नयाँ दन्त उपकरणको आविष्कार, समय र पैसाको बचत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नयाँ दन्त उपकरणको आविष्कार, समय र पैसाको बचत


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपालमा नयाँ दन्त उपकरण आविष्कार भएको छ । ब्लुबर्ड इन्टरनेश्नल क्लिनिकका डा. पराक्रम पराजुलीको टिमले नयाँ दन्त उपकरण तयार गरेको हो ।

दाँत इम्प्लान्टका कमी कमजोरीहरूलाई ध्यानमा राखेर नयाँ र भिन्न दन्त उपकरणको आविष्कार गरिएको ब्लुबर्डका डा. पराजुलीले बताए । करिब दुई वर्षको अनुसन्धानपछि उक्त उपकरणको आविष्कार भएको हो ।

सामाजिक विकास मन्त्रालयको ‘युवा वैज्ञानिक प्रोत्साहन कोष’को खुल्ला प्रतिस्पर्धामा छानिएपछि २०७७ सालमा कोषको अनुदानमा एक सय ५० वटा स्याम्पलहरूको सफल परीक्षण गरिएको थियो । अहिले प्रक्रियामा नै रहेकोले उपकरणको नाम सार्वजनिक गरिएको छैन ।

ब्लुबर्ड इन्टरनेश्नल क्लिनिकले २०७५ सालमा उक्त दन्त उपकरणको पाइलट स्टडी गरेर इन्टरनेश्नल पेटेन्ट अप्लाइ गरेको थियो । विश्व बौद्धिक सङ्गठन (वल्र्ड इन्टलेक्च्वल प्रोपर्टी अर्गनाइजेशन, स्विजल्र्याण्ड)ले २०७६ मा प्रकाशित गरिसकेको छ । नेश्नल फेज पेटेन्टको लागि सोही वर्ष निवेदन पेस गरी फिलिपिन्स र नेपालमा दर्ता भइसकेको छ ।

उपकरण दर्ताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इथिकल अप्रुुभलका लागि नेपाल हेल्थ काउन्सिलमा निवेदन दिएको डा. पराजुलीले बताए । निवेदन दिएको तीन सातामै अमेरिकाको नेश्नल इन्स्टिच्युट अफ हेल्थमा क्लिनिकल ट्रायल दर्ता भए पनि नेपालमा भने सात महिनासम्म दर्ता हुन सकेको छैन । फेज वान क्लिनिकल ट्रायलमै कुरा अड्किएको छ ।

नयाँ आविष्कार तथा खोज भएका विषयलाई दर्ता गर्न नेपाल सरकारका अन्य निकायहरूले थप सहजीकरण गरिदिनुपर्ने सामाजिक विकास मन्त्रालयकला सचिव भीष्मकुमार भुसालले प्रशासनलाई बताए ।

नवप्रवर्तन र विकासका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले विभिन्न पाँच परियोजनामा करिब साढे दुई करोडको लगानी गरेको छ । औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार, नयाँ दन्त उपकरण आविष्कार, माछाको उत्पादकत्व बढाउने, औषधिजन्य च्याउ उत्पादन र सवारी साधनलाई कठिन भूगोलमा पनि जान सक्ने इलेक्ट्रिकल सवारीमा परिवर्तन गर्ने विषयमा लगानी गरिएको छ ।

मन्त्रालयले गरेको लगानीबाट भएको नयाँ खोज आवस्किारबाट यो क्षेत्रमा काम तथा अध्ययन गर्ने, सोध अनुसन्धानकर्ता, विश्वविद्यालय, अनुसन्धान केन्द्र र उपभोक्ता समेतले फाइदा लिनुपर्ने सचिव भुसालको भनाई छ ।

उपकरणबाट समय र पैसाको बचत
दाँत नभएको खण्डमा दुई प्रकारबाट नक्कली दाँत राख्न सकिन्छ । यसमा खोल्ने राख्ने (रिमुभेवल) र खोल्नु राख्नु नपर्ने (फिक्स्ड) पर्दछ । फिक्स्ड प्रचलित छ र यो सबैले रुचाउने गर्दछन् । फिक्स दाँत राख्नका लागि पनि दुईवटा विकल्प छन् । नेचुरल टिथ रिटेन्ड र इम्प्लान्ट रिटेन्ड ।

ब्लुबर्ड इन्टरनेश्नल क्लिनिकका डा. पराजुलीका अनुसार इम्प्लान्टका कमी कम्जोरीहरुलाई ध्यानमा राखी फिक्स्ड दाँत राख्ने नयाँ र तेस्रो विकल्प प्रदान गर्न उक्त दन्त उपकरणको आविष्कार गरिएको हो । यो कम खर्चिलो हुने उनले बताए ।

एउटा दन्त उपकरण उपचार, जिर्कोनियका क्राउन (दाँत) समेतको औसतमा लग–भग चालिस हजार पर्ने गर्दछ । इम्प्लान्ट भन्दा लगभग ६० प्रतिशत कम हो यो । यो धातुरहित जिर्कोनियमाले बनेको हुनेछ ।

यो राख्न हड्डीको उचाइ कम्तिमा पाँच एमएम भए पुग्छ भने थप बोन ग्राफ्ट शल्यक्रिया गर्नुपर्ने आवश्यकता हुँदैन । यो दन्त उपकरण उपचार एक दिनदेखि ढिलोमा १५ दिन भित्रमा सकाउन मिल्ने हुन्छ ।

उक्त दन्त उपकरणले समय र पैसाको बचत गर्छ । अर्कोतर्फ नेपालमा उत्पादन गरी विश्वमा निर्यात गरेर देशको विकासमा सहयोग पुर्‍याउन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस