ध्यानको विज्ञान « प्रशासन
prasaLogo
२२ पुष २०७४, शनिबार

ध्यानको विज्ञान


प्रकाशित मिति : 6 January, 2018 6:58 am

ध्यानलाई कुनै पनि धर्मको सीमामा बाँध्न सकिँदैन । ध्यान शुद्ध विज्ञान हो, चेतनाको विज्ञान । संगठित धर्महरूबीच जीवनशैली तथा दर्शनका विविध पक्षमा गम्भीर विभेद भए तापनि एक विषयमा सबै धर्म पूर्ण सहमत छन्, त्यो हो – ध्यान । ध्यान कुनै न कुनै रूप सबै धर्मले अँगालेको पाइन्छ । मन्त्रजप, योग, प्राणायाम, धारणा, नमाज, प्रार्थना, कीर्तन–भजन, जुफी दर्भेश नृत्य, त्राटक, तन्त्र, विपश्यना, ताइ जी, लातिहान – यी सबै ध्यानकै विभिन्न रूप हुन् । यी सबैको प्रयोगको अन्तिम गन्तव्य विचारशून्य चैतन्यको उपलब्धि नै हो ।

ध्यानले हामीलाई चेतनाको शुद्ध अवस्थामा पुर्याउँछ । साधारणतया हाम्रो चेतना विचार, विषय र इच्छाजस्ता अनन्त संवेगहरूको प्रवाहले आच्छादित हुन्छ । विचारहरूको सतत् प्रवाहको नाम नै मन हो । मनमा पुराना स्मृतिहरू आइरहन्छन् र भविष्यका आशाहरू कुदिरहन्छन् । सुत्दा पनि हाम्रो मन चलिरहेको हुन्छ – स्वप्नको रूपमा ।

ध्यान यसको ठीक विपरीत अवस्था हो । जसमा मनको कुनै उपद्रव हुँदैन । हामी पूर्ण मौनमा हुन्छौं । ध्यानद्वारा मन शान्त हुन्छ र चेतना आफ्नो शुद्ध अवस्थामा आइपुग्छ । अकम्पित चेतना नै आत्मा हो र चञ्चल चेतना नै मन हो । मन र आत्मा चैतन्यका दुई विपरीत अवस्था हुन् ।

निर्विचार चैतन्य नै हाम्रो स्वभाविक स्थिति हो तर हामीले त्यसलाई अनन्त इच्छा र कामनालेृ गुमाएका छौं । ‘फलन फ्रम प्याराडाइज – स्वर्गबाट च्युत भएको’ भन्ने बाइबलको वचनको मतलब पनि यही गुमाएको अवस्था हो । ध्यानद्वारा त्यस स्वर्गमा पुनः प्रवेश सम्भव छ ।

ध्यान मनले गर्न सक्ने सबैभन्दा गूलो दुःसाहसपूर्ण यात्रा हो किनभने यस यात्रामा मन आफैं तिरोहित हुन्छ । सामान्य मृत्युमा शरीर मर्छ, मन मर्छ आफ्नो अनन्त यात्रामा अघि बढ्छ । आज अस्पतालहरूमा मृत घोषित भएका तर पछि पुनर्जीवित भएकाहरूको अविछिन्न स्मृतिको वैज्ञानिक अध्ययनबाट यथेष्ट प्रमाण पाइएको छ कि मस्तिष्क मरे पनि मन कायमै रहन्छ तर ध्यानमा मन नै मर्छ । त्यसैले ध्यानलाई महामृत्यु पनि भन्न सकिन्छ ।

ध्यान कुनै क्रिया होइन, विचार होइन, भाव होइन यो चैतन्यको प्राकृतिक अवस्था हो । यस अवस्थामा पुगेका सबैले एककमतले भन्छन्, ‘यो अवस्था परम आनन्दको अवस्था हो । ’ यो आनन्द कहाँबाट आउँछ ? यो बाहिर कहीबाट आउँदैन, यो हाम्रो आन्तरिक स्वभाव नै हो । यस आनन्दको स्वाभाविक स्थितिलाई दुःखमा परिणत गर्न हामीले ठूलै लगानी गरेका हुन्छौं । यो प्रत्युत्पादक लगानी फिर्ता गर्नु नै हो ।

संसार जस्तो छ त्यसको सही स्वरूप हामी देख्दैनौं । मनमा जिउने हामी सबैको आफ्नै पूर्वाग्रह हुन्छ । पूर्वाग्रही मनले जे छ त्यसलाई आफ्नै रङमा ढालेर हेर्छ । यस संसारमा यति मतामतान्तर, कलह, द्वन्द्व र अन्तर्विरोधको कारण ‘कन्डिशन्ड माइन्ड’, पूर्वाग्रही मन नै हो । महान् विचारक, ठूला नेता, क्रान्तिकारी र विद्वान् भनी आदर दिएका सबै प्रबल पूर्वाग्रहले ग्रसित व्यक्तिहरू नै हुन् । त्यसैले यिनीहरूबीच सबैं विवाद भइरहन्छ । यसको चरमरूप विचारमा मात्रै सीमित नरही भौतिक विध्वंसमा परिणत हुन्छ । हामी आफ्नो विचारसँग असहमत सबैलाई समाप्त नै भएको देख्न चाहन्छौं । हाम्रो सवचारको विजयमै हामी सबैको कल्याण देख्छौं । पूर्वाग्रह यस संसारको महारोग हो र आज संसारमा व्याप्त चरम हिंसा, अतिवाद, अग्रवाद, शोषण, धर्मान्धताको मुख्य कारण यही पूर्वाग्रह नै हो । अति पूर्वाग्रही सत्यको अर्को पनि पक्ष हुन्छ भनी मान्न तयारै हुँदैन ।

धर्मिक कट्टरवादीहरूले अरूलाई म्लेच्छ, काफिर, नास्तिक र पापी ठान्छन् । राजनीतिक कट्टरवादीले आफूसँग असहमतहरूलाई अनगिन्ती नामहरूले घृणापूर्ण सम्बोधन गर्छन् ।

ध्यान यस महारोगको परम औषधि हो । ध्यान हो – साक्षीभाव । जे–जस्तो छ त्यसमा आफ्नो प्रक्षेपण नगरी त्यसको वास्तविक स्वरूपलाई हेर्नु नै साक्षीभाव हो । यस्तो अवस्थामा सबैको अस्तित्व स्वीकृत हुन्छ । विचार मेरै हुँदैमा राम्रो हुँदैन र अरूको हुँदैमा नराम्रो हुँदैन । विचारहरू त सतत् प्रवाहमान र परिवर्तनशील हुन्छन् । यिनीहरूको कुनै स्थायी र अन्तिम गन्तव्य हुँदैन । यस जगत्मा सबै परिवर्तनशील छ, यस्तो क्षण–क्षण बदलिने जगत्मा आफ्नो विचारलाई मात्रै निर्विकल्प र अन्तिम सत्य ठान्नु नै परम जडवाद हो, सबै समस्याको मूल कारण हो ।

ध्यानले हामीलाई विचारको सीमाबाट मुक्त गर्छ । विचारबाट मुक्ति नै परम स्वतन्त्रता हो । यही स्वतन्त्रतामा चिन्तन र अन्तर्दृष्टि प्रगाढ हुन्छ ।

ध्यान हो – बोध र होस । यसको प्रारम्भ शरीरबाट गरिने क्रियाहरूलाई यान्त्रिक नगरी होसपूर्वक गरेर हुन्छ । चलिरहेको श्वासप्रति जागरुकता, हिँड्दा, बोल्दा सबै क्रियाप्रति सचेतता । यसको दोस्रो खुड्किलो हो – विचार प्रति होस । आफ्नो मनमा उम्रिरहेका विचारका अनन्त प्रवाहप्रति बोध जगाउनु । बेहोसीमा मनमा उठेका विचारहरूले हामीलाई डाँमाडोल गर्न नसकून् । तेस्रो अवस्था हो – भावहरूप्रति सजगता । प्रेम, घृणा, मित्रता, शत्रुता यी सबैप्रति जागरुकता । यसले हामीलाई आकर्षण र विकर्षणबाट मुक्ति दिन्छ । शरीरप्रतिको होसले विचारप्रतिको जागरुकतालाई सहज बनाउँछ, विचारप्रतिको जागरुकताले भावप्रतिको सजगतालाई सहज बनाउँछ । जब हामी शरीर, विचार र भाव यी तीनैप्रति जागरुक हुन्छौं, हामी एक अर्कै आयाममा प्रवेश गर्छौं, जसको नाम हो – तुरियावस्था । यसैको नाम समाधि हो । समाधि नै सबै समस्याको अन्तिम समाधान हो । यही अवस्थामा पुगेपछि शिवपुरीबाबाले भन्नुभयो, ‘सबै प्रश्नहरूको उत्तर पाएँ, सबै समस्या सधैंका लागि समाधान भए ।’

स्वामी आनन्द अरुणको सन्त दर्शनबाट साभार

Tags :
प्रतिक्रिया दिनुहोस