‘जीवनको भेद’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘जीवनको भेद’


प्रशासन विशेष ब्युरो

२ पुस २०७३, शनिबार


पुस माघको ठिहीमा तप्प चुहिनै लागेको काठमाडौं
विद्युतीय पाटपूर्जामा जस्तो थुपारिएको संरचनाभित्र
चारकुने बाक्सामा तानाबाना बुन्दै घोत्लिरहेछ मनुवा
एउटा झ्यालको प्वालबाट संसार चियाउन खोज्दैछ
तर पल्लो घरको भित्तोबाहेक आकाशसम्म देख्न सक्दैन ।। २

जब घडीचरो प्रकृतमय धुनमा पहिलो डाको फलाक्छ
झटपट ब्यूँझेर दैनिकीमा अग्रसर हुने जीवन हो गाउँले
सखारै नयन ओच्छ्याउँदै रवी टिल्पिलाउँदा
एक मेलो निमिट्यान्न पारिसक्ने कर्मयोगीको बाहूल्य
दिन ढलेपछि चटपटाउँछ शहरिया, भित्तोबाहेक केही देख्दैन ।। २

आहत र विषमताको दनदनाउँदो रापसँग पौंठेजोरी खेल्दैछ
अभाव र परिस्थितिका फिलुंगो छुटाउने चड्कन झेल्दैछ
जीवन भोगाई ठीक उल्टो छ, तर दुवैतिर निरस छ
उसका लागि परिश्रम अनि सत्कर्म नै गोरस छ
छक्कालमा हाइ काढछ खान्दानी, भित्तोबाहेक संसार देख्दैन ।। २

लेकबेंसी, उकाली ओरालीमय दिनचर्या बाध्यता छ त्यता
फलामको साहरामा मसल तन्काउँने कस्तो रहर यता
दुई खुट्टाले संसार भ्याउँदैछ, अनुपम प्राकृतिक छटा चियाउँदैछ
ख्यार्रख्यार्र दुई पांग्रेको वैशाखीमा यता जीवन घिच्याउँदैछ
झूठ र भ्रमको खेतीमा दगुर्छ तर भित्तोबाहेक केही देख्दैन ।। २

पसिनाको आहालमा जीवन चोबल्दा चोबल्दा सँधै निथ्रुक्क हुने ऊ
छितिजसम्म नित्य नजर फिँजाएर जीव प्रेमकै ध्वनि सुनिरहन्छ
यता अन्धकार कोठामा खुराफात र तानाबाना बुनिरहन्छ
सास फेर्न नबिर्सिन उसैको पसिनाडल्लोबनाएर निल्छ
अन्धताको पट्टी बाँधेको यो कालो कर्तुत गर्नेसँगै मिल्छ
दलालीको मति लिएर पनि भित्तोबाहेक केही देख्दैन ।। २

ऊ मातृभूमिको ऋण चुकाउन संघर्षको पहाड चढदैछ
यो मातृभूमिकै शिर झुकाउन दासतामा अघि बढ्दैछ
ऊ खेतबारीमा फूलेको लहलहाउँदो बाली टिप्न थैलो थाप्छ
लुब्ध चरित्रको यो मोजमस्तीका लागि पनि भिख माग्छ
छोड्नुर्ने संसार पनि नचिन्ने यो भित्तोबाहेक केही देख्दैन ।। २

कलकल अमृत लिन जलभण्डारमा जब उता भेटिन्छ
कलंकको ओस चाटेरै यता काकाकुलीन प्यास मेटिन्छ
धन, दौलत, दासतामा टिक्नुछ, उस्तै छ मनस्थिति दरिद्र
दाज्न योग्य छँदै छैन वनावटी र वास्तविक चरित्र
पैसासँग पर्यायवाची यो भित्तोबाहेक केही देख्दैन ।। २

रगत जम्ने कक्रके ठण्डीमा गति छोडेर निर्बस्त्र हुनसक्ने यो
इमानको तोक्माले सँधै नैतिकताको भारी अड्याउन सक्ने त्यो
वशन्तको बल्दो तापमानमा नि अरुको दु:खको भुंग्रो ताप्ने यो
अरुको बेदना र पिंडाको जाडोले आफू लुगलुगी काप्ने त्यो
ऊ जीवन चिन्दछ, यो किन्दछ तर भित्तोबाहेक केही देख्दैन ।। २

उसका लागि यो लम्फू छ, यसका लागि उ पाखे छ
उसको निष्कलंक मन छ, यसको लुब्धताको च्याँखे छ
यो पागलजस्तै छ, सुधार्नु छ, अत्यन्तै गतिछाडा छ
मेलमिलाप संभव नहुने जस्तो विभेदको अजङ्ग डाँडा छ
उताको त्यसैलाई संसार देख्छ, यो भित्तोबाहेक केही देख्दैन ।। २

व्यवहारिक पठनशालामा समस्याका अनेक पोकापुन्तरा फुकाउँदै
एक दिन जानुछ सम्झेर कर्तव्य र उपकारमै मूल्य ज्यादा चुकाउँदै
एउटा सृष्टि चलाउने शक्ति र संसार देख्छ, अर्कोको धुमिल छ मन
बोझ थामिदिने मातृभूमि उनै हुन् तर कति फरक छ जीवन ?
ऊ सदा विश्वबन्धुत्व सम्झन्छ तर यो भित्तोबाहेक केही देख्दैन ।। २
……………………………………भित्तोबाहेक केही देख्दैन ।। २

Tags :
प्रतिक्रिया दिनुहोस