‘अपथ’
मलाई तिमीदेखि घृणा लाग्छ
जब तिमी गरिबीको कथा बेचेर,
गरिबको गाँस निल्न खोज्छौ ।
तिमी मानवताको मर्म बेचेर
दानवतामा मिल्न खोज्छौ ।
मलाई तिमीदेखि लाज लाग्छ
तिमी वैंशको घमण्ड बेचेर,
दुनियाँ आफ्नो बनाउन खोज्छौ ।
तिमी पैसाको बिटो समाएर
आफैं डुङडुङ्ती गनाउन खोज्छौ ।
मलाई तिमी देखेरै बिरक्त लाग्छ
जनताको मुहार फेर्नकै खातिर,
तमाम सुशासन चलाउने भन्छौ ।
माकुरी जालोमा झिंगा झैं फनफनिएर
भ्रष्टाचार र कुशासनको डल्लो बन्छौ ।
मलाई तिमी देख्दा त्यसै बिचरो लाग्छ
तिमी समाजसेवाको मजेत्रो ओढेर,
दिनदुःखीको जाडो छल्न खोज्छौ ।
स्वार्थले मजेत्रो उडाउँछ, उजाडिन्छौ,
जब आर्जनको आगोले जल्न खोज्छौ ।
मलार्इ तिमी घाँटी घाँटीसम्म आउँछौं
किनकि तिमी कलंकको धुलो चाटेर,
आत्मा ढाँटेर, अरूको खैरो खन्न हौसिन्छौ ।
सके ढाँडैमा चढेर, नत्र एक कदम अघि बढेर
बाँकीलार्इ नड्ग्याउन अनि खँगार्न रौसिन्छौ
मलार्इ तिमी असाध्यै जाली लाग्छ
जब इमान जमान कौडीमा जाकटी राखी,
खुराफाती तमसुकमा बेइमानीको ल्याप्चे ठोक्छौ ।
यति गिर्छौ तिमी, पैतालो मुनि नै छिर्छौ तिमी,
नैतिकताको तोक्मै भाँचिने दुष्कर्मको भारी बोक्छौ ।
मलाई तिमीदेखि दया लाग्छ
तिमी सबै दाउपेचहरू छिरलेर,
नतिजा आफ्नै पक्षमा ल्याउँछु भन्छौ ।
झूठका पुलिन्दाहरू पर्दाफाँस भएपछि,
हारेको अनुभूतिसँगै निर्लज्ज बन्छौ ।
मलाई झनै उदेक त्यतिखेर लाग्छ
जब तिमी मूर्दाघरमा बडो मार्मिक बन्छौ ।
करुणार्द्र बनी यमद्धार ढकढक्याउँछौं,
फर्किँदा याचक भेट्छौ बगली टक्टक्याउँछौं ।
तिमी विवेकशील र सर्वश्रेष्ठ हौ रे !
विद्धान अनि चमत्कारी छौ रे !
उदेक छ स्वयंलार्इ कसरी चिन्दैनौ ?
धरतीको उपशालामा अभ्यागत हौ त,
सन्मार्गमा किन हिन्दैनौ ?
आखिर तिमी झारिखण्डे होउ ?
या मनोरोगी होउ;
वा चरित्रमा ढोंगी होउ;
मनोववाद गर;
सक्छौ नझर,
सक्दैनौ तर ।।