दर्जी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दर्जी


७ फाल्गुन २०७३, शनिबार


पसलको अगाडि बसेर,
सानो मेशीन लिएर
ठूलो परिवार पाल्न बाध्य,
आधा पेट खाएरै भए पनि
यी हातहरूले कैँची र सियो छाडेका छैनन् ।
मलाई मेरो दशवटा पेटको चिन्ता छ ।
फाटेको दौरा सुरुवाल, फाटेको ढाकाको टोपी
लगाएरै भएपनि,
देशको स्वाभिमान बचाईरहेकै छु ।
मैले गाँसेका सुन्दर दौरासुरुवाल कोटहरू
सिंहदरबार भित्र मोज गर्दै हिंड्छन ।
मन्त्रीहरूका कुर्सी थाम्छन ।
पाँचतारे होटेलहरूमा नाच्न थाल्छन ।

तर,
तर, मेरो भाग्य
मैले सिहदरबार,
मन्तरी क्वाटर,
पाँचतारे होटेलको अनुहारसम्म
देख्न सकिन ।
मेरा हातका भाग्यमानी कला,
चिल्ला गाडी भित्र बस्ने भाग्यमानी कोटहरू ।
सधै मेरो आँशुलाई कुल्चि हाँसिरहे ।
मैले सिलाएका स्कुले पोशाकले
कतिलाई डक्टर बनायो ।
कति ईन्जिनियर भए ।
कति पाइलट भई आकाशमा उडे ।

तर,
तर, मेरो छोराको भाग्य,
उसले स्कुल परिसरमा,
पाईला टेक्नसम्म पाएन ।
कोट, दौरासुरवाल बाट बचेका
नौरंगी टुक्राको सर्ट पाईन्ट लाउँदै
गोठालो गीत गाउँदै
गाई चराउन तिर लाग्यो ।
शिक्षाका गीत गाउने शिक्षालयहरू
उसको भबिष्यलाई कुल्चि नाचिरहे ।
मेरी श्रीमतीले तुरपाई गरेका
सुरुवाल कुर्ता ब्लाउजहरू
मैसाबका दराजमा सजिएर बस्छन ।
ठुला–ठुला पार्टीहरूमा मीठो खाँदै
रमाउन थाल्छन ।

तर,
तर उसको भाग्य
उसले प्यास लाग्दा,
मैसाबको धारो सम्म छुन पाईन ।
त्यो प्यासी अनुहार लिई आफ्नै आँशु झारी
प्यास मेटाई छ ।
मैसाबका धाराहरू उसको प्यासलाई
जिस्काई बाँचिरहे ।
म भने त्यही सानो मेशीन लिएर बाउको बिंडो थामिरहे ।
फाटेको दौरासुवाल ढाँकाको टोपी सिउरीरहे ।
परिवर्तन भएन जीवन कहिल्यै ।
अडिरह्यो सियोको टुप्पोमा सधै,
सधै सियोले मेरा हातहरू घोचिरह्यो ।
म दर्जी पसलको अगाडि बसिरहे ।

प्रतिक्रिया दिनुहोस