लोक सेवामा सफल हुन के पढ्ने, कसरी लेख्ने ? « प्रशासन
prasaLogo
१२ मंसिर २०७५, बुधबार

लोक सेवामा सफल हुन के पढ्ने, कसरी लेख्ने ?


प्रकाशित मिति : 28 November, 2018 7:30 am

लोक सेवा

लोक सेवा अध्ययन गर्नेहरूका लागि लेख्ने पेपर अर्थात् विषयगत पेपर टाउको दुखाईको विषय बन्ने गरेको छ । सही ढंगले पढ्न र लेख्न नजान्दा परीक्षार्थीहरू असफल पनि हुन्छन् । प्रतिस्प्रर्धात्मक लोक सेवा परीक्षामा अध्ययन शैली पृथक र लेखाइ शैली दमदार भयो भने सफल हुन गाह्रो छैन । त्यसैले, लोक सेवा अध्ययन गरिरहनुभएका तमाम युवाहरूको लागि यहाँ लेख्ने पेपरको तयारी कसरी गर्ने र परीक्षामा कसरी लेख्ने भन्ने सन्दर्भमा केही तरिकाहरू प्रस्तुत गरिएको छ ।

लेख्ने पेपरको अध्ययन गर्दा वा नोट बनाउँदा निम्न फ्रेमलाई ध्यान दिनुहोस् :

क) परीचय खण्ड : यस खण्डको अध्ययन गर्दा निम्न विषयहरूलाई ध्यान दिनुहोस्
१) अवधारणा
२) विकासक्रम
३) परिभाषा
४) विशेषता
५) फाइदा र बेफाइदा तथा महत्व र भूमिका
६) सिद्धान्त तथा आयामहरू

ख) SWOT Analysis : यस खण्ड अन्तर्गत निम्न कुरालाई ध्यान दिनुहोस्
S= Strengths (सबल पक्षहरू)
W= Weaknesses (दुर्वल पक्षहरू)
O= Opportunities (अवसरहरू)
T= Threats (चुनौतीहरू)

ग) व्यवस्थाहरू वा प्रयासहरू : यस खन्डअन्तर्गत सम्बन्धित विषयको सम्बोधन गर्न के–के प्रयासहरू वा व्यवस्थाहरू कुन–कुन क्षेत्रबाट भइरहेका छन्, त्यसलाई ध्यान दिनुहोस् । जसअन्तर्गत

  •  राष्ट्रिय प्रयास वा व्यवस्थाहरू
  •  संवैधानिक व्यवस्था
  •  कानुनी व्यवस्था
  •  संस्थागत व्यवस्था
  •  आवधिक योजनामा गरिएका व्यवस्था
  •  वार्षिक बजेट, नीति तथा कार्यक्रममा गरिएका व्यवस्था
  •  अन्तर्राष्ट्रिय प्रयास वा व्यवस्थाहरू
  •  सन्धि–सम्झौता वा अन्तर्राष्ट्रिय कानुन
  •  संस्थागत व्यवस्था
  •  अन्य व्यवस्था

घ) सुधार वा समाधान : यो खण्डमा सम्बन्धित विषयका सम्बन्धमा देखिएका समस्या समाधानका उपायहरू के–के हुन् र कसले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ सो कुरालाई उल्लेख गर्नुहोस् । जसको लागि निम्न कुरामा ध्यान दिनुहोस्

  •  नीतिगत वा कानुनीरूपमा गर्नुपर्ने सुधार
  •  संस्थागतरूपमा गर्नुपर्ने सुधार
  •  व्यवस्थापन वा प्रशासनिकरूपमा गर्नुपर्ने सुधार
  •  अन्य सुधार
    यसमा राजनीतिक, वातावरणीय, आर्थिक –सामाजिक, नैतिक, प्राविधिक आदि पर्छन् ।

ङ) निष्कर्ष : यस खण्डमा माथि उल्लेखित सबै खण्डलाई आधार बनाएर सम्बन्धित विषयको वर्तमान अवस्था छोटकरीमा उल्लेख गर्नुहोस् र सो विषयलाई अझ प्रभावकारी बनाउन कसले के गर्नुपर्छ त्यसलाई सकारात्मक ढंगले प्रस्तुत गर्दै आफ्नो सुझाव दिनुहोस् ।

माथि उल्लेखित फ्रेमलाई आधार बनाएर अध्ययन गर्नुहोस् । यसले पढ्नुपर्ने सबै कुरालाई समेट्छ । यो फ्रेमवर्क सबै विषयको लागि हुबहु लागू नहुन पनि सक्छ, त्यसैले विषय वा शीर्षकको आवश्यकता अनुसार तपाईँले अध्ययन गर्नुहोस् । यो फ्रेम अनुसार अध्ययन गरियो भने प्रश्न जताबाट र जसरी आए पनि सजिलै हल गर्न सकिन्छ । बजारमा पाइने सहयोगी सामग्री तथा पाठ्यपुस्तकमा सबै जानकारी नहुन पनि सक्छ । त्यसैले सकभर यी सबै विषयलाई समेटेर नोट बनाउनुहोस् । पढ्दा समय लगाएर, बुझेर र ध्यान दिएर पढ्नुहोस् । एक दिनमै सबै किताव पढेर सिध्याउँछु भनेर नसोच्नुहोस् । कसैले थोरै पढेर पनि नाम निकाल्न सक्छ । तर, तपाई त्यतापट्टि नलाग्नुहोस् । पछि वृत्ति विकासको लागि समेत फाइदा हुने गरी अहिले राम्रोसँग पढ्नुहोस् । अझ जागिर नखाएको हुनुहुन्छ र उमेर छ भने त जागिर खान नआत्तिनुहोस् । एक–दुई चोटि असफल हुँदैमा पढ्न नछोड्नुहोस् । सधैं मेहनती र लगनशील हुनुहोस । अवश्य सफल भइन्छ ।

परीक्षामा लेख्ने तरिका :

तपाईँहरूले माथि उल्लेखित फ्रेमलाई आधार बनाएर पढ्नुभएको छ भने जुनसुकै र जस्तोसुकै प्रश्न आए पनि सजिलै लेख्न सक्नुहुन्छ । तर, परीक्षा भनेको प्राविधिक कुरो भएको र थोरै समयमा धेरै प्रश्नहरूको समाधान गर्नुपर्ने भएकाले कहिलेकाहीँ परीक्षा सोचेजस्तो नहुन पनि सक्छ । त्यसैले परीक्षामा लेख्दा निम्न १० कुराहरूलाई ध्यान दिनुहोस् ।

१) परीक्षामा सोधिने प्रश्न संख्या, ति प्रश्नहरूको अंकभार र जम्मा समयलाई आधार बनाएर एउटा प्रश्नको उत्तर लेख्ने समय निर्धारण गर्नुहोस् । उदाहरणको लागि : जम्मा समय तीन घन्टा छ र जम्मा प्रश्न संख्या १० छन् भने एउटा प्रश्नको लागि १६-१८ मिनेट निर्धारण गर्नुहोस् । आफूले धेरै जानेको प्रश्न आएको भए पनि तोकिएको समयभन्दा धेरै नलेख्नुहोस् ।

२) प्रश्नपत्र आफ्नो हातमा परेपछि एकचोटि ध्यान दिएर पढ्नुहोस् । भनिन्छ– प्रश्न राम्ररी बुझ्नु भनेको ५० प्रतिशत हल गर्नु बराबर हो । त्यसैले लेख्न नहतारिनुहोस् ।

३) आफूलाई सजिलो लागेको प्रश्नको हल सबैभन्दा पहिला गर्नुहोस् । र, प्राथमिकताक्रम अनुसार सजिला प्रश्न पहिले र गाह्रो प्रश्न अन्त्यमा गर्नुहोस् । किनकी गाह्रो प्रश्न नै पहिला गर्न थालियो भने उत्तर राम्रो हुँदैन र राम्ररी जानेको अन्य प्रश्न पनि बिग्रन्छ ।

४) नजानेको भनेर कुनै पनि प्रश्न नछोड्नुहोस् । केही कुरा भए पनि लेख्नुहोस् । थोरै भए पनि नम्बर आउँछ ।

५) प्रश्नलाई मुख्यरूपमा तीन खण्डमा विभाजन गर्नुहोस् । पहिलो खण्डमा परिचय दिनुहोस् । परिचय छोटो तर दमदार दिनुहोस् । दोस्रोमा प्रश्नले खोजेको उत्तरको व्याख्या र विश्लेषण गर्नुहोस् । प्रश्न जोडिएर एकभन्दा बढी प्रश्न सोधेर आएको खण्डमा दोस्रो खण्डलाई विभिन्न उपखण्डहरूमा विभाजन गरी लेख्नुहोस् । र, अन्तिम खण्डमा निष्कर्ष लेख्नुहोस् । निष्कर्षलाई चोटिलो र दमदार बनाउनुहोस् । माथि भने जस्तै निष्कर्ष खण्डमा सम्बन्धित प्रश्नले सोधेको आधारमा वर्तमान अवस्थाको उल्लेख गर्दै समस्या समाधान गर्न कसले के गर्नुपर्ने हो सकारात्मक ढंगले प्रस्तुत गर्नुहोस् ।

६) उत्तर सकारात्मक ढंगले लेख्नुहोस् । सो विषयको अवस्था धेरै नै नाजुक छ भने पनि सकारात्मक तरिकाले नकारात्मक कुराको पहिचान गर्नुहोस् । उदाहरणको लागि नेपालमा सुशासनको अवस्था कस्तो छ ? चर्चा गर्नुहोस् । भन्ने प्रश्न आएको खन्डमा उत्तरको सुरुवात यसरी गर्नुहोस्, ‘नेपालमा सुशासन कायम गरी जनताको दिगो शान्ति, विकास र समृद्धिको आकांक्षालार्य पूरा गर्न संवैधानिक, नीतिगत, कानुनी, संस्थागत लगायतका अन्य विभिन्न व्यवस्थाहरू गरिएको छ । तथापि सुशासनको अवस्था कमजोर देखिन्छ…।’

७) उत्तर धेरै नलेख्नुहोस् । तथ्य र तथ्यांकसहित उत्तर मिठो र छोटो रूपमा प्रस्तुत गर्नुहोस् । प्रश्नअनुसार उत्तरलाई चित्रात्मक ढंगलेसमेत प्रस्तुत गर्न सकिन्छ भने सो प्रस्तुत गर्नुहोस् ।

८) उत्तर लेख्दा छोटो र सरल वाक्यको प्रयोग गर्नुहोस् । अनावश्यकरूपमा लामो र साहित्यिक वाक्यको प्रयोग नगर्नुहोस् । सफा अक्षर लेख्नुहोस् । केही मात्रामा व्याकरणलाई समेत ध्यान दिनुहोस् ।

९) उत्तर आवश्यकता अनुसार बूँदागत वा प्याराग्राफगतरूपमा लेख्न सक्नुहुन्छ ।

१०) सबै प्रश्नहरूको उत्तर लेखिसकेपछि अन्त्यमा एकचोटि आफूले लेखेको कुरा हेर्नुहोस् । कतै गल्ती भएको खन्डमा सच्चाउनुहोस् । लेख्नैपर्ने कुरा छुटेको भएमा थप्नुहोस् ।

उल्लेखित कुराहरूलाई ध्यान दिन सकियो भने लोक सेवाको प्रतिस्प्रर्धामा पक्कै पनि सफल हुन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस