चैत्र ११ गते, २०७५

सिंहदरवार ह्याङ-२

कथा

फर्किने टिकट फिक्स गरिसकेपछि यहाँ सबैसँग विदाईभेट गरिसकेकी थिए, विशेष सम्बन्ध र नजिकका नातेदार त कोही थिएनन् यहाँ । त्यसैले यो एक सामान्य औपचारिकता मात्र थियो । राकेश पनि दुई वर्ष अघि नै आफ्नो देश फर्किसकेको थियो । भेट भएका मध्ये धेरैजसोले केही महिना नेपाल बसे पनि पछि आउन सुझाएका थिए । यसरी सुझाउनेहरू आफै यो युएसको एकोहोरो सुरुङमा नराम्रोसँग भास्सिएका थिए । त्यो तथ्यलाई सायद उनीहरू सम्झन चाहँदैनन् वा सम्झेर पनि त्यसको उपयुक्त विकल्प देख्दैनन् । अनि प्रभु येशुको मुलुकमा पशुपतिनाथको कृपाले प्रतिस्पर्धा गरिरहेका छन् । कुनै सपिङ गर्दिन भनेर बसेकी थिएँ, खासमा मेरो वन्दोवस्तीका सामानले नै लगभग एअरलाईन्सको टिकटमा पाउने जति तौल कब्जा गरिसकेको थियो । नेपालमा कसैलाई आउँदछु भनेर खबर पनि गरिन, घरमा, माइजूलाई र प्रवीणलाई बाहेक । तर, खै किन हो मनले मानेन, अघिल्लो दिन नजिकैको मलमा छिरेर तीन जनालाई सानो–सानो आकारको गिफ्ट किने, माइजू, पुन्टे र प्रवीणको लागी । माइजू, जसको काखमा म हुर्केको थिए, मलाई आमाको अभाव हुन नदिई हुर्काउनु भएको थियो । पुन्टे, मैले नेपाल छाडे पछि हाम्रो घरमा जन्म लिएको थियो र प्रवीण, त्यै ‘लाछी’ केटो । युसको लागि त्यो दिन अन्तिम रात थियो, निदाउन सकिएन । यहाँ आउने बेलाको उत्सुकता, कौतूहल र उमङ्ग भन्दा पनि बढी थियो । जन्मभूमि, स्वदेश अनि आफ्नो घर फर्किने क्षणको खुसीको मापनै गर्न नसकिने रहेछ । कहिलेकाहीँ घर नछाड्नेहरूको यो अनुभव गर्न सक्ने कुरै भएन । म सारै खुसी थिए, त्यो रात । सोचेँ, यहाँ रात परेको भए पनि मेरो नेपालमा त अहिले उज्यालै छ । बिहानीपख निद्रा परेछ । सपना देखे कति मिठो अनुभव भयो । सपनामा पनि नेपाल नै गएको रहेछु । मामा माइजू लिन आउनुभएको रहेछ, विमानस्थलमा । मामा चाही मसँग बोल्नु भएन, अर्कोतिर फर्केर उभिनुभयो, रिसाउनु भएको रहेछ । देख्ने बित्तिकै माइजूले मलाई न्याने अँगालोमा बेर्नुभयो । म फुत्केर मामाको काँधमा झुन्डिन जान्दै थिए, अचानक ब्युँझिए । छ्र्या कस्तो नराम्रो सपना देखिएछ । नेपाल छाड्ने बेलामा बिदाइ गर्न मामा आउनुभएको थियो विमानस्थल सम्म । माइजू आउन नपाएकोमा थकथक मान्नुहुन्थ्यो पछि सम्म । मामाको स्मृतिले मेरो मन हुंडलिएर आयो ।

विगतमा अल्झिएर समयलाई रोक्न सकिने होइन । सात बजिसकेको थियो, ८ बजेसम्म विमानस्थल पुग्नै पथ्र्यो । लगेज प्याकिंग नै थियो, बाहिर ल्याए । अनि क्लियरेन्स पेपर भरेर चाबीसहित पिजन होलमा राखेर म निस्के । प्रिपेड ट्याक्सीको ढोका छिर्नु अगाडि एक पटक मैले यो घरलाई फर्केर हेरेँ, जुन घर विगत ४ वर्षदेखि मेरो बसाबासस्थल भएको थियो । आफू बसेको ठाउँसँग पनि एक किसिमको भावनात्मक सम्बन्ध हुने रहेछ । मनमा अलि खल्लो पनि लागेर आयो, हिजो अस्ति जस्तो अब देखि साँझमा म यो घर फर्केर आउने छैन, सायद कहिल्यै पनि । म नआउँदा पनि यो घर खाली चाहिँ हुने छैन, कोही त अवश्य आउला । म यस्तै सोच्दै ट्याक्सी भित्र पसेँ र मनमनै त्यो घरलाई बाई बाई गरे, सियू भन्नु जरुरी थिएन । साँगुरो बाटो हँुदै, ट्याक्सी फराकिलो सडकमा निस्किएको थियो । सेता रङ्गका अग्ला भवनहरू, फराकिला सडकहरू पार गर्दै अगाडि बढ्दै जाँदा म एकोहोरो बाटो कतै गइरहेको अनुभूति हुन्थ्यो । मन बलियो बनाउँदै यिनीहरूसँगको अन्तिम स्पर्शलाई पछाडि छोड्दै गइरहेको थिएँ । विमानस्थलको प्रक्रिया र कडा सुरक्षा चेकजांच पार गरे पछि विमानको वुम भित्र पस्दै गर्दा मैले यो मुलुक छोडेको कुरा स्मरण गरे । र त्यो विशाल यानले भुई छाडे पछि मैले वैकुण्ठकै यात्रा गरेको झैँ अनुभव गरे । झ्यालबाट बाहिर हेर्दे बाई बाई यू यस भन्ने सम्झेँ मनमनै । सानो झोला साथमै थियो जसमा केही हजार डलर, यात्रा सम्बन्धी कागज, नेपाल लेखिएको पासपोर्ट र एमबिए पास गरेको एउटा सर्टिफिकेट बडो जतनका साथ राखेको थिएँ भने नेपाल सम्बन्धी डिग्रीको सर्टिफिकेट चाहिँ स्किन गरी मन, मुटु र मस्तिष्कमा स्थायी रूपमा सेम गरेको थिएँ । आकाशमा शून्यको अनुभव गर्न चाहे मैले । नेपालबाट ल्याएका सपनाहरू युयसमा सदगद गरिसकेको थिए, अब यूयसमा गर्भधारण गरेको सपनालाई नेपालमा पुगेर जन्माउनु, हुर्काउनु र फुलाउनु थियो । मेरो दिमागमा यो सपनाको नाचगान भन्दा अरू केही पनि थिएन । मैले आँखा बन्द गरे पनि विमान उडन छाडेको थिएन । विमान जति माथि माथि पुगेको अनुभव हुन्थ्यो उति नै म मेरो देशको नजिक पुगेको अनुभव गर्थे, खुसी र आनन्दले मलाई त्यो विमान भन्दा पनि माथि माथि उडाई रहेको थियो ।

नेदरल्याण्डको एम्सटार्डम विमानस्थलमा पहिलो ट्रान्जिट थियो । यहाँ थोरै समयको लागि रहँदा पनि रमाइलो लाग्यो । समुन्द्र सतहभन्दा पाँच मिटर तल रहेको यो विमानस्थलमा झर्दा पानी मुनि पुगेको कल्पना गरे मैले । खासमा मलाई यो सहरको साँझको रमझम आफ्नै आँखाले हेर्ने रहर नभएको होइन, त्यो अवसर चाहिँ सम्भव भएन । विगतमा समुन्द्री तवाहीले सारै दुःख पाएको यो मुलुकले अहिले समुन्द्री सतह भन्दा तल रहेर पनि स्वयं समुन्द्रलाई ‘तह लगाएको’ मात्र होइन पानी व्यवस्थापनमा राम्रो प्रगति गरेको छ, हामीले चाहिँ मेलम्चीको पानी राजधानी ल्याउन दशकौँ लगाएका थियौँ । त्यो सम्झेर मलाई आफै देखि टीठ लागेर आयो । मुलुकको विकास गर्न श्रोत, साधन र प्रविधि त चाहिन्छ नै । साथमा राजनीतिक क्षमता, राज्य प्रति ईमान्दारीता, दिघकालिन भिजन र दृढ आत्मविश्वास एवं इच्छाशक्ति अनिवार्य तत्त्व हुन भन्ने कुरा औधोगिक युगमा प्रगति गरेका मुलुक देखि पछिल्लो समय तेस्रो विश्वमा उदाएका मुलुकको प्रगतिले पनि पुष्टि गरिसकेको छ ।

३ घण्टाको ट्रान्जिट पछि फेरि आकाशको यात्रा सुरु भयो । कति चाँडो दुबईको सहारजाह विमानस्थल आई पुगेछ । यहाँ चाहिँ मलाई काठमाडौँ नै पुगेको हो कि जस्तो अनुभव भयो । कता कता नेपाली भाषाका कुराकानीहरू मेरो कानमा ठोक्किन्थे । खुब घुम्ने जाँगर चल्यो मलाई । घुम्दै जान्दा यो विमानस्थलमा हिन्दी भाषाको लवज पनि धेरै सुनिन्थ्यो । डिउटी फ्रि सपहरुमा भिडभाड देखिन्थ्यो । विदेशी जस्ता लाग्ने यात्रीहरू शान्त तरिकाले कानमा सुटुक्क गीत सुन्ने वा किताब पढ्ने चक्करमा देखिन्थे भने दक्षिण एसियाली मूलका जस्ता लाग्ने यात्रीहरू चाहिँ समूहमा रहने, अलि ठुलो स्वरमा वात मार्ने वा स्मार्ट मोबाइलमा रमाउने गरेको देखिन्थ्यो । उनीहरूको त्यो सल्लाह विमानस्थलका अरू यात्रीहरूलाई हल्ला जस्तो लाग्दो हो र घरीघरी नमिठो गरी पुलुक्क हेर्थे उनीहरू तिर । तर, गफमा मस्ती रहेको समूहलाई त्यसको कुनै वास्ता हुन्थेन । मैले मनमनै सोचेँ अरूलाई बाधा परे नपरेको कुरामा हामी अलि बेखबर नै रहन्छौँ अनि धन्यवाद तथा सरी भन्न र मस्काउन चाहिँ हामी पछि परेकै हो ।

विमानले भई छाड्यो । अघिल्ला दुई उडानहरूमा निद्रा लागेन । अहिले चाही निदाउन मन लागेको थियो । तर, अनि बढी गुनगुन आवाजले सोचे जस्तो भएन, निदाउन सकिएन । यो विमानमा चाही धेरै नेपाली यात्री रहेछन् भन्ने पहिला नै थाहा भएको हो, विमानस्थलको भिडबाट । नेपाली भाषा, स्थानीय लवज अनि नेपाली जिब्राका कुराकानीहरू सुन्न कान ठाडा भएर आए मेरा पनि । तर, नेपालका बारेमा राम्रो, उत्साहजनक, सकारात्मक र आशा प्रदायक कुराकानीहरू सुन्न पाइएन । मन चसक्क भएर पनि आयो । हामी नेपाली भएर नेपाल प्रति नै किन यसरी वितृष्णा पोख्दै छौँ । हाम्रो भविष्य हाम्रो मुलुक भित्र किन देखिरहेका छैनौँ, नेपालमा बसेका नेपालीहरू त्यसमा पनि प्रशासक र राजनीतिज्ञहरूसँग मानिसहरू किन यसरी गुनासो गरिरहेका हुन्छन् भन्ने विषयले मलाई पनि केही हदसम्म चिन्तित तुल्यायो । आफ्नो मुलुक, आफ्ना शासक वा प्रशासक अनि आफ्नो मुलुकको शासन पद्धति प्रति नागरिकको विश्वास कमजोर हुनु भनेको मुलुक र नागरिकको लागी सुखद संयोग होइन । एकै छिनमा काठमाडौँ उपत्यका भित्रिया विमान । तीन वर्ष अघिको भुईँचालोको असर हेर्ने मन थियो, तर खास केही अनुभव गर्न सकिएन, अर्थात् मेरा नाङ्गा आँखाको क्षमताले मापन गर्न सकेन । सोचे भुईँचालोको असर वाट उपत्यका उठिसेकेछ । विमानबाट तल झरेर भुईँमा टेक्दा किन हो मलाई अर्कै अनुभव भयो । गर्वले हो कि डरले हो, छाती ढक्क फुलेर आयो, मानिसहरू सबै हतारमा देखिन्थे । एकै छिन आँखा चिम्लिन मन लाग्यो, चिम्लिदिए । आँखा खोलेर आफू उभिएको जमिनको माटो स्पर्श गर्न मन लाग्यो । माटो थिएन, कालो पिच थियो । निहुरेर दाहिने हातका पाँचै औँलाले बिस्तारै भुईँ छोएर, त्यो हातलाई मुठी पार्दै पहिला छातीमा अनि निधारमा छोएँ । बोडिंग पास र पासपोर्ट हातमै थियो, अनि मनमा लाग्यो अब यो पासपोर्ट बिना नै म मन लागेको ठाउँमा निर्धक्क सँग घुम्न सक्छु । यहाँ कसैले मलाई मेरो नेस्नालिटी वा ओरिजीन केही भनेर प्रश्न गर्दैन । आफ्नो माटो, राष्ट्रियता र जन्मभूमिको यति सम्म महत्त्व हुँदो रहेछ भनेर विगतको चार वर्षमा मैले राम्रैसँग बुझिसको थिए ।

एयरपोर्टको टर्मिनलमा छिर्ने बित्तिकै यहाँको सरसफाइ, भौतिक अवस्था, व्यवस्थापन र कर्मचारीको व्यवहारलाई लिएर एकधरि यात्रीहरूले फेरि एकोहोरो गुनासो गर्न थाले । विदेशी विमानस्थलसँग तुलना गर्न थाले । विमानस्थल र मुलुकको हरेक अव्यवस्थासङ कर्मचारी र शासकहरू गुनासोका केन्द्रबिन्दु रहेका हुन्थे । आफ्नै मुलुक, आफ्नै शासक र प्रशासकलाई पाइलै पिच्छे गुनासो गर्नुपर्ने अवस्थाका हामी नागरिक कति अभागी रहेछौँ जस्तो पनि लाग्यो । तर, मलाई त किन हो यू यस, हल्याण्ड र दुबईका ती अत्याधुनिक विमानस्थलहरू भन्दा खस्रो, फुस्रो र साँगुरै भए पनि हाम्रै विमानस्थल राम्रो लागेको थियो । यो विमानस्थल मेरो देशको जमिनमा बनेको थियो, यहाँ उत्रिएका अधिकांश यात्रु, अनि यहाँ कार्यरत कर्मचारी मेरै नेपाली दाजुभाइ दिदी बहिनीहरू थिए । ती आफ्नै थिए र त गाली खाएर गुनासो सुनेर पनि काम गरिरहेकै थिए, सेवा दिई रहेकै थिए, गुनासो गर्नेहरूले पनि नडराईकन ढुक्कले गुनासो गरिरहेको थिए, गनगन गरिरहेका थिए । एउटा नागरिक हुनुको पुरै अधिकार तिनले उपयोग गरिरहेका थिए । केही छुटेको थियो भने केवल नागरिकका रूपमा पुरा गर्नुपर्ने कर्तव्यको पाटो मात्र छुटेको थियो त्यहाँनेर ।

लिन बोलाउन मन लागेको थिएन । तर, माइजूले आफैँ लिन आउँछौँ भनेकोले नाई भन्न सकिन । माइजू र भाइलाई एक्जिटको ढोकाबाट निस्किने बित्तिकै देखेँ । माइजूलाई देख्ने बित्तिकै मामा कतै घुर्काएर बस्नुभएको जस्तो भ्रम भयो मलाई । मामाको अभाव माइजूको पहिरनमा मात्र होइन, मुहार र आँखामा प्रस्टै देखियो । मलाई भित्रै देखि भाउन्न भएर आयो, मेरो लागि असहज र अकल्पनीय अवस्था थियो त्यो । यसपालि चाहिँ म आफै माइजूको छातीमा टास्सिन पुगेँ । भाइले पहिला हामी दुबैलाई हात गाडी भित्र हाल्यो र पछि मेरो लगे ज । गाडी केही गुडेको थियो । अचानक प्रवीणलाई देखे । आज आउने जानकारी दाएको भए पनि उसलाई मैले बोलाएको त थिइन । मलाई नै लिन आयो या अरू कुनै कामले आयो मैले अनुमान लाउन सकिन । जे होस उसलाई देख्दा मात्रै पनि मलाई भित्रैदेखि एक तमासको खुसी लागेर आयो । अलि मोटाएछ, क्या प लगाउन छाडेछ आजकल अनि कपाल पनि छोटो गरेछ । उस्तै मुहार, उस्तै मन्द मुस्कान अनि पहिले झैँ कतै पर केही नियाली रहेको जस्तो गरी । देब्रे हात छातीमा राख्दै भन्न पुगेछु थ्यांक्स गड १ के गर्ने, के भन्ने, कसो गर्ने केही सोच्न सकिन्न । बिस्तारै उ तिर हात हल्लाउँदै विमानस्थलबाट बाहिरिएँ म, कुनै दिन उसलाई त्यहीँ क्याफेमा बोलाएर कसम फर्काउने सोच्दै ।

क्रमशः…….

र यो पनि,

सिंहदरबार ह्या ङ–१

पौष २१ गते, २०७५ - ०८ः३४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg