आमाको नाममा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आमाको नाममा


२९ पुस २०७४, शनिबार


एक समय थियो । बा लाहुरबाट आउँदा घरमा भेट्ने मान्छेको लाइन हुन्थ्यो ! बा आएको थाहा पाउनासाथ गाउँमा नै खुबै चर्चा हुन्थ्यो । लौ, बेदे आएछ । बुढापाका उज्यालो अनुहार लगाएर भेटन आउँथे । ३/४ वटा ठूल–ठूला सुटकेश बोकेर बा घर पुग्दै गर्दा स–सानो जन्ति जति मान्छे हाम्रो आँगनमा जम्मा भै सक्थे ।

बा प्रायः जाडोको समयमा लाहुरबाट घर आउनुहुन्थ्यो । बा घर आउँदा हाम्रो घरको दैनिकी बदलिन्थ्यो । घर पुगेको दोस्रो दिन चार गाउँ परका बा का दौतरीहरू हाम्रो घरमा जम्मा भइसकेका हुन्थे । बा पनि चियाको चुस्कि लिँदै लाहुरका रसिला गफ बाड्नुहुन्थ्यो दौतरिसँग । खुकुरी चुरोटको धुवासँग गफ गरिरहेका बा का कुरा अरू मान्छे पनि चाख दिएर सुनि रहेका हुन्थे ।

मिठो गरि बोल्ने बानी । त्यसैले पनि बा का कुराले सबैलाई तानिरहेको हुन्थ्यो । आमा र फूपूहरूलाई भने थप बोझ थपिन्थ्यो । एकातिर गाउँमा खेतीको चटारो अर्कोतिर बा र बा का साथिहरूलाई चियाको स्वागतमा जुट्नु पर्ने व्यस्तता ।

फेरी, काम पनि बाले भनभेजस्तै हुनुपर्यो । बाले भनेझै भएन भने सातो खानुहुन्थ्यो । बा को डर मानिमानि आमा र फुपुहरू बिरालोको चालमा आफ्ना कामहरू सक्नुहुन्थ्यो । हरेक दिन नुहाउने बा को बानीले आमालाई बोझ थपिन्थ्यो । पानी तताउने, चिसो र तातो पानी गरेर ठिक्क बनाइदिने, साबुन ठिक पार्ने, नुहाएपछि बाले लगाउने लुगा ठिक्क पार्ने आदी ।

दिउसोको १२/०१ बजिसक्दा पनि आगनमा भद्रभलादमी जमघट चलेकै हुन्थ्यो । आमा सधै बा को खाना खाने समय कुर्दै काममा जाने समयको प्रतिक्षामा बस्नुहुन्थ्यो । अह ! थाहा छैन आमा बिहान कति बेला उठ्नुहुथ्यो । थाहा छैन, कति बेला खाना खानुहुन्थ्यो । कति बेला अन्य कामहरू गर्नुहुन्थ्यो । अहिले सम्झिँदा लाग्छ के आमा हुनुको अर्थ बा ले भनेको मात्रै मान्नु र काम मात्रै गरिराख्नु मात्र हो त ? यस्तै अनेकन प्रस्नले चिमोटिरहेका हुन्छन् मलाई ।

बा ले लाहुरबाट फरक–फरक खालका स्वादिला चकलेट र थरी–थरीका खानेकुरा अनि लुगा ल्याइदिनुहुन्थ्यो । त्यसैले पनि बा आएको बेला म र बैनी सबैको आर्कषणका केन्द्र बन्थ्यौं । लाहुरको मगमग बासना आउने फरर, फुकेको जामा लगाएर केटाकेटीको अगाडी जाँदा आफुलाई स्वर्गकी परी झै ठान्थे म । अनि कामै नपरे पनि गाउँभरी ओहोर दोहोर गर्थे । आमा भन्नुहुन्थ्यो खोलेर राख, दशैमा लगाउनु पर्छ । हाम्रा बा लाहुर हुनुहुन्छ भन्दा गर्वले छाति फुल्थ्यो । अरु साथीहरूको अगाडी आफ्नो सानै छुट्टै हुन्थ्यो । तर अबोध मस्तिष्कलाई के थाहा लाहुर भनेको इन्डिया हो जसले हाम्रा बा जस्ता कैयौ बीरहरूको मिठो बैस खर्लप्प निलेको छ, अनि कैयन् कलिला सपनाहरूको अपहरण गरेको छ ।

बदलामा दिएको छ केबल एक नमिठो अनुभूति । लगभग दुई महिनाको छुट्टी सकिएपछि बा फर्कने समय आउथ्यो । बा फर्कदा घरमा सन्नाटा छाउथ्यो । चारैतिर अध्यारो बादलले घेरे झै लाग्थ्यो । आमा र हजुरआमा निन्याउरो मुख लगाएर बस्नुहुन्थ्यो । फुपु दिदीले रङ्गीचङ्गी फूलहरूले सजाएर दुइओटा घडामा पानी राखेर बा को साइत पारिदिनुहुन्थ्यो ।

बा सारै कमलो मनको हुनुहुन्थ्यो । घरबाट हिड्न थाल्दा उहाँभन्दा अगाडी हिड्थ्यो उहाँको आखामा छुटेको बलिन्धरा आँशु । छोरा मान्छे रूनु हुन्न भन्ने तथ्य हाम्रो बा लाई लागु हुन्नथ्यो । उहाँ केटी मान्छेले झै डाको छोडेर रूदै जानुहुन्थ्यो । बरू आमा सम्हालिनुहुन्थ्यो । आफ्नो आँशु कहिल्यै अरूलाई देखाउनु हुन्नथ्यो । रून परे एक्लै रूनु हुन्थ्यो । मैले धेरै चोटी आमालाई एक्लै रोएको देखेकी छु । तर, अरूको अगाडी आँशु नझार्ने बानी थियो आमाको ।

बा गएपछि फेरी पुरानै दैनिकी शूरू हुन्थ्यो हाम्रो घरको । अब ३ बर्ष जति घरको सम्पूर्ण जिम्मेवारी आमाको काधँमा हुन्थ्यो । एक हल गोरू । २/४ ओटा भैसी । एक गोठ बाख्रा हुन्थे । तिनको स्याहार सुसार, घास, पानी, घर ब्यबहार, केटाकेटीको स्याहार सुसारको सम्पूर्ण जिम्मेबारी आमा सम्हाल्नुहुन्थ्यो । हुन त जिम्मेवारी बा पनि त बोक्छन् । तर, फरक यत्ति छ की बा आफ्नो मनको मालिक हुन् भने आमा आफ्नो जीवनका अनगीन्ति सपना परिबारको खुशीको लागि बन्धकी राखीदिन्छन् । यो सब सम्झँदा मन त्यसै त्यसै अमिलो भएर आउँछ ।

आफ्नो जीवनको रहरलाग्दो २५ बर्ष बा ले दक्षिण भारतको तामीलनाडुमा बिताउनु भयो । बा बिनाका २५ हिउदको एक्लो यात्रा आमाले निकै कठिनताका वावजुद घरमा गृहस्थी कुसल भूमिका निर्वाह गरेर उज्जोलित दीप बालीरहनु भयो । दुई दिदी बहिनीको बिहे गर्न बाँकी छँदै आमाले बा लाई अब लाहुरको मोह त्यागेर घर फर्किन आग्रह गर्नुभयो । हजुरको उमेर पनि बुढो हुँदै गयो । स्वास्थ्यले धान्न सक्नु हुन्न । मिठो मसिनो घरमै खाउँला । अब फर्किनुस्, केटाकेटीलाई आफ्नो कर्ममा लाग्ने बाटो देखाइदिनुहोस् भनेर जिद्धि गरेपछि बा घर फर्किनु भयो । हामी बढे हुर्केका हामी दुई छोरीको बिहे गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो ।

आखिर मान्छे हुनुको नियति सुन्यबाट शूरू भएर शुन्य मै झर्नु रहेछ । बाटोमा भेटिएका सबै सबै दुई दिनका सहयात्रि मात्र त रहेछन् । बा र आमाले शुरू गरेको गृहस्थी जिबन चार–चार सन्तानको कर्तब्य पुरा गरिसकेपछि फेरी बा र आमा मै आएर टुङ्गिएको थियो । तैपनि चारै सन्तान आ–आफ्नो जीवन पथमा सफल भएर उभिँदा सफलताको नोबेल पुरस्कार पाए झै गर्बले छाति फूलाउनुहुन्थ्यो उहाँहरू ।

यो खुसीका अगाडि झिना र कमजोर थिए जिवनका मसिना दुःख । आमा गाउकै नमुना हुनुहुन्थ्यो, मेहेनत र परिश्रमको प्रतिमुर्ति । आमा गलेको, थाकेको र बिचलित भएको मलाई कमै मात्र थाहा छ । छिमेकीको बारीमा सुख्खा हुँदा हाम्रो बारीमा लटरम्म तरकारी फल्थ्यो । त्यो भन्दा हराभरा हुन्थ्यो आमाको ममताको बारी । जुन हाम्रा लागि सधै फलिरह्यो । चाडपर्व, भोजभतेर, जमघट केही नभनी आमा मैदानको सीपाही झै निरन्तर लागिरहनु हुन्थ्यो नित्य कर्ममा ।

माटो आमाको जीवन थियो, माटो दुख्दा आमा पनि दुख्नुहुन्थ्यो । आफ्नो जीवन माटोका लागि समर्पण गर्नु भएको थियो । मलाई अझैे याद छ त्यो दिन । म त्यस्तै १४ बर्षकी हुदी हुँ बर्षाको समय थियो । रोपाइको दिन थियो । आमाको अथक प्रयास र मेहेनतले समयमै सकीएको थियो रोपाइ । रोपाई सकिएपछि कुलो (सानो बाध हालेर) हाम्रो बारीतिर सोझाएर घर आएका थियौ । दिउसो रोपाइ गर्दा आमाको खुट्टामा केले टोक्यो थाहा छैन । ठुलै घाउ थियो । हामी एक झोक मात्र निदाएका थियौ होला । आकाश जोरले गर्जन थाल्यो । एकै छिनमा मुसलधारे वर्षा हुन थाल्यो ।

त्यही बीचमा आमा मेरो नजिकै आउनुभयो र कल्पना उठ भन्दै उठाउन थाल्नुभयो । दिनभरको थकानले लखतरान परेर भरखर निदाउन आटेको मेरो शरीरले उठ्नै मानेन । आमाले फेरी घचघचाउन थाल्नु भयो । मन नलागी नलागी उठे म । खै किन हो आमाले भनेको कुनै पनि कुरा टार्न सक्दिनथे म । आमाले कानैको छेउमा आएर साउती मार्नु भयो । माटो त जम्मै बगाउने भयो के गर्ने हो ? कुलो पनि यतै सोझाइयो अब बारीमा बाढी पस्छ अनि मलिलो माटो जति जम्मै बगाउँछ । बाहिर अन्धकार थियो । आमाको खुट्टा झन्–झन् सुन्निदै गइरहेको थियो । माटोको मायाले आमालाई एकक्षण पनि त्याहा रोकीन दिएन । आमा एकदम कर गर्नु थाल्नु भयो । छिटो जाउन जम्मै माटो बगाइसक्यो ! आमाको खुट्टाको घाउको कारण एक्लै जान सक्ने अबस्थामा हुनुहुन्नथ्यो । त्यसैले सायद सहाराको लागि मलाई उठाउनु भएको थियो आमाले । सकेसम्म अरुलाई दुःख दिने बानी थिएन आमाको ।

त्यसपछि आमा मेरो सहारामा उठ्नु भयो र आफ्नो सुन्निएको खुट्टोलाई लियर आमा छोरी खेतको पुछारमा पुग्यौं । मुसलधारे पानी परिरहेको थियो । मुसो झै निथु्रक्क भिजेका थियौं हामी आमा छोरी । हामीले कुलोको बाध भत्काइदियौ । पानी हामीलाई छोडेर हुर्र अगाडी बढ्यो । आमाको मन शान्त भयो । भोलीपल्ट आमाको घाउ जचाउन हामी अस्पताल गयौं । घाउँ ठुलै भएकाले टाका नै लगाउनुपर्ने भयो । अहिले समझदा लाग्छ आमाको यो प्रकृति प्रेम साच्चिकै सम्झन लायकको छ । सलाम गर्न लायक छ । आफ्नो खुट्टाको घाउको पीडाले दिने भन्दा कयाँै गुना अनमोल थियो मुश्किलले जतन गरेको माटोले सुम्पेको खुशी ।

बैनीको बिबाह भएपछि अस्ट्रेलिया गई । सानो दाजु पहिल्यैदेखी अमेरिका हुनुहुन्थ्यो । अब सन्तानको नाउमा म र ठूलो दाजु मात्र स्वेदश थियौ तर फरक–फरक ठाउँमा । सरकारी जागीरमा नियुक्त भएपछि मेरो पोस्टीङ नेपालगञ्ज भयो । काठमाडौं हुनु भएको दाजुले पटक–पटक आग्रह गर्दा पनि बा आमाले पुर्यौली थलो छोड्न मान्नु भएन । त्यहि परिबेशमा अल्झेका थिए आमाका बैसका मिठा सपनाहरू ।

तिनै गाउँका दावलीहरूसँग कतै–कतै साँचिएका थिए आमाले बिना शर्त चुपचाप खर्चेका अतितका सप्तरङ्गी यादहरू । तिनै खोला–नाला फाँटहरू थिए आमाले लडेको जीवनयुद्धका साक्षी । त्यही माटोलाई थाहा थियो आमाको चुनौतिपूर्ण जीवनगाथा त्यसैले पनि बा आमाको आफ्नो ठाउँप्रति अघाध प्रेम थियो । बीचमा एक पटक बा बेस्सरी बीरामी पर्नु भयो । त्यतिबेला आमा काठमाडौं हुनुहुन्थ्यो । म नेपालगञ्ज । बा को बीरामी अबस्थाको ज्ञानले मलाई डोराएर बा भएको ठाउमा ल्याएको थियो । बा मेरो हात समातेर बेस्सरी रूनु भएको थियो । बीरामी भएपछि बा ले आफ्नो आत्मविश्वास गुमाउन थाल्नु भएको थियो । गलामा आँशु अड्काएर बा ले भन्नुभएको थियो नानी मेरो जीवन अब लामो समय रहन्न । नातीलाई ठूलो मान्छे बनाएस् है । त्यसै भक्कानीएको थियो मेरो मन पनि । रोकेर आँशु आफुलाई बुबाको अगाडी शाहसी घोषित गरेकी थिएँ । भनेकी थिएँ ! बाबा यस्तो कुरा नगर्नु, जीवनसँग आशा राख्नु पर्छ । हजुरले निराशा व्यक्त गर्नुभयो भने हामीलाई झन् गलाउँछ । बा मेरो अभिब्यक्तिले उज्यालो हुनुभएको थियो ।

बा लाई भेटेर नेपालगञ्ज फर्केको त्यस्तै एक महिना भएको हुँदो हो । असारको महिना थियो । रातीको त्यस्तै ११ बजेको हुँदो हो घरबाट फोन आयो बैनीको (फूपूको छोरी) मुटुमा बज्रपात हुने गरी । उनको आशय थियो जीवनको अन्तिम अबस्थामा बा छटपटाइरहनु भएको छ । छिटो आइपुग्नु पर्यो ।

मेरो आँखा तिरमीराउन थाले । संसारै अध्यारो भएजस्तो लाग्यो । मुटु जोडले धड्कन थाल्यो । हातखुट्टा काम्न थाले । शरीरै लल्याकलुलुक भयो । मैले चाहेर पनि आफुलाई नियन्त्रण गर्न सकिन । एकाएक आँखामा आमाको तस्बिर नाच्न थाल्यो । यतिवेला आमा के गरिरहनु भएको होला । राती नै एम्बुलेन्स रिर्जभ गरेर ३ बर्षको छोरो च्यापेर हामी बा लाई भेट्न कुद्यौं । त्यो दिन पनि पानी निकै बर्षिरहेको थियो । त्यो भन्दा ठूलो गरी गर्जिएको थियो मेरो मनको आकाश । हामी दोस्रोदिन बिहानको नौं बजे घर पुग्यौ । छिमेकका मान्छेहरुले घेरेका थिए हाम्रो घरलाई । मलाई यो कुराको अनुमान पहिला नै थियो । १४ बर्षको कलिलो उमेरमा आमाको जीवनसाथी बन्नुभएका हाम्रा बा, ४/४ वटा सन्तानका आर्दश पिता आज सबैकुरा छोडेर तुलसीको मठ नजिकै लाशमा परिणत हुनु भएको थियो । गल्र्याम्म ढलेको थियो हाम्रो आशाको धुरी खामो । अनि उजाड र अन्धकार भएको थियो हाम्रो उज्यालो संसार । भाँचिएको थियो आमाको बुढेसकालको साहाराको लट्ठी ।

बा नेपालगंज आउनु न भनेर मैले बोलाउँदा सधै भन्नुहुन्थ्यो मलाई फुर्सद छैन । अहिले टुङ्गीएका थिए बा का ति तमाम हतारहरू । बा मुक्त हुनु भएको थियो सम्पूर्ण बन्धनहरुबाट । अनि केबल रहेको थियो एक मौन सन्नाटा । जुन शरीरलाई म बा बा भनेर झुण्डीन्थे त्यो शरीरबाट बा अलग्गीनुभएको थियो ।

आजसम्म मेरो ज्ञान अपुरो रहेछ । बा भनेको केबल शरीर मात्र होइन रहेछ । अलिकति आस्था पनि रहेछ । अलिकति चेतना पनि रहेछ । अनि, अलिकति विश्वास पनि रहेछ । मेरो उपस्थिति पछि वरीपरीकाले भन्न थाले छोरी आइहाली छिटो लैजाउ लाशलाई । बा लाई लाश भन्दा मलाई एकदम रिस उठीरहेको थियो । मेरो बाको शरीर कसरी लाश भयो अरूका लागि !

]आखिर जीवनको परिभाषा यतै कतै अल्झीएको छ सायद । अनेक प्रश्नले घेरेको थियो मलाई । जीवनको अर्थ, यतिमात्र हो जन्मनु अनि, अनेक सम्बन्धहरू जोड्नु । अन्त्यमा सारा सम्बन्ध छोडेर एक्लै जानु । जीवनका खोल्न बाँकी, जान्न बाँकी रहस्यमय अनेकन प्रश्नहरूले थिलथिलो पारेको थियो मलाई । म फुपुदिदीको काखमा एकोहोरो रोइरहेकी थिए । आमा कहाँ हुनुहुन्थ्यो मलाई थाहा थिएन । हेर्ने आँट पनि थिएन । पछि थाहा पाएँ, आमा त मेरो नजिकै मुढो झै हुनुहुँदोरहेछ । निशब्दः मौन अर्धचेत अबस्थामा । सानो दाजु र बैनी बिदेश भएकोले बा को अन्त्येष्टीमा ठूलो दाजु र म मात्र भयौं । बा को पार्थिब शरीर चितामा बलिरहँदा म आमालाई अन्तिम पटक रातो कपडामा हेरीरहेकी थिए । त्रिबेणीले एक–एक गरी बगाइरहेको थियो आमाका शरीरमा भएका राता रङ्गहरू सँगै मिसाएर आमाका जीवनमा बचेका खुशीहरू । अनि बाँकि थियो त केवल बा बिनाको बेस्वादको जिन्दगी ।

उफ ! कुन युगमा बाँचीरहेका छौ कुन्नी हामी । पीडा जति सबै नारीका नाममा बन्दकी । अब बा नहुनुको अर्थमा आमा पहिरहनुहुनेछ कुनै सीपाहीको बर्दि जस्तो नियमपुर्बक यीनै रंग बिनाका लुगाहरू अनि चिन्नेछ समाजले परैबाट यसको लोग्नेले छोडेर गएछ भनेर । जति सुकै प्रयास गरेपनि बा को दियो निभ्यो सदा सदाका लागि ।

आमा र बा को इतिहास पल्टाउदा आमा कहाँ थिइन खै ? घर बा को थियो, परिबार बा को थियो, बंश बा को थियो, छोरा छोरी पनि बा का नै थिए । कुटुम्ब इष्टमित्र पनि बा का नै थिए । त्यहा कतै आमा थिइनन् । आमा थिइन त केबल बा को सेवामा, प्रशव वेदनामा, चुलो चौकामा, मेलापात, बनजंगल, घरका अन्य काममा । बुहारी हुनुको जिम्मेबारीमा । आमा र भाउजु हुनुको कर्तब्यमा । वर्षौदेखी यसरी नै नारीहरू केबल पुरूषको कुनै एउटा भागमा परिणत भएर बसिरहेछन् । थाहा छैन यो सिलसिला कहिले समाप्त हुने छ । अनि आम नारीहरूले पनि मान्छे हुनुको बिरासत उपभोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस