९ हजार नेता, तर छैन कुशल नेतृत्व « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

९ हजार नेता, तर छैन कुशल नेतृत्व


कल्पना लम्साल

११ मंसिर २०७५, मंगलबार


नेता

०४७ सालभन्दा अगाडिको कुरा नगरौं । बहुदलीय संसदीय शासन व्यवस्थाको सुरुवातदेखि नै टोल–टोलमा नेताहरूको उदय भयो । राजनीतिक रङको खोल ओढी जन्माइएका नेताहरू स्कुल, क्याम्पस, युवा, पेशाकर्मी जताततै छ्यापछ्याप्ती व्याप्त गराइए । मरणोपरान्त नथाक्ने नेताहरूको हिसाब नगरौं । राष्ट्रियस्तरमै नेतागिरी गर्न थोरैले नपुगेर सयौंभन्दा बढी दलगत पृष्ठभूमिका लगभग लाखौं जतिका नेताहरू बनाइए । नयाँ नेपालको परिष्कृत विभूषण नै मानौं न, संघ, प्रदेश र स्थानीय तह गरी कार्यकारी रूपमा सरकारी लोगो छाप्ने ओहोदामा ९ हजारभन्दा बढी संख्यामा गरिबहरूका गुरुबा उर्फ नेताहरू पुर्‍याइएका छन् ।

राजनीतिक आवरणबाहेक अन्य पेशाकर्मी, पत्रकार, मजदूरहरू एवं अन्य सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूको पनि हिसाबकिताब गर्ने हो भने ‘नेपालमा नेता धेरै कि जनता ?’ कन्फ्युजन हुन्छ । भलै, आर्थिक गतिविधिका हिसाबमा गरिब होस्, नेता र नेतागिरीको सवालमा नेपाल विश्वस्तरमा कम छैन ।

मात्र खडेरी छ त नेतृत्वको । तर, कुनै फिकर छैन । किनकि नेतृत्वको कुनै सर्वमान्य परिभाषा पनि त छैन । अलिअलि पैसा बटुल्न र खर्च गर्न सक्ने, सानै सही भीड देखेपछि नथाक्ने र नअड्किने गरी बोल्न सक्ने, जनतालाई झुक्याउन सक्ने बहुरूपधारी र दलीय संगठनमा टिक्न सक्ने ट्याक्टिस भएको मान्छे भए सम्झनुस्, उसको नेतावृत्ति सफल हुन्छ । चलन नै यस्तै छ, कोही मंगल ग्रहबाट उछिट्टिएर आउने होइन क्यार ! नेता नै यही हो र नेतागिरी पनि । कोही परिवर्तनको आँट गर्छ भने उसको नेतावृत्ति सधैं धरापमा हुने ढुक्क छ ।

अब कुरा गरौं नेतृत्वको । असल र कुशल नेतृत्वको लागि तीन कुरा आधार स्तम्भका रूपमा रहेको हुन्छ । पहिलो, नेताको आकांक्षा, सपना र दुरदृष्टि मानिन्छ । संभावनाका नेपथ्यहरू पहिचान गर्ने, सपना देख्न सक्ने, उक्त सपना सकारको घनिभूत योजना बनाउन सक्ने र यि सबै कुरा अरुलाई बुझाउन सक्ने क्षमताले नेतृत्व निर्धारण गर्छ । हाम्रोमा लहडै लहडमा ब्युँतिएका नेताहरू आफूले टेकेको माटो समेत नबुझेको अवस्थामा तिनका आँखाले के हेरेका होलान् अनि के को दृष्टिकोण अनि केको अभिव्यक्ति । तर, पनि नेतागिरी जिन्दावाद नै छ ।

दोस्रो, नेताले विविध विधा, उत्पत्ति र किसिमका अनुयायीहरूलाई अटाउन सक्ने हुनुपर्छ । भनिन्छ, अनुयायीहरूको विविधताको मात्रा र त्यसको व्यवस्थापनले नेतृत्वको सफलताको परीक्षण गर्छ । धेरै भन्दा धेरै भावनाहरू अटाउने, मनाउने र समाउन सक्ने किसिमको संयोजनकारी कौशलता हुनुपर्छ । हाम्रोमा के छ ? गुटको नेता, वर्गको नेता, जातिको नेता, आदि । जसले निहित समूह र स्वार्थको गुट बाहेकको समाज पढ्नै चाहँदैन । तर, पनि बस् नेता कहलाउँछन्, उर्लन्छन्, बम्कन्छन् ।

तेस्रो, लामो समयदेखि संस्थागत भएको नराम्रो प्रथा र परम्परा र विधि–विधानलाई बिर्सन र बिर्साउन सक्ने अद्धितीय मनोवैज्ञानिक दृढता हुनुपर्छ नेतृत्वमा । विगतलाई बिर्सन र नयाँ शिराबाट अघि बढ्न नेतामा आक्रामक राजनीतिक तृष्णा र यथेस्ट संवेगात्मक धैर्यता अर्थात् इमोसनल इस्टामिना हुनुपर्छ । इतिहासका नराम्रा परिघटना हेरी थाक्ने वा परिवर्तनका अवरोधदेखि निराश हुने व्यक्तिले नेतृत्व गर्न सक्दैन । यस विषयमा हाम्रो प्रयोग हेर्दा उदेकलाग्दो छ । विगतमा भेटिएका छिद्रहरूलाई नै ढाल बनाएर अघि बढ्ने आकंक्षासहित उम्रिन्छन् हाम्रा नेताहरू । परिवर्तनको अपेक्षा नगरेकै बेस !

नेतृत्व विकासको सवालमा प्रसिद्ध अमेरिकी लेखक जोन म्याक्स्वेलले नेतृत्वलाई पाँच तहमा प्राप्त हुने बताएका छन् ।
१) पदीय एवं औपचारिकताको तह
२) सम्बन्ध विस्तार र सामीप्यताको तह
३) काम र नतिजा प्रदर्शनको तह
४) व्यक्तिगत र अनुयायी विकासको तह
५) सम्मान तथा आदरको तह

हाम्रो प्रयास हेर्ने हो भने पहिलो तह नै पारदर्शी छैन । औपचारिकता निभाउने सवालमा क्षमता हेरिएकै छैन । दोस्रो तहमा, सम्बन्ध होस्न/होस्, अनुयायीले मानुन्न/मानुन्, अस्वस्थ शक्तिको भरमा जबर्जस्ती अघि बढेको देखिन्छ । प्रतिनिधित्वको तितो यथार्थ, अर्को विकल्प नभएकाले अनुयायीहरू औपचारिकता निभाइरहेका छन्, विश्वास छैन ।

तेस्रो तह, हाम्रोमा काम र नतिजा होइन, फुस्रा सपना मात्र बाँडिन्छ, जसको ठोस आधार पनि हुँदैन । काम गर्ने पाटो हेरिएको छैन कम्तिमा नबिगारिदिए हुन्थ्यो भन्ने अपेक्षा मात्र छ ।

चौथो तह, अनुयायीको विकास र समृद्धि हेर्नै जानेका छैनन् । सीमित कार्यकर्ताको हकमा बाहेक अरुको चासो राखेकै छैनन्, आफ्नै डम्फु बजाउने काम मात्र भएको छ ।

अन्तिम तह, सर्वमान्य र सफल नेतृत्वमा नेताको नाम र काममा अनुयायीले गर्व गर्ने अवस्था हुन्छ । नढाटि भन्ने हो भने हाम्रोमा कतिपय नेताहरूको कामै लाजमर्दो हुन्छ । गर्व गर्ने कुरा टाढाको विषय भयो ।

ती तहहरूभन्दा पनि नेतृत्वको लागि अहम् कुरा भनेको विश्वास हो । विश्वास आर्जनको लागि समर्पण र त्यागको आधार भएको हुनुपर्छ । जान/अन्जानमा जेलमा बिताएका कहानी सुनाउँदैमा त्याग प्रष्ट हुँदैन । अनि कति क्रुर क्रान्ति गर्न सकियो, त्यो पनि त नेताहरूको एक्लो क्वालिफिकेसन होइन् । तर, अफसोच ! हाम्रा धेरै नेताहरूले त्योबाहेक केही देखाउनै सक्दैनन् । समर्पणको नाममा अरुको बलिदान घोकेर पनि हुँदैन । अनुयायीको मत बटुल्न र विश्वास जित्न जनता र विकासको नाममा गरेका त्यागहरू सतहमा आउनुपर्‍यो र त्यसको प्रभाव देखिनुपर्‍यो । अर्काको कुरा काट्दैमा आफूलाई विश्वास गर्छन् भन्ने झुटो खेती अहिलेका नेतामा देखिएको पाइन्छ ।

तर, विवश जनता, नेतृत्वको खडेरी परेको यो देशमा लोकतन्त्रप्रतिको सम्मानस्वरूप जनताहरू गोलाप्रथा गर्न बाध्य छन् । नागरिकले अमूर्त मत जाहेर गर्ने गरेका छन् । यद्यपि, नेतृत्वको क्षमता र समर्पणको विरासत बोकेका कोही छन् भने सतहमा आउनुस् बिन्ती । माथि भनेजस्तै तीन आधारस्तम्भ भएका र पाँच तहको सिँढीको स्वस्थ यात्रा गरेको कोही देख्नुहुन्छ र विश्वासयोग्य आधारहरू छन् भने चम्काउनुस् बिन्ती ।

प्रतिक्रिया दिनुहोस