सुदूरपश्चिममा काँग्रेसलाई सरकार बनाउने बाटो खुल्यो  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा काँग्रेसलाई सरकार बनाउने बाटो खुल्यो 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् । 

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन थियो । तर प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव बहुमतले अस्वीकृत भयो । 

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।  

सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको थियो । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहे ।

विपक्षमा रहेको नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवाद का ४ र १ स्वतन्त्र सदस्य छन् । रावल पदमुक्त भएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले काँग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ । 

काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।  संविधानको धारा १६८ (२)  अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ । 

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

रावलले विश्वासको मत पाउन नसकेमा उपधारा (३) बमोजिम काँग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस