भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर


१६ चैत्र २०७८, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा एक जना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ ।

भारत पश्चिम बङ्गाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध आज (बुधबार) उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भारतीय आधार कार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा अग्रवाल भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।

‘उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानुन बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, लुज बिल र गैर बिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठुलो परिमाणमा नगर घरमा राख्ने गरेको भेटिएको छ,’ विभागले दायर गरेको मुद्दाको विवरणमा भनिएको छ, ‘यसबाट अग्रवालले आयकर र मूल्य अभिवृद्धि करसमेत छली गरेको देखिन्छ ।’

विमला इन्टरप्राइजेज र यसका सञ्चालक अग्रवालबाट ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गरिनुपर्ने विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस