संघीयतामा विकास व्यवस्थापनः विकास प्रयासहरुको व्यवस्थापन कौशलता « प्रशासन

संघीयतामा विकास व्यवस्थापनः विकास प्रयासहरुको व्यवस्थापन कौशलता


प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०७:०४

वहुआयामिक विषयहरुवीच समन्वय संयन्त्रको व्यवस्थापन

विकास एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्ष संग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ । यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो ।

अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँगसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ । परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिवी, असमानता र बेरोजगारी पनि हटाउन सक्नु पर्दछ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रुपमा समेत लिने गरिन्छ । विकास एउटा वहुआयामिक विषय हो । यो विभिन्न पक्षहरुसंग अन्तरसम्वन्ध राख्ने विषय पनि हो । वहुआयामिक विषयहरुबीच समन्वय संयन्त्रको व्यवस्थापन कौशलता नै विकास व्यवस्थापन हो ।

परम्परागत विकास प्रयासको अवधारणा भन्दा अलि फरक

विकास व्यवस्थापन को अवधारणा परम्परागत विकास प्रयासको अवधारणा भन्दा अलि फरक पनि छ । यो एउटा रणनीतिक व्यवस्थापन हो जसले गरीवमुखी विकास, दिगो विकास, वातावरण मैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधन श्रोत, आन्तरिक र वाह्य सह कर्ताहरुबीच साझा र समन्वयात्मक प्रयासहरुको सुव्यवस्थापनमा जोड दिइ विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्दछ ।

नयाँ सार्वजनिक व्यवस्थापन, व्यवस्थापनवाद, बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीहरुको सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो । यस सन्दर्भमा विकास प्रयासले गरिव केन्द्रित विकास, गतिशील र प्रभावकारी सार्वजनिक निजी साझेदारी, सामाजिक समावेशीकरण, जलवायु परिवर्तन, वातावरणीय पक्ष, मानव अधिकारको संरक्षण, मानव सुरक्षा, सामाजिक सदभाव, अन्य जीवित तथा गैर जीवित पक्षको अधिकारलाई सम्बोधन गर्नु आवश्यक मात्र होइन अपरिहार्य हुन गएको छ ।

विकास कार्यमा दक्ष जनशक्ति, वित्तीय लगायत अन्य साधन श्रोतको व्यवस्था, सूचनाको उपलब्धता, आन्तरिक र वाह्य विकास साझेदारहरुको सहभागिता वैधानिक शक्तिको आवश्यकता पर्दछ र विकास प्रयासले आर्थिक सामाजिक उन्नतिको अतिरिक्त उदयीमान अवधारणाहरुलाई सम्बोधन गर्नुपर्ने हुँदा विकास व्यवस्थापनले यी सबै पक्षको बीचमा सामन्जस्यता कायम गर्ने गर्दछ ।

विकास व्यवस्थापन : जटिल विज्ञान

विकास आफैमा वहु आयामिक विषय हो । विकास व्यवस्थापन विकास प्रवाहको सकारात्मक तथा पूर्व सक्रिय अवधारणा भएको र विकासका आवश्यकतालाई साधन श्रोतको उपलब्धताका आधारमा अपेक्षित उपलब्धिमा रुपान्तरण गर्नुपर्ने र सामाजिक, प्राविधिक र अन्य सामयिक परिवर्तनको सन्दर्भमा विकासका प्रयासहरुमा पनि तदनुरुप क्रमिक सुधार ल्याउनुपर्ने विषय भएकोले विकास व्यवस्थापन एउटा जटिल विज्ञान हो ।

विकासको आवश्यकता बोध, संरचनाको निर्माण पक्ष, कार्यान्वयन पक्ष प्रभावकारिता तथा दक्षताको पक्ष समन्वयको पक्ष, दिगोपननाको सुनिश्चितताको पक्ष र विकासको प्रतिफलको उपलब्धताको पक्षको सन्दर्भमा राजनैतिक दूरदर्शिता, प्रशासनिक व्यवसायिकता र अग्रसरता तथा प्रभावकारी रणनीति निर्माण जस्ता पक्षहरु आवश्यक हुन्छन् ।

विकास व्यवस्थापनको अवधारणामा आयामिक परिवर्तन

विकासलाई मूलतः आर्थिक वृद्धि र सोही अनुरुपको सकारात्मक सामाजिक परिवर्तनको रुपमा लिने गरिएको छ । विकास प्रयासले जनताको सामाजिक, आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने बढ्दो जनसंख्या बृद्धिमा न्यूनीकरण, आवश्यक पूर्वाधार र कलकारखानाको विकास, रोजगारीको अवसरको सिर्जना, शैक्षिक विकास, सूचना प्रविधिको उच्चतम प्रयोग जस्ता विषयहरुमा जोडदिनु पर्ने यस अघि स्थापित मान्यताले निरन्तरता पाउँदै आएको छ ।

विकासको तहको मापनमा मानव विकास सूचकांक (सामाजिक पक्ष) प्रतिव्यक्ति आय, कूल गार्हस्थ उत्पादन आर्थिक वृद्धिदर जस्ता आर्थिक पक्षहरु प्रयोगमा आएका छन् । केही बर्षयता भूटानले ग्रस ह्याप्पी इन्डेक्स (सुखपना / आत्म सन्तुष्टिको सूचकांक) प्रयोगमा ल्याएको छ । यसर्थ विकास व्यवस्थापन आर्थिक, सामाजिक आयामको अतिरिक्त आत्म सन्तुष्टिको आयाम पनि हो । विकासको दायरालाई विस्तार गर्ने क्रममा विश्वको प्रशासनिक र आर्थिक आयाममा आएको परिवर्तन को सन्दर्भमा महिला तथा सीमान्त वर्ग समेतको सहभागिता, समावेसी विकास, सीमान्तकृत वर्गको उत्थान, दिगो विकास र पर्यावरण, गरिवी निवारण, आर्थिक उदारीकरणको सन्दर्भमा विकास प्रयासमा सरकार र साझेदारहरुको भूमिका निर्धारण जस्ता अन्तरसम्वन्धित विषयहरु समसामयिक विषयको रुपमा देखिएका छन ।

तसर्थ अवको विकास प्रयास भनेको देश विशेषको यथार्थता अनुरुप विकासको उपस्थिति अनुभव गर्न नपाएइको क्षेत्रमा विकास प्रयासको शीघ्र शुरुवात, विकास प्रयास थालनी भएका क्षेत्रमा विकास प्रयासलाई सामाजिक आर्थिक मापन सूचकांक अनुकुल बनाई आत्म सन्तुष्टिको प्राप्तिको तहमा पु¥याउने र विकासका सामयिक विषयहरुलाई विकास व्यवस्थापनको प्रक्रियाले सम्बोधन गर्ने गरी अगाडी बढ्ने रणनीति लिनु पर्ने आवश्यकता देखिन्छ ।

विकास व्यवस्थापनका सामयिक पक्षहरु

१. विकास राज्य विशेषको जनसंख्या र बसाई सराई नीति बाट प्रभावित भएको हुन्छ । देशको आकार, प्राकृतिक साधन श्रोतको उपलब्धताको आधारमा जनसंख्या र बसाई सराई नीति निर्धारित हुनुपर्ने हुन्छ । विकसित देशहरु जनसंख्याको न्यूनतावाट गुज्रिरहेका छन् भने अविकसित देशहरु जनसंख्याको बढ्दो तथा कहालीलाग्दो स्थिती वाट न्यूनतम सामाजिक आधारभूत आवश्यकता पूरा गर्न नसकेका र विकास प्रक्रियालाई उचित गन्तब्य प्रदान गर्ने गतिरोधमै रुमलिरहेका छन् । यसर्थ विकास व्यवस्थापनको एउटा महत्वपूर्ण पक्ष भनेको देशको वस्तुगत यथार्थता बमोजिम उपयुक्त जनसंख्या र वसाई सराई नीति अवलम्बन गरी सो अनुरुप उपयुक्त विकासको प्रारुप अवलम्बन गर्न सक्नु हो ।

२.प्रजातान्त्रिक शासन प्रणालीले विकास प्रक्रियामा सवै वर्ग, समूह र जात जातिको समान सहभागिताको माग गर्दछ । शासन प्रणाली र विकास प्रक्रियामा सबैको अर्थपूर्ण सहभगिताको लागि समावेशी अवधारणलाई राज्यले उचित प्रश्रय दिनु आवश्यक हुन्छ । यसको लागि शासन प्रणाली र विकास प्रक्रियामा सहभागिता जनाउन नसकेका सीमान्तकृत वर्गको सशक्तिकरण गरिनु आवश्यक हुन्छ ।

३. विकासका हरेक प्रयासले विकासको गति बृद्धि हुदै गएपनि हुने र नहुने बीचको खाडल बढ्दै गएको, गरीवहरुको संख्या बढ्दै गएको र ठूलो वर्ग जीवनयापनको साह्रै कठीन समस्यावाट गुज्रिरहेको सन्दर्भमा गरीवमुखी विकास व्यवस्थापन सामयिक विश्व परिवेशको आवश्यकता रहेको छ ।

४. दक्ष जनशक्तिको अभाव विकास कार्यको अर्को महत्वपूर्ण चुनौती हो । प्रशासनिक नेतृत्व र सहयोगी समूह विज्ञ र व्यवसायिक बन्न नसक्नु, राजनैतिक तहमा पनि उपयुक्त विज्ञताको अभाव भएको सन्दर्भमा राजनैतिक र प्रशासनिक संयन्त्र विज्ञ, दक्ष, व्यवसायिक र पूर्व सक्रिय हुनु आवश्यक हुन्छ ।

५. पारदर्शिता, सहभागिता,प्रजातान्त्रिक संस्कार, जनमुखी प्रशासनयन्त्र, राजनैतिक आवरणबाट मुक्त नागरिक समाज र पेशागत संगठन, नागरिक सचेतना र सहभागिताको संस्कार विकास व्यवस्थापनको अर्को महत्वपूर्ण पाटो हो ।

६. विश्वव्यापीकरण र नवीन उदीयमान अवधारणाको सन्दर्भमा हाम्रा आवश्यकताहरु तत्कालैको एक छाक कसरी जुटाउने देखि लिएर ओजोन तहको प्वाल टाल्ने, अन्य ग्रहमा मानव वस्तिको सम्भाव्यता खोज्ने तथा गैर मानव अधिकारको वहसलाई समेत गहन रुपमा उजागर गर्ने जस्ता बृहद प्राथमिकता र कार्यसुचिको सन्दर्भमा क्षितिजको हेराई अनुरुप यथार्थ परिवेशमा पाईला चलाई (थिंक ग्लोबल्ली एक्ट लोकल्ली) को सामयिक समायोजन हुनु आवश्यक छ ।

संघीय नेपालमा विकास व्यवस्थापनका सामयिक मुद्दाहरु

 नेपाल ग्रामीण अर्थतन्त्रमा आधारित मुलुक भएकोले विकासको प्रवाह अझै पनि ग्रामीण र गरीवी केन्द्रित हुनु आवश्यक छ ।

 अति कम विकसित देशको हैसियतले नेपालका विकासका आवश्यकता अझै पनि जनता र जनजीविका सम्बन्धी न्यूनतम मानवीय सामाजिक आवश्कता पूरा गर्ने र पूर्वाधार विकास गर्ने देखि लिएर अन्तर्राष्ट्यि समुदायको सदस्यको हैसियतले सीमान्तकृत वर्गको सहभागिता अभिवृद्धि, उदारीकरण सम्मत विकास रणनीति, जलवायु परिवर्तन देखि अन्तरिक्ष सम्मका विषयहरु विकासको दायरामा आउँछन् । यी सवै विषयको सम्बोधन र अल्पकालीन , मध्यकालीन र दीर्घकालीन प्राथमिकताको निर्धारण र तदनुरुपको श्रोत व्यवस्थापन अर्को महत्वपूर्ण सामयिक मुद्दाको रुपमा रहेको छ ।

• साधन श्रोतको न्यूनता समस्याको रुपमा रहेपनि उपलव्ध साधन श्रोतको खर्च गर्न सक्ने क्षमतामा वृद्धि र उपयोगिताको प्रभावकारिता वृद्धि गरिनुपर्ने विषयलाई विकास व्यवस्थापन रणनीतिले सम्बोधन गर्नु आवश्यक छ । साथै संघीयताको कार्यान्वयनमा आउन सक्ने खर्चले संघीयता महंगो शासन प्रणाली होइन भन्ने कुरा सिध्द गर्न संघीय शासन प्रणालीले प्रत्याभूति गर्न सक्ने जनअपनत्वयुक्त सामाजिक मूल्यको सवलीकरण गर्दै शासन प्रणालीलाई आर्थिकरुपले सम्भावनायुक्त वनाउन सक्नु पर्दछ ।

 ब्यापक स्तरमा पूर्वाधार विकास नगरिँदासम्म विकास प्रयासले सार्थक रुप लिन नसक्ने हुनाले पूर्वाधार विकासको लागि आन्तरिक र वाह्य श्रोत परिचालनको लागि उपयुक्त हुने श्रोत परिचालन नीति (वैदेशिक सहायता नीति समेत) को आवश्यकता देखिन्छ । यसको लागि राजनैतिक स्थिरता तथा पारदर्शी र पूर्वानुमानयुक्त नीतिगत व्यवस्थाको अपरिहार्यता रहन्छ ।

 संस्थागत विकास, नीतिगत, कानूनी र संरचनागत विकास जति नै भएपनि यी अचल पक्षको प्रभावकारिता गतिवान र सिर्जनशील राजनैतिक र प्रशासनिक संयन्त्रको ईच्छाशक्ति, कर्तव्यपरायणता, राष्ट्रप्रतिको दायित्व निर्वाह र समर्पणमा निर्भर रहन्छ । राजनैतिक र प्रशासनिक संयन्त्रको सफल परिचालन (जसलाई स्वतन्त्र चर पनि भन्न सकिन्छ ) बाट संस्थागत, नीतिगत, कानूनी र संरचनागत पक्षको प्रभावकारिता (जसलाई आश्रित चर पनि भन्न सकिन्छ) बृद्धि गर्नु अपरिहार्य छ ।

 नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुँदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुन पुगेको छ । संविधानले प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धा र लोककल्याणकारी राज्यको परिकल्पनाले लोकतान्त्रिक परिपाटी भित्र सामाजवाद उन्मुख अर्थतन्त्रको लागि सवल आधार प्रदान गरेको सन्दर्भमा तीन तहका सरकारहरुलाई विकास व्यवस्थापनको क्षेत्रमा नयां क्षितिज तर्फको मार्ग प्रशस्त गरेको छ ।

परिवर्तनको आत्मसातः विकास व्यवस्थापनका अवसरहरु

अन्य छिमेकी र हालका केही विकसित देशहरुको तुलनामा विकासको थालनी ढीलै गरेको भएपनि नेपालको विकास व्यवस्थापनका क्षेत्रमा धेरै अवसरहरु विद्यमान रहेका छन् । पटक पटकको राजनैतिक परिवर्तनले नेपालमा विकासका संभावनाका अवसरहरुको उजागर गराएको छ । विश्व आर्थिक, सामाजिक, प्रशासनिक, राजनैतिक, प्रविधिका क्षेत्रमा आएका आयामिक पविर्तनहरुलाई यथाशक्य अवलम्बन गर्न यस्ता परिवर्तनहरु सहायक सिद्ध सावित भए । यसै क्रममा प्रजातान्त्रिक शासन प्रणालीको अवलम्बन, शासकीय प्रणालीमा सुशासनको अवधारणाको प्रयोग, उदार आर्थिक नीतिको अवलम्बन, भ्रष्टाचार न्यूनीकरणका प्रयासहरु, सीमान्तकृत वर्गहरुको सशक्तिकरण र सहभागिता जस्ता सम सामयिक नीतिको ग्रहण गरेवाट विकास नीति तर्जुमा प्रक्रिया सार्थक बन्ने अवसर प्राप्त भएको छ ।

प्रजातान्त्रिक र उदार शासन प्रणालीको अवलम्बन गर्ने क्रममा विभिन्न बहुपक्षीय, क्षेत्रीय, व्दिपक्षीय संस्थाहरुको र अन्तर्राष्ट्रिय अभिसन्धीहरुको पक्षधर बन्नै पर्ने परिस्थितिले अन्तर्राष्ट्रिय रुपमा विकसित र उदीयमान अवधारणलाई राष्ट्रिय आवश्यकता संग समाहित गर्दै जाने अवसर पनि नेपाललाई प्राप्त हुनु स्वभाविकै हो ।

अन्तर्राष्ट्यि र क्षेत्रीय संस्थाहरुसंग बढ्दै गएको निकटताले एकातर्फ साधन श्रोतको न्यूनताको समस्याको निराकरण गर्न सफल भयो भने अर्को तर्फ यो साझेदारीले अन्तर्राष्ट्यि रुपमा विकसित र उदीयमान अवधारणलाई नेपालको राष्ट्यि आवश्यकता र वस्तुगत यथार्थता अनुरुपको कार्यान्वयन संयन्त्र निर्माण गर्न र सो अनुरुप लक्ष्य हासिल गर्नमा सहयोग पु¥याएको छ ।

निजी क्षेत्र सँग बढ्दो सहकार्य, सार्वजनिक निजी साझेदारी अवधारणा, गैर सरकारी संस्था सँगको साझेदारी, सामुदायिक विकास र सामुदायिक सशक्तिकरणमा जोड जस्ता कार्यक्रमहरुले जनसहभागिता अभिवृध्दि, क्षमता विकास, गरीवमुखी कार्यक्रमको कार्यान्वयन, कार्यक्रमको दिगोपना, समावेशी विकास, लोकतन्त्र, सुशासन र मानव अधिकार प्रवर्धन जस्ता कार्यमा सहयोग पु¥याएको छ । यसवाट समुदायको सशक्तिकरण, जन सहभागितामा अभिवृध्दि मार्फत स्थानीय आवश्यकताको पहिचान गर्न तथा विकास प्रयासमा जनता र समुदायको स्वमित्वको भावनाको अभिवृद्धि गर्ने जटिल तर महत्वपूर्ण कार्यमा सहजता प्रदान गरेको छ ।

चुनौतीहरु पनि मनग्गे छन्

नेपालमा भएको परिवर्तनहरुले अवसरका धेरै नयाँ आयामहरु सिर्जना गरेकै हुन् तर राजनैतिक परिवर्तनले ल्याएको संभावनालाई आर्थिक विकासको गतिले भेटाउने गरी व्यवहारपयोगी योजना र कार्यात्मक, व्यवहार र मानसिकतामा सुधार आउन नसकेको महशुस गरिएको छ । प्रजातान्त्रिक उपलब्धीलाई संस्थागत गर्ने क्षमताको अभाव, प्रजातान्त्रिक संस्कृतिको दिनानुदिन क्षयीकरण हुँदै जानु, विश्व परिदृश्यमा देखापरेका सामयिक र आयामिक परिवर्तनहरु र सम्झौताहरुको पक्षधर बन्न देखाईएको आतुरता अनुरुप तत्पश्चातको कार्यान्वयनमा अपेक्षित उत्साह नदेखिनु नेपालका विकास व्यवस्थापनका चुनौतीहरु हुन् ।

राजनैतिक र प्रशासनिक संयन्त्रमा दूरदर्शिता र व्यवसायिकताको अभाव, निजी क्षेत्रले विकास कार्यमा अपेक्षित सक्रियता प्रदर्शन गर्न नसक्नु नागरिक समाज, पेशागत संगठनहरु अस्वस्थ राजनैतिक प्रतिस्पर्धा बाट प्रभावित हुनु, वैदेशिक सहायता प्राप्ति र उपयोगको क्षमाता वृद्धिमा उचित गृहकार्यको अभाव, खर्च गर्न सक्ने क्षमताको अभाव, प्रशासनिक र राजनैतिक संयन्त्र भ्रष्टाचारबाट मुक्त हुन नसकिरहेको स्थिति छ । बढ्दो राजनैतिक संक्रमणले स्वदेशी र विदेशी लगानीकर्तामा आकर्षणको अभाव देखिन्छ । विकासको दृष्टिले बढी सम्भावना देखिएका पर्यटन, जलश्रोत र पूर्वाधार विकासले राजनैतिक स्थायित्व र नीतिगत निरन्तरताको माग गरेको छ । त्यस्तै आर्थिक विकासको भरलाग्दो वैदेशिक रोजगारको क्षेत्र समस्याग्रस्त छ ।

चुनौतीहरुको न्यूनीकरण अवसरको अत्यधिक उपयोग

नेपालको विकास व्यवस्थापनमा अन्यत्र जस्तै अवसर र चुनौतीहरु विद्यमान रहेका छन् । अवसर र चुनौती यी फरक धारका दुई विषयहरु हुन् । एकाध अपवाद वाहेक यी दुवै संग संगै हिड्छन् एक अर्काको साथ कहिल्यै छोड्दैनन् । अवसरको उपयोगले यात्रालाई सकारात्मक परिणति तर्फ लग्दछ भने चुनौतीको सामनाले यात्रालाई अझ बढी परिस्कृत र गुणात्मक बनाउछ । यसर्थ हाम्रा विकास व्यवस्थापनका प्रयासहरु पनि चुनौतीहरुको न्यूनीकरण अवसरको अत्यधिक उपयोग गर्ने तर्फ परिलक्षित हुनु आवश्यक छ । हाम्रा विकासका संभावनाहरुले राजनैतिक स्थायित्व र नीतिगत निरन्तरताको माग गरेका छन् यी संभावनाहरुलाई अवसरमा बदल्ने दायित्व पनि हाम्रै हो ।

प्रतिक्रिया दिनुहोस