कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को जीवनी तथा काव्य–यात्रा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को जीवनी तथा काव्य–यात्रा


१३ माघ २०७४, शनिबार


लेखक

नेपाली कविता साहित्यका साधक व्यक्तित्व कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को जन्म वि.सं. २००६, फागुन १७ गते मङ्गलवारका दिन डोटी जिल्लाको गडसेरा गा.वि.स. वडा नंं ९ (हालको जोरायल गाउँ पालिका वडा नं. ५) शैलकोटिलामा पिता स्व. रामचन्द्र भण्डारी र माता स्व. नर्मदादेवी भण्डारीका कोखबाट भएको हो । भारद्वाज गोत्रीय ब्राह्मण परिवारमा जन्मिएका यिनका पुर्खाहरू हालको भारतको कुमाउँ, गडवाल हुँदै डडेल्धुराको रोल्ली, रूपाल र त्यहाँबाट डोटीको निरौली गा.वि.स. वडा नं. १मा बसाइँ सरेर लामो समयसम्म त्यहीँ बसोबास गरेका हुन् । निरौलीमै बसोबास गर्दा निरौली गर्खाअन्तर्गत पर्ने गडसेरा गाउँमा यिनका पुर्खाले पूजापाठ गर्नुपर्ने हुन्थ्यो र त्यहाँ पूजापाठ गर्न आउने–जाने क्रम चलिरहन्थ्यो । यसै क्रममा पछि यिनका पुर्खाले गडसेरामै बिर्ता जग्गा पाएपछि स्थायी रूपमा गडसेरा गा.वि.स. वडा नं. ९मा स्थायी बसोबास भएको पाइन्छ । यिनका पुर्खा डडेल्धुरामा बसोबास गर्दासम्म जोशी थरका नै थिए । निरौलीमा निरैपाल राजाको दरबारमा भण्डारको काम गर्ने जिम्मेवारी रहेको सन्दर्भमा भण्डारीको उपाधि पाएपछि उक्त उपाधि नै थरका रूपमा कायम रहन गएको हो ।

यिनका बाजे स्व. हर्कदेव भण्डारी र बज्यै स्व. हरिनादेवी भण्डारीबाट दुई छोराहरू– जेठा स्व. मनिराज भण्डारी र कान्छा स्व. रामचन्द्र भण्डारीको जन्म भएको हो । स्व. रामचन्द्र भण्डारीका जेठा छोरा भालचन्द्र भण्डारी, कान्छा छोरा लक्ष्मीप्रसाद भण्डारी र छोरीहरू स्व. सरस्वती भण्डारी (जोशी), देवीकुमारी भण्डारी (जोशी), धनकुमारी भण्डारी (जोशी) र स्व. रमादेवी भण्डारी (भट्ट) गरी छ जना सन्तानको जन्म भएको थियो ।

भालचन्द्र भण्डारीको उपनयन संस्कार वैदिक विधिअनुसार वि.सं. २०१५मा ९ वर्षको उमेरमा सम्पन्न भएको थियो । गुरु रामचन्द्र भट्टले यिनलाई गायत्री मन्त्रको दीक्षा प्रदान गरेका थिए । यिनको घरपरिवारमा पहिलेदेखि नै शिक्षाको वातावरण थियो । उत्प्रेरक तथा प्रथम गुरुका रूपमा पिता स्व. रामचन्द्र भण्डारीबाट नै यिनले ज्ञानार्जन गरेका थिए । वि.सं.२०११, सरस्वती पूजाको दिनमा ५ वर्षको उमेरमा घरैमा पिताबाट यिनको अक्षरारम्भ गरिएको थियो । त्यसपछि यिनको विद्यालयीय शिक्षाको सुरुआत सोही वर्ष गडसेरा गा.वि.स.कै नवकोट प्रा.वि.बाट सुरु भएको थियो । पिताको देहवसानपछि यिनको औपचारिक शिक्षा आधारभूत तहमै सीमित रहे तापनि सरस्वतीका उपासक बनेर स्वाध्ययनबाटै आफ्नो ज्ञान र साहित्यिक चिन्तनको आयामलाई अनवरत रूपमा अगाडि बढाउँदै असल शिक्षक र सफल साहित्यकारसमेत बन्न सफल भए ।

