‘एचपीभी’ खोप सहयोगका लागि डब्लूएचओका महानिर्देशकको प्रतिबद्धता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘एचपीभी’ खोप सहयोगका लागि डब्लूएचओका महानिर्देशकको प्रतिबद्धता


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप सहयोगका लागि प्रतिबद्धता जनाएका छन् ।

तीन दिने नेपाल भ्रमणको पहिलो दिन हिजो (बिहीबार) स्वास्थ्य मन्त्रालयमा मन्त्री विरोध खतिवडा र उच्च सरकारी अधिकारीसँगको छलफलमा डा. टेड्रोसले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा स्त्रीरोग अन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र (कोल्याबोरेटिभ सेन्टर) स्थापनाका लागि सहयोग गर्न नेपालको अनुरोधमा उनले सकारात्मक प्रतिक्रिया दिए ।

उनले हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई दक्षिण–पूर्वी एसियाको सबैभन्दा ठुलो किटजन्य अनुसन्धान केन्द्रका लागि कार्यदल बनाएर सम्बोधन गर्नेसमेत बताएका छन् ।

डा. टेड्रोससँगको भेटमा स्वास्थ्यमन्त्री खतिवडाले डब्लूएचओको साथ र सहयोग आवश्यक देखिएको जनाउँदै यसको सुरुवात बाल तथा स्त्रीरोग अन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न अनुरोध गरेका थिए ।

करिब ५० मिनेट चलेको भेटमा डा. टेड्रोससँगै डब्लूएचओ दक्षिण–पूर्व एसिया क्षेत्रकी निर्देशक डा.पुनम क्षेत्रपाल सिंहसमेत सहभागी थिइन् ।

‘नेपालमा कोल्याबोरेटिभ सेन्टरहरूका लागि के गर्न सकिन्छ प्रस्ताव पठाउनुस्, हामीले सक्ने भए गर्छौँ नत्र कतैबाट रिसोर्स खोजेर सघाउँछौँ,’ डा. टेड्रोसको भनाइ उद्धृत गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए ।

नेपाली टोलीले सडक दुर्घटना, मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, संवेदनशील रोगलगायत नसर्ने रोगको नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनामार्फत दिँदै आएको सहयोगलाई निरन्तरता दिन पनि डा. ट्रेडोससमक्ष आग्रह गरेको थियो ।

उनले कोभिड–१९ महामारीबीच नेपालले गरेको कामको प्रशंसा गर्दै खोप कार्यक्रमको सफलताका लागि बधाईसमेत दिएका छन् । तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका डा. टेड्रोसले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस