बहिनीको मन्त्र « प्रशासन
prasaLogo
१७ चैत्र २०७४, शनिबार

बहिनीको मन्त्र


प्रकाशित मिति : 31 March, 2018 7:46 am

बिहेको रमझम थियो बरबोटे कान्छा बा कहाँ । अरू बेला टाम्माटुम्मी हुने घरमा रौनक थपिएको थियो । बिहे गरेर सुम्पेका सातैवटी छोरीहरू जम्मा भएका थिए । एकलौटो भाइको बिहेमा सरिक सबै दिदीहरू उघ्रेको साउन भएका थिए ।

दिउँसभरी रत्यौली खेल्दा र साँझमा ढोका छेक्ने, माना–पाथीभर्ने, दुलही भित्र्याउने जस्ता क्रियाकलापले लखतरान भएपनि एउटै कोठामा भुइँमै लस्कर लागेका दिदीबहिनीहरूलाई छिप्पिँदो रातमा समेत निदाउने इच्छै थिएन । आ–आफ्ना घरका र इष्टमित्रका हालचाल, छेडखान र उल्लिविल्ली चल्ने र बेलाबेलामा हाँसोको फोहोरा छुट्ने हुँदै थियो ।

‘साना छौन्जेली मोर्छन् कि भन्ने पिर, हुर्कदा हुँदी मार्लान् कि भन्ने पिर….! छोरा–बुहारीसँग ठ्याकन मिलेको, छुट्टी भिन्न भै बसेका र बुहारीले घ्वाइँ पारेर छोरालाई घुमाएको पीडा पोखिन् माइलीले ।

‘आफ्ना त ऐलेसम्म नमिलेकै छन् क्यारे ! भबिष्यको बात कसले जानोस् ! जेठीले अर्ध सन्तुष्टि व्यक्त गरिन् ।

हे ककक री म एउडा कुरो भन्छु, सुन साइँली । एल्लाई मन्त्रै भन्छेस् भने नि भन्ठान । मैले त भोगैकै हुँ बाबै ! कुराकै दौरानमा काइँलीले साइँली दिदीलाई भनिन् ।

आफ्ना छोराको बिहेको कुरो चलेको र छिट्टै जोडी बाँधिएर विदेश जाने कुरो बाँडेकी थिइन् साइँलीले ।

काइँलीका कुराले सबैको मनमा कूतुहलता जगायो । के हो लाउनको त्यो मन्त्र भनेर । साइँलीसँगै सबैले कर गरेपछि भन्नै पर्यो उनले भनिन् ।

‘हेर साइँली, सुख पाउनु छ भने बुहारीलाई हात लिएस् है बाबै !’ छोरो त बिहे भएपछि सुम्पेँ भन्ठान ।

प्रतिक्रिया दिनुहोस