काठमाडौँ । इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । यसबारे सैद्धान्तिक सहमति भइसकेको र सोमबार मिति तय हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए ।
यस विमानस्थलमा प्रारम्भमा तारा एयरले नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो ।
तर, यात्रु नपाएको भन्दै ताराले उडान निकाल्यो । त्यसपछि इलाममा उडान भएको छैन ।
इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको थापाले बताए । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनले बताए ।
यो विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । काठमाडौँबाट करिब १ घण्टाको उडान अवधिमा इलाम पुगिन्छ । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।