भालचन्द्र भण्डारीको विवाह वि.सं. २०१८ मङ्सिर २० गते हिन्दु परम्पराअनुसार दुर्गामाया भण्डारीसँग (मागी विवाह) भएको हो । दुर्गामाया भण्डारीको माइती डोटी जिल्लाअन्तर्गत तत्कालीन गडसेरा गा.वि.स.कै वडा नं.४ मुसेबाटामा पर्दछ । स्व. धर्मदेव ओझा र स्व. हरिनादेवी ओझाकी छोरी दुर्गामाया ओझासँग दाम्पत्य सूत्रमा बाँधिदा भालचन्द्र भण्डारी १२ वर्षका थिए भने दुर्गामाया भण्डारी ११ वर्षकी थिइन् । सरल गृहिणी स्वभावकी यिनकी धर्मपत्नी दुर्गामाया भण्डारीको अटुट रूपमा यिनलाई साथ र सहयोग रहेको छ । यिनी दुई छोरा र छ छोरीका पिता बनेका छन् ।

भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ले आफ्नो बाल्यकालमै दुःखका घनघोर सागरको सामना गर्नुपरेको थियो । अढाइ वर्षको उमेरमा सितला (विफर) रोगबाट ग्रसित भई दुवै हात अपाङ्ग हुनुपरेको अवस्थामा दुःखपूर्वक जीवन–यात्रा गदागर्र्दै १३ वर्षको उमेरमा नै बुबाको देहवसानका कारण उत्पन्न भएको निराशा र असहज परिस्थितिले उनको जीवनलाई काँडेघारीमा हुत्याइदिएको थियो । एउटा शिक्षित तर सामान्य परिवारमा जन्म भए तापनि पिताको निधनले उनकोे बाल्यकालको केही समय अभाव, गरिबी र पीडासँग सङ्घर्ष गर्दै अगाडि बढ्यो । बुबाको काखमा लडीबुडी खेल्न पाउनुपर्ने सौभाग्य प्रारब्धले नै खोसिदिएपछि बाल्यकालीन पितृवात्सल्यको अनुभूति अधुरै रहेको थियो । बुबाको अभिभावकत्वको अभाव पनि उनकी आमा नर्मदाबाटै परिपूर्ति भएको थियो ।

भालचन्द्र भण्डारीको आर्थिक परिस्थितिको भोगाइको कुरा गर्नुपर्दा यिनका बाजे, प्रबाजेहरू स्थानीय क्षेत्रमा गाउँका मुखिया पदमा जागिरे भएको हुँदा शिशु अवस्थामा यिनले आर्थिक सङ्कटको असर व्यहोर्नु नपरे पनि सानै छँदा पिताको देहवसान भएपछि केही समय आर्थिक समस्यामा पिरोलिनुपरेको थियो । यिनको जागिरे जीवनको सुरुआतपछि मात्रै समस्या विस्तारै टर्दै गएको देखिन्छ । यिनले वि.सं. २०२४ सालदेखि वि.सं. २०६६ सालसम्म निरन्तर स्थायी शिक्षक भई शिक्षण पेशा अँगालेका थिए । यसै क्रममा यिनी छोराछोरीहरूको शिक्षादीक्षाप्रति पनि सोचविचार पु¥याउन सफल भए । छोराछोरीको पढाइसहित जीवन निर्वाहलाई सहज बनाउने सपना बोकेर वि.सं. २०५२मा डोटीबाट सहरी इलाका धनगढी, कैलालीमा जिल्लान्तर बसाइ सरेपछि पारिवारिक बन्दोबस्त मिलाउने सिलसिलामा फेरि केही समय यिनले आर्थिक अभावको सामना गर्नु परे पनि धैर्यतापूर्वक परिस्थितिको सामना गर्दै अगाडि बढेको पाइन्छ । जीवनयापनका क्रममा भण्डारीले यिनै आर्थिक अवस्थाजन्य उतारचढावको सामना गर्नुपरेको थियो । हाल साहित्यिक क्षेत्रमा क्रियाशीलताका साथ साधारण जीवन व्यतीत गरिरहेका कवि भालचन्द्र निःस्वार्थ चरित्र भएका आत्मविश्वासी, आत्मसंयमी र लगनशीलताका धनी व्यक्तित्वका रूपमा समाजमा चिनिएका छन् ।

कवि भालचन्द्र भण्डारीले बाल्यावस्थामा आफ्ना दाँैंतरीहरूका माझमा अगुवा भई विभिन्न क्रियाकलापमा सहयोग गर्ने र आफ्ना मनमिल्ने साथीहरूसँग खेलकुद खेर्दै मनोरञ्जन गर्ने गर्दथे । डोटीको ग्रामीण भेगमा त्यहीँको माटो, प्रकृति र वातावरणसँगै लुकामारी खेलेर हुर्किएकाले गडसेराका खोलानाला, वनपाखा, खेतवारी र गाइवस्तुका विम्ब र प्रतीकहरू यिनका कवितामा प्रशस्तै भेटिन्छन् । यिनले नैतिक, धार्मिक र पूर्वीय साहित्यिक ग्रन्थहरूको अध्ययन पनि गरेका छन् । मानिस जुन किसिमको वातावरणमा हुर्किन्छ र बढ्छ; उसको स्वभाव, बानी र व्यवहार पनि सोही अनुरूपको हुन्छ । भालचन्द्र भण्डारीमा पनि यो कुरा लागू भएको देखिन्छ । मध्यम वर्गीय परिवारमा जन्मिएका भालचन्द्रको स्वभाव शान्त, सौम्य र गम्भीर किसिमको देखिन्छ । आपूmभन्दा ठूलालाई आदर सत्कार गर्ने र सानालाई माया गर्ने स्वभावले गर्दा पनि यिनी प्रिय पात्रका रूपमा परिचित छन् । मीठो बोली र शिष्ट व्यवहारले यिनी सबैलाई प्रभावित पार्न सफल देखिन्छन् । प्रकृतिसँग घुलमिल गर्न र विभिन्न ठाउँको भ्रमण गर्न औधी रुचाउने भण्डारीको प्रकृतिप्रेमी स्वभाव रहेको छ । अन्यायका विरुद्धमा औँलो ठड्याउन पछि नहट्ने यिनले लामो समयसम्म शिक्षकहरूका हकहितका लागि संस्थागत रूपमा काम गरेको पाइन्छ । असल व्यवहार, लगनशीलता र अनुशासित जीवनशैली नै यिनको जीवनको सफलताको खुड्किलो हो भन्न सकिन्छ ।

लामो समयसम्म शिक्षण पेशा र सामाजिक गतिविधिहरूमा संलग्न भएका कवि भालचन्द्रले अनवरत रूपमा दैनिकजसो बिहान बेलुकाको समय साहित्य सिर्जनामा व्यतीत गर्दै आएका छन् । मुलुकको सामाजिक तथा राजनीतिक इतिहासदेखि वर्तमानसम्मको यथार्थ वस्तुस्थितिका जानकारका रूपमा प्रस्तुत हुनसक्ने कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ सामाजिक विसङ्गति र कुप्रथाको अन्त्यका लागि सन्देशमूलक काव्य रचना गर्ने उत्कृष्ट काव्य प्रतिभा हुन् । बाल्यावस्थादेखि नै साहित्य अध्ययन तथा रचनाप्रति रुचि राख्दै आएका यिनले सिर्जनाका अतिरिक्त समाजसेवामा पनि उत्तिकै रुचि राख्दछन् । अधिकांश समय स्वाध्ययन गर्न मनपराउने यिनी साधारण किसिमको लवाइ–खवाइमै रमाउँछन् । साहित्यिक पत्रपत्रिकाहरू पढ्न साह्रै मन पराउने तथा फुर्सदको समयमा परिवारजन, इष्टमित्र र साथीभाइसँग बसेर सरसल्लाह र परिसंवाद गर्नु आदि भण्डारीका रुचिका विषय हुन् ।

