गैर आवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौँ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैर आवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौँ : प्रधानमन्त्री देउवा


२ असार २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घले काठमाडौँमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा बोल्दै प्रधानमन्त्री देउवाले सबै पक्षसँग समन्वय गरी नागरिकताको विषयमा टुङ्गोमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।

‘गैर आवासीय नेपाली सङ्घका जायज मागप्रति सरकार सकारात्मक छ । गैर आवासीय नेपाली नागरिकताको विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशक्य चाँडो समाधान गर्ने विश्वास दिलाउन चाहन्छु’, देउवाले भने ।

उनले गैर आवासीय नेपालीहरुलाई विदेशमा आर्जन गरेको पुँजी, ज्ञान र सीपलाई नेपालको हितमा उपयोग गर्न समेत आग्रह गरे ।

‘विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवसायिक ज्ञान र सीपलाई मुलुकको विकासका लागि उपयोग गर्न म सबै गैर आवासीय नेपालीलाई आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्री देउवाले भने ।

नेपालको भाषा, संस्कृति र पर्यटकीय सम्भावनाको विश्वव्यापीकरणमा गैर आवासीय नेपालीहरुको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री देउवाले सरकारले बजेटमार्फत गैर आवासीय नेपाली लक्षित विभिन्न योजना ल्याएको बताए ।

‘नेपालको पर्यटन प्रवर्द्धनमा पनि अगैर आवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण छ । बजेटमा गैर आवासीय नेपाली लक्षित विभिन्न कार्यक्रमहरु ल्याएका छौँ । त्यसको प्रभावकारी कार्यान्वयनबाट मुलुकको विकासमा सहयोग पुग्नेछ’, देउवाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस