कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ : सभामुख घिमिरे « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ : सभामुख घिमिरे


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढङ्गले अघि बढ्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरूलाई सो पेसामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिए ।

सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताए ।

सभामुख घिमिरेले युवाहरूलाई वैज्ञानिक ढङ्गबाट कृषि पेसामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस