छातिमा गोली थाप्न तयार छौँ गुठी संस्थानलाई त कुनै हालतमा पनि दिन्नौ « प्रशासन
Logo १२ मंसिर २०७८, आइतबार
   

छातिमा गोली थाप्न तयार छौँ गुठी संस्थानलाई त कुनै हालतमा पनि दिन्नौ


१६ जेष्ठ २०७४, मंगलबार


काण्ड बिद्वान योगी नरहरीनाथ नेपालका एक आध्यात्मिक व्यक्तित्व हुन् । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण लगाएतका ज्ञाता नरहरीनाथको देशभित्र मात्रै हैन बिदेशमा समेत उत्तिकै ख्याति छ । संस्कृतमा घण्टौंसम्म धाराप्रवाह प्रवचन गर्न सक्ने उनका सयौं प्रकाशित तथा त्यतिकै संख्यामा अप्रकाशित कृतिहरु छन् । काठमाडौंको मृगस्थलीमा बस्दै आएका योगीको देहान्त पछि उनको आश्र्रममा गुठी संस्थानले ताला लगायो र करीब १३ वर्षसम्म आश्र्रम बन्द रह्यो । यस अवधिमा योगीका कैयूं महत्वपूर्ण दस्तावेजहरु सडे, गले र नष्ट भए । यति लामो अवधिसम्म पनि कहिँकतैबाट उनको खोजीनिति गर्ने प्रयास भएन । गुठी संस्थानले लगाएको ताला खोल्न ठूलै आँधिहुरी नै आउनु पर्यो र २०७२ साल चैत्र १५ गते काठमाडौंमा आएको ठूलो हुरीले आश्रमको छाना टिनले उडाएर भित्र थन्किएका सामाग्रीहरु पानीले भिज्न थालेपछि पशुपति क्षेत्र विकास कोषसंग हारगुहार मागेर नजिकैको एउटा भवनमा थन्क्याइयो । र, केही उनले स्थापना गरेको वृहत आध्यात्मिक परिषद्ले बचेका पुस्तकहरु छान्दै, मिलाउने काम गरे । जुन अत्यन्तै सराहनिय र प्रशंसनिय छ तर, गुठी संस्थान संगको जुहारी जारी छ । योगी जिका सामानहरु किन वेवास्ताको शिकार बने र यस्तो अवस्था कसरी सिर्जना भयो लगाएतका बिषयमा प्रशासन डटकमले वृहत आध्यात्मिक परिषद्का महासचिव विश्व केसी पोखरेलसंग कुरा गरेको थियो । प्रस्तुत पोखरेलसंगको कुराकानी जस्ताको त्यस्तै:

 

योगी नरहरी नाथका पुस्तक संरक्षण कार्य के भइरहेको छ ?
मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथका सामग्रीहरू संरक्षण भइरहेका छन् । करिब ६० हजार सामग्री संरक्षण भइसकेका छन् । भर्खरै योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय स्थापना गरिएको छ । पुस्तकालयमा योगी नरहरिनाथद्वारा रचना, सम्पादन गरिएका करिब ३५० भन्दा बढी पुस्तकहरू अध्ययन तथा विक्रीका लागि उपलब्ध रहेका छन् । नेपालको इतिहास, धर्म र संस्कृतिका क्षेत्रमा उपयोगी रहेका योगी नरहरिनाथका केही अत्यन्त महत्वपूर्ण दूर्लभ पुस्तकहरू पुनप्र्रकाशनको तयारी भइरहेको छ । अहिलेसम्मको अवस्था सन्तोषजनक नै मान्नुपर्ला । अझै पनि धेरै कामहरू गर्न बाँकी नै छ । क्रमिक रूपमा सबै कामहरू हुँदै जाने क्रममा छन् ।

सरकारी सहयोग कतिको प्राप्त भइरहेको छ, यस कार्यमा ?
सरकार … छ र ? कस्को सरकार ? कस्तो सरकार ? केही थाहा पाइएको छैन । जनताको सरकार नेपालमा छ जस्तो अनुभव गर्न सकिएको छैन । अरूको कुरो त नगरौँ, हामीले नेपालमा हामी जनताको सरकार भएको अनभूति गर्न पाएका छैनौ । हामीले मात्र हो र ? भूकम्प पिडीतले पनि पाएका छैनन् त्यस्तो अनुभूति गर्न । सरकार खोज्दै कहाँ जाने ? अनुहार कस्तो हुन्छ सरकारको ? देख्न, बोल्न पाइएको छैन भने सहयोग कताबाट पाउनु !

यस्ता महत्वपूर्ण क्षेत्रहरुको सहयोग त गुठी संस्थान लगाएतका निकायहरुबाट पनि हुन्छ नि हैन र ?
प्रथम त योगी नरहरिनाथको व्यक्तिगत सम्पत्ति गुठी संस्थानले हेर्नुपर्ने सम्पत्ति नै होइन । त्यसैले योगी नरहरिनाथको व्यक्तिगत सम्पत्ति पनि उसले नै हेर्नु पर्दछ, सहयोग गर्नु पर्दछ भनेर हामी भन्दै भन्दैनौ । राज्यको संविधान, प्रचलित ऐन कानून र व्यवस्थाहरूको पूर्ण परिपालना गर्न हामी प्रतिवद्ध छौँ । जनताले कानूनको सम्मान ग¥यो भने राज्यको शोभा बढ्दछ । नत्र अराजकता फैलिन्छ । गुठी संस्थानले स्वेच्छिक सहयोग मात्र गर्न सक्दछ । गुठी संस्थान ऐन, २०३३ बमोजिम उसले गोरखनाथमन्दिरभित्र रहेका मूर्ति, गरगहना तथा गोरखनाथको गुठी सम्पत्ति हेर्ने हो । त्यतातिर हेरोस् गुठी संस्थानले । गोरखनाथमन्दिर र योगी नरहरिनाथ आश्रम फरक फरक कुरा हुन् । गुठी संस्थानको कार्यक्षेत्र नभएकोले यसमा गुठी संस्थानको भूमिका हुनसक्ने भन्ने कुरै भएन । त्यसकारण उसको सहयोगको अपेक्षा पनि हामी गर्दैनौँ ।

योगी नरहरी नाथको आश्र्रममा ताला त गुठी संस्थानले नै लगाएको हो नि हैन र ?
हो, योगी नरहरिनाथ २०५९ साल फागुन १३ गतेका दिन ब्रम्हलीन भएपछि १५ गतेका दिन गएर योगी नरहरिनाथको ४५ दिनको कार्य सम्पन्न गरेपछि फिर्ता गरिदिने भनेर गुठी संस्थानले योगी नरहरिनाथ आश्रममा ताल्चा लगाएको हो । गुठी संस्थान ऐन अनुसार उसले ताल्चा लगाउन सक्दैनथ्यो । गुठी संस्थान ऐन, २०३३ ले नै गुठी संस्थानले के के गर्न सक्दछ भन्ने स्पष्ट व्यवस्था गरेको छ । कसैको व्यक्तिगत सम्पत्ति सर्वस्वहरण गर्नका लागि पनि त कुनै अदालती आदेश हुनैपथ्र्यो, आप्mनो क्षेत्राधिकार नहुँदा नहुँदै पनि गुठी संस्थानद्वारा ताल्चा लगाइएको थियो । योगी नरहरिनाथ सम्मानीत अदालतबाट दोषि ठहर भई उनको व्यक्तिगत सम्पत्ति सर्वस्वहरण गर्ने दोष लागेका ब्यक्ति होइनन् । नेपालका राष्ट्रगुरु हुन् । सारा संसारले योगीलाई आदरणीय गुरु मानेको छ । गुठी संस्थानले गर्नै नहुने काम गरेको हो त्यस बेला । गुठी संस्थानको यो कार्यले नेपालको विशिष्ठतालाई कलंकित तुल्याएको हो । कसको निर्देशनमा भयो थाहा हुन सकेन ।

४५ दिनपछि गुठी संस्थानले ताल्चा खोलेर सामग्री नदिएपछि जनताले नै त्यो ताल्चा फोडेर सामग्री संरक्षण गर्नतिर लाग्नुपथ्र्यो । राजाको प्रत्यक्ष शासनकाल भएको समय, सबै डराए । कसैले केही बोल्ने हिम्मत गरेनन् । नेपालमा ठूला ठूला क्रान्ति सम्पन्न भए तर यति जाबो हिम्मत कसैले देखाउन सकेन । फलस्वरूप सारा सम्पत्ति नोक्सान हुन गयो ।

गुठी संस्थानले ताला मारेर चुपचाप बसेपछि तपाइहरु पनि मुखदर्शक मात्र भएर किन बस्नुभयो त ? यसको समाधान किन खोजिएन ?
योगी नरहरिनाथका तमाम अनुयायी, साधुसन्त, महन्त, योगी नरहरिनाथका आधिकारिक उत्तराधिकारीहरूले ताल्चा खोलेर सामग्री फिर्ता गर्नका लागि पटक पटक गुठी संस्थान धाउनुभयो । गुठी संस्थानले ताल्चा खोलिदिएन । सामग्री फिर्ता नगर्ने हो भने गुठी संस्थानले नै संरक्षण गरिदिनुप¥यो भन्ने कुरा गर्नुभयो । तै पनि गुठी संस्थानले न आफूले संरक्षण गरिदियो न आधिकारिक उत्तराधिकारीहरूलाई नै संरक्षण गर्न दियो । संरक्षण त के गथ्र्यो र ? न संरक्षण गर्ने उसको काम हो, न गुठी संस्थानसँग कागजात संरक्षण गर्ने जनशक्ति हुन्छ । २०७२ बैशाखमा दुईवटा ठूला ठूला भूकम्प आए, योगी नरहरिनाथ आश्रम झन् जीर्ण भयो । तै पनि गुठी संस्थानले न सामग्री फिर्ता दियो न आफैले गरिदियो । करिब तीन ट्रक सडेका सामग्री पुस्तकालयको माथिल्लो तलामा राखिएको छ, हेर्न सकिन्छ । सरकारी निकायहरू यतिसम्म गैर जिम्मेवार हुन सक्दछन् भन्ने कल्पना पनि गर्न सकिँदैन ।

गुठी संस्थानले लगाएको ताला फोड्नु भयो भन्ने कुरा छ नि, के हो वास्तविकता ?
कट्टु खोलेर मिल्क्याइसकेपछि लाज भन्ने कुरा के नै बाँकी रहन्छ र ? २०७२ चैत्र १५ गते दिउँसो करिब ४ बजेतिर काठमाडौँमा ठूलो हावाहुरी आएको कुरा सबैलाई थाहा नै छ । नभए मौसम विज्ञान विभाग भन्ने पनि छ क्यारे एउटा निकाय, त्यसले राखेको होला हावाहुरी आएको रेकर्ड । त्यो हावाहुरीले योगी नरहरिनाथ आश्रमको टिनको छाना उडाइदियो । माथिबाट पानी पर्नेजस्तो भयो । यस्तो अवस्थामा पाशुपतक्षेत्रभित्र रहेको गुठी अड्डाले हेर्नु पर्दैन, हावाहुरीले कहाँ कहाँ के के नोक्सान ग¥यो भनेर ? हो, ताल्चा फोडेर सामग्री बचाउनु हाम्रो कर्तव्य थियो, राष्ट्रको सम्पत्ति थियो, गुठी संस्थानजस्तो गैरजिम्मेवार बनेर राष्ट्रिय सम्पत्ति नोक्सान भइरहेको हेर्न सकिदैन थियो । बचाएका कारणले न बनेको छ अहिले योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय । अध्ययन अनुसन्धानको बाटो खुलेको छ । यदी यो अपराध हो भने १३ वर्ष १ महिनासम्म गुठी संस्थानले ताल्चा लगाएर सामग्री सडाइदिएको कार्यलाई बहादुरी मानिदिनु पर्ने हो त ? ताल्चा फोडेर राष्ट्रिय सम्पत्ति बचाए वापत जे सजाय भोग्न पनि तयार छौँ ।

२०७२ चैत्र १६ गते नै प्रधानमन्त्री, संस्कृतिमन्त्री, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, गुठी संस्थान, पशुपतिक्षेत्र विकास कोष लगायतका सबै कार्यालयहरूमा मृगस्थलीको घटना विवरण र सहयोगको याचना गरी पत्र पठाइएको थियो । त्यसपछि पनि पटक पटक गुठी संस्थानलाई लिखित नै खबर गरिएको छ । सबै चिठ्ठीपत्रहरूलाई रद्दिको टोकरीमा फाल्ने अनि खबर गरेन भन्ने ? ताल्चा फोडेर लगेका हुन् भन्ने ? सबै पत्रहरूको कार्यालयप्रति हामीसँग सुरक्षित रहेका छन् । आफूले केही नगर्ने, दोष जति काम गर्नेको थाप्लोमा बिसाइदिने ?

गुठी संस्थान र परिषद्बीचको आरोपप्रत्यारोपले योगी जीको सम्पत्तिको त झन् कन्तबिजोग हुने भयो त ?
हाम्रो तर्फबाट भन्दा पनि बढी गुठी संस्थानको सोच सकारात्मक रहनु पर्दछ । गुठी संस्थान ऐन, २०३३ ले मलाई यो यो अधिकारमात्र दिएको छ, योगी नरहरिनाथको व्यक्तिगत सम्पत्ति कब्जा गर्न पाउने अधिकार दिएको छैन, कागजात संरक्षण गर्ने काम हाम्रो होइन, हामीसँग इतिहासविद् पुरातत्वविद्, भाषाविद्, साहित्यकर्मी हुँदैनन्, योगीका सामग्री हामीले राष्ट्रका लागि सदुपयोग गराउन सक्दैनौँ भन्ने स्वीकार गर्न आवश्यक छ । योगी नरहरिनाथको व्यक्तिगत सम्पत्ति गुठी सम्पत्ति होइन । १३ वर्ष १ महिनासम्म ताल्चा लगाएर फिर्ता नगरेका कारण थुप्रै सामग्री सखाप भए । यसको जिम्मेवारी उहाँहरुले लिनु पर्दछ । त्यसको क्षतिपूर्ति उहाँहरुले तिर्नु पर्दछ । योगी नरहरिनाथका सामग्री बचाउन कसैले सहयोग गर्न चाहन्छ भने बीचमा खुट्टा तेस्र्याउन छोड्नु पर्दछ । त्यसपछि मात्र गुठी संस्थानसँग सम्बन्ध सुमधुर भएर जाला । योगी नरहरिनाथ जीवित रहँदा पनि गुठी संस्थानले अनेक बहानामा उहाँलाई पनि दुःख दिएको प्रमाणहरु पाइएका छन् । समय आएपछि प्रकाशन गरिने छन् । उहाँहरुले योगी नरहरिनाथको सम्पत्ति हाम्रो हो र जे गरे पनि हामीले नै गर्ने हो भन्न नछोडेसम्म छातिमा गोली थाप्न तयार छौँ गुठी संस्थानलाई त कुनै हालतमा पनि दिन्नौ भन्न हामी पनि बाध्य छौँ । पुरातत्व विभाग वा राष्ट्रि अभिलेखालय वा सरकारका अन्य निकायहरु विधिसम्मत तरिकाले राष्ट्रको सम्पत्ति लिन आएमा कानूनको पालना गर्न हामी पनि पछि पर्ने छैनौँ ।

यहाँ पनि राजनीति घुस्यो कि क्या हो ?
पक्कै हो नी । योगी नरहरिनाथको सम्पत्ति बचाएर काँग्रेसको भोट बढ्दैन, एमाले, माओवादी, खाओवादी कसैको भोट बढ्दैन । न भोट बढ्छ यीनलाई न नोट बढ्छ । सुन्नुभएको छ ? महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपालकै घृणित राजनीतिले आर्यघाट पु¥याइदियो, ऐतिहासिक शिरोमणि बाबुराम आचार्यको त्यस्तै गति भयो । अलिकति क्षेत्रीय कुरा पनि देखिन्छ योगीजीको सवालमा । योगी नरहरिनाथ पूर्वतिर जन्मिएको भए अहिलेसम्म राष्ट्रिय विभूति घोषित भइसक्थे वा के के भइसक्थ्यो, कर्णाली कालीकोटेको छोरो भएका कारण अपहेलित भए । विदेशी सन्तमहन्त र साधु स्वामी सन्यासी आउँदा नेपालको सम्पूर्ण राज्यशक्ति उनको चरणमा घोप्टिन्छ, राष्ट्रकै महान योगी नरहरिनाथका सामग्रीहरू आफूनै देशमा सडाइदिएको छ सरकारले । कुरा गर्दा पनि लाज लाग्दछ ।

ढिलै भएपनि योगी जीका बचेखुचेका सामाग्रीहरुको संरक्षणमा जुटिरहनु भएको छ, भन्न मन लागेको केही छ ?
राष्ट्रियता रहेन भने राष्ट्रको गरिमा जीवित रहँदैन, धानको पलाँटोजस्तो हुन्छ । धानको पँलाटो न उम्रिन्छ न त्यसमा चामल हुन्छ । तर बाहिरबाट हेर्दा धानजस्तै हुन्छ । ठीक त्यस्तै राष्ट्रियताविनाको राष्ट्र पनि हुन पुग्दछ । अहिले त्यही त भइरहेको छ, कुरा राष्ट्रियताकै गर्ने अनि सिमा पारी गएर आफूनै देशतिर ढुंगा हान्ने, यो कसरी राष्ट्रियता भयो त ? यही राष्ट्रियताको मूल जरो बुझ्नका लागि राष्ट्रको मौलिक पहिचान सम्बन्धी अध्ययन सामग्रीहरू पढ्नु प¥यो । यही सामग्री स्वाहा पारिदियो भने के होला हाम्रो गति ? त्यसकारण एकपटक मृगस्थलीस्थित योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय पुगेर ती सामग्रीहरू यदी राष्ट्रका लागि उपयोगी छन् भने संरक्षण संवद्र्धनमा सहयोग गर्नुहुन सम्पूर्ण सचेत नागरिकहरू एवम् सञ्चारक्षेत्र सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।

 

र यो पनि

अधिकारक्षेत्र सबैले बुझौँ

आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नुपर्छ

Tags :
प्रतिक्रिया दिनुहोस