भालचन्द्र भण्डारीले औपचारिक अध्ययन छोड्नु परेपछि केही समय घरायसी कामकाजमै लाग्नुपरेकोे थियो । वि.सं. २०२४देखि वि.सं. २०६६सम्म भने यिनी निरन्तररूपमा अध्यापन क्षेत्रमा समर्पित भएर लागेका हुन् । २०२४ सालमा स्थायी शिक्षकको नियुक्ति पाएसँगै यिनी श्री नवकोट प्रा.वि. गडसेरा, डोटीमा शिक्षक तथा प्रधानाध्यापक भएर काम गर्न थाले । पछि डोटी र कैलालीका विभिन्न विद्यालयहरूमा शिक्षण सेवा प्रदान गरेका भण्डारी शिक्षक भएर काम गर्न पाएको र आफ्ना विद्यार्थीहरूले जीवनको मार्गमा प्रगति गर्दै उच्च तहमा पुगेको सम्झँदै खुशी व्यक्त गर्दछन् । आफ्नो समयका एक कुशल शिक्षकका रूपमा चिनिएका भालचन्द्र भण्डारी शिक्षकले केवल विषयवस्तुको ज्ञान लिएर मात्रै पुग्दैन विद्यार्थीहरूलाई कसरी सही मार्गदर्शन प्रदान गर्ने भन्ने कुरा जान्नका लागि तालिम र स्वाध्ययनको आवश्यकता पर्दछ भन्ने धारणा राख्दछन् ।

कवि भालचन्द्र भण्डारीको साहित्यिक व्यक्तित्व निर्माणमा उनका पिता रामचन्द्र भण्डारी नै प्रेरणास्रोतका रूपमा रहेका छन् । बाल्यकालमै बुबाको निर्देशनअनुसार दुर्गा सप्तशती, चण्डी तथा नेपाली भाषाको पहलमानसिंह स्वाँरद्वारा रचित अङ्केन्दु शेखर (गणितीय काव्य) लयबद्ध रूपमा वाचन गर्ने शैलीले यिनमा प्रत्यक्ष प्रभाव पारेको थियो । यिनै पुस्तकहरूको पठन र वाचन गर्नाले यिनमा लयबद्ध शास्त्रीय छन्दप्रति झुकाव बढ्न गई कविता लेखनतर्फ प्रेरित भएका हुन् । यस्तैमा यिनले बाल्यकालमै साहित्यिक परिवेशमा रमाउने अवसर पनि पाएका थिए । गाउँ–बस्तीमा बुबा रामचन्द्र भण्डारी डेउडिया (गीतेरु) भनेर चिनिने भएकाले गौरा पर्वका अवसरमा विभिन्न स्थानमा बुबासँग गई समूहमा गीत गाउने तथा तत्कालीन समयमा संस्कृत तथा नेपालीका श्लोक कण्ठ गर्ने बानीका कारण यिनी साहित्यतर्फ उत्पे्ररित भएका हुन् । ४२ वर्षसम्म निरन्तर रूपमा शिक्षण पेशामा आबद्ध रहँदा विभिन्न कार्यक्रममा कविता वाचन गर्नाले यिनको साहित्यिक अनुराग क्रमशः बढ्दै र परिष्कृत हुँदै गएको देखिन्छ । भण्डारीले आफ्नो साहित्यिक यात्राको सफलतामा धेरै अग्रज तथा दौँतरीहरूको साथ र सहयोग रहेकोे कुरा बताएका छन् । ‘ब्रह्मगोल’कै भनाइका आधारमा यिनका परिवारजनहरू बुबा, आमा, पत्नी, भाइ, छोराछोरी तथा बुहारीहरूले यिनको साहित्यिक लेखन, अभियानमा अनुकूल वातावरणको सिर्जना गरिदिएर सहयोग पु¥याउँदै आएका छन् ।

भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ले वि.सं. २०२३ भाद्र महिनामा गौरा पर्वका अवसरमा ‘मखमलकी झक्क’ गीत लेखेपछि गीति–काव्य लेखन प्रारम्भ भएको देखिन्छ । कलम चलाउँदै जाँदा वि.सं. २०४१मा ‘खप्तड सन्देश’ नामक पत्रिकामा ‘हाम्रो माग पूरा होस्’ शीर्षकको कविता छापिएको थियो । नेपालको सुुदूर पश्चिममा जन्मेर साहित्यको सेवा गर्ने सिलसिलामा यिनले हालसम्म विभिन्न पत्रपत्रिकाहरूमा दर्जनौँ कविता तथा लेखरचनाहरू प्रकाशित गरेको देखिन्छ । यिनका राजेन्द्र (शोककाव्य), माया (खण्डकाव्य), शैलकोटिला (खण्डकाव्य), प्रश्नवाचक (खण्डकाव्य)लगायत दर्जनौँ कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन् । ‘सुभद्रा’ खण्डकाव्य (२०४५) र ‘जय नेपाल’ कविता सङ्ग्रह (२०५२) यिनका चर्चित प्रकाशित कृतिहरू हुन् ।

मानव जीवन भन्नु नै समय र परिस्थितिको भोगाइ हो । समय र परिस्थितिले जस्तो वातावरणको सिर्जना गर्दछ, मानिसले त्यो कुरा भोग्नै पर्दछ । समय र परिस्थितिकै परिबन्दअनुसार मानिसको जीवनमा कहिले दुःख र कहिले सुखका क्षणहरू आइरहन्छन् । यस परिपे्रक्ष्यमा कवि भालचन्द्र भण्डारीका जीवनमा पनि कही त्यस्ता क्षणहरू छन्, जसलाई उनी चाहेर पनि भुल्न सक्दैनन् । अढाई वर्षको उमेरमा सितला (विफर) ग्रस्त भई दुवै हात अपाङ्ग हुनु यिनको जीवनको पहिलो दुःखद घटना हो । यिनी १३ वर्षे उमेरको छँदा वि.सं. २०१९मा दैवसंयोगले पिताको निधन हुँदा घरपरिवारको जिम्मेवारी यिनका काँधमा आइपरेको थियो । पिताको छत्रछायाँमा लडीबुडी खेल्ने सौभाग्य दैवले खोसेर लगेपछि यिनलाई घोर विपत्ति आइलागेको थियो । त्यसवेला यौवनावस्थामै विधवा भएकी आमाका आँसु र आफ्नो अनि दिदीभाइहरूको विचल्ली भएका दुःखदायी घटना यिनी कहिल्यै भुल्न सक्दैनन् । पिताको निधनपछि यिनको औपचारिक शिक्षामा आएको बाधा पनि जीवनको अर्को दुःखद क्षण हो । तर, जसरी भए पनि अभाव, दुःख, पीडा र समस्यासँग जुध्दै केही वर्षपछि भण्डारी स्थायी शिक्षक पदमा नियुक्तभएसँगै परिवारका इच्छा–आकाङ्क्षा पूरा गर्नसक्ने अवस्थामा पुगेपछि सुखका पलहरूको अनुभूति गर्न सफल भएका थिए । वि.सं. २०२७मा पोखरा, कास्कीमा १ बर्से सेवाकालीन नर्मल शिक्षक तालिमका क्रममा कवि ‘ब्रह्मगोल’ले भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा कविता वाचनमार्फत् आफ्नै परिचय दिएको क्षणलाई एक अविस्मरणीय सुखद क्षणका रूपमा सँगालेका छन् । यसरी केही सुखका क्षणहरू आइरहँदा रहँदै भण्डारीमाथि अर्को ठूलो बज्रपात आइलाग्यो, वि.सं. २०२६ सालमा जेठो छोराको निधन भयो । यो घटना बिर्सन नपाउँदै क्रमशः अरू दुई छोराहरूको निधनले यिनलाई मर्माहत र घायल नै तुल्यायो । २०२६ सालदेखि २०३६ सालसम्मको त्यो समय यिनको जीवनको शोककालका रूपमा उल्लेख गर्न सकिन्छ । यसै सन्दर्भमा लेखिएको ‘राजेन्द्र’ शोककाव्य (अप्रकाशित) कृतिले यिनलाई भावुक कविको रूपमा चिनाएको जानकारहरू बताउँछन् । राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ शोककाव्यकै हाराहारीमा यिनी पनि उक्त काव्यमा शोकभावमा डुबेको पाइन्छ । जीवन भोगाइका कथा–व्यथाहरूलाई मार्मिक रूपमा प्रस्तुत गर्नसक्ने बेजोड खुबी यिनमा पाइन्छ ।

भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ साहित्य सिर्जनामा निरन्तर रूपमा लागिरहने स्रष्टा हुन् । कुनै पनि व्यक्तिलाई प्रोत्साहन तथा हौसला दिनका लागि मान–सम्मानको पनि महत्त्व रहने गर्दछ, तबमात्र ऊ आफ्नो कार्यमा दत्तचित्त भएर लाग्न सक्दछ । भण्डारीको साहित्यिक योगदान र क्षमताको उच्च मूल्याङ्कन गर्दै उनलाई धरै संस्थाहरूले पुरस्कार तथा सम्मान प्रदान गरेको देखिन्छ । हालसम्म उनले विभिन्न सङ्घसंस्थाबाट सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन् । यिनले सु.प.क्षेत्रीय कवि सम्मेलन (सवारी शिविर, वि.सं. २०४१ फाल्गुन १ गते) राजपुर, दिपायलमा तत्कालीन राजा स्व. श्री ५ वीरेन्द्रबाट नगद पुरस्कार प्राप्त गरेका थिए । शिक्षा तथा संस्कृति मन्त्रालय, ग्रामीण विकासको निम्ति शिक्षा परियोजना (सेती प्रोजेक्ट) बाट नगद पुरस्कार (२०४५), १५ औँ राष्ट्रिय शिक्षा दिवस (२०४६)का अवसरमा प्रशंसापत्र र थप २ ग्रेड, (जिल्ला शिक्षा समिति, डोटी), १७ औँ राष्ट्रिय शिक्षा दिवसमा नगद पुरस्कार २०४८) जिल्ला शिक्षा समिति, डोटी, ‘रजत पदक’, प्रशंसा–पत्र, अभिनन्दन (२०५८) नेपाल शिक्षक सङ्घ, डोटी, विद्यार्थी साहित्य पुरस्कारसहित अभिनन्दन (२०५८) विद्यार्थी साहित्य प्रतिष्ठान, कैलाली बहुमुखी क्याम्पस, धनगढी, सारस्वत सम्मान पत्र, ‘साहित्यश्री’ मानद अलङ्कार, अभिनन्दन (सीता जयन्ती), सन् २०१०–०५–०३) हिन्दी साहित्य परिषद्, लखिमपुर (खिरी), उत्तर प्रदेश, भारत, प्रशंसा पत्र श्री नवोदय नि.मा.वि.गडसेरा, डोटी, प्रशंसा पत्र श्री दिल्पेश्वर मा.वि. दिपायल डोटी, कैलाली जनपुस्तकालबाट कैलाली महोत्सव, साहित्यिक सम्मान कार्यक्रममा अभिनन्दन (२०६३), कदर पत्र श्री नवज्योति प्रा.वि. गडसेरा, डोटी (२०४४), ‘प्रतिभा श्री सम्मानसहित अभिनन्दन, सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढी (२०६६), ‘राष्ट्रिय प्रतिभा उपचार सहयोग’ नगद रु.५०,००० ।– (अक्षरेपि रु.पचास हजार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ (वि.सं. २०६७), ‘देवकान्त पन्त राष्ट्रिय प्रतिभा पुरस्कार’ (२०६६), अभिनन्दन (२०६९) सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढी, सम्मान–पत्रसहित अभिनन्दन, सदूर पश्चिमाञ्चल साहित्य समाज, डोटी, वीपीनगर शाखा (२०७१), सम्मान–पत्र (स्वर्ण जयन्ती) पञ्चोदय उ.मा.वि. धनगढी, (२०७२), सम्मान पत्र, नेपाल शिक्षक संघ, डोटी (२०७३), दीनानाथ भट्ट राष्ट्रिय प्रतिभा पुरस्कार, कैलाली जन पुस्तकालय, धनगढी (२०७४) आदि रहेका छन् । कवि भालचन्द्र भण्डारीको विशेष सम्मानमा मूर्तिकार तथा कलाकार ताराप्रसाद ओझाले अर्धकदको मूर्ति निर्माण गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँबाट प्रकाशित साहित्यकार, कलाकार परिचय कोष (२०७०) र जनमत प्रकाशन, काभ्रेबाट प्रकाशित अक्षरभित्र स्रष्टा, परिचय कोषमा नेपाली कविका रूपमा यिनको परिचय प्रकाशित भएको पाइन्छ ।

नेपालको सुदूर पश्चिम क्षेत्रको डोटी र कैलाली जिल्लामा ४२ वर्षसम्म स्थायी रूपमा शिक्षण पेशामा आबद्ध भए तापनि सानैदेखि नेपाली साहित्यका क्षेत्रमा क्रियाशील भालचन्द्र भण्डारीले शिक्षण पेशामा आबद्ध हुँदाहुँदै पनि विभिन्न सामाजिक संस्थाहरूमा रहेर शैक्षिक, सामाजिक एवम् साहित्यिक क्षेत्रहरूमा योगदान पु¥याएका छन् ।

नेपाल विद्यार्थी सङ्गठन, डोटी, सदस्य (२०१९), नेपाल बाल सङ्गठन डोटी, सदस्य, नेपाल युवक सङ्गठन, डोटी, सदस्य (२०३१), नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, डोटी (उपाध्यक्ष/सह–सचिव), सु.प. साहित्यिक एवं सांस्कृतिक संघ, धनगढी (सदस्य), ने.रा.प्रा.शिक्षक संघ, डोटी (संयोजक/अध्यक्ष), विश्व हिन्दु महासंघ नेपाल, जिल्ला शाखा, डोटी (सदस्य), मानव अधिकार महासंघ नेपाल, जि.का.स. डोटी (सदस्य), नेपाल शिक्षक संघ, डोटी, (संयोजक/केन्द्रीय प्रतिनिधि), नेपाल शिक्षक संघ कैलाली, प्रारम्भिक कार्य समिति (संयोजक), जिल्ला शिक्षा समिति, डोटी (सदस्य), कैलाली जनपुस्तकालय, धनगढी (आजीवन सदस्य/प्रबन्ध समिति सदस्य/सल्लाहकार), सु.प.साहित्य समाज, धनगढी (आजीवन सदस्य/कार्य समिति सदस्य/उपाध्यक्ष/प्राज्ञ सभा सदस्य), डोटेली समाज, धनगढी, कैलाली (सदस्य/उपाध्यक्ष), नवरत्न साहित्य सङ्गम, धनगढी, (सल्लाहकार), साहित्यिक मासिक ‘जनमत’ बनेपा, काभ्रे (आजीवन ग्राहक सदस्य), नेपाली लोक संस्कृति प्रतिष्ठान, धनगढी (उपाध्यक्ष), नेपाली लेखक संघ, सुदूर पश्चिमाञ्चल (क्षेत्रीय सदस्य), तिलोत्तमा स्मृति प्रतिष्ठान, धनगढी (आजीवन सदस्य), डोटेली समाज, काठमाडौँ, (आजीवन सदस्य), नेपाली भाषा संस्कृति परिषद् सु.प. क्षेत्रीय समिति, कैलाली (सल्लाहकार), श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली (आजीवन सदस्य), रत्न पुस्तकालय, वानेश्वर, काठमाडौँ (आजीवन सदस्य)लगायतका अन्य धेरै संघ–संस्थामा यिनको आबद्धता र क्रियाशीलता रहेको देखिन्छ । हाल सम्पूर्ण परिवारजनका साथमा वानेश्वर, काठमाडौँमा बस्दै आएका कवि भण्डारी केही वर्ष यता शारीरिक रूपमा अस्वस्थ भए पनि खुशीपूर्वक सिर्जनामा तल्लीन रहेर जीवन बिताइरहेका छन् । साहित्यकै उपासनामा समर्पित भएर जीवन बिताइरहेका साहित्यकार भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को आगामी जीवन अझै गौरवमय र सिर्जनामय हुँदै जाने आशा गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस