काठमाडौँ । नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगन्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।
जहाजमा खरायो ठोक्किएपछि केही बेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनीत शाहले बताए । जहाज ल्यान्ड हुने बेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।
नेपालगन्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।
धावनमार्ग नजिक रहेको झाडीमा जङ्गली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।