गजल धर्मपत्नी हो, कविता प्रेमीका ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गजल धर्मपत्नी हो, कविता प्रेमीका !


प्रशासन विशेष ब्युरो

१८ मंसिर २०७३, शनिबार


तीसको दशकमा व्याप्त पंचायतको एकदलीय दवदवा र अरु भन्दा भिन्नै धारमा हिड्ने रहरले उतिबेला हास्य र ठट्टाको पात्र बनेका उनै ज्ञानुवाकर पौडेल आज समकालिन नेपाली साहित्यमा गजल सम्राटका रुपमा परिचित छन् । अक्सर मान्छे अरुले बनाएकै गोरेटो र राजमार्गमा यात्री बन्न सहज ठान्छन, तर ज्ञानुवाकर त्यसको अपवाद रहे । आफैं केही नयाँ प्रयोग गर्दै जाने उनको रहरले एकातिर नेपाली साहित्य आकाशमा गजल युगको विस्तार गर्यो भने उनको शान, मान र स्वाभिमान उच्च बनायो । आफैमा नामै काफी छ उनको यो गजल विधाको विस्तार लगाउन । ज्ञानुवाकर पौडेल भन्नासाथ गजल र गजल भन्नासाथ पौडेल जोडिने यो पर्याय संयोगका विविध आयाममा एस राज उपाध्यायले गरेको समसामयिक कुराकानी ।

के हो गजल ?
गजल शास्त्रीय विधा हो । शास्त्रीय विधा भन्ने वित्तिकै यसका नियम, उपनियम, संरचनालाई पनि मान्नुपर्ने हुन्छ । जसरी घर बनाउनलाई जग, पिल्लर मात्रै हैन, घर भित्रको डेकोरेसन कस्तो छ भनेर हेरिन्छ, त्यस्तै गजलभित्र पनि भन्नु पर्ने कुराहरु कसरी दियो ? विचारको सम्प्रेषणताको ताकत देखायो कि देखाएन ? त्यो हेरिन्छ । व्यक्तिको मेकअप उसले लगाएको टाइसुट मात्रले उ कस्तो भनेर भन्न सकिदैन, उसको चरित्र, उसको मिजास, उसको स्वभाव त्यो गजलमा हेरिन्छ, कवितामा हेरिदैन । जस्तो प्रेमिकासंग जति स्वतन्त्र रुपमा हिड्न सक्छौं धर्मपत्निसंग त्यसरी हिँडिदैन । त्यस्तै गजल भनेको धर्मपत्नी जस्तो हो, कविता भनेको प्रेमीका जस्तो हो । धर्मपत्नी भनेको अनुशासन, नियममा बाँधिएको हुन्छ, प्रेमिका त्यति अनुशासनमा बाँधिएको हुँदैन । त्यसैले गजललाई मैले यसरी परिभाषा गर्ने गरेको छु ।

कसरी जन्मिन्छ गजल ?
जीबनका भोगाईका क्रममा हामीले थाहै नपाईकन आफुभित्र अन्तरसम्बाद चलिरहेको हुन्छ र त्यो उकुसमुकुस बाहिर आउन खोजिरहेको हुन्छ । जसलाई कसैले गजलको माध्यमबाट अभिव्यक्त गर्छन्, कसैले कथा, कसैले कविता, कसैले निबन्धको माध्यमबाट लेख्छन् । मेरो सन्दर्भमा भन्नुपर्दा मनमा छड्कीरहेका अनुभुतिलाई अनुप्रास र अन्त्यानुप्रासको नियममा बाधिएर नियन्त्रित स्वतन्त्रताभित्र रहेर (त्यो भनेको के हो त भन्दा छन्द जस्तो कडा पाउवन्दी छैन गजलमा तर अनुप्रासमा बाँधिनुपर्ने चाहिँ छ ।) व्यक्त गर्ने अभिव्यक्तिको छोटो माध्यम बन्छ गजल ।

1

कुनै पनि विधा योजना बनाएर लेखिंदैन । यद्यपि हरेक विधाको मुहान हाम्रो अनुभूति हो । त्यसका लागि मुड चाहिन्छ । मुड छ वातावरण मिल्दैन । वातावरण छ जाँगर चल्दैन । जाँगर छ मुड छैन । यी तीनवटा कुराहरु मिल्नु पर्छ । यी तीनवटा कुराहरुको तालमेल भयो भने अथवा मुडलाई नियन्त्रण गर्ने क्षमता छ, प्रतिभाशाली कविमा छ भने जुनसुकै बेलामा पनि उ लेख्छ, हैन भने विशेष परिस्थितिको दबाबले लेखाउँछ । कहिले मर्मान्तक पीडाले लेखाउँछ, कहिले प्रेमको विभलताले लेखाउँछ, घरको दयनीय अवस्थाले पनि लेखाउँछ, कसैको प्रेरणाले पनि हुनसक्छ । यही र यस्तै कारणले कविता जन्मिन्छ भनेर अहिलेसम्म विश्वमा कसैले पनि ठोकुवा गरेर भन्न सकेको छैन । गजल पनि त्यस्तै अनुभुतिको शसक्त अभिव्यक्ति हो ।

अनि के होइन गजल ?
हरेक दुई दुई पंक्तिको युग्मपंक्ति, जसलाई उर्दुमा शेर भनिन्छ । दुई पंक्तिमा आफ्नो समग्र अनुभूति खन्याउने सामथ्र्य गजलमा मात्रै छ । त्यै भएर अहिले गजल लोकप्रिय भएको हो । जहाँसम्म के होइन गजल भन्ने यहाँको प्रश्न छ, अहिलेको आधुनिक सन्दर्भमा भन्नुपर्दा यो अश्लिलता होइन, यो गतिछाडा लेखन होइन ।

नेपालमा गजलको लेखनी कहिले देखि कसरी शुरु भयो ?
यसको उत्पत्ति अरबबाट भएको भए पनि यसको विकास फारसी साहित्यबाट भयो । मुगलकालिन भारतबाट यो चरम उत्कर्षमा पुग्यो । माध्यामिक कालमा देखा परेका मोतिराम भट्टले बनारसमा छँदा त्यतिबेला प्रचलनमा रहेको श्रृंगारिक र भक्तिपरक गजल लेखिएको थियो । तापनि पहिलो जनआन्दोलन २०३६ को आन्दोलनपछि सुधारिएको पञ्चायत भनेर जब राजनीतिमा खुकुलोपना देखा पर्यो, त्यसमा अलिकति भए पनि हामीले वाक स्वतन्त्रता पायौं । त्यसपछि भने आधुनिक नेपाली गजलले गति लियो । दिनेश अधिकारी, बिमल निभा, बिमल कोइराला, विष्णुविभु घिमिरे, जुन हाम्रा समकालिन कविहरु, जसले बोधगम्य शैलीमा गहन कुरा बुझिने भाषामा भन्ने गर्न थाले । त्यो भन्दा पहिले त मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, इश्वर वल्लभ जस्ताका कविताहरु हाडेओखर जस्ता हुन्थे । त्यो धाराबाट अलग रहेर हाम्रो जेनेरेसनका कविहरुले जुन शैलीमा, जुन विचार कवितामा दिए, त्यो शैलीमा हामीले गजल किन नभन्ने भनेर आधुनिक गजल जसलाई गजलको नव जागरणकाल भनिन्छ ।

अहिले आएर श्रृंगारिक धाराको गजल चलेको छ । अब आएर समसामयिक चेतना बोधका कुराहरु, आम जनताले भोग्नु परेका समसामयिक समस्याहरु, दुःखपीडाका कुराहरु, उनीहरुका सरोकार, राजनीतिक विषमताले उत्पन्न गराएको बिसंगति बोधलाई अभिव्यक्ति गर्ने शसक्त र सजिलो माध्यम अहिले गजल भएको छ ।

सबैले तपाईलाई गजल सम्राट भन्छन् तर तपाई मलाई सम्राट नभन्नुहोस् भनेर भन्ने गर्नुभा’छ किन ? सम्राटको उपाधिमा किन असन्तोष ?
पञ्चायत कालमा पञ्चायत बिरोधीहरुलाई अराष्ट्रिय तत्व भने जस्तै कविहरुलाइ कवि भन्यो भने जिस्क्याए जस्तो लाग्थ्यो । त्यस्तै अहिले पनि सम्राट, शिरोमणी, मालि जस्ता कुरा गर्दाखेरी मलाई जिस्क्याएको जस्तो लाग्छ । किनभने हाम्रो योगदान त बाँकी नै छ । हाम्रा अग्रजले जति धेरै गरेका थिए, त्यति हामीले गर्न नसकेको बोध भइरहेको बेलामा यी उपाधिहरु गौण हुन । जस्तो भन्नुहोस् मोतिराम भट्टले जति ३० वर्षमा गरे हामीले ६० वर्षमा त्यो गर्न सकेका छैनौ । लक्ष्मीप्रसाद देवकोटा, वालकृष्ण सम, लेखनाथ सम्झिदा त उनीहरुले गरेको १५ प्रतिशत पनि गर्न नसकिरहेको बेलामा यो सम्राट भन्ने पद हामीलाई जिस्क्याएजस्तो लाग्छ । कसैलाई चाहिन्छ भने आफैले ओढे हुन्छ ।

म अहिले विदेशी साहित्य पढिरहेको छु । विदेशी साहित्य पढ्दा मलाई ग्लानी हुन्छ । मेरो उमेर, मेरो सामथ्र्य, मेरो प्रतिभा औलाबाट जसरी पानी बालुवामा चुहिँदा खेर गईरहेको छ, नेपाली साहित्यमा केही गर्न सकेको रहेनछु भन्ने बोध भइरहेको बेला यस्तो पद हामीले ओढ्ने होइन । मिसनबादी भावना भएको हुनाले यस्तो पद मलाइ ठिक लाग्दैन ।

३० सालदेखि लेखनी शुरु गरेर ३५ सालदेखि गजलमा सक्रिय हुनुभएको रहेछ, गजलमा यहाँको प्रवेश कसरी भयो ?
पुख्र्यौली घर काभ्रे भए पनि तराइमा मेरो गाउँ, कैलाली । म जन्मेको त्यही । जाडो महिनामा उता बस्ने गर्मिमा यता बस्ने । त्यो बेलामा पृथ्बी राजमार्ग थिएन । ओहोर दोहोर गर्न भारत भएर जानुपथ्र्यो । गाउँमा व्रतबन्ध, विवाहहरुमा भारतबाट बाईहरु झिकाएर नचाउने, गाउन लगाउने, कवाली सुन्ने, गजल सुन्ने प्रचलन कैलालीमा थियो । जाँदा आउँदा रेल वे स्टेशनमा गजलका कितावहरु हुन्थे, हामी किनेर पढ्थ्यौं । पत्रिकाहरुमा पनि गजल छापिएका हुन्थे । दृश्यन्त कुमार, बलवीर सिँह, सूर्य भानु गुप्त, शमशेर बहादुर सिँह जस्ले गजलमा उर्दु गजल भन्दा ठीक विपरीत हिन्दीमा पनि सामाजिक सरोकारका विषयमा आधारित जगल लेख्न थाले । मलाई के लाग्यो भने काठमाडौमा पनि मेरो प्रतिद्धन्दी कविहरु, विष्णुविभुु घिमिरे ,जो अहिले उपकुलपति छन्, मेरो समकक्षी उसैले भन्छ मेरो पालमा ज्ञानु एक्लै थियो । गजल लेख्ने भनेर उसैले भन्दै हिड्छ । दिनेश अधिकारी, विनय रावल, विमल निभा, कृष्ण भुसाल, ईश्वर वल्लभ, मञ्जुल जस्ता शसक्त कविका अगाडि कवितामा त मलाई टिक्न गाहे हुन्छ । त्यसैले यिनीहरु भन्दा फरक ढंगले मैले लेख्नु पर्यो । फरक शैली समात्नु पर्यो । फरक विधा समात्नु पर्यो । तर यिनीहरुलाई छोड्नु भएन, यिनिहरु संगसंगै हिड्नु पर्यो, यिनिहरुकै मञ्च मैले प्रयोग गर्नु पर्यो भनेर म लागिरहे । त्यो बेलामा म एक्लो थिए गजल लेख्ने । मलाई उनीहरुले टुक्रे कवि भनेर जिस्क्याउथे । चार हरफको मुक्तक । १० हरफको गजल । हेप्थे । मलाई सपोर्ट थियो दयाराम श्रेष्ठको । डा. बासुदेब त्रिपाठीको सपोर्ट थियो । कमलमणीको सपोर्ट थियो । भन्थे लेख्नुहोस् नयाँ सोच, नयाँ ट्रेन, एउटा पोयट्रिक फ्लेभर गजलमा पनि छ ।

unnamed

पञ्चायत कालमा राजनीतिक बिसंगतिको बारेमा लेख्यो भने बयान दिन जानुपथ्र्यो, त्यो अर्कै पाटो छ । त्यतिबेला हामीलाई फाइदा के भने पञ्चायतले समात्ला र अञ्चलाधिश कहाँ बयान दिन जानुपर्ला भनेर हामीले जुन कुुरा घुुमाएर भन्थ्यौं, त्यो कला पाठकलाई मन पर्यो । बयानबाट बच्नको लागि जुन हामीले बिम्व प्रयोग गर्यौं, प्रतिक प्रयोग गर्यौं त्यो अहिलेकोले सक्दैन्न, अहिले त प्रजातन्त्र आएको छ, लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । जे पनि भन्न पाइन्छ भनेर ठाडो लेखिदिन थालेपछि कला छैन अहिले ।

अहिले तीनवटा कुरा निकै फष्टाएको छ । एउटा डकुमेन्ट्री, अर्को क्रिकेट र तेस्रो गजल । काँचुली फेरेको छ अहिले । पब्लिकले रुचाएको भनेको यी तिनवटा कुरा हुन् । यी तीनवटा क्षेत्रले यस्तो विकास गर्यो कि जुन बेला मैले गजल सुरु गरेको थिए, यस्तो पनि परिणाम आउला भनेर मैले सोचेको थिएन, यद्यपि सुधारको खाँचो जरुरी छ ।

हरेक क्षेत्रमा देखिएका विकृति बिसंगति जस्तै गजलका क्षेत्रमा पनि अवरोध कहाँनेर देख्नुहुन्छ ?
पहिलेदेखि नै हरेक क्षेत्रमा छन् । मलाई याद छ देवकोटाको कविता अन्तिम पटक सुन्दा जतिबेला म १२ वर्षको थिए । यही विद्याश्रममा । त्यो बेला वेद बिध्याश्रम थिएन । हामीले साइकल सिक्ने ठाउँ थियो । शिवरात्रीमा आउने मधेशीहरुको आश्रयस्थल थियो । पहिले पहिले त मधेशीहरु शिवरात्रीमा मात्रै आउथे । त्यो ठाउँमा वासुशशीले ल हिँड कविता सुन्न जाँउ भनेर मलाई लिएर गए । उनी मेरो छिमेकी थिए कवि वासु शशी । उसकै भाईले यो पागल मेरो दाई हो भनेर भन्थे । सबैले होच्याउथे । तर होच्याउनेहरु आज कहाँ छन् , देवकोटा कहाँ छन् । सोमनाथ सिंग्देलले लेखनाथ पौडेललाई कहिल्यै पनि कवि मानेन, किनभने छन्द बिगार्यो, छन्दमा खुकुलोपना ल्यायो, छन्दमा अराजकता ल्यायो भनेर आरोप लगायो । सोमनाथ सिग्देल कहाँ छ आज लेखनाथ कहाँ छन् ? भवानी भिक्षुले, भरतराज पन्तले भूपीलाई राम्रो कवि नै मानेनन् । उ आयो छन्द भनेर जिस्क्याउथे । मलाई पनि कवि गोष्ठीमा बोलाउथे तर मलाई गजल पढ्न दिन्थेनन् । निम्तामा गजल लिएर आउनु भन्थे तर पढ्न दिन्नथे । मलाई निरुत्साहित गर्नका लागि । उनिहरुले गजलको जुन लोकप्रियता देखे । मधुपर्क, गोरखापत्रमा जुन पाठक पत्र आउन थाले उनीहरु झस्के । मनोवैज्ञानिक त्रास पैदा भयो उनीहरुमा । तर म निरन्तर लागि रहे । मैले यो गजल लेखेर हैन, मेरो मिसनका कारणले मलाई पाठकले मन पराएको हो । एक्लो सिपाही भएर अगाडि बढेँ । म संग लेख्न शुरु गर्ने धेरै थिए तर नयाँ पुस्तासम्म आएर हस्तान्तरण गर्न सके ।

वालकृष्ण समले के सिकाएका छन भने पुरानो अग्रलाई ब्याकअप गर्नुस् नयाँलाई पो्रमोट गर्नुस्, त्यहाँ तिम्रो भविष्य छ । इन्द्र बहादुर राईले मलाई के भन्नुहुन्थ्यो भने अरुलाई नपछ्याउ, अरुलाई पछ्यायो भने अरुले छोडेको पदचापमा हिड्यौं भने तिमी कहीं पुग्न सक्दैनौं, नयाँ बाटो बनाउ । मैले त्यही गरेको हुँ, वर्षौसम्म बाँझो रहेको गजललाई भिमनिधि तिवारीपछि नयाँ प्रविधि मार्फत योगदान गरेको हुँ । गजलको खास योगदान त मोतिरामलाई नै जान्छ, मैले त अलि अलि कला मात्रै भरेको हुँ ।

हिजोको त्यो विषम् परिस्थितिबाट आजको यो अवस्थासम्म आइपुग्दा कस्तो लागिरहेको छ ?
म रोमाञ्चित हुन्छु । सिनेमामा पनि भिलेन भएन भने हिरोको रोल नै चम्किदैन । खाने कुरामा पनि टन्न मिठाई खाइरहेको बेलामा ओहो यो त गुलियो मात्रै भयो अलिअलि चटनी नुनिलो कुरा खाउँ न भन्छौ नि हामी । त्यस्तै हरेक कालखण्डमा हरेक कालमा प्रतिकुल परिस्थिति खडा गरिदिने पात्रहरु हुन्थे । दुर्योधन नभई दिएको भए महाभारत पुरा हुन्थ्यो ? साहित्यिक क्षेत्रमा पनि अवरोध पैदा भएन भने लेखक भित्रको चूनौति स्वीकार गर्ने क्षमता विकास हुँदैन । तपाई भन्नुहोस् न ब्यारेकमा परेड खेल्ने सबै सिपाही त कमाण्डर हुन सक्दैन नि ! धेरै चरासंग पखेटा हुन्छ तर सबै चरा उड्न सक्दैनन् । कुखुरा उडेको देख्नु भएको छ ? फुटबलको ग्राउण्डमा खेलाडी त धेरै हुन्छन् । तर, क्याप्टेन त्यही हुन्छ जोसंग क्षमता छ । त्यस्तै साहित्यमा पनि प्रतिकुलताबाट जो अगाडि बढ्छ उ अगाडि बढ्छ । सजिलो माहोल भयो भने त सबै सजिलै सबै भइहाल्थे नि । लेखनमा प्रतिकुल अवस्था भएर नै लेखकलाई चम्किन सजिलो भएको छ, कालो फ्रेममा सेता तस्विर खुल्छन ।

नेपाली गजलको अवस्था कहाँ छ अहिले ?
सुस्त गतिमा राम्रोसंग अगाडि बढीरहेको र उत्साहजनक अवस्थामा छ । तर सन्तुष्ट हुने आधार अहिले पनि छैन, किनभने धेरै कविहरु व्यग्रताको शिकार छन् । तुरुन्त लेख्नु पर्ने, तुरुन्त छापिनु पर्ने तुरुन्त त्यसको प्रतिक्रया खोज्ने । त्यो प्रवृत्तिले गर्दा दु्रत गतिमा अगाडि बढ्न सकेको छैन ।

विश्व साहित्यमा नेपाली साहित्यको स्थान कहाँनेर पाउनु हुन्छ ?
अन्तरलाई नै केलाउने हो भने खोजीको विषय हुन सक्छ । म विश्व साहित्य पढ्ने भएकोले मलाई के लाग्छ भने रुसी साहित्य, फ्रेन्च साहित्य, मपासा, बालजाग, भिक्टरयुग पढ्दा मलाई के लाग्छ भने नेपाली साहित्यकारमा प्रतिभाको कमी छैन । तर त्यो प्रतिभा बाहिर ल्याउनलाई त्यो सामथ्र्यमा अपेक्षित उत्साह नभएको हो । नेपाली साहित्यमा के प्रवृत्ति देखिन्छ भने उनीहरु भित्रको कुरा वाहिर ल्याउन खोज्छन् । हामी नेपालीमा चाहिँ कसले के भन्यो, कसले के बोल्यो त्यसलाई नोट गर्ने अनि उधारो विचारमा अगाडि बढ्ने । प्रतिभा भित्रबाट वाहिर आउन खोज्छ हामी चाहि बाहिरबाट भित्र खाद्ने । नेपालीमा यो एउटा विसंगति छ । बुद्ध किन बुद्ध कहलिए त भन्दा भित्रबाट आत्मबोध भयो ।

unnamed-4

आत्मबोधी हुनुपर्ने ठाउँमा दुनियाँभरको विचार मात्रै थुपारेका कारण आफ्नो मौलिकता गुमाएका छौं । मैले कसैको कवितामा भारतीय तन्द्रकान्तिय देउतालेको गन्ध पाउँछु, कसैको कवितामा मंगलेस डवरालको पाउँछु, कसैको कवितामा म गिरीराज शर्मा अग्रवालको शैली भेट्टाउँछु, कसैको कवितामा अनिरुद्र सिन्हको स्वर भेट्टाउँछु, किन त यस्तो ? वैचारिक तस्करी भयो कि । मलाई त्यस्तै लागिरहेको छ । त्यसो भएकाले मैले कविता नलेखेर गजलमा हात हालेर धेरै वेश गरेको छु जस्तो लाग्छ ।

नेपाली साहित्यको कुरा गर्दा गजलमय देखिन्छ, यसभित्र स्तरीय गजल कतिको भेट्टाउनु हुन्छ ?
कति त मेरो हातमा नपरेको पनि हुन सक्छन । तर जति पर्छन्, म हरेक गजल पाएसम्म चासो दिएर हेर्छु । नाम र लेख्नेबाट पनि किन यो चिप्लियो कहाँनेर चिप्लियो भन्ने विश्लेषण गर्छु । राम्रो लेख्नेले पनि म भन्दा राम्रो कसरी लेख्यो भनेर म आत्मविश्लेषण गर्ने मेरो बानी भएकोले मेरो बुझाइमा उत्कृष्ट गजल ४ प्रतिशत मात्रै छन् । राम्रो गजल १५ प्रतिशत मात्र छन् । बाँकीका औषत स्तरका मात्रै छन् । हाम्रोमा चाहिने भन्दा बढी बुझक्कड छन् । उर्दु हिन्दीका नाम लिने तर त्यो अनुसार आफुलाई नसच्याउने ? कसैले लयका वकालत गरिरहेका छन्, कसैले छन्दको वकालत गरिरहेका छन्, कसैले बिचारको वकालत गरेका छन् । तर यो भन्दा पृथकमा किन जान नसक्ने ? कति त निम्न स्तरको पनि छन् ।

कसरी स्तरीय गजल कसरी लेख्ने अर्थात स्तरीय गजलका लागि के हुन जरुरी छ सर्जकमा ?
पहिलो शर्त भनेको को कति अनुभव सम्पन्न छ, अनुभवसंगै उसले के दिने भित्रबाट ? बैंकमा तपाइको मुल धन छैन भने कहाँबाट ब्याज आउँछ ? पहिले त उसले जीवनलाई, समाजलाई, देशको भूगोल, इतिहास, संस्कृति, परम्परा, रितिरिवाज, विश्व घटनाक्रमलाई कति बुझेको छ ? त्यो अध्ययन र अनुभवको पुँजी आफुसंग नभईकन उसले के खन्याउने ? नबुझिकनै मान्छे लेख्न हतारिएका छन् त्यसले गर्दा नै धेरै कवि कमजोर भएका छन् ।

गजललाई रुचाउने पढ्नेको संख्या बढ्दै गएको छ तर के त्यस अनुसार विस्तार हुन सकेको छ ?
त्यो उनीहरुको भोक हो । बौद्धिक तिर्खा हो । तर उनीहरु निरास हुन्छ्न् कसैकसैबाट । एउटा गजल राम्रो भयो अरु जगल नराम्रो सुनाई दिन्छन् ।

किन गजल आलोचित छ ?
जसरी महाकाब्यलाई उपन्यासले विस्थापित गर्यो । त्यसैगरी मुक्तक र गजलको भेल आइरह्यो भने त कविता त कता कता विस्थापित हुने हो कि भन्ने मनोबैज्ञानिक सन्त्रास छ । कविले पनि सोच्नु पर्यो चौतर्फी आलोचित भइरहँदा गजलकारले पनि सोच्नु पर्यो । हल्का रुपले लेख्नु भएन ।

साहित्यलाई समाजको ऐना पनि भनिन्छ, के साच्चिकै त्यस्तै हो ?
त्यो पुरानो कुरा भयो । मनको प्रतिविम्ब हो साहित्य । साहित्य समाजको ऐना कुन अर्थमा हुन सक्छ भने ल है तिम्रो समाज यस्तो भन्यो भनेर देखाई दिनुभयो । फ्रान्समा एउटा विश्व प्रसिद्ध कलाकार थियो पिकासो । उनी क्लासमा पढ्न जाँदा रंगीचंगी परेवा बनाउथे । आम जनताको नजरमा जुन चराको दृश्य देखिन्थ्यो, त्यसको ठीक उल्टो उसले पेन्टिङ गथ्र्यो, रातो, निलो, पहेलो, हरियो, मल्टिकलरको । अनि गुरुले भन्थे –यस्तो पनि परेवा हुन्छ, यसले त तिमी फेल खान्छौ । तिमी यहाँबाट पास भएर जान सक्दैनौ । मैले त यस्तो परेवा कहिल्यै देखेको थिइन । उसले कडा जवाफ दियो । अनि पिकसोको जवाफ हुन्थ्यो –तपाईले यस्तो देख्नुभएको थिएन त देखाउनलाई मैले यो बनाएको । लेखकको काम त्यही हो । ल है तिम्रो आँखाले, सामान्य नजरले जुन चिज देखिरहेका छैन, यो मैले देखेँ भनेर देखाउने हो ।

समाज परिवर्तनका लागि साहित्यको भूमिका कस्तो रहन्छ ?
धेरै प्रभावशाली भूमिका हुनुपथ्र्यो । तर अहिले वहुत कम छ । विजय मल्ल गोठाले, दौलतसिँह विष्ट जस्ता साहित्यकारको जुन साहित्य थियो, त्यो तृप्ति अहिलेको साहित्यमा नपाउँदा हामी पुरानै साहित्य दोहोर्याएर पढ्न बाध्य भएका छौं । त्यो बेलामा उनीहरुले जुन चिज दिए त्यो परिस्थिति अनुकुल दिए । अहिलेको परिवर्तित समय तपाईले महसुस गरिरहनु भएको छ नि । मोबाइलकै उदाहरण दिँउ न । यो पाँच वर्षको अवधिमा कति धेरै परिवर्तन भेटाउनु भएको छ प्रविधिको । हेर्नुहोस् त कस्तो मोबाइल कस्तो आइसक्यो । परिवर्तनको स्पिड लेखकले समात्न सकेन । सुपरफाष्ट ट्रेनको गतिमा परिवर्तन भइरहेको छ, हाम्रो लेखक एकदम स्लो गतिमा अगाडि बढीरहेको छ । त्यो बेलाको लेखकले इमान्दारितापूर्वक त्यो स्पिड समात्न सकेको थियो ।

गति लिन नसक्नुको कारण ?
पुरानालाई जे कुरा पनि पहिलेकै राम्रो लाग्ने । जे कुरा पनि पुरानै राम्रो । भन्नुस् न अहिले त सद्दे पाइन्ट पनि १० ठाउँमा प्वाल पारेर लाउनु पर्ने ? हामी त्यो बेलामा त कहिँ प्वाल परेको देखियो भने पनि सिलाएर लाउथ्यौं । यो जुन खाले अराजक भनौं या एग्रेसिभनेस भनौं, जुन देखिन्छ । हाम्रो पालामा त प्रेम प्रस्ताव गर्न ऐना हेरेर ६ महिना रिहल्सन गर्नुपथ्र्यो । पर्खालको इट्टा झिकेर इट्टाले छोपेर चिठी राखिन्थ्यो, केटी झ्यालबाट हेरिरहेको हुन्थ्यो । त्यो चिठी समेत दुई तीन दिनपछि हेर्ने मौका पाउथ्यो । अहिले त ह्याप्पी भ्यालेन्टाइन डे भन्यो एउटा फुल दियो, एक वर्ष पछि त वाल दिवसै मनाइन्छ त्यस्तो फाष्ट !

unnamed-2

गम्भिर क्लासिकल साहित्य लेख्नुपर्ने औलाहरु इन्टरनेटमा घटिया घटिया कमेन्टमा प्रतिभा चुहिरहेका छन् । ५ वटा ज ले नेपाल बिग्रेको छ । हाम्रो जल, हाम्रो जमिन, हाम्रो जंगल, हाम्रो जडिबुटी र हाम्रो जवानी । सब निर्यात भइरहेका छन् खाडी मुलुकमा, मलेसिया, कतार, दुवई । के छ हामीसंग अहिले ? अर्धबन्धक अवस्थामा छौं हामी । हाम्रै नेपालबाट रामदेवले जडिबुटी लान्छ, त्यसको २० गुणा बढी पैसा लिएर हामीलाई नै बेच्छ । यो कटु यथार्थतिर किन श्र्रष्टाहरुको ध्यान गएन ?

साच्चिकै, यि विषयमा किन कलम चल्दैन स्रष्टाहरुको ?
दुर्भाग्य । हाम्रा पुर्खाहरुले हामीलाई संस्कार सिकाएर गएनन् । एउटा कुरा मान्न पर्छ हामीले भारतमा अंग्रेजले शासन गर्दा संस्कार सिकाएर गयो । तर देश त्याहाँ पनि गुण्डागर्दी, हत्या हिँसा हुन्छ तर ट्रयाकमा हिडेको छ, मर्यादित छ । खाली पैसा सिकाएर गयो । के हुन्छ साहित्य पढेर, कम्प्यूटर साइन्स पढ, पैसा आउँछ, तलब आउछ भनेर पढ्न पनि पैसा आउने विषय पढ्नु भनेर गए । चरित्र बनाउने, अनुशासित बनाउने कुरा सिकाएनन् ।

महफिल हुन थालेको छ यसलाई कसरी लिनुहुन्छ ?
दुइ वटा भइरहेका छन् । एउटा पुरानो सनत कुमार वस्ती, डा. कृष्णजंग राणाको । तर त्यहाँ छानिएका व्यक्तिहरु हुन्छन् । सुन्ने पनि छानिएका । सुनाउने पनि छानिएका । अर्को नयाँ जेनेरेसनको । बाबु त्रिपाठी लगायत साहित्य परिवार, मेडिकल कलेजको परिवार डा. निरज भट्टराइ, बाबु त्रिपाठी, डा. सुधा शाही, डा. टीकाराम भण्डारी, डा. जयराज शर्मा लगायतको टीमले गजलको काँचुली नै फेरेका छन् । यिनीहरुलाई मान्छु मैले । यिनीहरुलाई मैले प्रमोट गरेको हुँ । यिनीहरुले मलाई गड फादर मान्छन् । चिया पसलमा हरेक दिन छलफल गर्छौ । गजल कस्तो थियो ? कता गइरहेछ ? कता लैजानु पर्छ भन्ने विषयमा छलफल गर्छौ । दुइटै महफिलले गजललाइ उठाउन धेरै योगदान दिएको छ ।

साहित्यको यो बिशाल सागरमा जगललाई कुन स्थानमा राखिएको छ ?
आँधिबेहरी आएको बेलामा डुंगाको स्थिति कस्तो हुन्छ ? यो स्थिति मैले पाएको छु । तपाइले अघि नै जुन विश्व साहित्यको कुरा गर्नु भएको थियो त्यसको कुरा गर्नुहुन्छ भने एउटा महंगो दामी कार्पेट यतातिर ओछ्याइरहेको छ अर्कोतिर नेपालमा बनेको कार्पेट हामीले झुक्किएर उल्टो ओछ्याइ दियो भने त्यो सुल्टो कार्पेटको अगाडि उल्टो कार्पेटको स्थिति कस्तो हुन्छ धेरै भूमिका नबाधि प्रष्ट तस्विर राखि दिएको ।

यहाँले लेख्नु भएको पहिलो गजल ?
अभिव्यक्ति भन्ने पत्रिकामा ३५ सालमा । जानेपछि लेखौला भनेर बस्यो भने कहिले पनि लेखिदैन । जानेपछि त सच्याउने हो । आफुलाई सुधार्ने हो ।

गजलको संस्थागत विकासको लागि मरिमेटेको मान्छे । सबैभन्दा चर्चा पाएको पहिलो गजल ?
५/६ वटा छन् त्यसमध्ये पुरानोमा यो गजलले निकै चर्चा पाएको थियो ।

तरवारको धारमा हिड्नुपर्छ यहाँ हरदम के लाग्छ ?
पचाउन थालेपछि मानिसले लाज शरम के लाग्छ ?
जुग भो हाँस्न बिर्सेको मैले सपना देख्न पनि छाडेको,
आँखामा छ आँसु मनमा पीर हरदम के लाग्छ ?
पचाउन थालेपछि मानिसले लाज शरम के लाग्छ ?

म त चकित खाए त्यो बेलामा । कहाँ त्यो माया प्रितिको छड्के नजर ? कर्के नजर ? हेर मेरी सानु भनेर गजल आइररहेको बेलामा मीन बहादुर विष्ट, गगन विरही, दिनेश अधिकारीको प्रतिस्पर्धामा विचारको ओज बोकेको कविता ल्याएपछि त मान्छे छक्क परेछन् त्यो बेलामा ।

कुन सन्दर्भलाइ लिएर यो रचना गर्नुभएको थियो ?
पञ्चायतकाल थियो । मान्छे उत्पिडीत थिए । उकुसमुकुस थियो मान्छेमा । त्यही उकुसमुकुसलाई बाहिर ल्याएको थिए मैले ।

पछिल्लो अवधिको चर्चित ?
अहिले सस्तो भनेको कवि । दिनमा ५/६ वटा कार्यक्रम हुन थालेका छन् । सबैलाई पहिचान चाहिएको छ ।

कायम आफ्नो पहिचान राख्नु, जारी तिम्रो उडान राख्नु
कायम आफ्नो पहिचान राख्नु, जारी तिम्रो उडान राख्नु

नभेटिएला कोही तिमीलाई चिन्ने
नभेटिएला कोही तिमीलाई चिन्ने किनेर ऐना बडेमान राख्नु,

ओड्न छाडे दुःखमा सिरक मिठो सधै मुस्कान राख्नु,
ओड्न छाडे दुःखमा सिरक मिठो सधै मुस्कान राख्नु,
कायम आफ्नो पहिचान राख्नु

कात्रोमा गोजी हुँदैन हेर
कात्रोमा गोजी हुँदैन हेर, विक्रिमा किन इमान राख्नु
विक्रिमा किन इमान राख्नु
कायम आफ्नु पहिचान राख्नु

बोल्न जाने जिब्रोमा अमृत नजाने विष ज्ञान राख्नु
बोल्न जाने जिब्रोमा अमृत नजाने विष ज्ञान राख्नु
कायम आफ्नु पहिचान राख्नु ।

मन्दिर होस् गाउँ वाहिरै
बिडम्बना हेर्नुहोस् त ! मन्दिर चाहिने सुनसान ठाउँमा हुनुपर्छ । मसानघाट बिच बाटोमा हुनुपथ्र्यो । मान्छेलाई थाहा हुनुपथ्र्यो । मेरो अस्तित्व के हो, मेरो गन्तव्य के हो ? म कहाँ जाने हो ? तर मसानघाट चाहिने टाढा हुन्छ, मन्दिर चाहिने हल्लाखल्ला हुने ठाउँमा हुन्छ, जहाँ चाहि हाम्रो साधना नै हुन पाउँदैन, ध्यान हुन पाउदैन ।

मन्दिर होस् गाउँ वाहिरै वस्ती भित्र चिहान राख्नु
कायम आफ्नु पहिचान राख्नु
जारी तिम्रो उडान राख्नु ।

यहाँको लेखनमा कुन क्षेत्रमा बढी प्रहार हुन्छ ?
सामाजिक विसंगति । अलिअलि राजनीतिलाई पनि छुन्छु । धेरै छन् । फुर्सदमा आउनु भयो भने सुनाउँला ।

थुप्रै खाले विसंगति र विकृति छन् हाम्रो समाजमा, ती मध्ये ?
त्यो बेलामा एउटा निरो थियो । रोम जलिरहँदा बासुरी बजाउने । लखनउमा नवाव वाजिद अलि शाह, अंग्रेजले आक्रमण गर्दा जुत्ता लगाइ दिने मान्छे नभएर भाग्न पाएन । कस्तो विलासि जीबन । तर अहिले त्यस्ता निरोहरु, नवावहरु सयौं भए, त्यो पीडा पब्लिकलाई छ । कहिले सुखसंग बाँच्न पाए ? न पञ्चायत कालमा, न संक्रमणकालमा, न आन्दोलन कालमा न अहिले । तपाइ जगजाहेर नै हुनुहुन्छ ।

तपाईको पुस्ताका केही गजलकारको बारेमा भन्नुपर्दा ?
मनु ब्रजाकी । म भन्दा धेरै अग्रज कथाकार । अहिले पनि हाम्रो सम्बन्ध दाजुभाइको जस्तो छ । गजललाई अघि बढाउन गुण राणाको पनि योगदान छ ।

कसरी बाँच्छ साहित्य ?
आत्म सम्बल । कवि पनि आत्म सम्बलले बाँच्छ । साहित्य पनि कविको आत्म सम्बलले नै बाच्छ । लेखक आफुलाई स्वतन्त्र सत्ता ठान्छ । त्यही भएर धेरैले घमण्डी भन्छन् । जो यथार्थमा साहित्य हो जसले साहित्यलाई गम्भिरतापूर्वक लिएको छ, गम्भिरतापूर्वक लेखेको छ उसले स्वयं आफुलाई सत्ता ठान्छ र राज्यसत्तालाई कहिल्यै पनि मान्दैनन् । र, त्यस्ताले लेखेको साहित्य जेन्यून साहित्य हुन्छ । यस्तो साहित्यको अहिले खाँचो पनि छ । विस्तारै आउन पनि थालेको छ जस्तो लागेको छ मलाई ।

unnamed-1

साहित्य क्षेत्रको विकासका लागि राज्यले के गरिदिनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
भन्नलाई त राज्यले साहित्यकारलाई राज्यको गहना हुन् भन्छ । दिवसहरुमा दिवंगत अग्रजका शालिकमा माला लगाउँछ । मुखले त्यसो भने पनि व्यवहारमा त्यो देखिदैन । जसले गर्दा साहित्यकारको चित्त दुखेको छ । सुजाता कोइरालाको उपचारका लागि ५० लाख दिन सक्नेले साहित्यकार गगन विरही र मदनमणी दीक्षितको कलेजो पुरै ड्यामेज भएको छ, उसलाई दुइ लाख दिन नसक्ने ? कुनै नेता बिरामी हुँदा करोडौं दिने साहित्यकारलाइ नदिने यो चाहि चिन्तनीय कुरा हो ।

अन्तमा, भन्न मन लागेको केही कुरा ?
अरु मुलुकमा साहित्यकारलाई एउटा प्रतिष्ठाको आँखाले जुन हेरिन्छ, त्यो यहाँ छैन । हाम्रोमा यहाँ के छ भने यो बौद्धिक प्राणी हो, यो कविता लेख्छ, यसको चर्चा हुन्छ, हामीले केही गरेनौं उनीहरुलाई हीनताबोध हुन्छ आम पब्लिकलाई, त्यो हिनताबोधबाट मुक्त हुनुपर्यो । या त उनिहरु पनि साहित्यमा आउनुपर्यो । या त हाम्रो साहित्य समाजले पढि दिनुपर्यो र आफुलाई सुसुचित तुल्याउनु पर्यो । त्यो नभएसम्म समाज सुध्रिने अवस्था छैन । जसरी हामी साबुनले शरीरको मैल सफा गर्छौ मनको मैल सफा गर्ने कुनै सावुन छ भने त्यो साहित्य नै हो, यो कुरा समाजले बुझ्नुपर्यो मलाई भन्न मन लागेको कुरा यही हो ।

Tags :
प्रतिक्रिया दिनुहोस