सडक जस्तै « प्रशासन
Logo ३ जेष्ठ २०७९, मंगलबार
   

सडक जस्तै


१२ फाल्गुन २०७४, शनिबार


कविता

हर रात आँशुसँगै पीडाहरु निलेर
बाँचेको भ्रमित अनुभुतीमा
आफ्ना मनका ईच्छाहरुलाई
तहस नहस बनाएर
आत्मघाती बन्नु
हजारौको भिडमा पनि
आफुलाई एक्लो बनाएर
हरेक रहर र खुसी
वर्तमानसँगै भविष्यलाई
अन्यालमा राखेर
बिना लक्ष्य गन्तव्यहिन यात्रा
लम्बिदै जानु बाध्यता हो ।

बेहिसाब छन्
छट्पटिमा र तड्पाईमा
काटेका पलहरु
सुनाउ कसरी अनि कसलाई
सबैका आ–आफ्नै कथा ब्यथा
आकासका जून ताराको पनि त
आाफ्नै कथा होला
लाग्छ उज्यालो पछि अध्यारो हुनुको पनि
आफ्नै बाध्यता बिवसता होला

त्यसैले
रगँमा मिसावट जस्तै
सम्वन्धमा बनावटी भेटे पछि
अतितलाई साक्षि राखेर
यो बिरानो मुलुकमा
अनगिन्ति मान्छेहरुको भिडमा
नितान्त एक्लो भएको बेदना
पठाएकी छु बाँडिदिनु उपहार भनेर

कुन्नि किन हो
अचेल निदाउदैनन् आँखाहरु
सौखिनताका पाना भरी
अभाव मिसाएर माया देखाएर
स्वार्थ लुकाएर पठाएको सन्देश
पाएसँगै सोचाईको हुन्डरीले
थकित बनेको मनले
खोजी रहेछ ममता, सौहार्ददा
नियाली रहेछु मानवता
खै कही कतै भेटिँदैन
आफन्तहरुको न्यानो

र त
ससकिंत बनाएर व्युझाउँछ बिगतले
बिदेशी भूमिमा होमिँदाको पल
कति कष्टकर थिए
शिशिरमा आकास ओढेर
असख्य पीडाका सागर तर्दै
अन्धकारमा खुल्नुको व्यथा
निर्लज्जतालाई स्विकार्नुको वाध्यता
कसैलाई तृप्त गराउँदा
आफु रित्तिनुको कुण्ठा
गर्भमै लुकाएर हाँस्नुको रहस्य

कसरी भनु
मात्र कर्तव्यको लागि
मुटुमा गढेका ग्लानीका काँडा
खिल बनि दिदाँ कसरी निकालुँ
तै पनि पठाएकी छु सबैलाई पुग्ने गरी
आफुमै टुक्रिएर हरपल भत्किएर
पुनः सम्हालिँदै
आफुलाई लिलाम गरेर
खरिद गरेका प्रत्येक उपहार
नियालेर हेर्नु

त्यसैमा भेट्नेछौ मेरा मनका दर्दहरु
कृतिम मुस्कान भित्रको रोदन
देख्नेछौ
टुटेको दिल, रित्तिएको योवन
बुझ्नेछौ अधिकार बिनाको दासत्व,
हरियाली बिनानै उजाड बनेको भविष्य
स्नेह र सितलता बिनाको कठोरता
पठाएकी छु हरेक कुरा
खरिद गर्नु आधुनिकता
राखेर उच्च बर्गमा
घमण्डको पगरी गुथ्नुु अघि
सम्झनु एक पटक
सडक जस्तै बनेको मेरो जिन्दगीलाई
जो अलकत्रै अलकत्राले पोतिएको छ ।

प्रतिक्रिया दिनुहोस