काठमाडौँ । बैङ्किङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ ।
ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमल विनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अदालतले पाँच दिन कैद र १९ लाख जरिवाना तोकेको थियो । सानिमा बैङ्कको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकामा सो नसाटिएपछि बैङ्किङ कसुर गरेको ठहर भएको थियो ।
विसं २०७७ मा यसरी चेक दिएको भनी परेको मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गते फैसला गर्दै बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम १९ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो । फैसलापछि माताङी फरार थिइन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्न परिचालित टोलीले उनलाई आज भक्तपुरबाट पक्राउ गरेको हो ।
माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।