सुदूरको सम्पन्नता र विपन्नता मुलधारमा आएकै छैन, नेपाली साहित्यका लागि त्यो अझै पनि भर्जिन छ « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुदूरको सम्पन्नता र विपन्नता मुलधारमा आएकै छैन, नेपाली साहित्यका लागि त्यो अझै पनि भर्जिन छ


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७३, शनिबार


ढुंगाको काँप फोरेर पनि उम्रन्छ पिपल, सृजना शक्ति हुदैन कहिल्यै विफल । कवि शिरोमणी लेखनाथ पौड्यालका यिनै शव्द नै काफी छन् सर्जक रामलाल जोशीको परिचयका लागि । सुदूरमा सूर्य पनि अस्ताउन मात्रै जान्छन् भन्नेहरुलाई सुदूरबाटै सूर्य उदाउछ है भन्ने गतिलो उदाहरण पनि हुन् रामलाल जोशी । जस्तो नाम उस्तै काम गरेका छन् रामलालले अनि उनी नेपाली साहित्य भण्डारमा सुदूरबाट उदाएका नविन प्रतिभा सावित भैसकेका छन् । रामायणका रामले सत्यको लडाई लडे, सुदूरका रामललाले सुदूरको विशाल ईतिहास, परिवेश र यथार्थलाई राजधानी हुँदै विश्वसम्म जोडेका छन् । रामलालको अक्षरमा सुदूर बोलेको छ, सुदूरको जीवन, संस्कृति र सभ्यता घाम जत्तिकै चहकिलो भएको छ, त्यो असली नेपाली ऐना नै सावित भएको छ । कठिन भूगोलका किल्ला वा राजधानीको सुख सुविधाबाट बन्चित वा ओझेल परेकै भरमा अब सर्जकहरु आम पाठकको न्यायबाट टाढा हुनु पर्दैन भन्ने उदाहरण पनि हुन् रामलाल । रामलालको लेखनी, उनको कृत्ति र समसामयिक विषयमा प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले लामो भलाकुसारी गरेका छन् । प्रश्तुत छ, सुदूरबाट उदाएका कलमवाज रामलालको असली रामकहानी उनकै शब्दमा :

मोफसलमा बसेर मदन पुरस्कार नै हात पार्न सफल ऐनामा खासमा के चाहि छ ?
राजधानीको पहुँच सर्कलभन्दा बाहिर रहेर आफ्नो साधना(कर्म) गर्ने क्रममा मैले जुन समाज देखेँ । त्यो धेरै हिसावले अध्याँरोमा छ, ओझेलमा छ, पीडामा छ । त्यही समाजका विविधखाले पात्रहरुको जिन्दगीलाई खासगरी बिडम्बनालाई ऐना मार्फत बाहिर ल्याएको छु । ऐनमा समेटिएका १९ वटा कथाहरुमा तराइको थारु समुदायदेखि पहाडको पहाडी समुदायका विविध खाले विवशताहरु उठान गरेको छु ।

के कारणले यो ऐना साच्चिकै ऐना हो, सुदूरको ? नेपाली साहित्य जगतको ?
साहित्य समाजको ऐना हो । समाज झल्किएन, समाजका पात्रहरु बोलेनन् र यथार्थ जीवन देखिएन भने त्यो साहित्यले पाठकको मन छुदैन । समग्रमा भन्नुपर्दा साहित्य भन्नु नै समाजको प्रतिविम्ब हो, ऐना हो । जुन समाज मैले देखे, भोगे र प्रत्यक्ष साक्षात्कार गरिरहेको छु । ती समाजका विविधखाले पात्रहरुलाई प्रतिविम्वित गर्न खोजेर समाजको चित्रण गर्न खोजेको हो । यो सुदूर पश्चिमको सेरोफेरोमा लेखिएको भएपनि त्यससंग मिल्दा धेरै समाजहरु छन् । अरु धेरै पात्रहरु छन् । त्यसैले त्यो समाजलाई प्रतिविम्बित गर्ने एउटा ऐनाका रुपमा रहेको छ ।

डोटीको जन्म, धनगढीको बसाई, ऐनाको सृजना अनि मदन पुरस्कारको जित । यो सबै सम्भव तुल्याउदाका भित्री संघर्ष कथाहरु पाठकलाई शेयर गरिदिनुहोस न ।
वाल्यकाल डोटीमा वित्यो । वुवाले म छ वर्षको हुँदा छोडेर जानुभयो । ५ कक्षामा पढ्दाखेरी उहाँको बाकसमा रहेका कितावहरु पल्टाउने क्रममा एउटा डायरी फेला पर्यो । त्यसमा एउटा कविता रहेछ विध्याकी रानी भन्ने । त्यो पढीसकेपछि जानि नजानी गुनगुनाउने, त्यसैको जस्तै नक्कल गरेर लेख्न थालेर अन्जानमै साहित्यमा प्रवेश गरेको रहेछु ।

कक्षा ५ मै पढ्दा विध्यालयस्तरीय कविता प्रतियोगीतामा प्रथम भए । २० रुपैयाँ पुरस्कार पाएँ । त्यो ४४/४५ सालतिरको कुरा हो । सानोमा लहलहैमा लागियो पछि जान्ने भएपछि आत्मसन्तुष्टिका लागि लेख्न थालियो । गजल, गीतहरु लेख्न थालियो । कविता मार्फत, गजल मार्फत आफ्ना भावना मात्र व्यक्त हुन्छन् । तर समग्र समाजलाई यस मार्फत देखाउन नसकिएपछि एक किसिमको छटपटी भयो । सिँगो समाजलाई देखाउन कथा लेखेको हुँ । यो लेख्दाखेरी सम्मान, प्रतिष्ठा, पुरस्कारको अपेक्षा थिएन र आशा पनि थिएन । तर एउटा कुरा के चाहि थियो भने सुदूर पश्चिमको परिवेश, पात्रहरुको विवशता र विशेषगरी त्यहाँको आन्तरिक जनजीवन साहित्यको मुल धारमा आएको पनि थिएन । यद्यपि त्यहाँका साहित्यकारले पुरस्कार पनि पाएका छन् । राष्ट्रिय रुपमा स्थापित पनि छन् । तर त्यहीका साहित्यलाई लिएर मुलधारको साहित्यमा आएको थिएन । त्यस अर्थमा यसले प्रवेश पाइदिए हुन्थ्यो भन्ने थियो ।

कर्णालीपारीका पाठकले मन पराउने हुन् कि हैनन् भन्ने द्विविधा पनि यदाकदा थियो । प्रकाशनको क्रममा राम्रो प्रशासक नपाउँदा केही झमेला भयो । अन्ततः आफ्नै लगानीमा पहिलो र दोस्रो संस्करण छापें । जव पाठकहरुको हातमा, संचार जगतको नजरमा यो पुग्यो, त्यसपछि मैले पश्चिममा बसेर लेखेको, त्यहाँको भाषा, संस्कृतिलाई पश्चिमभन्दा अझ ठूलो आत्मियता पूर्वका पाठकबाट पाईयो । यो किसिमको अदभुत प्रेमलाई मैले सुदूर पश्चिमलाई नै माया गरेको अनुभुति गरे । अन्ततः पद्मश्री पुरस्कारले ५ वटामा ऐना पर्यो । मदन पुरस्कारले ७ वटा कृतिहरुमध्ये ऐनालाई पनि छान्यो । त्यसपछि के रहेछ भनेर धेरैलाई हेर्न बाध्य भए । उनीहरुले पढि सकेपछि धेरै मन पराए । सबैभन्दा ठूलो पाठकको मायाले नै मलाई ठूलो हौसला थपेको छ ।

स्तरीय कृति जन्मिन्छन् भने राजधानीले मोफसललाई पनि उपेक्षा नगर्ने रहेछ भन्ने शसक्त उदाहरण हो नी ऐनालाई मदन पुरस्कार, हैन त ? कस्तो ठान्नुहुन्छ, के ऐनाले फेरि जोड्यो नी सुदूर र राजधानीलाई नयाँ आयाममा ?
यहाँले भनेको सही हो । सुदूर-पश्चिम मात्रै हैन, देशका अन्य कुना कन्दरामा रहेका समूदायको विवशता र पीडा पनि हो । समाचारसम्म पुग्दैनन्, ठूला सम्मान, पुरस्कारबाट टाढा हुन्छन् । मुलधारको साहित्य सर्कलबाट पनि टाढा हुन्छन् । पहिलो कुरा त मोफसलका स्रष्टाहरु मुलधारमा आउनका लागि निकै ठूलो संघर्ष हुन्छ । मुलधारमा आउनै नसकेपछि एक किसिमको हिनताबोध पनि हुन्छ । मलाई पनि त्यो थियो । तर पछिल्लो समयमा पाठकको माया, समीक्षा, पुरस्कार, साहित्यिक हस्ती तथा संचार जगतबाट जुन माया पाए त्यसले राजधानी र मोफलसललाई मात्रै जोडेको छैन कि मोफसलका स्रष्टामा हुने त्यो एक किसिमको हिनताबोधलाई मेटाएको छ । आफ्नै ठाउँमा, आफ्नै ठाउँमा जहाँ बसेर पनि प्रतिस्पर्धी रुपमा आउन सक्ने सृजना गर्यो भने त्यसले पुरस्कार पाउँछ, पाठकको आत्मियता पाउँछ, साहित्यको मुलधारले सम्मान गर्छ भन्ने सन्देश र प्रेरणा दिएको छ । त्यसकारण पनि यसले सुदूर र काठमाडौंलाई जोडेको छ भन्दा अत्युक्ति हुँदैन ।

मदन पुरस्कारपछि यहाँले के नयाँ कोशेली दिनुहुनेछ नेपाली साहित्य भण्डारका लागि अर्को उपहार ?
सुदूर पश्चिमका बाँकी पाटाहरुलाई खोतल्ने प्रयास गर्नेछु । त्यो आख्यान नै हुनेछ । कति समय लाग्छ एकिन भन्न नसकिए पनि पाठकहरुलाई धेरै प्रतिक्षा गराउने छैन ।

सुदूरको सुन्दर भूगोल, जीवन, संस्कृति होस वा सम्पदा श्रष्टाहरुको सृजना मार्फत अझै प्रचुर मात्रामा सार्वजनिक भैसक्या छैन भनिन्छ । के स्थिति त्यस्तै हो ?
सुदूरको सम्पन्नता र विपन्नता नेपाली साहित्यको मुलधारमा आएकै छैन । नेपाली साहित्यका लागि त्यो अझै पनि भर्जिन छ । लेख्ने विषयहरु प्रचुर छन् । नेपाली साहित्य पाठकहरुले चासोको साथ खोजिरहेका छन् । त्यो आउन बाँकी छ । ऐनालाई स्वागत हुनुका कारण पनि यही हो कि जस्तो मलाई लागेको छ । धेरै ठूला कुरा लेखिएर नभइकन नलेखेको समाजको कुरा बाहिर ल्याउने प्रयास भएर हो ।

हाम्रो समाज प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक लगायत धेरै हिसावले सम्पन्न छ । यति हुँदा हुँदै पनि हाम्रो समाजमा अझै कुरुपता छन् । केही बिडम्वना छन् । बैभव भएर पनि गरीब जस्तै देखिएका छौं । जुन आधुनिक समाज, सम्वृद्ध समाज हेर्ने पछिल्लो पुस्ताका लागि अभिषाप हो । परम्परागत सोच, शैलीलाई परिवर्तन गर्दै अघि बढ्न ढिलो भैसकेको छ ।

कुनै पनि कुराको असली स्वाद कुना कन्दरामा नै पाइन्छ । अलौकिता प्राप्तीका लागि कठिन यात्रा पार गर्ने पर्छ । र, मुल्य पनि बढी त्यसैको हुन्छ संसारमै हामीले त्यसलाई कहिलेसम्म चिनिसक्छौं होला ?
राज्यले कला, साहित्यलाई नै हेरेको छैन । तर यहाँले भनेजस्तो जुन सम्पदा छ । जस्तो उदाहरणको रुपमा खप्तडलाई लिऔं । जसलाई धर्तिको स्वर्ग पनि भनिन्छ । तर सुदूर पश्चिमकै मानिसहरु नै त्यहाँ जान सकिरहेका छैनन् ।

बाटोघाटो, खाने, वस्ने लगायतका असुविधाहरुका बारेमा राज्य वेखबर बनेको छ । खप्तड छ भनेर जति हामी गर्व गर्छौ त्यत्तिकै त्यसको विकास हुन नसकेको बिडम्बना हामीसंग छ । कोरा गर्वले केही दिन सक्दैन । साहित्यको क्षेत्रमा पनि नलेखिएका विषयहरु छन् । विविध कठिनाइका बाबजुत पनि मुलधारमा प्रवेश गर्दै गरेको अवस्थाले विस्तारै विस्तारै सुदूरको साहित्य बाहिर आउदै छ जस्तो लाग्छ ।

तपाई स्वयं पनि सुन्दर सुदूरको सुन्दर, प्रखर स्रष्टा । सुदूरलाई आफ्नो कलम मार्फत थप मुखरित गर्न के के गर्दै हुनुहुन्छ ?
संस्थागत रुपमा सुदूर पश्चिमाञ्चल साहित्य समाज छ । त्यसले सुदूर पश्चिमका धेरै स्रष्ठाहरुलाई आवद्ध गरेको छ । साझा चौतारी बनेको छ । आफ्नै भवन छ । हरेक वर्ष कृतिहरु प्रकाशन÷बिमोचन गर्छ । विभिन्न क्षेत्रका स्रष्टाको सम्मानका लागि भनेर ५ वटा पुरस्कार स्थापना गरेका छौं । त्यही ठाउँमा बसेर जुन ठाउँमा म पुगे अब त्यही क्षेत्रका स्रष्टालाई अगाडि बढाउन प्रयास गर्नेछु । प्रतिभालाई प्रोत्साहन गर्ने गरेको छु । लेखनदेखि प्रकाशनसम्म सहयोग गर्छु । मेरो सफलता तब हुने छ जब त्याहाँका अरु स्रष्टाहरु माथि उठ्नेछन् ।

राजधानीले खासगरी सरकारले सुदुरको भाषा, कला, साहित्य, संस्कृति वा सम्पदाहरुको बढोत्तरीका लागि थप के के गरिदिनुपर्छ ?
पहिलो कुरा स्रष्टाहरुलाई आधिकारीक रुपमा हेर्ने, बुझ्ने एउटा एकेमेडी स्थापना गर्नुपर्छ जुन पहिलेदेखि कै माग हो हाम्रो । राजधानीको दृष्टि सुदूर-पश्चिमसम्म पुग्न सकेको छैन । दोस्रो कुरा त्यहाँका स्रष्ट्राहरुको खोजी गरिनु पर्छ । त्यो राज्यस्तरबाटै पहल गरिनुपर्छ । तेस्रो भनेको सरकारी तवरबाट दिइने मान, सम्मान, पुरस्कारहरु त्यस क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएकाहरु जसले साहित्यको क्षेत्रमा जीबन विताएका छन् , उनीहरुसम्म पुग्नुपर्छ । प्रज्ञा प्रतिष्ठानको गठनमा पनि सुदूर-पश्चिमका स्रष्टाहरु हुनुपर्छ । अहिले प्रज्ञा प्रतिष्ठानमा सुदूर पश्चिमको एकजना पनि प्राज्ञ छैन । दुइ जना सभामा छन् जुन सभामा केही काम हुँदैन । परिषद्मा एक जना पनि राखेको छैन । क्षेत्रबाट प्रतिनिधित्व गर्ने एउटा पनि प्राज्ञ छैन भने कसरी साहित्यको विकास हुन सक्छ ? जुन सरकारीतवरबाट भएको अन्याय हो ।

राजनीतिमा २/४ जना मन्त्री भएपछि, पार्टी समेटिएपछि राजनीतिमा सम्मान भएको मानिन्छ । तर त्यतिले मात्र पुग्दैन । हरेक क्षेत्रमा प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनदेखि लिएर त्यस्ता विभिन्न निकायमा प्रतिनिधित्व हुनुपर्छ । यो चौथो कुरा र पाँचौ र एकदमै महत्वपूर्ण कुरा भनेका जुन त्याहाँको बैभवशाली छ त्यो संस्कृति लोप हुँदैछ । पुर्खाले मान्दै आएका संस्कार र संस्कृतिहरु जुन छन् ती मौलिक सम्पदाहरुको संग्रहालय आवश्यक छ ।

सरकार मातहतका थुप्रै निकायहरु छन्, एकेडेमी, साझा प्रकाशन जस्ता संस्थाहरु । तर, तिनीहरु किन सुदूरको साहित्यको श्रीवृद्धिका लागि समर्पित हुन नसकेका होलान् ?
पहिलो कुरा त हाम्रो प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरुको साहित्य, कला, संस्कृति जस्ता कुराहरुलाई मुल्याँकन गर्ने बौद्धिक क्षमता छैन जस्तो लाग्छ मलाई । उनीहरुलाई राजनीतिक स्वार्थ पुरा भएपछि पुग्छ । आफ्नो क्षेत्रमा काम गरिरहेका स्रष्टाहरुलाई माथि उठाउनु पर्छ भन्ने उनीहरुको भावना छैन । सबभन्दा ठूलो कमजोरी त्यही हो । यसो भएपछि राजनीतिक भागबण्डामा सुदूर पश्चिमको स्रष्टाहरु पछाडि छन् । किनभने चाकरी, चाप्लुसि गर्ने त्यहाँका स्रष्टाको चलन छैन । स्वाभिमानपूर्वक आफ्नो कर्ममा मात्रै लागिरहेका हुन्छन् । सरकार आफैले केही गर्ने हैन की त्यसमा प्रतिनिधित्व गर्ने नेताहरुको मुख्य दायित्व र जिम्मेवारी हो भन्ने मलाई लाग्छ । आफ्नो क्षेत्रका भाषा, साहित्य, कला बुझ्ने त स्थानीय नेता नै हुन् नि ।

सरकारी निकायहरु या त देखावटी वा झारा टार्ने औपचारिकताका रुपमा मात्रै किन सुदूरको साहित्यलाई माया गरे झैं गर्छन् ? यहाँको अनुभवले के भन्छ, के देख्छ ?
हरेक क्षेत्रमा देखिएको राजनीतिक भागबण्डा नै मुख्य कारण हो । भागवण्डामा पनि वरीपरि घुम्नेहरु नै नियुक्त हुन्छन् । र, उनीहरुले समान प्रतिनिधित्वको दायित्व नै सभ्झदैनन् । सबै क्षेत्रको भाषा, संस्कृति, कला, साहित्य नसमेटिएसम्म साहित्यको विकास हुन सक्दैन भन्ने कुरा बुझ्दैनन् । नियुक्ति पाएपछि भत्ता पचाउने काम मात्रै गरिरहेका हुन्छन् । सम्बन्धित क्षेत्रका विज्ञहरुको वास्तविक प्रतिनिधित्व नभएसम्म त्यो सम्भव छैन । राजधानीले मात्रै सबै अवसर पाउँछ । अझ भन्नुपर्दा राजधानीमा बस्नेले सुदूर-पश्चिमको वास्तविकता बुझ्दैनन् बुझे पनि काम गर्दैनन् ।

तपाईलाई अपवाद मान्ने हो भने सुदूरकै अन्य थुप्रै साहित्यिक प्रतिभाहरु अझै पनि ओझेलमा छन् । कसरी माथि उठाउने त उनीहरुलाई ?
पहिलो कुरा त स्रष्टा स्वयं चूनौतीको सामना गरेर अगाडि बढ्ने आँट गर्नुपर्छ । सधै मौफसलमा छौं, हामीलाई हेरिदैन, राज्यको विभेदमै छौं भनेर दुखेको पोखेर र रोइकराई गरेर मात्र अब हुँदैन । स्रष्टा स्वयं प्रतिष्पर्धामा उत्रन तयार हुनुपर्छ । सहानुभुतिले मात्रै हुँदैन लेखनले नै मान, सम्मान, पुरस्कार पाउने कुरा हो ।

दोस्रो कुरा हाम्रा मानिसहरु सत्ता, शक्ति र नीति निर्माण तहमा छैनन् भनेर नैराश्यताको भावना छ, त्यो तोडिनु पर्छ र अब्बल दर्जाको लेख छ भने भूगोलले, मोफलसले त्यो छेक्दैन भन्ने मानसिकता परिवर्तन त्याग्नु पर्छ । जुन कुरा मैले आफैले अनुभुत गरको छु ।

अबका दिनमा देश संघीयतामा पनि जादैछ । कसरी यसलाई मोफसलको साहित्य अभिवृद्धिमा उपयोग गर्न सकिएला ?
राजधानीमा बसेर राम्रो लेखिने, सुदूर-पश्चिम या सुदूर पूर्वमा बस्दा नराम्रो लेखिने हैन । यसर्थ साहित्य लेखिने कुरामा भूगोलको भेदभाव रहँदैन । तर अवसर, सुविधा, मान सम्मान, पुरस्कार तथा मुलधारमा आउने कुरामा भेदभाव हो भने त्यसलाई चिर्नुपर्छ । यो संघीयता भनेको पनि वास्तवमा त्यहाँको कला, संस्कृति, स्थानीय संस्कारका लागि बढी आवश्यक छ । विकास निर्माणमा जति भेदभाव छ, कला, संस्कृतिका क्षेत्रमा त्यो भन्दा धेरै भेदभाव छ । त्यसैले यदि संघियता आवश्यक छ भने त्यो कला, साहित्यका लागि पनि हो । अहिलेसम्मकै कुरा गर्ने हो भने सुदूर पश्चिमको कला, संस्कृति, भाषा, साहित्यमा योगदान पु¥याउने कति जना राज्यको मुलधारमा आए त ? कतिजना स्रष्टाहरु राष्ट्रिय बन्न सके त ? अहिलेसम्म हेर्ने हो भने एकदमै नगन्य छन् । आखिर लेख्नेहरु छन् त । त्यसैले उनीहरुको स्वाभिमान, उन्नति, प्रगति र विकासका लागि संघीयता आवश्यक छ ।

तर संघीयताले जुन समुदायमा द्वन्द्व देखा परेको छ, जुन अपेक्षा गरेभन्दा ठूलो सामाजिक सद्भाव, शान्ति, प्रेम गुमायौं भने पाउने भन्दा गुमाउनु पर्ने धेरै हुनेछ । त्यसो भएकोले यस्तो कुरामा राजनीतिक सुझबुझ र परिपक्कताका साथ निर्णय गर्नुपर्छ । सदूर पश्चिममै हामीले भोगेको ठूलो द्वन्द्वलाई नै हेर्ने हो भने यसले हामीलाई चिन्तित बनाउँछ ।

देश संविधान कार्यान्वयनको पेचिलो घडीमा रहेका बेला यहाँ जस्ता श्रष्टाहरुको भुमिका वा योगदान के हुन सक्छ ?
हामीले जनताका असन्तुष्टिलाई सृजना मार्फत अभिव्यक्त गर्ने हो । यदि सुन्ने निकायले सुनिदियो, सम्बोधन गरिदियो र कार्यान्वयन गरिदियो भने त्यही हाम्रो योगदान रहन्छ । राजनीतिज्ञले, नीति निर्माताले साहित्यकारबाट केही अपेक्षा गर्छ भने त्यही सुन्दर समाजको परिकल्पना हो हामीले दिने भनेको ।

एकजना सिद्धहस्त श्रष्टाले सरकारी कार्यालयहरुमा काम गर्दा, गराउँदा देखे भोगेका अनुभवहरु हाम्रा पाठकहरुसंग शेयर गरिदिनुहोस् न ।
कुनै सानो भन्दा सानो काम गराउन पनि कर्मचारी चिनेजानेको हुनुपर्ने । या राजनीतिक मान्छेहरुबाट भनसुन गराउनुपर्ने लगायत कारणले हाम्रो देशको प्रशासन, सरकारी कार्यालयहरु यसरी गाँजिएका छन् कि त्यसबाट सर्वसाधारण जनताले मुक्ति पाउन सकेका छैनन् । जनताले सास्ती झेल्ने जुन अहिलेको परिवेश छ त्यसले जतिसुकै ठूलो परिवर्तन भएपनि त्यसले जनतालाई सन्तुष्टि दिन सक्दैन । सामान्य जनताले दैनिक कामकारवाहीमा जुन झमेला भोगिरहेका छन्, त्यसले वितृष्णा जन्माउँछ । जुन कुराको अन्त्य अझै भएको छैन । जुन हाम्रा समाजका पात्रहरुले भोगिरहेका छन् ।

अहिले पनि चाहे नागरिकता दिनका लागि होस्, चाहे भन्सारमा होस्, चाहे प्रहरी प्रशासनमा होस् कुनै विद्यार्थी संगठनका नेताहरुले भनिदिनुपर्ने, कुनै राजनीतिक दलका नेताहरुले भनिदिनु पर्ने । आफ्नो मान्छेले अन्याय गरेकै भएपनि छोड्नु पर्ने, छुटाउनैपर्ने जुन प्रवृत्ति छ यसले सर्वसाधारण जनतामा नैराश्यता पैदा गरेको छ । मालपोत, भन्सारमा टेबुलमुनिबाट दिनै पर्ने जुन प्रथा, परम्परा बनेको छ घुस नदिने मान्छे अर्थात जसले त्यसको बिरोध गर्नुपर्ने हो ती मानिसहरु पनि सरकारी त्यो झमेलाबाट मुक्ति पाउन, छिटो काम गराउन त्यो काम गर्न विवश छन् । त्यो खालको प्रवृत्ति अझै कायम छ ।

कर्मचारीको मनोवृत्ति कस्तो पाउने गर्नु भएको छ ? यहाँका भोगाई वा जनताका भोगाईप्रतिको यहाँको दृष्टि कस्तो छ ?
कर्मचारी पनि कुनै न कुनै बिचारसंग, राजनीतिक संगठनसंग आबद्ध भएका हुन्छन् । त्यसैले कहीँबाट फोन गयो, भनसुस गर्यो भने छिटो काम हुने सर्वसाधारण सेवाग्राही आफ्नै किसिमले गयो भने ढिलासुस्ती हुने, आज हुने काम भोली हुने । कर्मचारीले जवसम्म भनसुन नगरीकन गएको सेवाग्राहीको कामलाई प्राथमिकता दिदैनन् र भनसुनलाई दोस्रो प्राथमिकतामा राख्दैनन् तवसम्म जनताले दुःख पाउने भइरहन्छ । सामान्य भन्दा सामान्य कार्यालयहरुमा पनि यो प्रवृत्ति देखिन्छ ।

देशको विकास नहुनुमा प्रशासन क्षेत्रलाई पनि दोष दिने चलन छ यहाँ । तपाईको विचारमा के कर्मचारी प्रशासनमै समस्या भाकैले हो त ?
सम्पूर्ण दोष कर्मचारीलाई दिएर मात्रै हुँदैन । विकासका लागि राजनीति दलको इच्छाशक्तिले महत्वपूर्ण भूमिका राख्दछ । केही गर्छु भन्ने इच्छाशक्ति भएको राजनीतिक नेतृत्व यदि छ भने कर्मचारीले रोकेर, ढिलासुस्ती गरेर त्यो न रोकिन्छ न काम ढिलो हुन्छ । तर दोष कर्मचारीमा पनि छ । व्यक्तिगत स्वार्थका लागि राजनीतिक नेतृत्वलाई अलमल्याउने, गुमराहमा राख्ने काम कर्मचारीबाट पनि हुनसक्छ । किनभने कर्मचारीले सबैभन्दा बुझेको, लामो समयसम्म काम गरेकोले सबै कुरा थाहा पाएको हुन्छ । त्यसैले काममा ढिलासुस्ती, विकासका काममा लापरवाही, हुनुपर्ने ठाउँमा नभएर अर्को ठाउँमा हुनुमा कर्मचारीको धेरै ठूलो हात रहेको हुन्छ । गाउँ देखि केन्द्रसम्म हामीले देखि रहेका छौं जहाँ बाटो बन्नुपर्छ, जहाँ पिच हुनु पर्छ त्याहाँ बाटै पुगेको हुँदैन, हिलाम्य हुन्छ, कच्चि नै हुन्छ, खाल्टाखुल्टी नै हुन्छन् जहाँ बनेको छ त्यही बाटोमा वर्षको अन्तमा बजेट सकाउने हिसावले रातारात पिच गरेर हतार हतारमा काम गर्ने जुन प्रवृत्ति छ । त्यो काम बढी जसो कर्मचारीले गर्छन् । जुन काम अलि अगाडि गर्दा राम्रो हुन्थ्यो । यसर्थ विकासको काममा बाधा दिने काम कर्मचारीबाट हुन्छ तर समग्र दोष कर्मचारीलाई मात्र दिन मिल्दैन ।

कर्मचारी वर्ग पनि निकै सृजनशील छ । के तिनलाई राज्यले उपयोग गर्न नसक्या हो त ? सुदूरको समग्र विकासमा प्रशासनक्षेत्रबाट यहाँका अपेक्षाहरु के के छन् ?
जनताका आवाजहरुलाई नजिकबाट बुझ्ने, विकासलाई गति दिने, कार्यान्वयनको अवस्थामा लैजाने काम कर्मचारीले नै गरेका हुन्छन् किनभने कर्मचारी जनताको दैनिक जनजीबनका पाटाहरुसंग प्रत्यक्ष जोडिएको हुन्छ । सुदूर पश्चिमको अशिक्षा, गरिवी, बेरोजगारी जस्ता समस्याहरुको पहिचान तथा पहल कर्मचारीले गरिदियो भने जनतामा असन्तोष, वितृष्णा कम हुन्छ । कर्मचारीले जोसंग पहुँच छैन, पैसा छैन । उनीहरुलाई सहजरुपमा सेवाभावले काम गरिदियो भने त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ ।

अन्त्यमा थप केही भए प्रशासन डटकमका पाठकहरुलाई शेयर गरिदिनुहोस् न !
सबै कुराहरु समेटिए । अन्तमा, युवा स्रष्टाहरुलाई के अनुरोध गर्न चाहन्छु भने नलेखिएका भर्जिन कुराहरु, जुन हिजोको समाजले भोगेको थियो, त्यसलाई खोतलेर समाज विकासमा गति दिने र हाम्रो समाजको अध्ययन पनि हुने हिसावले अगाडि बढ्ने कोशिस गर्नुहोस् । सुदूर पश्चिमको समाजलाई चिनाउन र साहित्यलाई मुलधारमा ल्याउन युवा स्रष्टाहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी छ । सबैखाले अफ्ठेरा, असहजता र चूनौतिलाई पार गर्दै निरन्तर अगाडि बढ्न म आग्रह गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस