जीवनको ‘ओझेल’ बजारमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जीवनको ‘ओझेल’ बजारमा


प्रशासन विशेष ब्युरो

१४ श्रावण २०७४, शनिबार


काठमाडौं । सञ्चारकर्मी एवं मोडल जीवन खड्का ‘ओझेल’ उपन्यासमार्फत साहित्यक यात्रामा उदाएका छन् । समिक्षक समिरबाबु कट्टेल, सञ्चारकर्मी कला सुब्बा र लेखक तथा पत्रकार डब्बु क्षत्रीले शनिबार राजधानीमा आयोजित एक समारोहमा ‘ओझेल’को संयुक्त रूपमा विमोचन गरेका हुन् ।

पुस्तकमाथि बोल्दै समिक्षक कट्टेलले भने, “ओझेल समकालीन विषयवस्तुका कथामा आधारित उपन्यास हो । यसमा गाउँबाट शहर पसेको एक युवा र जर्मनीबाट नेपाल आएकी युवतीबीचको प्रेम र विछोडको कथा छ । प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ । भोगाइको समस्या यस उपन्यासले बोलेको हुनाले पठनीय बन्न पुगेको छ ।”

सञ्चारकर्मी सुब्बाले उपन्यासले युवा युवतीको प्रेमिल घटनालाई उजागर गर्न सफल भएको बताइन् । उनले भनिन्, “साहित्यकार बन्न रुचि, वास्तविकता र अरूका समस्या समाधानका लागि लेख्नुपर्ने कुराको लेखकले ख्याल गरेरै लेखेका छन् । यो प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ ।”

त्यस्तै लेखक तथा पत्रकार क्षत्रीले गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको बताए । उनले भने, “बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । मेरो जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।”
यो उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । उपन्यासको मूल्य रु. ३१५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस