ऊ मेरो अभिन्न मित्र भएको छ, अचेल ।
मेरो जन्मदिन आएको कुरा उसैले भनेर थाहा पाएँ । उसले खबर दिउन्जेल दर्जनौं शुभकामना खसिसकेका रहेछन्, पोस्टबक्समा । किसिम–किसिमका अक्षर, किसिम–किसिमका कार्ड, किसिम–किसिमका भाषा, किसिम–किसिमका शैली ।
मलाई संस्कारहीन हुनु थिएन । सबै शुभकामना पत्रलाई असरल्ल खन्याएँ सतरन्जीमा र एक-एक गरी जवाफ लेख्न थालेँ ।
‘हजुरलाई मुरी मुरी धन्यवाद छ । धोक्राका धोक्रा आभार छ । डोकाका डोका शुभेच्छा छ ।’ एउटा पत्रको जवाफ लेखें । उहाँको शुभकामनामा लेखिएको थियो, ‘ज्यानमा फूर्ति रहोस्, मनमा खुसी रहोस्, शत्रुहरू चाउरिउन्, मित्रहरू झाङ्गिरहून् ।’
अर्को पत्र लिएँ हातमा । लेखिएको थियो,
‘जन्मदिनको यहाँलाई हार्दिक शुभकामना छ ।’
मैले पनि चट्ट जवाफ लेखिहालेँ, ‘यहाँलाई हार्दिक धन्यवाद छ ।’
थुप्रै पत्र हेरें । थुप्रै उत्तर लेखें । र, हुलाकमा पठाउन ठीक पारेँ ।
यसैबीच ऊ आइपुग्यो र मैले लेखेको सबै पत्र पल्टाई–पल्टाई ध्यानपूर्वक हेर्यो ।
‘ओहो ! यसमा त ‘टिभिएम’ पो लेख्नुभएको छ नि ?’ उसले सोध्यो । मैले उसलाई ती मित्रले पठाएको शुभकामना सन्देश देखाएँ । त्यहाँ ‘एचबिडी’ लेखिएको थियो ।
‘साथीले ह्याप्पी बर्थडे लेखेको होला, मैले पनि छोटकरीमै थ्यान्क्यू भेरिमच् लेखे’ मैले अथ्र्याएँ ।
‘कसैलाई लामो जवाफ, अनि कसैलाई चैं अक्षरमा । किन ?’ उसले जिज्ञासा राख्यो ।
‘हेर बाबू, अचेल केही मान्छे साँच्चै व्यस्त छन् । तर, धेरैजसो व्यस्त देखाइटोपल्छन् । त्यसो हुनाले जेटिडिएन सिद्धान्त सबैलाई काम लाग्छ ।’
ऊ धेरै बेर अलमलियो । मैले नअथ्र्याई धरै पाइन । जेटिडिएन अर्थात् ‘जस्तालाई त्यस्तै, ढिँडालाई निस्तै !’