सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधार गृह पठाउने आदेश दिएको हो ।

गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की पक्राउ परेका थिए ।

पछि कार्कीले अन्य अभियुक्तलाई पनि पोलेपछि हत्यामा अन्य व्यक्तिको पनि संलग्नता खुलेको थियो । सङ्खुवासभा प्रहरीले करिब २० दिन अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

त्यसपछि सुरु भएको थुनछेक बहस हिजो सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो ।

घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएकोले उनलाई भने बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।

सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार अभियुक्तहरूले प्रहरी र अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो अपराध स्वीकार गरी एकै मिलानको बयान दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस