परित्यक्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परित्यक्ता


प्रशासन विशेष ब्युरो

२० कार्तिक २०७३, शनिबार


उ हरेक दिन मातेर घर आउछ अनि भन्छ इभा तिम्रो कसम म आजै देखि छाडिदिन्छु । इभा भन्छे मलाई राम्ररी थाहा छ, हजुरको आज कहिल्यै आउने छैन ।

खाए त आफ्नै सम्पति खाए तेरा बाउको खाएको छैन । उदय कड्किन्छ ।

उ पिएपछि आफुलाई संसारको सर्वोच्च ठान्छ र इभालाई भुसुना –तिमीले मेरो छहारी पाएर मात्र उभिएकी छ्यौ, जुन दिन तिमी मेरो छहारीबाट निस्कीनेछ्यौ । त्यतिबेला तिम्रो बास सडकमा हुनेछ, त्यतिबेला तिमीले न टेक्ने पाउछ्यौ न समाउने । हरेक रात उदयले इभालाई आफुहुनुको अश्तित्व बोध गराई रहन्छ ।

तिम्रै भएर बाँच्न आएकी त हुँ नि म, जन्म दिने बा आमाको अनुहारमा बदनामको दाग छोडेर ! अहिले तिमीले यस्तो भन्न पाउछौ ? इभा उद्वेलित हुँदै भन्छे । उदयका अबगुणहरु देख्न सक्ने आँखा कहाँ थिए र त्यो बेला इभासंग, संसारको सर्वोच्च कोही थियो भने उदय नै थियो । उसका निम्ति अहिले पश्चातापको आगोमा जल्नु शिवाय के रह्यो र आफ्नो भन्नु इभाका निम्ति उदय र बा आमा दुईमा उदय नै रोजेर आएकी हो उ, माईतिको आँगनै नटेक्ने घोषणा गरेर ।

दश बर्षमा जिउँदो या मृत कसैले खोजेको थाहा छैन । उसलाई मुटु मिचेर आफै जान सक्ने साहस रहेन अव । त्यसैले उदयले दिने हरेक चोटहरु लाई सहनु र स्विकार्नु बाहेक बिकल्प रहेन अब । सुख भए पो बाड्न जानु, बेकारमा दुःख बोकेर माईत जानु ठिक लाग्दैन इभालाई ।

बिहे अघि उदयले आफुलाई पाउन गरेका कसरतहरु सम्झिदा इभा आजपनि रोमाञ्चित हुन्छे । खोल्सा, कान्ला, धारा, पधेरा, जता गयो उतै बाटो ढुकेर च्याप्प समाउदै म्वाई खाएको सम्झिदा बेस्सरी लाज लाग्छ इभालाई । बिहे पछि पनि छोरी नजन्मदासम्म उदयले दिएको माया थामी नसक्नु थियो इभाका निम्ति । आकासका जुनतारा आफ्नै पोल्टामा राखिदिए जस्तो लागेर उ हर्षित थिई । तर समय सधै एउटै कहाँ । वर्तमान रंग बिहिन सुगन्धविहिन सुकेको गुलाब जस्तो, इभा एक्लै घोत्लिन्छे ।

बजारु केटीहरु छानी–छानी चाख्न पल्किएको उदयलाई इभा राम्री लाग्न छोडेको छ । तिमीमा अब पहिला जस्तो चमक रहेन । उज्यालोकै खोजीमा रहेको उदयले आफ्नी इभामा कमी मात्र देख्छ, अभाव मात्र देख्छ अनि खोट मात्र देखाउँछ ।

इभा भोक लाग्यो खाजा के छ ? तिर्खा लाग्यो पानी लेउ, मेरा लुगा धोयौ ? लुगामा राम्रोसंग स्त्री हुनुपर्छ है ! खै, रिमोट लेउ म टिभी हेर्छु । निन्द्रा लाग्यो तन्ना फेर, अचेल उदयका हरेक शब्दहरु बनावटी लाग्छन् इभालाई । तिमीले के खायौ इभा, एक पटक सोधि दियोस्, एक पटक तिमीलाई कस्तो छ इभा भनिदियोस् उसको मनमा अंकुरित स–साना अपेक्षाहरु केबल अपेक्षा मात्र बन्छन् पुरा हुँदैनन् ।

यन्त्रमानव जस्तो जीवन । यस्तो जीवनलाई पनि के जीवन भन्नु मिथ्या लाग्छ इभालाई । इभाका दैनिकीहरु ब्यबस्थित हुँदाहुँदै हरेक रातहरु छिप्पिएर जान्छन् । लोग्नेको अंगालोमा सिरानी लगाएर निदाउने रहर जाग्छ । लोग्नेको सानिध्यमा पग्लिएर आफ्ना हरेक रातहरु उत्कृष्ठ रात बनाउने इभाका सुखद कल्पनाहरु कल्पनामै चिसिएर जान्छन् । एउटै सिरानी हालेर सुतेपनि उदयका यौन निषेधित नित्य कर्महरुका कारण इभा थोत्रो दारुण सिरक ओढेर निदाउनु अघि पुरै गल्छे ।

के म यति खोक्रो भै सके ? के म यति नराम्री भै सके ? के म सिद्धिसके ? थोत्रीसके ? के अब चमकका अवशेषसम्म रहेनन् ? उदयले अस्तिसम्म ठाँउ–कुठाँउ, वेला–कुवेला आफुलाई झम्टिएर चुसेको सम्झदै इभा आफैसंग प्रश्न गर्दै आफैबाट अनुत्तरित हँुदै कतिवेला निदाउछे पत्तै पाउदिन ।

आईमाई मान्छे भएर कस्तो अल्छि तिमी, हरेक झिसमिसे मै उदयको आवाज कानमा तिर बनेर घुस्छ । छिटो उठ्नु नुहाई, धुवाई गर्नु पुजापाठ गर्नु, आईमाई मान्छे भएर अल्छि हुन सुहाउदैन् । आफुले ८ बजेसम्म बिस्तरा नछोड्ने भएपनि इभाका हरेक उज्यालाहरुले यस्तै –यस्तै तिखा बचनहरुसंग सामना गरिरहेका हुन्छन् ।

आर्दशवादी ब्राम्हणवादमा हुर्किएको उदयले इभाकानिम्ति जति सुकै आर्दश छाँटे पनि इभालाई राम्ररी थाहा छ, उदय खोक्रो धार्मिक आर्दश र आडम्बरमा बाँचिरहेको कुरा । कहिले काहीँ इभा आफ्नो मनको तितो ओकल्छे ठिकै छ हजुर जे भन्नुहुन्छ म मान्छु तर हजुरले पनि मेरा दुई कुरा मानेर देखाउनुपर्छ । मासिक धर्मका बेला मलाई भान्साबाट बिदा दिनुस् र आफ्ना जनै लगाउनुस् । उदयको कमजोरीको नशा छामेकी छे इभाले क्षण भरमै उदय निरुत्तर हुन्छ । खानेका नाममा उदयले खान बाँकी केही छैन । खान हुने भन्दा नहुने सबैकुरा खाएको छ । गर्न हुने भन्दा नहुने काम धेरै गरेको छ तर इभाले आफ्नो जिब्रो मलिलो बनाउन कुनै ठुलै पर्बको प्रतिक्षा गर्नु पर्ने हुन्छ । हरेक पलहरु बोझ लाग्छन् इभालाई । अनुशासनका नाममा आफुमा लगाईएको जञ्जिरहरु तोडेर निस्फिक्री खुला आकासमा एक्लै रमाउन मन लाग्न थाल्दछ ।

अभाब र तनाबको जञ्जालबाट इभा निस्फिक्री हुन चाहन्छे । यतिबेला इभा रात र दिनका पुरै अन्तरहरुलाई धरौटी राख्न उद्धत छे । अचेल इभा पुरै बदलिएर आफै भित्र उम्लिदै विद्रोही बनेकी छे । परिस्थितिजन्य बाध्यताहरु भन्दै वर्षौसम्म आफुलाई बाँधेर थन्क्याएकोमा आफैसंग मुर्रमुरिएकी छे ।

बच्चा जन्मेपछि एउटी स्त्री पुरै आईमाई हुन्छन् भन्ने कुरा पत्यार लाग्दैन् इभालाई । आफ्ना अंग प्रत्यङ्ग केलाउछे, दोहो¥याएर तेह¥याएर आफुलाइ काँचको घर सामु उभ्याउछे । आफुलाई पहिला भन्दा खुब सुन्दरी लाग्छ । उदयको आफुप्रतिको बिकर्शण मिथ्या लाग्छ । आफ्नो पुष्टताले आफुभित्रको तरुनी बैस अझ मजबुत बनाएकोमा गर्व गर्छे ।

दिन दुई गुना रात चौगुना बारम्बारको उदयको ईभाप्रतिको यौन निषेधाज्ञाबाट इभा आजित हुँदा हुँदै आफ्ना लागि साथी खोज्न थाल्छे । सवथोक भएर पनि केही नभएका रित्ता हातहरुमा मिठो श्पर्स अनुभुतिको खाँचो छ इभालाई । मन बहलाउने अभिन्न पाटोका रुपमा फेसबुक बनाउदै जान थालेकी इभाले बिस्तारै बिस्तारै फेसबुकबाट बिस्ताराको साथी बनाउने उसको नियोजित अभियानमा एकजना चालिस नाघेको अधबैसे पुरुष सामेल हुन पुग्दछ । एउटै ठाउँका भएरपनि वर्षौसम्म चिनजान नभएकोमा उनिहरु आ–आफ्ना भाग्यलाई बेस्सरी धुत्कार्छन् र बर्तमान समयको अभिन्न साथी फेसबुकप्रति आभारी हुन्छन् ।

श्रीमति बिदेश पठाएर छोरा छोरी स्याहारेर बसेको आलोकसंग अदृष्य चिनजानको शिलशिला भेटघाटमा परिवर्तन हुन्छ । एक आपसमा बाध्यता र आवश्यकताको मसिनो छलफल हुन्छ । एक अर्काका आवश्यकता र चाहनाप्रति दुबै नतमस्तक हुन्छन् । भेट्ने भेटिन,े मिल्ने मिलाउने र एक अर्कालाई मलिलो बनाउने एउटा दुरगामी योजना बन्छ ।

कहिले आएर कहिले गएर एक अर्काको भोक मेटाउने सम्झौतामा हस्ताक्षर हुन्छ । भोकालाई भोजन, प्यासलाई पानी भने जस्तै प्यासीलाई तृप्ती भेट्दा दुवैमा ठूलै हलचल हुन्छ । अभाव र तनाव बोकेर बाँचेकी इभालाई संसार जिते जस्तो लाग्छ । बाँझो खेतमा मलजल पाएर आलोक मलिलो बन्छ ।

आलोक अब म तिमी बिना बाँच्न सक्तिन, इभालाई आलोकको अंगालो भरिलो लाग्न थाल्छ । आलोक पनि के कम ठिकै छ नि, तिमी म संग भए म त झन् खुशी । तिमी जस्ती सुन्दरी मेरो जीवनमा हुनु मेरो भाग्य दुबैले दुबैका कुरामा सन्तोक मान्छन् ।

भाग्य र कर्मप्रति दुबैले गर्व गर्ने क्रमहरु निरन्तर चलिरहन्छ । एक अर्काको धुकधुकीको न्यानोपन भित्र दुबै आल्हादित हुँदै जान्छन् ।

विस्तारै आफ्ना जीवनसाथीका खोटहरु छरपष्टिरहँदा एक अर्काको प्रेमिल सम्बन्ध अझ प्रगाढ हुँदै जान्छ । समय रोकिदैन बगिरहन्छ । बगिरहनु समयको बाध्यता हो । समयले आफ्नो बाध्यता राम्ररी बुझेको छ । उनिहरुले आफ्नो आवश्यकता बुझेका छन् । मनभरी तरुनी रहर बोकेर बाँच्न मलाई कस्तो गाह्रो थियो, तिमी आयौ धन्य छु म इभा, उत्तेजित हुदै टेबुलमा राखेको वाईनको गिलास उचालेर घटघटी पार्छ र रित्तो गिलास भुईतिर बजार्छ । दुबैका व्यथा र ओखती बिस्तारामा पुगेर एकाकार हुन्छन्, एकछिनको संघर्ष पछि दुबै शिथिल हुन्छन् ।

उदय इभालाई बाधेर राख्न सकेकोमा आफ्नो पुरुषार्थप्रति गर्ब गरिरहेको थियो । आफैलाई नाघेर इभाले केही गर्लि, उसले कहिल्यै कल्पनासम्म गरेन । इभाले कहिल्यै बताईन तिमी इतर म अर्को दुनियामा रमाईरहेकी छु भनेर । आलोकलाई छल्नुपर्ने कारण र ब्यक्ति उ बाट निकै टाढा भएकोमा धन्य हुदैगएको थियो । काँचको पर्दाभित्र तिन जिन्दगी आफ्नै पारामा रमाईरहेका थिए तर यी सबका बिचमा अभाबको खाडल पुर्न बिदेशिएकी आलोककी पत्नि निर्दोस थिइ ।

एकाएक इभालाई अनौठो अनुभुतिले कुत्कुत्याएर पुरै शरिर ढकमक्क फुलेजस्तो अनुभुति हुन थाल्दछ । शारीरिक परिवर्तितको चरम मोडलाई केलाउन इभालाई मुस्किल हुदैन । आलोकको प्रेमको निशानी बोकेर हिड्न पाएकोमा धन्य ठान्छे आफुलाई । आलोक पनि के कम खडेरीमा हिलाम्य खेतका गह्राहरु भेट्दा स्वाद मानी मानी हलो जोतिरहन्छ ।

उदयले दिएको सिन्दुर पोते चुरा टिका मिल्काएर आलोककी मात्र बन्न उनिहरुले गोप्य नाता जोडेको दिन त इभालाई ठूलै सन्तोक मिलेको थियो । त्यस दिन इभाले भनेकी थिइ– अब धोका दिन पाउदैनौ नि ? इभालाई आश्वस्त पार्न आलोकले भनेको थियो– तिम्रो कसम इभा, म तिमीलाई मरिगए छोड्दिन । आलोकको भर पाएर इभा आफैभित्र खुब रमाइरहेकी थिई ।

बिदाको दिन केटाकेटी घरमै हुन्छन् । उनिहरुको नियमितता भंग हुन्छ । तर हरेक आईतबारको भेट बिशेष भेट हुन्छ । हरेक आईतबार उनिहरुको बिस्तरा निकै बेर तातो हुन्छ । भोक र भोजनको समायोजन तृप्तीमा परिणत हुन्छ । तर त्यो दिन इभाका कुनै पनि मिठा पलहरु मिठा हुदैनन् । इभा आलोक कहाँ पुग्दा जे देख्छे त्यो दृष्यले इभाले टेकेको जमिन भासिएर दह बनिसकेको हुन्छ । बिदेशबाट अचानक आलोककी पत्नि निलम फर्किएपछि आलोक आफ्नो गृहस्थीलाई न्यानो बनाउनमा तल्लिन पाउछे ।

अचानक घरमा इभाको उपस्थितिबाट हतास आलोकले इभालाई बिस्तराबाट बहिनी बनाएको त्यस क्षण इभालाई बेस्सरी रिंगटा लागेर आएको थियो । निलमको अनुपस्थितिमा वहिनिको भुमिकाबारे आलोकले दिईरहेको प्रबचनले इभाको मन बेस्सरी रोईरहेको थियो । आकाश रोएको पल, जमिन हल्लिएर ढलपल गर्दै इभा कसरी घर आईपुगि उसलाई हेक्का रहेन ।

आफ्नो प्रेमिल सम्बन्धको निसानीको रुपमा गर्वमा हुर्किरहेको शिशुको अनिश्चित भबिश्य सम्झेर इभा बेस्सरी रोई, पश्चातापको आगोमा आईपर्ने उल्झनहरुले इभालाई बेस्सरी चिमोट्यो । महिनौ संसर्ग नभएको लोग्नेलाई गर्वको बच्चा उसैको हो भनेर भन्न सक्ने सक्कली प्रमाणहरु नभएर आधारहिन भएकी थिइ इभा ।

उदयले भनेका कुराहरु झल्झली सम्झन्छे, तिमीले मेरो छहारी पाएरमात्र उभिएकी छ्यौ जुनदिन तिमी मेरो छहारीबाट निस्कीनेछ्यौ, त्यतिबेला तिम्रो बास सडकमा हुनेछ । त्यतिबेला तिमीले न टेक्ने पाउछ्यौ न समाउने तर आलोकले दिने माया र छायाप्रति आँखा चिम्लेर बिश्वास गर्न थाल्दछे ।

शारीरिक परिवर्तनको सुचक बनेर आएको शिशुको पहिचानको खोजी हुन थाल्दछ । हरेक प्रश्नहरुमा इभा प्रश्न बाचक बनिदिन्छे र अन्ततः एक दिन जा, मुन्टी, गैजा भनेर गलहत्याइन्छ इभालाई ।

वर्षौदेखि उदयले गरेका यस्ता हजारौ अतिरिक्त भुमिकालाई आँखा चिम्लिएकै हो इभाले । देखेर पनि नदेखे जस्तो, सुनेर पनि नसुने जस्तो गरेर आम माफी दिएकै हो उसले । जतिलाई जुठ्याएपनि पुरुष आफु कहिल्यै जुठो नहुने तथ्य घटीया लाग्छ । स्वास्नी मानिस हुनुको अभिसाप बोकेर इभा आलोकको ढोका ढकढक्याउन पुग्छे ।

आलोकको आधार शिबिर त्यहाँबाट कहि अन्तै सरिसकेको हुन्छ । जसलाई उसले धेरै चाहेकी थिई, उसैको बियोग खप्न बाध्य हुन्छे इभा ।

दक्षिणतर्फ ठूलै गर्जनसंगै आफ्नै बेगमा बगिरहेको कर्णाली पनि त्यति बेला इभा सामु निलो दह बनेर गुजुल्टिएझै लाग्छ । अनिश्चित भबिष्यको अन्धकारमय बाटोतर्फ लम्किरहदा उ भित्रकी असहाय अबहेलित आईमाईको मनले मेरो मनलाई निक्कै बिचलित बनाइदिन्छ ।

 

प्रतिक्रिया दिनुहोस