नरक « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

नरक


२३ मंसिर २०७४, शनिबार


‘गडुलले सिनो लुछे झै लुच्थे, मेरो शरीरका प्रत्येक अंग । मेरो उत्तेजनाविहिन मासुको थुप्रोभित्र उत्तेजना भेटाउँदै, आफ्नो तृप्ति पूरा गर्थे । मैले पनि भरपुर उत्तेजित पार्न र आनन्द दिन उनीहरूले भनेजस्तै गर्नुपथ्र्यो । मलाई सकेजति पीडा दिएर भरपुर आनन्द लिन खोज्थे उनीहरू । उनीहरूले दिएको पीडाले मलाई पोल्थ्यो । निकै दुख्थ्यो । दुखाई सहन नसकेर आँखाका तिरबाट तिरिक्क पीडाका आँसु खस्थे । अनायासै ऐयाँ मरे नी आमा ! भन्ने चित्कार निस्किन्थ्योे । उनीहरू त्यो चित्कार, त्यो पीडाबाट अझ बढी आनन्दित हुन्थे । झन् बढी जोरले ठेल्थे ।

भरपुर आनन्द पनि किन नलिउन ? त्यसैका लागि त उनीहरूले पैसा तिरेका थिए । मैले पनि ग्राहकलाई खुसी राख्न आँसु लुकाएर हास्नुपथ्र्यो । यो कस्तो विवशता । यो कस्तो नरकीय जिन्दगी । दिउँसोभरी दर्जन बढी ग्राहक । उनीहरूका थरिथरिका इच्छा । एक बन्द कोठा । त्यही बन्द कोठाभित्र नङ्गिनु, बिस्तारा बन्नु । हे भागवान ! कस्तो जीन्दगी दियौं तिमीले ।

कोही नसाको मातमा जता पायो त्यही चिथोर्थे, कपाल तान्थे र गालामा छाप बस्ने गरी टोक्थे । घाँटीमा, छातिमा पनि त्यस्तै गर्थे । जसरी एक बाघ आफ्नो सिकारलाई चिथोर्छ, त्यसै गरी चिथोर्थे । एकले चिथोरी नसक्दै अर्को आइहाल्थ्यो, लुछ्न । दैनिक दर्जनौंको चिथोराइबाट मेरो शरिर पुरै लल्याकलुलुक भएको हुन्थ्यो । मेरो शरीरभित्र भित्रै पोलेको हुन्थ्यो । तर पनि पीडा सहेर ग्राहकलाई सन्तुष्टि पार्नैपथ्र्यो ।

नत्र त्योभन्दा सयौं गुणा ठूलो पीडा माल्किनबाट भोग्नुपथ्र्याे । हो कविर दाइ, यस्तै थियो मेरो कोठीभित्रको जीवनको विवशता । कविर दाइ कसरी भन्नु र सम्झिनु ति कहालीलाग्दा दिन । एकदिन म साह्रै गलेकी थिएँ । एक दिन निकै गाह्रो भइरहेको थियो । त्यसदिन आराम गर्न दिनुस्भन्दा माल्किनको कुटाइ खानुपरेको थियो । त्यो पापिनीले मेरो यौनीमा बेल्नाको मुन्टो घुसारेर रगताम्मे पारेकी थी । कपाल तानेर लछारपछार गरेकी थिई दाई । मरेरै भए पनि धन्दा गर्नु पथ्र्याे । हेर्नुस् दाइ, पाखुरा र नाडीमा अझै पनि चुरोटका ठुठाले पोलेका डाम छन् । कहिलेकाहीँ गाह्रो भइरहेको छ भन्दा उल्टै गाली गर्थिन् । ऐ क्या तेरा माइती हे, तुझे आराम कर्नेके लिए भन्दै रिसाउँथिन् र कुट्थिन् । पेटभरि खाना पाइँदैनथ्यो । त्यसैले पनि चुपचाप पीडा सहेर बस्नु पर्थ्यो ।’

एचआइभी एडस् संक्रमित जमुना । एड्सको क्षेत्रमा काम गर्ने संस्थामा कार्यरत म । मैले काम गर्ने संस्थामा सरण लिन आइपुगिकेकी हुन्, जमुना बहिनी । यही हो उनीसँग मेरो भेट र चिनजान भएको । जीवनका कहालीलाग्दा दिन भोगेर हाम्रो संस्थासम्म पुगेकी जमुना बैनी । सधै फतफताइ रहने, मलिन र उदास जमुना । मलाई उनको त्यो अवस्थाले भावविह्वल बनाइरह्यो । एकदिन कोट्याउन मन लाग्यो उनको जीवन । ताकी उनीसँग कुरा गरेर उनको उदासिनता दूर गर्न सकियोस् ।

सुरूमा त भन्न निकै सकस मानेकी जमुना बैनीले पछि यसरी सुनाइन्, आफ्नो कहालीलाग्दो कथा ।

‘कविर दाई ! के भनौ म अभागिनीको कथा । के कथा भन्नु जीवनभित्रको व्यथा । दाई, म गरिवकी छोरी हुँ । म गरिवको कोखमा जन्मिए । सानोमा मिठो खान पाइनँ, राम्रो लाउन पाइनँ । स्कुलको मुखसम्म देख्न पाइन । हाम्रा आठ दाजुभाई दिदी बहिनी । म सबै भन्दा जेठी । अशिक्षित बुबाआमा । भकाभक सन्तान जन्मिएँ । घरमा खाने मुख बढे । झन् समस्यामाथि समस्या थपिँदै गयो । घरको आर्थिक अवस्था झन्–झन् जर्जर हुन थाल्यो ।

म बिस्तारै बुझ्ने हुन थाले । सकेको म पनि बाआमालाई सघाउँथे । विस्तारै उमेर बढ्दै गयो । १५ वर्षकी लक्का जवान भए । सँगैका सबै संगिनी राम्रो लुगा लगाउँथे । आँखामा गाजल, ओठमा लाली, गालामा क्रिम पाउडर, शरीरमा थरिथरिका नयाँ–नयाँ लुगा कपडा । मगमग बास्ना आउने सेन्ट । हिल जुत्ता । म भने सधै उहीँ र उस्तै रूपमा हुन्थे । गाउँका तन्नेरीहरू मलाई देखेर लोभिन्थे । हसिलो अनुहार । गरिबकै घरमा जन्मेकी भए पनि खाइलाग्दो ज्यान । अरूले क्रिम पाउडर लगाए पनि यो जमुना जति राम्री कोही देखिँदैन भन्दै मेरो योवन र रूपको तारिफ गर्ने गाउँमा थुप्रै थिए ।

मलाई भने आफ्नो रूप आफ्नी दौतरीका अगाडि कुरूप जस्तै लाग्थ्यो । मलाई पनि उनीहरू जस्तै सजिन मन लाग्थ्यो । सिंगारिएर आफ्नो सुन्दर रूप ऐनामा हेरेर लजाउन मन लाग्थ्यो । तर, मन लागेर के गर्नु दाई । भगवानले गरिबको घरमा जन्म दिएपछि आफ्ना चाहनालाई पनि तिलाञ्जली दिनुपर्दो रहेछ । आफूले त नयाँ लुगा पाउनलाई दसँै नै कुर्नुपथ्र्यो ।

यसरी अभावमा बित्दै थिए मेरा दिन । अचानक मेरो जीवनमा बम्बैवाली मञ्जरी फुपूको आगमन भयो । फुपू नाता लाग्ने ती बम्बैवाली फुपू १६ वर्ष भारतमा बसेर नेपाल आउनुभएको थियो । उहाँ नेपाल आउनु भएको एक महिना मात्रै भएको थियो । गाउँमा सबैलाई भेटाघाटी गरौं भने इच्छा लागि लियौं । त्यसैले घुम्न आइलिएकी भन्दै हिन्दी मिसिएको टोनमा जिब्रो भाँची–भाँची बोल्नुहुन्थ्यो । उहाँको रवाफ नै अर्कै थियो ।

म उहाँलाई देख्दा ठान्थे, यी बम्बैवाली फुपू कति भाग्यमानी । दिनैपिच्छे लुगा फेर्ने । लुगाबाट पनि मगमग बास्ना आउने । विस्तारै बम्बैवाली फुपू मेरो नजिक हुन थाल्नुभयो । मलाई साह्रै माया गर्ने । मिठो मिठो खानेकुरा दिने । क्रिम पाउडर, लिपिस्टिक दिने । नयाँ–नयाँ लुगा पनि दिन थाल्नुभयो । मेरो पनि केही दिनमा बेग्लै रवाफ हुन थाल्यो । म पनि नयाँ लुगा लगाउन थाले । ती फुपू पनि कति मजाकी । हाम्रो घर आउने बाआसँग बोली राख्ने । मेरो कामको र रूपको तारिफ गरिराख्ने । तिनको त्यो मिठो तारिफले मलाई आफै भित्र काउकुती लागेजस्तो हुन्थ्यो ।

एक दिन मञ्जरी फुपूले मलाई सोध्नुभयो जमुना त पनि बम्बै जान्छस् । मेरैमा खाना पकाइदेलास् । त्यसबाफत तलाई पैसा पनि दिँदै गरौला । यता तेरा बाआमा पनि समस्यामा छन् । तैले उताबाट बेला–बेला थोरै पैसा पठाइदिस् भने नि सहयोग हुन्छ । उहाँलाई देखेर आकर्षित भएकी म । उहाँको कुरा नकार्ने त चान्सै थिएन । मैले पनि मेरा बाआमासँग कुरा गर्नु फुपू, बाआमाले पठाए गइहाल्छु नि, भनेर जान तयार भए । फुपुले तेरो बाआमाको के चिन्ता भैगयो । हम छ नी, म मञ्जुरी गराइहाल्छ । त ढुक्क हो भन्दै फुपु बाआमासँग कुरा गर्न थाल्नुभयो । बाआमा पनि फुपूको कुरामा राजी हुनुभयो । छोरीले थोरै भए पनि खर्च पठाइ देला र गर्जो टर्ला भन्दै खुसी व्यक्त गर्न थाल्नुभयो ।

त्यसको केही दिनपछि मञ्जरी फुपूसँग लागे म भारत । कहिले घरबाट बाहिर नगएकी म । नेपालगन्जको रूपेडिया नाका हुँदै फुपुसँगै पुगे बम्बै । उहाँले बस्ने २० तले बंगलाको पाँचौं तला । कोठाहरू पनि कति राम्रा । हामीले सुत्ने बिस्ताराभन्दा राम्रो भुइँमा बिछ्याएको थियो । ओहोे ! क्या रवाफको जिन्दगी । कति ठूला–ठूला घर । म त हेरेकी हेरेई भएँ ।

हेर्नु न दाइ । यति लामो यात्राबाट गएकी मलाई त दिसाले नि च्यापेको थियो । फुपूलाई कता जाने भनेर सोधे ? उहाँले ट्वाइलेट देखाइ दिनुभयो । भित्र गए । हामीले यता पानि तान्ने गरेको कुवा जस्तै सानो कुवा । म आच्ची गर्ने ठाउँ खोज्न थाले । कतै नपाउँदा त्यसै बाहिर निस्केर फुपूलाई सोधे । उहाँले सिकाउनु भएपछि फेरि भित्र गए । जंगलमा आची गर्ने बानी । त्यहाँ मरिगए आची आउँदैन । कटकटी पेट काटिरा’छ, तै पनि आची आउने छाटै छैन । सुरुमा त मलाई त्यो वातावरणसँग घुलमिल हुनै समस्या भयो । फुपू साह्रै माया गर्नुहुन्थ्यो । उहाँले सबै कुरा सिकाइ दिनुभयो । एक महिनामा मैले धेरै कुरा जाने । टुटाफुटा हिन्दीका शब्द पनि बुझ्ने भए ।

एकदिन फुपूले मलाई बजार घुम्न जाउ भन्नुभयो । म पनि खुसी भए । राम्रो कुर्ता सुरूवाल किनी दिनुभयो । सिंगारपटार गरेर बजार घुम्न लैजानुभयो । यता मेरा साथी छन् एक छिन भेटौ अनि निस्किउला भन्दै एउटा ठुलो मकानभित्र पस्नुभयो । म पनि उहाँको पछि–पछि लागेर भित्र पुगे । हामीभित्र जानेबित्तिकै दुई ग्लासमा चिसो ल्याइयो । हामी चिसो पिउँदै थियौं । फुपू मजाले हिन्दीमा गफिँदै हुनुहुन्थ्यो । हास्दै हुनुहुन्थ्यो । चिसो पिएको केही समय पछि मेरो टाउको निकै दुख्न थाल्यो । चक्कर आउला जस्तो भयो । म त बसेकै ठाउँमा गुरूलुम्मै ढले । केही समयपछि होस् आउँदा म एउटा बन्द कोठाभित्र थिए । वरिपरि कोही थिएन ।

म जोरले चिच्याए फुपू ! त्यहाँ के फुपू आउनु । अघिकी फुपूसँग बसेकी चन्डाल्नी आएर तेरी फुपू तो तुझे बेचकर चला गई । आज से तु यही पे धन्दा गरेकी । तुझे मैने दो लाखमे खरिद सकि हुँ, भन्दै बाहिरी । मलाई संसार घुमेजस्तै लाग्यो । आकास टाउँकैमा खसेजस्तै लाग्यो । हो दाई त्यो पापिनी फुपूले हाम्रो गरिबीको फाइदा उठाई । मलाई ललाइफकाइ गरेर आफूसँग एक महिना राखेर त्यहाँको वातावरणसँग घुलमिल गराई । र, महँगोमा बेची दाई । यता मेरो घरका मान्छेलाई उसले के भनी त्यो पनि मलाई थाहा छैन । आफ्नाकै भरोसा पर्दा नरकतुल्य भयो दाई यो जीवन ।

कोठीमा बेचिसकेपछि त्यो रात एक पल नि नसुतेर रूदै बित्यो । कति धेरै सपना बोकेर बम्बई पुगेकी थिए । छोरी भएर पनि बुबा आमालाई सहयोग गर्न सक्छु भन्ने हिम्मत र आँट बोकेकी थिए । अब भने जीवन त्यो बन्द कोठामा सड्नुको विकल्प थिएन । दोस्रो दिन बिहान भयो । माल्किन आइ । अभि भी रो रहाहे । ले यी लुगा फेर और सृङ्गारपटार हो जा । आज एक भौत बडा आद्मी आनेवाला हे, तेरेसे रोमान्च गर्नेके लिए भन्दै बाहिर गई । मेरो मन झन् भक्कानियो । म रूदै बसिरहेकी थिएँ । १० बजे तयार हुइ की नही भन्दै माल्किन कराउँदै आई । म रूदै बसेकी थिएँ । अभि भी तयार नही हुयी क्या । मेरे बातको नही मानेगी भन्दै मेरा शरीरका लुगा च्यातचुत पारेर निर्वस्त्र बनाई दी । अब उसले दिएका लुगा नलगाई भएन । त्यो लुगा लगायर रूदै बसेकी थिएँ । केही बेरमा फेरि ले घिचले भन्दै भातको थाली फालेर गई त्यो राक्षसनी । नखाई रोएरै बसिरहेकी थिएँ । खाई की नही भनेर फेरि आई म नखाई रोएरै बसेकी थिएँ । मैले नखाको त्यो भात लगेर गई । नही खाएगी तो हमको क्या फरक पडेका । मरजाएगी तो लैजाके नदिमे फ्याक्दुङगी भन्दै कड्की । त्यसको केही समयपछि पचास नाघेको । कालो भुडे पुरूष आयो मेरो कोठामा । म कोठाको भुइँमा एक कुनामा बसेर रोइरहेकी थिएँ । त्यो भुडेले मलाई देखेर साह्रै खुसी हुँदै भुइँबाट उठाएर बेडमा लग्यो र मेरो शरीरका प्रत्येक अंग छुन थाल्यो । मलाई संसारै घुमे जस्तो लाग्यो । जताततै सन्नाटा छायो । अँध्यारो देख्न थाले । रिसले त्यो मोटेको तुरीमा एक मुक्का हानेर फुत्किए । तर त्यो मोटे जोर–जोरले चिल्लाउन थाल्यो । केही समयपछि माल्किन हातमा रसी, ममबत्ति र चुरोट बोकेर चार पाँच जना बलिया पुरूषको साथमा आई । तिनीहरूले मेरा कोमल हात समाते । मेरो हातमा ममबत्तिले पोल्न थाले । राक्षस जस्ता लामा–लामा कपाल भएका दानवहरूले चुरोट पिउँदै चुरोटको ठुटोले मेरो हातमा, पाखुरामा पोल्दै हास्दै आनन्द लिन थाले । म गले चल्नै नसक्ने भए । पसिनाले भिजेर पुरै पानी पानी भए । त्यसपछि मलाई त्यही बेडमा सुताएर रसीले बाँधियो । फिर भी अ‍ैसा करेगी तो फिर भी सजाय पाएगी भन्दै सबै बाहिर गए । त्यो दानव मात्रै भित्र बस्यो । मलाई पिटेगी भन्दै मेरो गालामा चड्कन बजायो र फेरि लुछ्न थाल्यो । त्यसरी भंग भयो मेरो कुमारीत्व । यसरी सिद्धियो मेरो सुन्दर जीवन । मेरो रूप थियो । एकपटक आएका ग्राह भरपुर आनन्द पाएको भन्दै अर्कोपटक आइहाल्थे । यसरी ग्राहक थपिँदै जाने थाले । माल्किनको आम्दानी मबाट बढिरहेको थियो । यता मेरो जीवन सिद्धिरहेको थियो । १२ वर्ष त्यही नरकमा बिताइयो दाइ नरकीय जीवन ।

नरकीय जीवन बाच्दा–बाच्दै म एचआइभी संक्रमित हुन पुगे । हिजोका दिनमा सबैभन्दा राम्रो कमाइ दिने म अब उनीहरूको बोझ बन्न थाले । उनीहरूले एक दिन मेरो खानामा बेहोस हुने औषधी राखेर बेहोस पारे । राति कतै टाढा लगेर छोडीदिए । दोस्रो दिन होस आउँदा म रेलवेको साइडमा फ्याकिएकी थिए । जब होस् आयो कहाँ जाने ? कता जाने ? केही थिएन मसँग । केही दिन दिल्लीको एउटा रेलवेमा माग्दै बाँचे । एक दिन माग्दै थिए । दुई÷चार युवा नेपालीमा कुरा गर्दै गरेको सुने । अब जीवनको अन्तिम चाहना थियो मरे पनि आफ्नै माटोमा मर्नुपर्छ । जसरी भए पनि नेपाली भूमिमा पाइला टेक्नुपर्छ । नेपाल फर्किने आशाले तिनीहरूसँग आफ्नो दुखेसो पोखे । नेपाल लगिदिनुस् भाइ भनेर बिन्ती बिसाए । उनीहरूले नेपाल ल्यायिदिए । नेपाल त पुगे । यता पुगे पनि जाने ठाउँ कतै थिएन । यसै भौतारीरहेकी थिए । कहिले पाटी पौवाको बास । कहिले मन्दिरको पेटीको सुताइ । यतिका वर्षपछि घरमा कसरी जानु । बुबाआमा त बितिसक्नु भएको होला । म जाँदा भाइबहिनी सानै थिए । उनीहरू पनि डाडाँपाखा लागिसकेका होलान् । उनीहरूको बोझ कसरी बन्नु । फेरि यस्तो अवस्थामा गएँ भने सबै गाउलेले छिछि र दूरदूर गर्लान् भनेर म घर जान सकिनँ । विभिन्न हन्डर ठक्कर खाँदै यो संस्थासम्म सरण लिन आइपुगे दाई ।’

यसरी सुनाइन ती बैनीले आफ्नो सकसपूर्ण जीवनको बोझिलो कथा । उनले कथा सुनेर मैले आँसु रोक्न सकिनँ । कति निर्दयी बन्न सकेको यो समाज । कति स्वार्थी बन्न सकेका यो समाजका मान्छे । आफन्त भित्रको अपनत्वले दानव रूप धारण गरिदिँदा कस्को पर्नु र भर ? यस्तै यस्तै कुरा सोचेर भक्कानिरहेको थियो मन । मैले बैनी अब नलिनुस् चिन्ता । अब तपाईं हामी मिलेर प्रज्जवलित गर्नुपर्छ समाजमा चेतनाको दीप । अब यसरी बेचिनु हुँदैन हाम्रा चेलीहरू । तपाईंले आफ्नो पीडालाई शक्तिमा बदल्नु पर्छ । तपाईं उदाहरण बन्नुपर्छ यो समाजको लागि भन्दै सान्त्वना दिए । उहाँको पीडामा मलम लगाउन खोजे । मलम लगाउन सके की सकेन थाहा छैन । तर, चेतना जगाउने योजना बनाएर हामी छुट्टियौं ।
केही दिनपछि जमुना बहिनीलाई ज्वरो आएको खबर सुनें । उहाँको हामीले निकै उपचार गर्यौं । जति औषधी गरे पनि उहाँलाई सन्चो भएन । अन्तत्वगत्वा जमुना बहिनी यो संसारबाट बिदा भइन् । विचरी ! जमुना जीवनभर कहिल्यै खुसी हुन सकिनन् । समाजमा चेतनाको दीप जलाउने उनको सपना पूरा भएन ।

Tags :
प्रतिक्रिया दिनुहोस