सिंहदरवार संग्रहालय « प्रशासन

सिंहदरवार संग्रहालय


प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ०९:३२

सबै तयारी अघिल्लो दिन नै सकिएको थियो । मन्त्रालयमा बिदाइ कार्यक्रम पनि भयो, विश्वविद्यालयबाट विद्यावारिधि भर्ना समितिका संयोजक डा. शाही आफैले फोन र इमेलबाट सबै जानकारी लिनुभयो, दिनुभयो । सचिवज्यूले दिनुभएको हौसला र उत्प्रेरणाले निजामती सेवा मार्फत मुलुक र नागरिकको हितमा कार्य गर्न मलाई भित्रै देखि ऊर्जा प्राप्त भएको छ । अरू सिनियर तथा सहकर्मी साथीहरूको सहयोग र प्रेरणा पनि कम्ती छैन । मलाई साच्चिकै धेरै खुसी लागेको छ कि कार्यरत मन्त्रालयले साच्चिकै मेरो पुरै ग्राजियनको काम गरेको छ, सबै ख्याल गरेको छ ।

सरकारले मनोनयन गरेको शोधार्थी भएकोले होला विश्वविद्यालयले पनि धेरै नै चासो दिएको छ । मलाई फ्लाईटमा आउने कि गाडीमा आउने भनेर सोधिएको थियो विश्वविद्यालयबाट, मैले गाडीबाटै आउने जानकारी गराए अनुसार काठमाडौँबाट साफेवगरसम्मकै सुविधायुक्त गाडीको टिकट प्राप्त भइसकेको थियो । साफेवगर पुगे पछि चाही विश्वविद्यालयकै गाडी लिन आउने रहेछ । गाडी भए पनि पहिला जस्तो कर्कश लाग्दो यात्रा छैन आजकालको । फेरि गाडीमा जाँदाको जस्तो मज्जा कहाँ हुन्छ र फ्लाईटमा । देश दर्शन गर्दै जान पाइन्छ नि । मेरो देशका हरेक कुनाहरू स्वर्गका टुक्रा जस्तो लाग्छ । यिनको स्पर्श गर्दै जाँदा हुने आनन्दको रसस्वादन गर्ने मौका चुकाउन चाहिन मैले । घरबाटै पिकअप गर्ने गरी गाडीको टिकट भएकोले ठिक ११ बजे म बसेकै घरमा भ्यान आउँदै छ भनेर यातायात कम्पनीबाट एसएमएस पाइसकेको थिए । जाने दिन घरमा आफै खाना बनाउने मुड थिएन, सबेरै पशुपतिनाथ पुगेर भगवानको दर्शन गर्ने सोच थियो । मन्दिरसँगै आर्यघाटमा जलेर खरानी हुने लासहरू हेर्दै धेरै पटक मैले आफूलाई आफै चित्त बुझाएकी छु, अर्थात् जीवन र यसको अर्थ बुझ्ने भएकी छु ।

त्यो दिन राती खास निद्रा परेन । सम्झिन्न भन्नु नै झन् ठुलो सम्झना रहेछ । त्यो डल्लेलाई घरीघरी सम्झिरहे । जति कोसिस गरे पनि नत त्यसलाई दोषी देख्थे, नत बिर्सनै सक्थे । ‘आखिर त्यो को नै थियो र ? बाटोमा भेटिएको थियो, बाटोमा नै हरायो त के भयो ।’ एक मनले यसो भनिरहँदा म भित्रकै अर्को मनले चाहिँ किन हो उसकै चिन्ता गरिरहन्थ्यो । कोल्टो फेर्दै फेरि सोच्थे ’हा त्यो ढुङ्गाको मन भएको आवारा । फेरि अर्को कोल्टो फेर्दै सोच्थे, ‘अव त आवारा कहाँ छ र धेरै परिपक्व भइसक्यो । बरु अव म टाढा हुँदा फेरि बिग्रने हो कि ।’ के को चिन्ता लागेको होला बेकार । यस्तो पनि लाग्थ्यो ।

न निद्रा, न फ्रेश रातभर त्यै डल्लेसँगको भ्रममै म अल्मलिरहे । बिहान ४ः३० बजे उठेर हल्का योगा गरे, पछि कालो चिया बनाउन लागे । आज के भयो कुन्नि चियादानीमा दुई कप पानी राखेछु । छ्या के भएको होला यस्तो ? सधैँ एक कप चिया पकाउँथे बिहानमा, साथीहरू आएको मौका बाहेक ।

म आफैलाई अनौठो लागेर आयो । मेरो दिल मात्र होइन दिमाग र हातमा पनि डल्ले बसिसक्यो । ढोका तिर हेरे कसैले ओई काली भन्ला कि जस्तो पनि लाग्यो । ढोका खोलेर बाहिर निस्के, बाकी नै थियो अँध्यारो । कुकुरहरूको बाहेक अरू कुनै आवाज थिएन । अलि अलि डर लागे जस्तो भयो ढ्याम्म ढोका लगाएर भित्र पसे । दुई वटा कपमा चिया थियो । एक कप तातो र एक कप चिसो चिया पिए पालो गरि । सोचे ‘त्यो डल्ले यो चिया जस्तै चिसो छ । त्यसलाई तताएन भने काम लाग्दैन ।’ बिस्तारै उज्यालो भयो । बाहिर गेटमा आवाज आयो । सोचे पत्रिका आएछ । तर, आवाजसँगै घण्टी बज्यो । अरू कोही उठेका थिएनन् । गएर गेट खोले । अचम्म भो । डल्ले पो उभिएको छ गेट अगाडि एकाबिहानै ।

राती अर्धनिद्राकै निरन्तरता हो कि जस्तो पनि लाग्यो । ‘ओई काली के भो के हेरेकी’ भनेर झस्कायो । भन्न त मलाई ओई डल्ले तँ किन आएको नि भन्न मन लागेको थियो तर भने ‘फोन वा टेक्स्ट गर्न सकिनस् ? बिहानै सरप्राईज दिनु पर्छ तलाई ‘। चुपचाप दुवै भित्र पस्यौ । टेबुलमा भित्रिएका दुइटा कप देख्यो तर केही सोधेन । उभिएरै बोल्यो । काली कति वेला हो तिमि जाने ? मैले पनि सहजै भनिदिए ११ बजे भ्यान आउँछ पिकअप गर्न । उसले मेरो हात च्याप्प समात्यो अनि भन्यो : ‘जाम हिँड मेरो घर ।’ म दङ्ग परे ।

सङ्गत गरेको यत्रो वर्ष सम्म त्यसले कहिले आफ्नो घर जाऊ भनेन, देखाएन र लगेन पनि । आज किन भन्दै छ मैले सोच्न नभ्याउदै उसले थप्यो ‘मेरो बाबा ममीले भेट्न खोज्नु भएको छ । प्लिज जाऊ न है ।’ एकाएका बच्चा जस्तै भएर रुन्चे स्वरमा उसले भन्यो । मेलै भने ‘ढिला हुन्छ नि मलाई केही तयारी बाकी छ ।’ उसले थप्यो ‘मेरो सबै प्याकिंग हेर्दे भन्यो केही बाकी भए गरिहाल एकछिनमा म १० बजे नै पुर्याईदिन्छु यही ।’ यति भन्दै गर्दा मोबाइलको घण्टी बज्यो ।

मोबाइल उठाएर यति मात्र भन्यो हजुर बुवा आधा घण्टा लाग्छ । घरबाट ताकेता रहेछ भन्ने अनुमान गरे । म दोधारमा परेको देखेर मेरो कपालमा हा राख्दै भन्यो : ‘काली जाऊ जाऊ ल एकै छिन मात्र त होनी ।’ मैले भनेको यत्ति पनि मान्दिन त । हात झिकेर फेरि भन्यो । ठिकै छ त्यसो भए म जान्छु नि एक्लै । मलाई टीठ लागेर आए जस्तो भयो भने ’हुन्छ जाऊ हिँड । उसले टिभिएस बाइक स्टार गर्‍यो, मैले ढोका बन्द गरेर निस्के । करिब १५ मिनेट पछि बाइक एउटा खुला गेट भित्र पसेर रोकियो । दुई तलाको घर, साधारण तर चिटिक्क परेको । थोरै जग्गामा पनि फुलहरू फुलेका र तरकारी लटरम्म फलेको । पूर्वी कुनामा तुलसीमा पानी चढाउँदै गर्दै हुनुहुँदो रहेछ । फोटोमा देखेको थिए, मैले चिनिहाले । उसको बुवा चाही बरन्डामा बस्नुभएको रहेछ, हामी पुगे पछि जुरुक्क उठेर आउनु भयो हाम्रो नजिक, आमा पनि मठबाट यतै आउनु भो हातमा पूजाको थाली सहित । काले लजायो यति वेला आफ्नै बाबुआमासँग । मैले दुवैलाई अभिवादन गरे पछि आमाले हामीलाई पहिला पहेँलो अनि रातो टिका लगाइदिनु भयो र भन्नु भयो ‘भगवानले सधैँ रक्षा गरुन् ।’

‘छोरी हिँड भित्र जाऔँ’ भन्नुभयो उसकाले बुवाले । मलाई चसक्क भयो । मलाई कुनै पाको मानिसले छोरी भन्यो, यति सहज र स्वाभाविक लवजमा । कता कता अनौठो हो कि नमिठो के हो के हो अनुभव भयो । हामी सबै जना सँगै अगाडि बढ्यौ । यति बेला सात बजिसकेको थियो । आमाले दूध र कुकिज ल्याउनु भयो । बुवाले सर्भिस गर्नुभयो । अनि डल्लेले आमाका कानमा सानो स्वरमा भन्यो आमा हामी ९ बजे यहावाट जाने । त्यसपछि आमा भित्र जानु भयो, डल्ले पछि पछि गयो । मेरो निधार हेर्दै बुवाले भन्नुभयो: ‘छोरी यसले हामीलाई धेरै खुसी दिएको छ । मूल कारण त हिजो मात्र थाहा भयो ।

हिजो जीवनमै पहिलो पटक यसले मसँग साथी जस्तै सबै कुरा भन्यो । हामीले त यसलाई केवल जन्म मात्र दिएका रहेछौ, कर्म दिन सकेका रहेनछौ । छोरी तिमीले यसको मात्र होइन हाम्रो परिवारको ठुलो भलो गर्‍यौ । तिमी आज जाने भन्ने थाहा पाएर हामीले नै यसलाई लिन पठाएको हो । मैले हेरिरहेको छु, आज रातभर यो सुतेको छैन । राती १२ बजेसम्म यसको छटपटी र पसिना देखेर मैले नै कर गरेर सबै कुरा सोधे पछि थाहा भएको हो । ३ बजे सम्म यसको कुरा सुन्यौ हामीले, त्यसपछि पनि यो सुतेको छैन । छोरो अचानक परिवर्तन भएको थाहा थियो । चिन्ने जान्ने सबै दङ्ग थिए । तर, यसको पछाडि कुनै साक्षरता देवी नै थियो होला भनेर हामीले सोचेका थिएनौ । हामी अव कति पो बाचौला । नानी फर्केर आउञ्जेल सम्म के भर भनेर आजै भेट्न बोलाएको । मन नदुखाउनु छोरी, तिमीलाई दु:ख भयो । एकोहोरो यति भनिसक्दा वहाँ द्रविड भएको अनुभव गरे मैले । मैले केही बोल्न, जवाफ दिन सकिरहेकी थिइन ।

म केवल दङ्ग परेकी थिए, चुपचाप सुनिरहेकी मात्र थिए । आँखा त मेरा पनि भरिएर आए, कसैले साच्चिकै मलाई पटक पटक छोरी भनेको थियो आज । खाना तयार भई सकेछ । सबै जना सँगै बसेर खाना खायौ । म चुपचाप थिए । केही सोच्न मात्र होइन खान पनि सकिन । मिठो नभएर होइन । साढे नौ बजेछ । बाहिर निस्क्यौ सबै जना । मैले भने: बुवा आमा जान्छु है । वहाहरुले भन्नुभयो । पख छोरी साइतको टिका लगाएर जाऊ । टिका लगाइदिनु भयो, कपालमा फुल सिउरिदिएर आशिष् पनि दिनुभयो । सँगै उभिएको थियो काले पनि । आँखा तरेर हेरिदिए त्यसलाई । अनि आमाले हातमा २ वटा नोट थमाउन लाग्नु भयो । मैले भने के गर्नुभएको यो । पर्दैन । लिन्न । मैले हात तल झारे । बुवाले बिस्तारै भन्नु भो तिमी त चेली हौ नि । छोरी चेलीलाई खाली हात कसरी टिका लगाउने, त्यो पनि साइतको वेला लेउ, लिनुपर्छ ।

म आज्ञाकारी भएर समाते आमाको हातबाट रातो रङ्ग लागेको दुइटा नोट । साइतको सगुन पनि लिनु भन्नुभयो । सहर्ष लिए । एक पटक घर तिर फर्केर हेरे । मेरै घर सम्झे, विगत सम्झे । उसको बुवा आमाको ठाउँमा मेरा आफ्नै बाबु आमा सम्झे । खास आफ्नो भन्ने कोही नभएकी मेरो लागी यो सन्सारमा सबै छन् जस्तो लागेर आयो । जीवनमा जति जहाँ पुगे पनि जन्म दिने बाबु आमाको अभाव हरेक पाइलामा खट्किने रहेछ । पाइला पाइला आफैलाई एक्लो सम्झन्थे मैले । तर, यहाँनेर आउँदा मेरा पनि कोही नजिकका आफन्त रहेछन् जस्तो लागेर आयो । वहाहरुको अनुहार भावभंगी र छोरीप्रतिको वात्सल्य मुस्कान अगाडि प्रकट भयो, मेरै आँखा अगाडी, १५ वर्ष पहिलाको ती दिव्य अनुहारहरू मैले फेरि देखे ।

मैले सकिन । आँखा चिम्म गरेछु । जति थिचे पनि दुवै आँखाका छेउछेउबाट आँसुका ढिक्काहरु निस्केरै छाडे । दुवै ओठ खप्टेर भित्रै दबाए । कसैले आँखाको आशु पुछिदियो । घांटी, नाक र तालु पनि रसिला भइसकेका थिए । घुँक्क घुँक्क कोही रोएको आवाज आयो, म कसैको वाहुपासमा बेस्सरी कस्सिए । आँखा खोले । म साक्षरता आमाको न्यानो अँगालोमा रहेछु । यो सन्सारमा रुनुपर्ने अनि पटक पटक मर्दै पुनर्जीवन लिनुपर्ने काम नारी जातिहरूलाई नै किन पर्‍यो होला भन्ने लाग्छ । डल्ले बुवासँग टाँसिएर उभिएको रहेछ । खै के भई रहेको छ यहाँ, म अलमलमा परे । म आफूलाई खुब तगडा सम्झन्थे, तर यहाँनेर किन हो फेरि पग्ले म पनि । अतीतले मलाई कहिले किन छाडेन जस्तो पनि लाग्यो । डल्लेले मलाई तान्यो । मलाई तान्न लम्केका उसका आमाका हातहरू बुवाले ट्याप्प समाती दिनु भयो । मैले फर्केर पनि हेरिन । गेट खुलै थियो । डल्लेले बाइक स्टार गर्‍यो । हुत्त हुत्त्याउनु सानो खाल्टोमा बाइक उफ्रियो । मेरो लुलो शरीरको धक्का डल्लेलाई असजिलो लाग्यो ।

दिदी हजुर निदाउनु भयो, सुरुंग सकियो । सँगै सिटमा बसेकी अपरिचित केटीको आवाजले मेरो तन्द्रा खुल्यो । धार्के नजिक सुरुंगमार्गवाट स्थलमार्गमा निस्कँदाको गाडीको झट्का रहेछ । हिजो देखि बिहान सम्मको दृश्यमा म अल्झिएकी रहेछु । सितापाईलावाट गाडी सुरुंगमार्गमा छिरेसँगै । म मुसुक्क हाँसिदिए । त्यो केटीले अनुहारमा हेदै मुसुक्क हाँस्दै थिई, अचानक रोकिएर भनी: दिदी हजुरलाई के भो किन रुनु भएको । मैले सामान्य देखिन फेरि हाँसेरै जवाफ दिए । हैन नि । पिरो भो । उसले पत्याए झैँ गरी, तर पत्याइन । साधारण टिशर्ट र जिन्स पाइन्ट लगाएर सामसुङको स्मार्टसँग जिस्किँदै गरेकी, लिपिष्टिक नलगाए पनि ओठहरू टल्केका, आँखाको गाजन कम्ती सुहाएको थिएन । हाँस्दा अगाडिका दुई दाँत बिच सानो छिद्र देखिने यो चञ्चले केटीसँग जिस्किँदै टाईमपास गर्नुपर्‍यो भन्ने सोचेर गफ गर्न तम्सिए ।

मः तिम्रो नाम के हो नि ?
उ: मुस्कान (यति भनेर उ आफै मुसुक्क पनि गरी)

मः साच्चिकै, कति राम्रो के । कसले राख्देको नि ?
उः हो त । हजुरबुबाले । हजुरको के (नाम) नि ?

मः गरिमा । गरिमा शर्मा । मैले नढाँटी भने ।
उः हजुरको झन् राम्रो नि । कसले राखेको नि ।

मः (यसलाई किन चाहियो होला जस्तो पनि लाग्यो), तर पनि भने: बुवाले ।
उः त्यै भएर पो यति राम्रो भएको है, (उसले पनि मसँग जिस्किने छाँट झिकी, कानबाट एअरफोनका ठोसा झिकेर काखमा राखी ।)

मः मुस्कान कतिमा पढ्छौ नि ?
उः १२ सके फिजिक्स लिएर ।

मः वाउ कति चाँडो त । मान्छे त फुच्ची नै देखिन्छौ नि ।
उः नाई ठिकै होला नी दि, मत एटिन भइसके ।, हजुरले कति पढ्नु भएको छ नि दि ?

मः मास्टर्स सकेको छु, अझै पढने जाँगर छ । पढाई पुगेको छैन नि ।
उः हो त । पढाई र सिकाई भनेको त कहिले पुरा नहुने है, जे होस पढ्न मज्जै लाग्छ मलाई त ।

मः अं साँच्ची तिमि कहाँ सम्म पुग्ने ? कि घुम्न निस्केको ?
उः (ब्यागबाट दुईवटा चुईंम झिकेर एउटा मलाई दिँदै), उम हाम्रो घर चाही अहिले कावासोती नजिक हो, नवलपुर । हजुरबुबाहरू गोरखाबाट भर्नु भएको रे, म एक पटक पुगेको छु, त्यो पन्द्रुंग भन्ने गाउँ । सारै रमाइलो छ । तर, अहिले चाही हामी स्वर्ग जान हिँडेको ….. हा हा हा .. मज्जाले हाँसी उ ।

मः के भनेको, कहाँको स्वर्ग ?
उः (सम्हालिँदै), हामी काठमाडौँ घुमेर आएको, अव खप्तड हुँदै रारा ताल जाने दि । ती ठाउहरु भनेको त साक्षात स्वर्ग नै हो रे नि त । स्विटजरल्याण्डको मेरो साथीले भनेको उसले पनि घुमेको नेपाल आउँदा ।

मः त्यो त हो । तर मलाई चैँ पुरै नेपाल एउटा सिङ्गो स्वर्ग जस्तो लाग्दछ । अं साँच्ची तिम्रो स्विटजरल्याण्डमा कसरी साथी भयो त ?
उः हाम्रो स्कुल र जेनेभाको एउटा सरकारी स्कुल बिचका विद्यार्थीहरूको आदान प्रदान कार्यक्रम उ नेपाल आउँदा मैले चिनेको । तर के भन दि, म चाही त्यहाँ जान पाइन । तर, मेरो साथीले स्विटजरल्याण्ड भन्दा त तिम्रै देश राम्रो छ भनिरहन्छ । यसैमा दङ्ग छु म ।

मः काठमाण्डौमा कहाँ कहाँ घुम्यौ त ?
उः ३ दिनमा सबै घुमाई दियो पर्यटन वाहनले । सारै सजिलो रहेछ । मैले धेरै कुराहरू देख्न र सिक्न पाए यहाँको जनजीवन, विकास, मानिसहरूको बोली, व्यवहार, पुराना कलाकृति, सरसफाइ, हराभरा र सहरको बिचमा पनि कति सुन्दर नदीहरू के । अम्मेजिंग दि, अम्मेजिंग । आई फुल्ली ईन्ज्वोईड । (उ एकाएक उत्साहित ऊर्जाशील पो भएर निस्कि । )

मः हो । पहिला यस्तो थिएन रे । म सुरुमा काठमाडौँ आउँदा पनि यंहा धेरै समस्या थिए । धुलो, हिलो, फोहोर, भिडभाड, असुरक्षित, हिँडडुल गर्न सारै सकस । पछि देश सङ्घीयतामा गए पछि यी धेरै समस्या समाधान भएका हुन । उपत्यकाको पुरै जिम्मा नगरपालिकाहरूमा गए पछि यहाँको अवस्था सुधार भएको हो । (मैले खुलाई दिए पहिलाको काठमांडौको पुरानो असली अनुहार ) ।
उः होरे । मेरो बुवा पनि दङ्ग पर्नुभयो भन्या । वंहा पनि काठमाडौँ नआएको ५ वर्ष भएछ । पहिला जस्तो आजकल काठमाडौँ आउनै पर्दैन, किन आउनु कामै पर्दैन, सबै काम उहिवाटै हुन्छ । अहिले पनि ममी र मलाई घुमाउने भनेर लिएर आउनुभएको । हामी त आन्तरिक पर्यटक । मलाई त तीन सहरका पुराना बस्तीहरू बृहत् म्युजियम जस्तो पो फिल भयो । साच्चिकै कति धनी छौ है दि हामी नेपाली । मान्नु पर्छ, गड गिफ्टलाई । मेरो हजुरबाले भने जस्तै देवताहरूको वासस्थान भएर होला है ।
मलाई भित्रभित्रै सारै खुसी लाग्यो । कम्तीमा यो पुस्ताले काठमाडौँको त्यो विजोग र बदनामी देख्न परेन । साच्चिकै जनप्रतिनिधिहरूले चाहने हो भने मुलुकको विकास हुँदो रहेछ रातारात । मुलुक बनाउने त जनता र जनताकै प्रतिनिधिहरूले रहेछ, ईमान्दारिता र सुशासनका साथ । राजा महाराजाहरूले बनाउने भए त सयौँ वर्ष सम्म बनाइसक्थे । मलाई सोध्न मन लाग्यो र सोधे ’अं साँच्ची तिमीलाई सबैभन्दा राम्रो चाही कुन ठाउँ लाग्यो त’?

उः सिंहदरवार । हो दि सिंहदरवार । यो साच्चिकै सारै सुन्दर लाग्यो ।
मः पहिला त सिंहदरवार भने’सी मानिसहरू नाक उचाल्थे, एक किसिमको घृणा थियो सिंहदरवारसँग, अनि कसैकसैको सारै क्रोध थियो सिंहदरवार प्रति । किनकि केही सीमित मानिसले यसलाई दुरुपयोग गरेका थिए पहिला । अहिले ठिक छ, मलाई पनि मन पर्छ ।
मुस्कान एक छिन केही सोचे जस्तो गरी, बाहिर हेरेर टोलाई ।

मः ओई के भो । बोर लाग्यो मसँग?
उः हैन दि । सिंहदरवारबाट सरकारी कार्यालयहरू चलाएको चाही मन परेन । यसलाई त एउटा खतरा म्युजिअम बनाउनुपर्ने क्या । राणा, पञ्चायत, बहुदल र गणतन्त्रको पुरै इतिहास बोकेको छ नि यसले त । यस्तो ठाउँमा अफिस राख्नु त ठिक हैन, यो ठाउँमा त देश विदेशका मानिस ल्याएर देखाउनुपर्छ, घुमाउनु पर्छ, जिउँदो इतिहास मात्र होइन मुलुककै ठुलो सम्पदा लाग्यो ।

मः हो त है । यसलाई पनि नारायणहिटी दरबार जस्तै संग्रालय बनाएर सबैलाई देखाउन घुमाउन पाए राम्रै हुन्थ्यो । तर, धेरै अफिसहरू, त्यो पनि यी ठुला ठुला मन्त्रालयहरू अन्यत्र सार्न सजिलो छैनन्, धेरै समय र खर्च लाग्दछ । तिम्रो आईडिया चाही मैले माने मुस्कान, ईट लुक्स वन्डरफुल ।

उ आ’ दि, के भन्नु भा’ । यसलाई म्युजियम बनाउने हो भने त यस्तो २ वटा सिंहदरवार बनाउने पैसा त्यहाँ पर्यटक घुमाएरै कमाउँछ नि देशले । नो डाउट के । विदेशीलाई देखाउने यस्तै त हो नि ।
यो मामिलामा म उ सँग थप तर्क गर्न नसक्ने लाग्यो । अनि प्रसङ्ग बदलेर सोधे ’अ साँच्चै तिमी के पढ्ने अव ? के बन्ने विचार छ ??’
उः टि चर बन्ने दि टिचर । कुनै कन्फ्युजन छैन ।

म दङ्ग परेको देखेर उसले थप स्पष्टीकरण दिँदै गई ।

हामीलाई देशको सेवा गर्नुपर्छ, ठुलो मानिस बन्नुपर्छ, असल मानिस बन्नुपर्छ, अरूको भलो गर्नुपर्छ, आफू मात्र बनेर हुँदैन, अरूलाई बनाउन सक्नुपर्छ । समाजलाई सदाचारी, ,नैतिकवान, चरित्रवान्, क्षमता भएका तथा ईमान्दार मानिसको खाँचो छ । यस्ता मानिसहरूको उत्पादन गर्नुपर्छ भनेर स्कुलमा सिकियो, घरमा सिकियो अनि केही ठाउँ घुम्दा बुझियो नि दि । स्विटजरल्याण्डको साथी बनाए पछि मैले फाल्तु समयमा अरू धेरै देशका इतिहास पनि पढे । ती देश बदल्ने महान् व्यक्तिहरूको जीवनी पनि पढे । अनि मलाई सजिलो भयो दि मैले के पढ्ने के बन्ने भन्ने कुरामा निर्णय लिन ।

म उसका कुरा सुनिरहे । कुनै महात्माको प्रवचन भन्दा कम थिएन यो टिन यजरको कुरा । उ बोल्दै गई: ’यो सबको लागी हामीलाई असल शिक्षा, असल शिक्षकको खाँचो हुँदो रहेछ । दि थाहा’छ? शिक्षक भनेको त किसान जस्तै हो नि । उसले मलजल, रेखदेख गरेर अन्न, तरकारी उत्पादन गरे पछि न हामीले खान पाउँछौ, त्यस्तै हो । शिक्षक भनेको त असल मानिस उत्पादन गर्ने मानिस । भगवानले त केवल श्रृष्टि गर्छन्, बाबुआमाले जन्माउछन पाल्छन्, हुर्काउछन । वास्तविक मान्छे त गुरु अर्थात् शिक्षकले बनाउने हो नि । यसमा मलाई कुनै कन्पm्युज छैन दि अव । जापानीहरूले पनि त पहिला मानिस (मेहनती, सीपवाला र क्षमतावान्) वनाऔ अनि मात्र सामान वनाऔ भन्छन् रेन्त ।’

दि बरु डाक्टर, ईञ्जीनियर त बाहिरबाट ल्याए पनि हुन्छ । प्रविधि जहाँको प्रयोग गरे पनि हुन्छ । तर शिक्षक, प्रशासक अनि नेताहरू त बाहिरबाट ल्याउनु भएन नि । मुलुकको लागी राजनीति, विचार, विवेक र ज्ञानको उत्पादन त आफै गर्नुपर्छ, यसमा हो नि मौलिकता खोज्ने, क्षमता खोज्ने र असल खोज्ने । असल विचार भएका मानिस उत्पादन गर्न सकियो भने समाज र राजनीति आपmै सुध्रिन्छ । जब समाज र राजनीतिमा सुधार हुन्छ, विकास गर्न त समय लाग्दैन दि । हामीलाई असल शिक्षा र क्षमतावान् एक नम्बरका शिक्षक चाहिएको हो । म त त्यस्तै शिक्षक बन्ने दि ।
म दङ्ग पर्दै उसका कुरा सुन्दै थिए ।

मः अनि पढ्न सहर जाने कि नजिकै कलेज छ त? कि विदेश नै जाने विचार छ त ?
उ कलेज नजिकै छ नि दि । म किन सहर जानु, मेरै गाउँलाई सहर जस्तो बनाउने हो, पहिला ती सहरहरू पनि त मेरै गाउँ बस्ती जस्ता थिए । यही पढ्ने हो, पढाउने हो र बनाउने हो । किन विदेशको सपना देख्नु, म मेरै देश त्यो भन्दा राम्रो बनाउन लाग्ने हो नि । देश छाडेर हिँडे पछि देशको चिन्ता गर्ने र गाउँ छाडेर हिँडे पछि गाउँको चिन्ता गर्ने नैतिकता गुमाउँछु नि दि मैले, म त्यसो गर्दिन । मेरो जीवनको ठुलो अरू लक्ष्य छैन, म एक्लैले देश बनाउन सक्ने पनि होइन । तर, केवल मैले जीवनमा १०० जना पनि राम्रो मानिस उत्पादन गर्न सके भने देश त तिनले वनाउछन, अरू १० हजार मानिस तिनले उत्पादन गर्छन् नि । देश धनी भयो भने म त त्यसै धनी भए नि दि । म अर्थात् व्यक्ति धनी हुँदैमा के हुन्छ र ? जब मेरो देशले नै गरिब देशको प्रमाणपत्र पायो भने ।

‘मन परेन र दि मेरो कुरा ?’ उ अचानक रोकिएर मलाई सोधी ।

म अचम्म मानेर ती सानी ’विदुषीको प्रवचन सुनिरहेकी थिए’ म अधिकृत भएकोमा खुब ठुलो मान्छे भए भन्ने सोचेको थिए । प्रशासक बनौला, सचिव बनौला अनि के के न गरौला भन्ने मेरो विचारमा त त्यसले भइचालो ल्याइदिई । यही वेला मैले भविष्य खोज्न सहरका अँध्यारा गल्लीमा भौँतारिन रहेका युवाहरू, अनि विगतमा खाडीको भुंग्रोमा जाकिन पुगेका नेपाली युवाहरूको मनोदशालाई पनि स्मरण गरिरहेकी थिए । आज फेरि यो यात्रामा अर्को एक जना प्रेरणाको श्रोत फेला परेकोमा मनमनै प्रफुल्लित पनि भएकी थिए । फ्लाईटमा नजाने निर्णय नगरेर ठिकै गरेछु मैले । केटी अलि सिरियसै भएर गई । मैले यसमा ब्रेक लगाउने विचार गरेर रमाइलो मोड दिन खोजे । ‘मुस्कान ! तिम्रो व्वाईफ्रेण्ड छ कि छैन त ? ‘

उः तिखा आँखा अनि लाम्चो मुख गरेरै भनी ‘छ नि दि, किन नहुनु’। तर त्यो पहिला चाही ईडियट नै थियो । आजकल अलि बुझिने भ’को छ । मलाई साथ दिन्छु भनेको छ । मेरो विचारसँग उसको पनि पुरै विचार मिलेको छ । त्यै भएर त मलाई सजिलो भएको छ । साथ चाहिन्छ दि, कसैको । तर, म केटी भएकोले मात्र साथी चाहिएको चाही हैन है । असल साथीको साथले दुवैको जीवनलाई पुरै सक्सेस वनाउछ, सप्लीमेण्टरी नि । नत्र लाइफ अलपत्र हुन पनि सक्छ । अं । अनि हजुरको बिहे भयो कि नाई ? कि अझै पनि व्याईफ्रेण्डकै चक्करमा हजुर ? आँखा उचाल्दै मलाई पनि जिस्काउन भ्याई उसले ।

तत्कालै मसँग उसको प्रश्नको सही र तयारी उत्तर थिएन । तर, मैले प्वाक्क भनिदिए’छ नि तिम्रो जस्तै छ, त्यो पनि पहिला मूर्खै थियो ।’
उः मिलेछ त है । (दुवै मज्जाले हाँस्यौ, गाडी भरका सबै यात्रीले हामीलाई नै हेरे)

यही वेला उसले चिनाई: ‘उ त्यो सिटमा बस्ने मेरो, ममी बुवा ।’ ढुकुरका जोडी जस्तै रमाएर बसेका थिए । उसले चिनाएको चाही उनीहरूले देखेनन् । मैले तिम्रो परिवारमा अरू कोको हुनुहुन्छ नि भनेर सोध्न मन लागेको थियो । तर, उसले पनि यही प्रश्न मलाई सोध्ली भन्ने जस्तो लाग्यो । अनि मैले पनि सोधिन ।

मलाई सोध्न मन लाग्यो र सोधे ’तिमीलाई यति राम्रो कुराहरू कसले सिकाएको नि ? धेरै कुरा जानेकी रहिछौ, टिन यजमा नै पुरै परिपक्व भएकी रहिछौ मुस्कान तिमी त ।’

उः अं । मेरो बुवा पनि शिक्षक हुनुहुन्छ नि त । शिक्षकको छोरी भएकोमा मलाई सारै गर्व छ दि । वहाँले मेरा साथीहरूका बुवाले जस्तो सम्पत्ति त कमाउनु भएन तर समाजमा ठुलो प्रतिष्ठा छ वहाँको । वहाँप्रति हामीलाई पुरै गर्व छ । अनि हजुरको बुवा नि दि ?

मः (मैले नचाहरै बिस्तारै भने), शिक्षक नै ‘‘‘‘। ।
उः लौ, यो पनि मिलेछ ।

यसपालि हामी दुवै जना हाँस्न सकेनौ, उ दङ्ग परेर, म मेरो अतीत सम्झेर ।

म फेरि कमजोर भए । यहाँनेर पनि । अचानक अँध्यारो बादलले मलाई पुरै छोपेर आए जस्तो लाग्यो । मैले केही देख्न सकिन । आँखा चिम्म गरे । म पुरै द्रवित भए । के सोचेर हो कुन्नि त्यो सानी केटी मुस्कानले मलाई अँगालो हाली र सोधी ः’ के भो दि?, डिड आई हर्ट यु ??’

पहिला उसलाई दरो गरी अँगालोमा बाँधे अनि सम्हालिएर उठेर भने ’त्यस्तो हैन बहिनी म अलि कमजोर भएको छु आजकल । तिमी र म बिच अरू कुरा समान भए पनि एउटा कुरा चाही फरक छ । तिमीलाई साथ दिने तिम्रो बुवा हुनुहुन्छ, मैले चाही मेरो बुवा धेरै पहिला नै गुमाए, यो मुलुक बनाउने वलिदानीको नाममा, अनि आमा पनि गुमाई सकेकी छु मैले । मैले उसको भावाकृति र प्रतिक्रियाको प्रतीक्षा गरिन र भने ’अनि एक छिन सुत्छु है’ भनेर मैले आँखा चिम्ले ।

यस पछि हाम्रो सम्वाद लगभग बन्द भयो । म आँखा चिम्लेर निदाउन खोजे, तर सकिन । एउटै कुरा मनमा खेली रह्यो कि मुस्कानले भने झैँ सिंहदरवारलाई एउटा प्रख्यात संग्रालय कसरी बनाउन सकिएला ? यस बारेमा मुलुकको सरकार, नीति निर्माता र सरोकारवालाहरूले केही सोचेका छन् कि छैनन् होला ? जुन कुरा एउटी टिनयजरले एक भ्रमणमै सोच्न सकी । वास्तुविद्हरूले सिंहदरवारको वास्तु नमिलेकोले त्यहाँ जानेहरूले अपजस व्यहोर्नुपरेको भन्ने त सुनेको थिए ।

तर, यति फराकिलो तरिकाले सोच्न सक्ने नयाँ पुस्ता यो मुलुकले जन्माई सकेछ । मुलुकको भविष्य प्रतिको मेरो विश्वास झन् बलियो भएर आयो । बरु अहिलेको सिंहदरवारलाई इतिहासमा सीमित पार्ने गरी अर्को वे जोड पूर्वाधार तयार गरेर यो सिंहदरवार संग्रालय बनाउने मुस्कानको सपना चाही कसरी र कहिले साकार होला ? यो प्रश्नले मेरो टाउको चाही भारी गराइरह्यो ।

प्रतिक्रिया दिनुहोस