातिनु हाकिमको जस्तो, घुस नखानु हाकिमले जति, नियम नवंग्याउनु हाकिमले जति, चेकमा सही नगर्नु , कमिसन नखानु तर को हो ? हाकिम ? भन्दै सोध्दै कोही आएमा अहिले हजुर म छु भन्न चाहिँ नछुटाउनु, त्यस कारण यो शब्द निमित्त भन्दा पनि हाकिम जति नमातिनु हो जस्तो लाग्छ मलाई । त्यस्तै हाकिम जति नमात्तिनु भनेर दिएको हाकिम थिएँ म । उनी हाजिर हुन आउँदा ।

भर्खरको त्याइस वर्षको ठिटो इन्जिनियरको पहिचान सहित आएका थिए । टि सर्ट र जिन्स पाइन्टमा थिए उनी । हल्का दारी पनि थियो ठिक्को ज्यान पाँच फिट नौ इन्च उचाइ भएका उनलाई देख्ने सबै छोरी हुने बाउले जु वाई बनाउने कल्पना गर्ने जस्ता थिए उनी ।

सर म हाजिर हुन आएको । हजुर हुनुहुन्छ रे हाकिम का.स. दाइले भने त्यसैले सर कहाँ आएको ।

ए, ए ल आउनु होस न । निवेदन लेख्नु भएको छ ? त्यति बेला उनी छक्क परे । सायद उनलाई लाग्यो होला संवैधानिक आयोगले सिफारिस गरेको, तालुकदार निकायले पदस्थापन गरेको, सचिवले नियुक्ति दिएको व्यक्तिको हाजिर हुँदा पनि निमित्तलाई निवेदन दिनुपर्ने ? तर के गर्नु । म इमानदार निमित्त थिएँ ।

निवेदन नलेखेर म हाजिर हुन दिनेवाला थिएन किनभने छ वर्ष अगाडि म आफू हाजिर हुँदा निमित्त ना.सु.लाई श्रीमान् कार्यालय प्रमुख ज्यू भनेर उनकै निमित्त खाने गरी हाजिर भएको थिएँ । उक्त कार्यालयको अधिकृत पदमा ।

मैले उनलाई ए फोर साइजको पेपर दिएँ । निवेदन लेख्न लगाएँ । उनले जसोतसो निवेदन लेखे । मलाई निवेदन हेर्दा लाग्यो विद्यालयमा अनुपस्थित भएको दिन लेख्ने निवेदन पछि पहिलो निवेदन लेखे जस्तो । किनकि प्राविधिकले निवेदन तथा टिप्पणी कम लेख्छन् ।

किमको छुट्टै शान हुँदो रहेछ यार, कार्यकक्षमा टन्न सोफाहरू हुन्छन् तर हरेक हाकिम फेरिदा झ्यालका पर्दा देखि पानी खाने गिलास, कुचो, कार्पेट सबै कुरा फेरिन्छ । पहिलेको हाकिम सुतेको त्यही बेडमा त झनै सुत्ने कुरै भएन । कुन चाहिँ हाकिमले कुचो पनि कुम्लो पारेर लगे भन्दै थिए एक जना स्टोरका सुब्बा साब । एक पटक एक जना हाकिम त पहिलेको एसीले राम्रो हावा दिएन भनेर चलिरहेको एसी समेत फेर्न भ्याएका थिए । नयाँ हाकिम आए सबै कुरा फेरिन्छन् । तर हाकिमका व्यवहार उस्तै हुन्छन् । नयाँ हाकिम आएपछि स्टोरको सुब्बा साब र लेखा शाखाको प्रमुखको व्यस्तता अलि बढ्छ, नयाँ सामान खरिदमा । खोइ के हुन्छ, त्यो सामानमा ? मैले नमात्तिने हाकिमको जिम्मा धेरै पटक पाएँ । तर सबै हाकिम कहिले उस्तै अवसरमा निमित्त दिन्थ्ये । जस्तै हाकिमकी श्रीमती घुम्न जाँदा हाकिम साब गाडी लिएर उतै जान्थे, कहिले सालीको बिहेमा जाँदा, सालो अस्ट्रेलिया जाँदा यस्तै यस्तै अवसरमा धेरै पटक निमित्त पाइयो । तर सबै हाकिमको एउटा विशेषता भने अवश्य मिल्थ्यो, सबै ससुराली तिरका काममा व्यस्त हुन्थे । उनीहरू कहिले भाइ मलेसिया जाँदा एयरपोर्ट गएको देखिएन, भान्जाको बिहेमा गएको देखिएन । साढु र ससुरा बाहेक बा(आमालाई घुमाउन लिएको देखिएन । के रहेछ यस्तो अहिलेसम्म बुझ्न सकिएको छैन । मात्तिने हाकिम हुने असवर पाए यसको रहस्य थाहा हुन्थ्यो कि ? सायद निमित्त मात्र भएर थाहा नभएको हो कि ? भएपछिको हालत यस्तै हुने हो कि मेरो पनि ??

इन्जिनियरको निवेदनमा मैले तोक लगाएँ । कति सजिलो छ यार हाकिमको काम ।

आ.का. प्रशासन भनेर मिति सहितको हस्ताक्षर ठोकिदिएँ । इन्जिनियर साबले आ.का.लेखेकोमा राम्रो सँग हेरे । सायद उनलाई लाग्यो होला, के हो यार आ.का. भनेको ?

डिजाइन, इस्टिमेट, कार्य सम्पन्न, रनिड विल, नापी किताब, मिटर, सेन्टिमिटर आदि इत्यादि सुनेका लेखेका इन्जिनियरलाई सायद आ.का. शब्द पहिलो पटक देखे होलान् ।

सानो बच्चालाई दिशा गर्दा भनिएको शब्द कति दमदार छ भन्ने कुरा सायद इन्जिनियर साबले अहिले बल्ल बुझेका होलान् । त्यही आ.का. लेख्न पाउनका लागि भएको घृणित राजनीतिका सिकार अहिले उनी बल्ल भएको महसुस गर्दै पो छन् कि ?

खाजा खान जाने सहमति भएपछि मैले ल्यापटपको शटडाउन बटनमा क्लिक गरेँ । ल्यापटपले भन्छ डु यु वान्ट फोर्सली शटडाउन ? म भन्दा उ सय गुणा बफादार छ तर म उ भन्दा दुई सय गुणा गैर जिम्मेवार छु । मैले ‘एस’ ठोकिदिएँ । किनकि यो मेरो ल्यापटप हैन ।

डाटा उडे के जान्छ र मेरो । बनाउँछ अफिसले । बिग्रे के फरक पर्छ किन्छ नयाँ अफिसले ।

संयोग मान्न पर्छ इन्जिनियर साब हाजिर हुन आएको दिन जस्तै आज पनि म निमित्त हाकिम थिए ।

नमातिने कार्यालय प्रमुखको ह्रैसियतले कान्छा कार्यालय सहयोगीलाई फोन डायल गरेँ । कान्छा दौडिएर आयो । सर भन्नुस् क्या गरम ? (सल्यानी लवजमा बोल्छ) मैले पनि त्यही लवजमा भनेँ सभ ढोकासोका बन्द गर कान्छा म पछि सुत्न आउँछु । कोठामा पानी राख्दिनु । हस् सर भन्यो । मैले प्रतिप्रश्न गरेँ कि एक क्वाटर रम खान जान्छौ कान्छा ? उसले उही लवजमा भन्छ । नाइँ सर कान्छीले गाली गर्छिन् ।

इन्जिनियर साब मुस्कुराए ल ठिक छ मिल्छ भने आऊ भन्दै हामी हिड्यौं । गजबको छ यो कान्छा सायद उसले मलाई अलि सोझो मान्छ होला र बेला बेलामा भन्छ । सर कहिले हाकिम हुनुहुन्छ ? छिटो हुनु पर्‍यो ? म भन्छु चिन्ता नगर कान्छा अव एक वर्ष भित्रमा हुन्छु । म पनि हाँसेर भनिदिन्छु कान्छालाई । उसलाई के थाहा छ म अहिले हाकिम जति नमातिने पदमा भएर यस्तो देखिएको हुँ भन्ने कुरा । गत साल मैले लोक सेवा आयोगको मात्तिने हाकिम हुनको लागि परीक्षा दिएको थाहा उसलाई । उसले सोध्छ सर तपाईँको रिजल्ट कहिले हुन्छ ? म नाजवाफ हुन्छु । म उसका हरेक प्रश्नको जवाफ दिन सक्छु तर यही एउटा प्रश्नको जवाफ दिन सक्दिनँ । हामी कान्छा सँग छुटिन्छौँ ।

हामी सबैजसो कार्यालयका कर्मचारी, स्थानीय राजनेता तथा टोले दादा आदिको साझा राष्ट्रिय विकास, राष्ट्रभक्ति, पत्नी भक्ति, अहम, इमान्दारिता, नैतिकता, जोक (भेज, ननभेज) राजनीति, कूटनीति, विश्व परिवेश, सदाचार, भ्रष्टाचार सबै विषयमा बहस, मनन, विश्लेषण, संस्लेशण, सुझाव गर्ने समग्र छलफल हुने थलो हो ‘अजय नास्ता पसल’ ।

गज्जबको जमघट हुन्छ, यहाँ ।

विश्व परिवेश कसरी चलिरहेछ भन्ने कुरा थाहा पाउन कुनै बि बिसी वा अल्जजिरा या आजतक च्यानल जरुरी पर्दैन, सबै विषय त्यहाँ छलफल हुन्छन् ।

के पाइँदैन यहाँ ? माछा ? अगैया देखि इन्डिया सम्मका, दारु, मौवा(थारुहरूले एकप्रकारको रुखको फुलबाट बनाउने रक्सी) वा सौफि देखि ब्ल्याक लेबलसम्म सबै पाइन्छ ।

हामी निस्केपछि करिब ६ः१५ तिर एउटा गज्जबको मनोरम दृश्य देखिन्छ । झिलिमिली बत्ती बलेको कुनै विदेशी युरोपीय भूमि हो कि जस्तो देखिन्छ । यो हो ‘सिक्टा सिँचाइ आयोजना’ को मुख्य बाँध हो । पहेँला बत्ती बलेका छन् । गज्जब मनोरम छ । यो राष्ट्रिय गौरवको आयोजना हो । थाहा छैन यसले राष्ट्रलाई गौरवान्वित बनाएको छ, छैन ? मलाई यो राष्ट्रिय गौरवको आयोजना भने पछि मज्जा आउँछ । पक्कै यो समयमा नसकिने आयोजनालाई नाम दिनु पर्‍यो भने राष्ट्रिय गौरवको आयोजना भनिएको हुनुपर्छ ।

यसले गज्जबको काम दिएको छ नेपालीलाई । पत्रकारलाई समाचार दिन्छ यसले, नेतालाई चुनाव जिताउँछ यसले, कर्मचारीको घर बनाउँछ यसले, सांसदलाई भ्रमण गराउँछ यसले, न्यायालयलाई मुद्दा दिन्छ यसले । राज्यका चार अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र पत्रकारिता सबैलाई काम दिएपछि किन समयमा सक्नुपर्‍यो यसलाई ? जनतालाई पानी बाहेक अरू सबैलाई सबै कुरा दिएको छ यसले ।।

भौजी चुरोट बा ? (भाउजू चुरोट छ ?) अरे तुँ फे चुरोट पिठो नि ?( तपाईँले पनि चुरोट पिउनुहुन्छ र ?) चिउँडो घाँटी तिर खिचेर निधारमा चाउरी बनाएर प्रति प्रश्न गर्छिन् अजयकी आमा । के थाह उनलाई हिजो आज कर्मचारी टेनशनमा छन् भन्ने कुरा ।

मेरो एउटा विशेषता छ, त्यो जुन समुदायमा बस्यो त्यो समुदायको भाषा संस्कृति बुझ्ने प्रयास गर्ने, त्यसैले म जुन दिन देखि अजय नास्ता पसल सँग जोडिए थारु भाषा सिक्न खोज्दै थिएँ । कुनै दिन नरैनापुर (अवधि क्षेत्र)मा जाँदा पान पनि खाएको थिए सायद जर्दा पान परेछ क्यारे याद अहिले सम्म छ ।

काआ कहे थिए (अवधिमा) के भन्नु हन्छ ? भन्न सम्म सिकेको छु ।

भौजी (भाउजू) आफ्नै भाषामा गनगन गर्दै भन्छिन्, यो कार्यालयमा सबैले यो सोझो मान्छे भन्थे मलाई पनि त्यस्तै लाग्थ्यो यो पनि बिग्रन थालेछ ।

के खाने सर ?

मैले भने मेरो त्यस्तो कुनै स्पेसल ब्रान्ड त छैन सर ?

८८४८ खाने की रम खाने ?

म त ‘ओल्ड डाबर ब्ल्याक’ खान्छु यार ! इन्जिनियर सा’प आफ्नो विचार व्यक्त गर्दछन्, फास्ट डिशिजन दिने क्षमता छ उनमा ।

दुई वर्ष अघि पहिलो दिन देख्दा उनी यस्तो थिएनन् । लगातार १५ दिन अफिस आउँदा पनि कामको जिम्मा नपाएर उनले काम गरेनन् । उनको तन्खा बढी रहेकै थियो । त्यो समयमा प्रायः उनी मेरो कार्यकक्षमा आएर गफ लगाउँथे । उनी प्रश्न गर्थे – ‘सर मैले केही जिम्मेवारी पाएको छैन कहिले पाउँछु होला ?’

उनको प्रश्नको जवाफ दिनु भन्दा पहिले मेरो जागिरको सुरुवातको जीवन सम्झन्थे म ।

हाजिर भएको दिन लेखेको पहिलो निवेदनमा क.प्र.आ.का.लेखेको हाकिम साप’को तोकबाट सुरु भएको मेरो जागिरे जीवन । करिब १५ दिन पछि मैले एउटा गज्जबको जिम्मेवारी पाएको थिएँ । तत्कालीन मेरो नमात्तिएका हाकिम साप’ले मलाई यसो चिनजान पनि हुन्छ भन्दै जिल्ला स्तरीय गैह्र सरकारी संस्थाले आयोजना गर्ने अभिमूखीकरण कार्यशाला, बैठक, तथा गोष्ठीमा सहभागी हुने जिम्मा दिनुभयो । म ज्यादै खुसी भएँ, सबैसँग चिनजान हुने भयो भनेर । प्रायः सबै गोष्ठीका नाम अभिूखीकरण, गोष्ठी, मिड टर्म रिभ्यु, प्रोजेक्ट एक्जिट मिटिङ, सेयरिङ मिटिङ, उस्तै उस्तै नामका हुन्थे ।

त्यहाँ आफ्नो विचार राख्ने सबैले कार्यक्रमको सफलताको शुभकामना दिन्थे, कार्यक्रम सफल भयो भन्थे । यो ‘वेस्ट प्राक्टिस’ हो यसलाई ‘इन्लार्ज’ गर्नु पर्छ भन्थे । जाने बेला यसो खाम पनि दिन्थे, तर खाम फरक–फरक हुन्थे । प्र.जी.अ., सांसद, चलेका पत्रकार स्थानीय नेताको अर्कै हुन्थ्यो, हामी जस्ताको बैठकमा उपस्थिति भए नभएको यकिन गरी यसो नुनिलो ओठ बनाउन पुग्ने खाम हुन्थ्यो । जे थियो त्यही खामको कमाल थियो । सबै हतारमा हुन्थे । खाम भित्रको नुन अनुसारको भाषण हुन्थ्यो । सबै यसमा बानी परिसकेका थिए । प्रायः परियोजना सकिने बेलाका बैठकमा राखिएका विचार सुन्दा मलाई लाग्थ्यो, अब यो देशमा गर्न थोरै बाँकी छ । अब हामीले गर्नुपर्ने काम नै केही नभएको जस्तो रिपोर्ट प्रस्तुत हुन्थ्यो ।

मेरो कार्यक्रमको सहभागिता करिब एक वर्ष चलिरह्यो । बैठकको मान्छे फेरिए, कार्यक्रम फेरिए । पहिलो ‘प्रोजेक्ट एक्जिट मिटिङ’ मा शतप्रतिशत लक्ष्य प्राप्त भएको ‘रिपोर्ट’ हुन्थ्यो । फेरि त्यही अनुसार अर्को नयाँ प्रोजेक्ट ओरिन्टेशन मिटिङ ( प्रि स्ट्याटस रिपोर्ट १०–२० प्रतिशत) मात्र हुन्थ्यो । काम र व्यवहार कहिले फेरिएको पाइएन । यो क्रम चलिरहेको थियो र चलिरहेकै छ, चलिरहने छ ।

इन्जिनियर सा’ब ‘ओल्ड डाबर ब्ल्याक’ चिम्नीको बोतल खोल्दै थिए, भौजी आइन् ।

लेउ चुरोट तर इ मजा नै करत । (लेउ चुरोट तर यसले राम्रो गर्दैन)

सायद स्वास्थ्य मन्त्रालयले कतै बेच्दा पनि यस्तो भन्नु पर्ने निमय पो छ कि कतै नत्र बेच्नेलाई यस्तो

बाल मतलब भन्दै गनगन गरे इन्जिनियर सा’ब ।

इन्जिनियर ‘धूम्रपान परेगा महँगा’ भन्दै गिलास आधा बनाए, क्वाटर बोटलको पनि आधा ।

आज के को अकेजन इन्जिनियर सा’ब ?

अरे साथीहरू टेन्सनमा छन् कर्मचारी समायोजनको त्यसैले बोलाएको हुँ ।
दाङ तिरबाट आउँदैछन यसो माछा सँग टेन्सन साटौँ भनेर हो ।

कर्मचारी वृत्तमा केही कहावत छन् ।
१. म्यारिज खेल्न, चुरोट पिउन र यसो सोसल ड्रिङ्कको रूपमा दारु पिउन नजान्ने कर्मचारी भनिँदैन ।
२. जीटीपीसी(गोइङ टुगेदर पेइङ्ग क्लियन्ट) यो अवस्थामा भेज/ननभेज जे खाएपनि हुन्छ ।
३. जीटीपीएस (गोइङ्ग टुगेदर पेइङ्ग) यस वेला सोचेर खानुपर्छ ।
४. जीटीपीएम (गोइङ्ग टुगेदर पेइङ्ग मी) यस्तो वेला पहिले साहुजीलाई आफ्नो लिमिटेड बताइदिने र त्यो भन्दा बढी नदिनु होला भनेर सकिएको बहान गर्न लगाउने आदि इत्यादि गर्नुपर्छ ।

यी सबै दृश्यमा सबैभन्दा उत्तम जीटीपीएस हुन्छ । यसमा त यसो गृहमन्त्रीलाई पार्सल लिन मिल्ने देखि ब्ल्यु डाइमण्ड वाला पनि ब्ल्याक लेभलमा चढ्ने अवस्था हुन्छ । यो सबभन्दा मज्जा वाला बसाई हुन्छ ।

इन्जिनियर सापले एक प्याक सक्ने बेला उताको टोली आई पुग्यो ।
१. लेखा अधिकृत
२. डा. सुरज (एमबीबीएस)
३ भेटनरी डाक्टर साप (हामी छोटकरीमा भेडा भन्ने उडाउने पद)
४ कृषि प्रसार अधिकृत
अर्का एक भाइ अलि टाढा रहेछन् । सामान्य प्रशासनका शाखा अधिकृत ।
उनी अलि ढिला आई पुगे कुरा जानकारी गराएका रहेछन् ।

कर्मचारी सर्कलमा लेखा समूहलाई पहिले मलाई ‘ले’ र तिमी ‘खा’ भन्ने भएकोले लेखा भन्ने गरिएको हो भन्ने जमात पनि ठुलै छ ।

अर्को कार्यालयमा एउटा यस्ते पद हुन्छ, जसको सेवा नै सामान्य प्रशासन हो तर व्यवहार भने असामान्य ।

आका गर्ने, दर्ता गर्ने, पेस गर्ने, प्रतिलिपि प्रमाणित गर्ने, कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, चेक बनाइदिनुहोला मात्र लेख्न जानेको मु ………….अरू कुनै अक्षर जोड्न खोजेको थिएँ इन्जिनियर सा’प भौजीले अमलेट ल्याएर नजिक आएको देखेपछि मुला ठुलो बन्दोरहेछन भन्न मात्र भ्याए ।

साथीहरू स्कारपियोमा आएका रहेछन्, कता हो हामी अगैया बजार आयौँ भन्दै इन्जिनियर सा’पकोमा फोन आयो ।

एकै छिन है त सर भन्दै उनी बाहिर निस्किए ।

बजारबाट दक्षिण गएको बाटोबाट प्रस्ट देखिन्छ ‘अजय नास्ता पसल’ भन्दै फोन राखे,
साथीहरू अमिलियामै एक एक प्याक खाएर आएका रहेछन् । हल्का ननभेज मुडमा भित्र पसे ।

गुरु जी तपाईँ के खाने ? ब्ल्यु डाइमण्ड की भर्जिन ?

गुरु जी को पनि स्तर बढेजस्तो गरी ८८४८ भनी दिए ।

सबभन्दा टेनशनमा देखिए लेखा अधिकृत ।

औपचारिक चिनजानमा साथीहरू लोकसेवामा पास भई निजामती सेवामा प्रवेश गरेको वर्ष भन्न कसैले छुटाएनन् । समय सन्दर्भिक भएर होला ।

२०७२ सालमा लेखा अधिकृत भएका रहेछन् मिस्टर सुदिप, २०७१ मा कृषि प्रसार अधिकृत विश्वास, २०७२ मा भे.डा भएका रहेछन् २०७२ डा.सुनिल, एमबीबीएस डाक्टर, डा. प्रबल रहेछन् २०७३ मा ।

लेखा अधिकृतका भाइ सन्तोष २०७४ मा सामान्य शाखा अधिकृत जो गफगाफको सुरुवातीमा आएका थिएनन् ।

२०७२ सालको शाखा अधिकृतको परीक्षामा सफल भएपछि शिक्षक बुवाले विद्यालयमा लेखापाल र प्रअ ले हल्का विल मिलाउने गरेको गाइगुइँ सुनेको कुरा, आफ्नै सहपाठी लेखापालले काठमाडौँमा घर बनाएको कुरा बाउले सुनाएका थिए । शिक्षक भएर पैसा कमाउन नसकेकोमा आत्मग्लानि थियो लेखा अधिकृत सूदिपको बुबालाई त्यसैले उनले आफ्ना दुवै छोरालाई बेला बेलामा जागिर लेखाको खानु भन्दथे । सोही मुताबिक २०७२ को अधिकृतमा पास हुँदा उनले लेखा समूह रोजेका थिए ।

अन्य प्राविधिक, अधिकृत पहिले पढाइमा राम्रा भएका कारण सिधै प्लस टु साईन्स पढे कृषि विषय कोही भेटनरी तिर र एमबीबीएसमा जोडिएका थिए । सबै जना एकैसँगै विद्यालय पढेका क्लास मेट थिए ।

अरे यार मैले त मेरो भाइलाई आफ्नो तयारीको नोट दिनु नै गल्ती भयो । त्यसलाई सबै गाईडिङ्ग गरे । समायोजनमा उसको केन्द्र,(सङ्घ) समायोजन भयो । आफू स्थानीयमा परियो ।

खोइ को मु…….. ले बिगारे भन्छन् हाम्रा साथीहरू अघि कै इन्जिनियरको । मेरो अनुमानमा अहिलेको मु……. पछिको अक्षर ‘ख्य’ हुनुपर्छ जस्तो लाग्यो । तर हो होइन कनफर्म गर्न त उनैलाई सोध्न पर्छ ।

हाकिम सङ्घबाटै खटाउने रे, भाइ नै हाकिम भयो भने क्या टेनशन यार ।
अगाडी प्रशासन सेवा लेखेको देखेँ भने का. स. लाई हाकिम बनाउन बेर छैन वरिष्ठहरूले । इन्जिनियर सा’बले थपे ।

जागिरको सबै समय हाकिमको चाकडीमा बिताएको छु यार, फेरी भाइ कै चाकडी गर्ने दिन आए  भन्दै घुटुक्क गिलास रित्ताए लेखा अधिकृत सा’बले ।

एमबीबीएसको डाक्टर साप बोले म त ‘प्राइभेट क्लिनिक’ खोल्छु यार । भन्दै अर्को बोतल खोले । हामी त २०० पुर्णाके भन्दा रहेछन् तपाईँ ४०० वाला हैन र यार ? मैले प्रश्न गरेँ ।

जब राज्यको मुख्य जिम्मेवारी (हामी कहिलेकाहीँ यसलाई छोटकरी पनि भन्ने गर्छौँ) प्राप्त व्यक्तिहरू नै अन्याय गर्न थाल्छन् त्यस पछि को को अन्यायमा पर्छन् थाह हुँदैन भन्दै थिए डा. एमबीबीएस ।

खोइ कता हात गराए या कुनै वस्तु देखाउन खोज्दै थिई इन्जिनियर सा’ब त्यो मैले देखिन्न ।

ठ्याक्क त्यहिँबेला बत्ती गयो तर भनेको चाहिँ प्रस्ट सुनियो । अब “यसैले नाप्छ बाटो” ।

यतिकैमा लेखा अधिकृतको भाइको फोन आयो र उताबाट आवाज सुनियो । दाइ असार सम्म कतै नजानु भनेका छन् माथिका हाम्रा मान्छेले त्यसैले म आउन सकिनँ । असार पछि भेटौँला भन्दै फोन काटे । दाइ के भन्न खोज्दै थिए तर हाकिम न परे पारा देखाई हाले ।

सबैको जागिर भन्दा पहिले जुन उत्साहले नियुक्ति लिएका थिए, नियुक्ति पछि को पहिलो पदस्थापनको कार्यालयको हाजिर हुने दिनको निवेदनमा हाकिमको तोक आ. का. प्रशासनबाट घट्न सुरु भएको उत्प्रेरणा माईनसमा पुगिसक्यो यार भन्दै थिए भे.डा. सा’प ।

यो सब तमासा कहिले सम्म चल्छ यार कहिले सम्म यो अन्याय सहने हो ? कि जागिर छोडौँ र खोलौँ नयाँ पाटी ‘दनक दल’ ।

भेट्यो कि दिई हाल्ने ‘दनक दल’ मैले थपेँ ।

विगत तीन चार वर्षमा सबैका एक–एक अम्मल (आदत) बनिसकेका थिए । कोही ८८४८ बिना निदाउन नसक्ने, कोही बिहान सूर्यसँगै सूर्य चुरोट नखाए दिसा नपर्ने, कोही गुटका नखाए सुत्न नसक्ने भएका थिए । यी आदत केही अग्रजले सिकाए केही सेवाग्राहीले सिकाएका थिए, त्यो कुरा समायोजन रोजे पछि झन् झन् बढ्दै थियो । बाँकी अर्काको डायरीमा । सबै कुरा सबैसँग नमिल्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस