‘मकै पोल्न थालेको १० वर्ष भयो, छोराछोरी पढाउन र घर खर्च धानेकी छु’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘मकै पोल्न थालेको १० वर्ष भयो, छोराछोरी पढाउन र घर खर्च धानेकी छु’


२० श्रावण २०७८, बुधबार


कर्णाली । सुर्खेत वीरेन्द्रनगर–१२ एयरपोर्टकी ४२ वर्षीया घन लक्ष्मी सुनार सधैँजसो बिहान झिसमिसेमा उठ्छिन् । त्यसपछि उनी काँचो मकै लिन सोही चारकुने, मनिकापुर, घुश्रा र सानो सुर्खेत लगायतका ठाउँमा जान्छिन् ।

सुर्खेत शिक्षा क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयबीचमा रहेको बाटो छेउ मसला बोट मुनि मध्यान्ह १२ बजेको प्रचण्ड गर्मीमा, भिजेका दाउरा पुत्याउँदै मकै पोल्न थाल्छिन् ।

मकै पोल्न थाले पछि घरमा नियम फेरिएको छैन । छिटै भए मकै थैलो लिएर घरमा बुहारीले बनाएको खाना खान्छिन् । कहिलेकाहीँ त धनलक्ष्मीका श्रीमान् नेपाल प्रहरीका निवृत्त असई आफै खाना ल्याएर खुआउँछन् ।

‘मकैको सिजनमा मकै पोल्न थालेको १० वर्ष भएको छ । जुन पेसाबाट छोराछोरी पढाउन र घर खर्च धानेकी छु । मैले गर्ने पेसामा श्रीमान् मेरा खुसी छन् । दुई छोरा छन् । जेठो छोरो ड्राइभर छ । कान्छो बोर्डिङ स्कुल नौ मा पढ्छ र स्कुल बन्द हुँदा मलाई सहयोग गर्छ ।’ मकै पोल्दै गरेकी घन लक्ष्मीले भन्छिन् ।’

आगोमा पोलेको मकैको स्वाद उसिनेको र भुटेको भन्दा फरक हुन्छ । त्यसैले आगोमा पोलेको मकै नखाने विरलै होलान् । मध्यान्ह १२ बजेपछि ग्राहकरु आँउन थाल्छन् ।

घनलक्ष्मी भन्छिन्, ‘कहिलेकाहीँ एकछिन आरामले उठ्न पनि भ्याइँदैन, रु ५ मा खरिद गरेको मकै पोलेपछि रु १० मा बेच्छु, रु १० र १५ मा खरिद गरेको मकै रु १५ र २० बेचेको छु । दैनिक साँझ ७ बजेसम्म पोलेको सय कोसा जति मकै खान्छन् ।’

अहिले पनि मानिसहरू १० वर्ष पहिले जस्तो सस्तोमा मकै खान खोज्ने घनलक्ष्मीले सुनाइन् । उनी भन्छिन्,‘एक भारी दाउरा रु तीन सय भन्दा माथि नै पर्छ । उक्त दाउराले दुई सय कोसा मकै पोलिन्छ ।’

आगोमा पोलेको मकै खान मानिसहरू टाढा–टाढाबाट पनि आउने गरेको घन लक्ष्मीले सुनाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस