नागरिकताको दलदल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नागरिकताको दलदल


२१ श्रावण २०७४, शनिबार


जरिना बेगमका पति मोहम्मद जुल्फिकरको पेशा धनगढी सेरोफेरोका गाउँहरु मनहरा, जुगेडा, घुइयाँघाट, राजपुर, राजघाट, बेला, गेटा, श्रीपुर टाढा टाढा मालाखेती लगायतका अरु गाउँहरु पुगेर साइकलमा खसी बोका बोरामा लादेर ल्याउने र धनगढी बजारमा अलिकती बढी नाफा लिई काटेर मासु बेची गुजारा चलाउने थियो । साइकलसंगै गुजरा नि राम्रै चलेको थियो ।

आठ जना छोरा छोरी दुई उनीहरु समेत दस जनाको ठूलै परिवार थियो । आजभोली जस्तो न महंगाई थियो न त बिलासिताका सामानहरुको आवश्यकतालाई महत्व नै दिइन्थ्यो । बिजुली समेत सबैका घरमा हुदैनथ्यो । मट्टीतेलका टुकीहरुले घर उज्यालो बनाउथ्यो सबैका । बिजुलीका पंखा नचाहिने । चारकुने झण्डा जस्तो बासको छोटो डण्डा जडित घरमै बनाएको हाते पंखा हातले दायाँबायाँ फटफटाएर हम्काए हुने । हात नथाक्दा सम्म हरर शितल हुने । आजभोली जस्तो छोराछोरी महंगा निजी विद्यालय पढाउनु नपर्ने । घर नजिकै त्रीनगर माध्यमीक विद्यलय, पञ्चोदय माध्यमिक विद्यालय, भाषा पाठशाला र सरस्वती प्राथमिक विद्यालय गरि चारओटा सरकारी विद्यालयहरु थिए । खासै शुल्क तिर्नु नपर्ने । उनका बच्चाहरु मद्रसा पनि गए । अली अली ऊर्दू सिके । सामान्य हिसाब बुझ्नेसम्म बनाए जुल्फिकरले आफ्ना सन्तानहरुलाई ।

जुल्फिकरलाई संतान धेरै भएर पाल्न नसकेको पश्चाताप पटक्कै थिएन । बरु उनलाई अपार आनन्द हुन्थो जब उनी घर पुग्थे । आफू बुवाको एक्लै सन्तान उनी । त्यसै पनि पातलो बसोबास भएको धनागढीमा त्यतिबेला उनका बाल सखाहरु थिएनन भने नि हुन्छ। आफ्ना सन्तान हरु रमाइलो गरि खेलेको देख्दा आफ्नो एकांकी बाल्यकालको क्षतिपूर्ती पाए जस्तो लाग्थ्यो उनलाई । घर पुग्दा उनको खुशीको सिमा रह्दैनथ्यो । उनका संतान धेरै भएका कारण बचत नि हुदैन थियो । बच्चाहरु जसोतसो हुर्किसकेका थिए। अब उनका सन्तानलाई असल मार्ग दर्शनको खाँचो थियो। साँझ विहान मस्जिद जाने गर्दथे । शुक्रबार (जुमा)का दिन दिउँसो मस्जिद जाने सामुहिक इवादत गर्न नभुल्ने जुल्फिकरको सम्बन्ध आफ्नो समूदायमा राम्रो थियो। असल बुवा आमाका छोरा छोरी पढ्न नसकेपनी असल नै थिए ।

दिउँसो घरबाट उनी खसी, बोका र बाख्राकै खोजीमा निस्कन्थे । बिहान र साँझ पसल खोल्ने उनको व्यवसायिक दिनचर्या थियो।विभिन्न जिल्ला र भारततिर बाट पनि संभावनाको खोजीमा धनगढी पस्ने मानिसहरुको चापसंगै जुल्फिकरले साँझ बिहान बेच्ने मासुको माग पनि बढिरहेको थियो । उनलाई लाग्यो सबैले बैङ्कबाट ऋण लिएर व्यवसाय बढाएकाछन् । उनीसंग पनि जमीन थियो । त्यही जमीन बैङ्कमा राखेर कारोबार बढाउने बारेमा श्रीमतिसंग सल्लाह गरेर बैङ्कको बाटो समाते ।

बैङ्क पुगेर बुझ्दा उनको जमिन उनका दिवंगत पिताको नाममा भएकोले उनले बैङ्कबाट पाउनुपर्ने सुबिधा नपाउने भए । जग्गा नामसारी गर्न नागरिकता चाहिने भयो । बिचरा जुल्फिकरले नागरिकता बनाउन सकेनन् । उनका बुवाले जग्गाधनी प्रमाण पूर्जा पाउंदा न धनगढीमा घना बसोबास थियो न त आजभोली जस्तो सुबिधाको आकर्षण । औलो ज्वरोको डरले पहाडका मानिसहरु चैत्र बैशाखतिर पहाड पुगिसक्थे । नागरिकता प्रमाण पत्रले खासै महत्व राख्तैनथ्यो । जब यसले धेरै महत्व राख्यो बिचरा जुल्फिकरले नागरिकता प्रमाण–पत्र पाउन सकेनन् । उनले एकदिन त सिडिओ लाई भेटेर नै भने हामी भन्दा पछि आएका फलाना फलाना हरुले नागरिकता पाउने हामीले नपाउने साहब ? सिडिओले उनका जायज कुरोको सुनुवाई त गरेनन नै उल्टै बढी कुरा गर्छस, अब आइन्दा नागरिकताको कुरा गर्न आईस भने जेलमा सडाईदिन्छु भनेपछी बिचरा जुल्फिकर डराए । आफ्ना बुवाले भनेको उनलाई याद आयो पहिलेका बडाहाकिमले भारतबाट धनगढीमा बोलाएका रे अहिलेका जेल हाल्ने भए ।

नेपालको जनक्रान्ती २००७ पछी कैलालीका प्रशासकले उनका पिता लगायत केही भारतीय मूलका मुस्लिम र बनियाहरुलाई हावापानी मिल्ने भएका कारण अनुरोध गरि बोलाएर धनगढीको मिश्रीत बसोबस बनाइएको रहेछ । यसरी धनगढी आएकाहरुलाई सरकारले नै घरबासको व्यवश्था गरिदिएको रहेछ। त्यतिबेला देखिकै जुल्फिकरको परिवार रैथाने जस्ता रहेछन् । यस्ता रैथानेहरुलाई विरानो ठान्यो राजनिती र प्रशासनले अहिले ।

नागरिकता पाउन वडाध्यक्षको घरमा सांझ बिहान धाए । जग्गा पूर्जा सिडिओलाई देखाए । कतिपयले नागरिकता दिलाई दिने आशा देखाएर खसीको मासु फोकटमा डकारे । छोरा छोरी सानै थिए । मुस्लिम महिलाहरु पर्दामा बस्नुपर्ने । तराईको मौसम, हिउदमा धेरै जाडो जेठ बैशाखमा प्रचण्ड गर्मी, दैनिक बीस पच्चीस किलोमीटर साईकल चलाउनुपर्ने बाध्यता । रूपैया पैसाको जोहो उनले मात्रै गर्नुपर्ने बाध्यता । एकदिन साउनको महिना उनलाई ज्वरो आयो । चार पाच दिनसम्म घरेलु उपचार भयो । निको नभए पछि अस्पताल पुर्याइयो । रगत चेक गर्दा उनलाई मष्तिष्क ज्वरो देखियो । ढिलो गरी अस्पताल पुर्याईएकोले अकालमै उनको ज्यान गयो ।

बिचरी जरिनाका दुस्खका दिन शुरु भए । धेरै मान्छेहरु जुल्फिकारलाई ऋण दिएको भनी असुलीका लागी जरिनालाई हैरान परेशान गर्थे । केही सज्जनहरुले जुल्फिकारसंग लिएको सापटी जरिना बेगमलाई फिर्ता गरे । तर जुल्फिकारले लेनदेन आफ्नी बेगमलाई भनेका थिएनन् । एकजना ठूलो व्यापारीलाई सन्तानका बिवाहका लागी भनेर रूपैया राख्न दिएका थिए । ति व्यापारीले जम्मा गरिएको रकम फिर्ता गरेनन् । जरिनाले नि दिवंगत पतिको लेनदेन को–कोसंग थियो थहा पाईनन् ।

श्रीमानले लिएको ऋण तिर्न उनलाई हम्मे हम्मे परिरहेको थियो । सहयोग पाउने सम्भावना पनि थिएन उनीहरुका आफन्त थोरै थिए । जो थिए सबै मुश्किलले गुजारा चलाई रहेका थिए। त्यही जमीन थियो उनको सम्पत्तिको नाममा, आफूसंग भएको त्यो पनि मृत ससुराको नाममा थियो । जग्गाको कारोबार गर्ने बिचौलियाहरुको नजर त्यो जमीनमा पर्यो । ती जग्गा दलालहरुले चाहे भने मालपोत कार्यालयमा धेरै तल माथि भएको छ भन्छन् गाउंबस्तीमा । श्रीमानले नामसारी गर्ने कोशिश गर्दा सफल नभएको त्यो जमीन बेच्नकै लागी जरीनाको नाममा नामसारी भयो। त्यसै दिन कसैलाइ त्यो जमीन उनले बेच्नु र्पयो। जबकी जग्गा खरीद बिक्री हुदा दुबै पक्षको नागरिकता चाहिन्छ। नागरिकता बिहीन थिए नै जरीनाहरु, घरबार बिहिन सुकुम्बासी नि भए ।

भिनाजु को मृत्यूको खबर सुनेर भारतको बरेली बस्ने जरिनाका भाइ दिदीलाई भेट्न धनगढी आउदा भनेका रहेछ्न् दिदी धनगढीमा अब तिमीलाई सहयोग गर्ने आफन्त नि छैनन् । नाबालक भान्जा भान्जीको एक्लै कसरी स्याहर गर्छ्यौ ? बरु हिड बरेलीमै हामीसंग बसौला। भान्जा भान्जीको हेरखबर नि हामी गरिहाल्छौं ।

जरिनाले भनेकिरहिछन् मेरो भगवान जस्ता ससुरा र मेरा लोग्ने यसै माटोमा छन् । म उनीहरुलाई छोडेर अब कही जान सक्तैन । जतिसुकै अप्ठ्यारो परोस अल्लाहको मर्जी यही बस्छु । यही माटोमा पसिना बगाउछु । यही मेरो जन्नत हो ।

दिदीका कुरा सुनेर भाइले धेरै कर गर्न सकेन । जरीना आफ्नो परिवारलाई उपेक्षा गर्ने धनगढीलाई हृदयभरी सजाएर बसिरहेकी छिन ।

पति र ससुराको नासो घरबास बेचिसकेपछी उधारो तिर्न बाकी तिरिन । श्रीमानका नाममा देखिएको ऋण पनि तिर्न भ्याइन । आजभोली उनीहरु भाडामा बस्छन । उनका छोराहरु पनि हजुर बुवा र बुवाकै पेशा अंगालेर बसेकाछ्न । तर बुवा र बाजे जस्तै आफ्नो पसल होइन अर्काकै पसलमा काम गरिरहेकाछन । जरिनाका ससुरा, पति, छोरा र नाति समेतको चौथो पुस्ता पुगिसक्यो उनीहरुको धनगढीमा । कानून कै कुरा गर्ने हो भने उनका पति र छोरा धनगढीमै जन्मिएका हुन् । तीनीहरु वंशजको नाताले नेपाली नागरिक हुनुपर्थ्यो । तर उनीहरु नागरिकताको प्रमाण पत्र प्राप्त गर्न असमर्थ धनगढीबासी हुन् ।

सबै टोलबासी उनी प्रती सहानुभूती राख्छन् । तर के गर्ने टोलबासीहरुको सहानुभूतिले मात्र नागरिकता पाईदोरहेनछ । चौथो पुस्ता धनगढीमा पुग्न लागेका जुल्फिकरका सन्तानहरुको नागरिकता प्राप्त हुने चहाना अझैं मरेको छैन । संविधान सभा निर्वाचनको बेला टोलमा आउने सबै पार्टीका उम्मेदवार्हरुलाई आफ्नो रामकहानी सुनाए । नागरिकता नभएर मतदानको अधिकार नभएका उनीहरुको आवाज कसैले सुनेनन् ।

२०६२/०६३ को लोकतान्त्रीक आन्दोलनको सफलता पछि मधेश आन्दोलन र नेपाल सरकारका बिच यस्तै उपेक्षितहरुलाई जन्मको आधारमा नेपाली नागरिकता वितरण हुने सम्झौता भयो । उनीहरु जस्ता धेरैले नागरिकता पाएनन् तर भारतबाट धनगढी आएको केही बर्ष मात्र भएकाले पनि पर्दा पछाडीबाट पाए ।

आफ्ना समूदायका अगुवाहरुका दैलो दैलो चहारिन जरिनाले । कहिले नेता भनी कहलिएका त कहिले धन पैसाले भरीपूर्ण भएका प्रतिष्ठित व्यक्तिहरुसंग खूब अनुनय बिनय गरिन। अंह, हातमा नागरिकता पर्नै सकेन । नागरिकताको रहस्य बुझ्न माहाभरत भएको छ उनलाई । मधेस आन्दोलनले जन्माएका दलहरुका ढोका ढोका चहारिन । सबै उनले वास्तवमा नागरिकता पाउनुपर्ने भन्छन् । पाउनुपर्ने बेला कसैले सहयोग गरेन । तिम्रो पालो भोलि, पर्सीर एकहप्ता पछि भन्दै टारे । अरुले कसरी पाए उनले किन पाईनन, यो चक्रव्यूहबाट उनी उम्किन सकिरहेकी छैनन् । नागरिकताको दलदलमा जरिना बेगम भासिईरहेकिछिन । कहिलेसम्म…………….?

प्रतिक्रिया दिनुहोस