मदिरा चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मदिरा चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित


१७ जेष्ठ २०७८, सोमबार


जनकपुरधाम । मदिरा चोरेको आरोपमा सिराहा प्रहरीले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस