काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामान खरिद नगरी, हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाइ भुक्तानी लिने–दिने गरेको तथा फर्निचर तथा इलेकट्रोनिक्स सामग्री खरिदमा चार लाख ४७ हजार पाँच सय रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
आव २०७३/७४ मा सामग्री खरिद गर्दा उक्त हिनामिना भएको हो । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जोशीविरुद्ध हिनामिना भएको रकम बराबरको बिगो दाबी गरी आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।