पुरानाको सम्मान र नवसर्जकलाई उत्साहित गर्ने अभियान चलाइरहेका छौं « प्रशासन
Logo १२ असार २०७९, आइतबार
   

पुरानाको सम्मान र नवसर्जकलाई उत्साहित गर्ने अभियान चलाइरहेका छौं


१८ कार्तिक २०७४, शनिबार


महानन्द ढकाल, बाँकेका अग्रज गजलकार मानिन्छन् । बाँकेको साहित्यमा उनको महत्वपूर्ण योगदान छ । उनी कोहलपुरस्थित पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनी तेस्रोपटक प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । ढकाल मोति साधना सम्मान, हाम्रो मझेरी साहित्य सम्मान, शिवपुरी गजल सम्मान, विष्णुदेवी साहित्यिक पुरस्कार लगायत एक दर्जन बढी साहित्यिक संघ संस्थाबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् । लामो समय साहित्यमा क्रियाशील उनीसँग बाँकेको साहित्यिक माहोल, पूर्णिमा साहित्य प्रतिष्ठानको गतिविधि, साहित्य अनुभवबारे प्रशासन डट कमका बरिष्ठ संवाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

पछिल्लो समय बाँकेमा साहित्यिक माहोल तातेको हो ?
हो, बाँकेमा धेरै साहित्यिक संघसंस्था क्रियाशील छन् । सबैले निरन्तररूपमा कार्यक्रम गर्दै आइरहेका छन् । यस क्षेत्रमा संस्थालाई स्थापित गर्ने अभियान चलेकाले पनि बाँकेमा साहित्यको माहोल बनेको हो ।

साहित्यिक माहौल तात्दै गर्दा पूर्णिमा साहित्य प्रतिष्ठानले अहिले के गरिरहेको छ ?
पछिल्लो समय पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न कार्यक्रम चलाउँदै आइरहेको छ । यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रम संचालन गर्नुकासाथै साहित्यका विभिन्न विधामा प्रशिक्षण पनि दिने गरेको छ । जस्तै : कथा, गजल, कविता, निबन्ध आदि ।

पुरानाको सम्मान र नवसर्जकहरूलाई उत्साहित गर्ने अभियान सँगै अगाडि बढाइरहेका छौं । त्यससँगै झण्डै सय पृष्ठको पूर्णिमा पत्रिका निरन्तर प्रकाशन गरिरहेका छौं ।

साहित्यिक पत्रिका पनि निरन्तररुपमा प्रकाशन गरिरहनु भएको छ कतिको अफ्ठेरो छ ?
साहित्यिक पत्रिकालाई निरन्तरता दिनु आफैमा चुनौती हो । मोफसलमा बसेर झण्डै सय पेजको पत्रिका प्रकाशन गर्नु कठिन छ । तर, पूर्णिमा पत्रिकाका प्रधानसम्पादक सागर गैरेले विज्ञापनदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको जिम्मा लिनुभएको छ । उहाँको कार्यकुशलताले नै ‘पूर्णिमा’ साच्चिकै पूर्णिमा जस्तो भएको छ । त्यसकारण पनि हामीलाई आर्थिकरूपमा समस्या छैन । पत्रिकामा हामीले नियमितरूपमा बरिष्ठ साहित्यकार र नवसर्जक रचनालाई पत्रिकामा समेट्ने गरेका छौं ।

तपाइको त श्रीमति पनि नाम चलेकै साहित्यकार हुनुहुन्छ, पारिवारीक माहोल पनि खुब जम्छ होला नि हैन त ?
हाम्रा सिर्जनाको पहिलो पाठक एक–अर्का नै हुने गरेका छौं । सिर्जनाको केरकार र सम्पादन घरबाटै सुरू हुन्छ । पुस्तक अध्ययनपछि घरमै चर्चा/परिचर्चा गर्छौं । लेखन प्रक्रियामा समेत एक–अर्काको सहयोग रहन्छ । सकेसम्म साहित्यिक कार्यक्रममा सँगै जान्छौं । यसले साहित्यमा क्रियाशील हुन सघाउ नै पुर्याएको छ ।

रचनाहरुमा एक अर्काबीच कतिको सघाउने गर्नुहुन्छ नि ?
हामीले लेखेका साहित्यिक रचनाको पहिलो पाठक हामीहरू नै हौं । विषयबस्तुको गम्भीरतामाथि छलफल गर्छौं । कसैले लेखेका नयाँ रचनामाथि संवाद गर्छौं । पुस्तक अध्ययन गरेर विश्लेषण गर्छाै । पुस्तकका गुण र दोष समेत केलाउँछौं ।

तपाईँ राम्रो गजलकारकारूपमा चिनिनुहुन्छ, किन गजल विधालाई नै रोज्नुभयो ?
कविताबाट सुरु भएको साहित्य यात्रा गजलसम्म पुगेको छ । थोरै समय र शब्दमा धेरै कुरा समेट्न सकिने भएकोले गजलमा आकर्षित भएको हुँ । यस क्षेत्रमा गजल मनपराउने धेरै भए पनि गजलकार निकै कम छन् । त्यसकारण पनि ओझेलमा नपरोस् भनेर गजल लेखनमा सक्रियता देखाएको हुँ । साहित्यका धेरै विधामा कलम चलाए पनि गजल मनपर्ने विधा हो । त्यसकारण पनि यसैलाई निरन्तरता दिने सोच बनाएको छु । अर्काे कुरा मलाई साहित्यकारकारूपमा गजलले नै चिनाएकाले यो मेरा लागि महत्वपूर्ण छ ।

यहाँका कति कृति बजारमा आइसकेका छन् ?
बजारमा हालसम्म मेरा तीन गजलसङ्ग्रह र एक हाइकु सङ्ग्रह मात्रै आएका छन् । मुक्तक, कविता, गजल र एक उपन्यासको तयारी हुदैछ। तर कृति प्रकाशनमा हतार गर्ने पक्षमा छैन ।

यहाँको साहित्य कतिबेला अर्थात कस्तो अवस्थामा जन्मिन्छ ?
साहित्य सृजनाका लागि समय तोकिएको हुँदैन । गजल र मुक्तकका लागि अन्तरमनदेखि नै सृजना पलाएर आउनुपर्छ । समय छुट्याएर मैले लेख्ने गरेको साहित्य सृजनामा पुस्तक समीक्षा र नियात्रा हो । प्रायः जसो यस्ता साहित्य सृजनाका लागि मलाई बिहानको समय उपयुक्त लाग्छ ।

उत्कृष्ट गजल सिर्जनाका के हुन आवश्यक छ ?
साहित्य सृजनाको लागि साहित्य–साधना जरूरी हुन्छ । जवर्जस्तीरूपमा तयार गरिएका सृजनाले साहित्यमा उचित स्थान पाउँदैनन् । अग्रज साहित्यकारले लेखेका पुस्तकको अध्ययन गर्ने बानी बसाल्न पनि जरूरी हुन्छ । विषयवस्तुमा गहनता, संरचना र भावपक्षको सन्तुलन, सरल शब्दको चयन गर्दै गजल सृजना गर्न सके राम्रो गजल बन्न सक्छ । गजलमा लय, बहर र भाव तीनै वटाको समायोजन राम्रोसँग हुन सक्यो भने उत्कृष्ट गजलको सृजना हुन सक्छ ।

तपाईंका आगामी योजनाबारे पाठकलाई बताइदिनुहोस् न ?
संस्थालाई मजबुत बनाउने, यस क्षेत्रका साहित्यिक संस्थासँग हातेमालो गर्दै केन्द्रमा रहेका संस्थासम्म पहुँच पुर्याउने, संस्थाको पहिचान राष्ट्रिय क्षेत्रमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने, यस क्षेत्रमा रहेका साहित्यकारका रचनालाई ‘पूर्णिमा’को माध्यमबाट बाहिर ल्याउने, कृति प्रकाशनका लागि प्रोत्साहन गर्ने, पूर्णिमा साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको पूर्णिमा साहित्य रत्न र तुलसीराम स्मृति पुरस्कारलाई अझै व्यवस्थित गर्ने तथा पूर्णिमा पत्रिकालाई निरन्तरता दिँदै थप स्तरीय बनाउने योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस