बुझाइको जिनिस-२ « प्रशासन
prasaLogo
१६ भाद्र २०७५, शनिबार

बुझाइको जिनिस-२


प्रकाशित मिति : 1 September, 2018 4:07 pm

बुझाइको जिनिस-२

बुझाइको ठिक अर्थ वा बुझाउनु को ठिक क्षमता वा बुझ्नुको ठिक माने बिच मिलन नहुँदा भ्रम पैदा हुन्छ । भ्रमले मान्छे, समाज र राष्ट्रलाई सही दिशानिर्देश गर्न सक्दैन । यसले सबै कुरा छिन्नभिन्न गर्छ ।

बुझ्नु, बुझाउनु र बुझ पचाउनु बिचको तालमेल नहुनु नेपाली समाजको एउटा जटिल समस्या हो । मनैदेखि एउटा प्रश्न गर्छु । उत्तर आफै मनमनै सोच्नुहोला र आफैलाई सुझाउनु होला ।

मानौँ— ३ करोड जनताले देखेको, सुनेको र बुझेको आम बोलिलाई एकातिर र नेताले देखाएको, सुनाएको र बुझाएको बोलिलाई अर्कोतिर राखेर तराजुमा जोख्ने हो भने आजको वास्तविकताको पल्ला भारी कसको कारणले भएको होला ?

अब म एकैछिन तपाइहरूलाई नेपालीहरूको बुझाइको मनोविज्ञानतिर लैजान्छु ।

म आज भोलि यी तीन तत्त्वहरू (बुझ्नु, बुझाउनु र बुझ पचाउनु) को जडबाट सत्यताको मूल प्रश्नको खोजीमा छु । राष्ट्रिय राजनीतिदेखि, देशको आर्थिक, सामाजिकसँगै व्यक्तिको चुलो चौका सम्ममा देखिने मतमतान्तरको अवस्था ।

घट्नैघट्नाहरूबाट सुरु गर्न चाहन्छु । बुझ्नु, बुझाउन र बुझ पचाउनुमा हाम्रो समाजको विराट नियति कस्तो छ त !

म पसल अगाडी उभिएको छु । झन्डै १७ वर्ष जत्ति उमेरको एक बैनीले मनै बिझ्ने गरी— ‘थीनारोट’ बिस्कुटलाई कुकुरले खाने बिस्कुट, मान्छेले खान्छन्’को आश्चर्य प्रकट गरिन  । त्यो भन्दा बढी ती बैनीले बुझेको थिनारोट बिस्कुट, तीनको आमा-बा, परिवार, थिनारोट बिस्कुट उत्पादन गर्ने कम्पनी सम्झेर म झन् आश्चर्यचकित भए ।

यो प्रतिनिधि घटना हो । व्याख्या गर्न चाहन्न । तर्क गर्न चाहन्न । सहरमा यस्ता घटना छ्यापछ्याप्ती छन् । विविध विषयका उदाहरण बग्रेल्ती ।

केही समय अघि गनेचुनेकै स्कुलमा एक शिक्षकले चामल कहाँ फल्छ ? को प्रश्न गर्दा— सोधिएको विद्यार्थीले बोरामा फल्छ को उत्तर दिएको सुन्नमा आएकै थियो ।

अब, ती बैनी र विद्यार्थीको दोष त हैन होला ! किन यस्तो बुझाइ भयो होला त ? मैले देखेको कुरा राख्छु । मासिक ‘ह्यान्सम मनी’ खल्तीमा ठोस्नेहरू श्लेष्मान्तक देखि रत्नपार्कसम्म बिहान दौडिदा ‘थिनारोट’ बिस्कुट हातमा च्यापेर कुदिरहेको देखिन्छ, प्रस्ट छ  । उनीहरूलाई आफ्नो स्वास्थ्यभन्दा जङ्गलको बाँदरको भोक र भुस्याहा कुकुरको माया बढी छ ।

गत हप्ताको कुरा हो, म ठिमीको माइक्रोमा चढे । माइक्रोको अपोजिटतर्फको सिटमा बसेको आफूलाई शिक्षक भन्ने झन्डै ५५ वर्ष उमेरको बा र लगभग २७ वर्षजतिको केटीबिच झगडा पर्‍यो ।

विषय अरू केही थिएन – ५५ वर्षे बा’को कुइनोले ती २७ वर्षे बहिनीको संवेदनशील अंगमाथि छोएको भन्ने थियो ।

ती केटी भन्दै थिइन – ती शिक्षक भन्ने बुढा मान्छेले मोबाइल चलाउने बहानामा कुइनोले असहजता पैदा गरेको र उसले सिधै विरोध गर्न नसकेपछि छेउमै रहेको अर्की दिदीलाई बताएपछि माइक्रोभित्र एकै छिन तनाव उत्पन्न भयो ।

तिमी छोरी उमेरको भएर म बुढोलाई आरोप लगाउने ? तिमीलाई त्यस्तो व्यवहार गर्न मलाइ आवश्यक छैन । बुढो भन्दै थियो ।

बुढाले बोलेका शब्दहरूबाट यकिन गर्न सकिन्थ्यो -ऊ शिक्षक बढी, त्यस्तो व्यवहार गर्ने मान्छे कम । तर यो नठानियोस मैले बुढाको पक्ष पोषण गरे, देखेको दृश्य सजीव राख्न मात्र खोजेको हुँ, आगे, तपाईँहरूको जो आज्ञा !

बुढो चर्किँदै थियो-यी नानीले ऐले आफ्नो घर छेउको टोल भएको भए मलाई पिटाई खुवाउने रहेछन् । म मेरो कामले मोबाइल चलाएर डकुमेन्ट पढिरहेको थिए । तिम्रो बाउ उमेरको मान्छेलाई तिमी कसरी यस्तो नकारात्मक कार्य गर्‍यो भन्न सक्छौँ ? उसको ती केटीप्रति प्रतिप्रश्न थियो ।

ती केटी भने ठोकुवा गर्दै उसले नचाहिँदो कुइनोको चलमलावटबाट अनैतिक काम गर्न खोजेको दाबी गर्दै थिइन ।

यी घटना मैले मसिनो गरी नियाले । त्यति बेला न म बोले, न केही प्रतिक्रिया जनाए तर एउटा कुरा मनमा चलिरह्यो । के हाम्रो समाज साँच्चै सत्यताको मझेरीबाट बगिरहेको वर्षाको पानी जस्तै ह्वात्त आउने अनि बगेर जाने जस्तै भइसकेको हो । विमर्श खै ! पीडित र कर्ताको जाँच खै ! यथार्थता र शुद्धता खै ! हाम्रो कानुन किन यति फितलो ? हाम्रो बुझाइमा किन यति विघ्न खाडल ? म धेरै दिन सम्म सोच मग्न भए ।

म अझै पनि सत्यताको बिचबाट उम्रने बुझाईलाई जोड दिन चाहन्छु । हामीमाझ बुझाइको ठुलो खाडल छ । बुझाउने स्रोतप्रति शङ्का छ । विश्वास गुम्दो छ । कार्य अभाव छ । कसरी व्यक्त गर्ने ? किन गर्ने ? के सन्दर्भको लागि गर्ने ? यी-यस्तै बिचमा तादाम्यता छैन । बुझ्नु भनेको जस्ताको तस्तै प्रेषित गर्ने र उस्तै रूपमा ग्रहण गर्ने पनि हो ।

न हामी जस्ताको तस्तै ग्रहणताको क्षमता राख्छौँ, न सत्यता ओकल्ने । कुनै कुराहरू एक स्रोतबाट अर्को स्रोतसम्म पुगिसक्दा त्यसले वास्तविक अर्थ भन्दा निकै फरक अर्थ बोकेर यात्रा गरिसकेको हुन्छ । जब हामीमा वास्तविकताको जड थाहा हुन्न अर्थात् कारण थाहा हुन्न समाधान कसरी थाहा हुन जान्छ । अनि, समाजमा विद्यमान समस्या भनौँ वा व्यक्तिगत रूपमा उठेका सबै सवालहरूको जवाफ हामीसँगै नहुनु त स्वाभाविक भएन र ?

बुझ्नु र बुझाउनुको कुरा गर्दै गर्दा कतिपय कुराहरू शब्दले व्यक्त गर्न नसकिने हुन्छ । केवल महसुस मात्र गर्न सकिने हुन्छ । कतिपय कुराहरू महसुस गर्न सकिँदैन तर व्यक्त गर्नै पर्ने हुन्छ । कतिपय कुराहरू समय सापेक्ष हुन्छ । कतिपय कुरा सत्यताभन्दा माथिको हुन्छ, जुन भलाइको लागि लुकाउनै पर्ने हुन्छ । कतिपय कुरा उदाङ्गो बनाउनुपर्ने हुन्छ तर त्यस्ता कुराहरू लुकाउनु किन ? कतिपय कुराहरू अन्तर अस्तित्वको हुन्छ, अन्तर सम्बन्धको हुन्छ र सामुहिकताको हुन्छ ।

एक पटक छातीमा हात राखेर आफूले आफैसँग प्रश्न गरौँ त -राजनीति, आर्थिक, सामाजिक सबै दृष्टिकोणबाट यी कुराहरू बहसमा जसरी आउनुपर्ने हो, त्यो परिणाममा त्यही महत्त्वका साथ आइरहेको छ । उत्तर सपाट छ -छैन । अनि, व्यक्तिले, परिवारले, समुदायले र सिङ्गो देशले सही दिशा समातिरहेको छ भन्ने निश्चिन्तताको आधार नहुनुमा कुनै सन्देह रहेन । यी कुराहरू जब छर्लङ्ग हुँदै जान्छ तब मात्र हामी सबै कुराको सही अर्थ र प्रयोगतिरको दिशामा हुन्छौँ । हाम्रो सिकाई । हाम्रो गराई । हाम्रो बोलाई । हाम्रो सफलता । हाम्रो परिणाम । समाज । राष्ट्र । सबैको सुनिश्चितता बढ्दै जान्छ ।

शैक्षिक क्षेत्रमा सोचे अनुरूप सफलता मिलेन, उत्तर यही भेटिन्छ ।

स्वास्थ्य क्षेत्रमा विकृति छ -सही समाधान भेटिन्छ ।

राजनीति र समाजमा अराजकता छ -सजगता पाइन्छ ।

विकासको मोडेल र आर्थिक क्षेत्र कता जाँदैछ -गन्तव्य थाहा हुन्छ ।

व्यक्तिको सोच कस्तो छ -एकै छिन सोच्ने बानीको विकास हुन्छ । यात्रा झन् सहज हुन्छ ।

म बाट हामी र देशको नक्सा तयार हुन्छ ।

त्यसैले म फेरि पनि भन्छु -नेपाली समाजमा बुझाईको कोदालो सही तबरले चलाउन अत्यावश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस