काठमाडौँ । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोक मार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक राम सागर सिंहले जानकारी दिए ।
सोमबार राति उनी ढल्केबर चोकमा चेक प्वाइन्टबाट ड्युटी गरी इलाका प्रहरी कार्यालय जाँदै थिए । ठक्कर दिने गाडीको खोजतलास गर्ने काम भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
ओखलढुङ्गाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि इलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आएका थिए । पराजुलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको जनाइएको छ ।